भदौरे झरीसँगै फेसबुकमा एक फ्रेन्ड रिक्वेस्ट आयो। मोटी, अग्ली, कालीकाली तर मायालु, राम्री देखिएको फोटो प्रोफाइल थियो। फेसबुक प्रोफाइल सबै हेरेँ अनि फेसबुकमा साथी बनाएँ।
फेसबुकमा साथी बनेको केही समयपछि हाम्रो कुरा हुनथाल्यो। मभन्दा सिनियर थिई ऊ भाइ भनेर सम्बोधन गर्थी। म पनि दिदी भन्थें। यसरी नै हाम्रो फेसबुकमै चिनजान थियो, म्यासेन्जरमै कुराकानी हुन्थ्यो।
एकदिन उसले फेसबुकमा फोटो पोस्ट गरी, मैले ‘यति राम्री मान्छेलाई पाउने भाग्यमानी को होला है ?’ कमेन्ट गरेँ।
हो त्यही फोटोमा मैले गरेको कमेन्टबाट हाम्रो लभ परेको र हामी प्रेममा परेको र हाम्रो दिदीभाइको सम्बन्ध प्रेमी प्रेमिकामा परिणत भएको।
भन्छन् नि, प्रेममा उमेर, धनसम्पत्ति केही हेरिन्न। यही कुरा लागू भयो हामीमा पनि। म १७ वर्ष पुग्दै थिएँ, उनी १९ वर्ष पुगिसकेकी थिइन्। म अहिले १९ वर्षको भएँ।
म रेडियोमा काम गर्थें, उनी कृषि जेटिए पढ्थिन्। कहिले भविष्यको बारेमा कुराकानी हुन्थ्यो त कहिले माया प्रेमकै कुरा हुन्थ्यो। यसरी नै हाम्रो प्रेम थप प्रगाढ हुँदै गयो।
म त्यो बेला रेडियो सोसाइटी एफएम अछाममा समाचार वाचकको रूपमा काम गर्थेँ।
'तपाईंको आवाज नसुनीमलाई खानै रूच्दैन, आज कति मीठो आवाजमा समाचार पढ्नु भको है? मलाई पनि रेडियोमा काम गर्न मन छ, सिकाउनु पर्छ है', उसले सधैं भन्थी मलाई।
भर्खरै सिक्दै गरेको बेला कसैले तिम्रो आवाज त कति राम्रो भनेमात्रै पनि म कति खुसी हुन्थेँ, अझै आफैंले मन पराएको मान्छेले प्रशंसा गर्दा त मन नै प्रफुलित हुन्थ्यो।
तर हामी प्रेममा परेको लगभग २७महिनापछि भने ऊ एकाएक परिवर्तन भई। उसको मसँगै बोल्ने स्टाइल नै बदलियो। सधैं अघि अघि म्यासेज गरेर मलाई दिक्कै लगाउने ऊ मेरो सवालको जवाफमात्र दिन्थी।
त्यसमाथि उसले मलाई कुनै नयाँ कुरा भन्न चाहिरहेकी छैन। मेरो मनले यो शङ्का गर्न थालेकै धेरै दिन भएको थियो।
जहिल्यैको त्यही प्रश्न– हेल्लो , के छ? अनि जहिल्यैको उही उत्तर–ठिक छ ।
प्रश्न– के गर्दैछौ, अनि उत्तर–बसिरको।
नाम त उसको नाम किरण (परिवर्तित नाम) हो तर मैले मायाले मुसी उपनाम राखेको थिएँ।
मुसीले पठाउने एक शब्दको उत्तरले मेरो मन विचलित बनाइदिन्थ्यो। उसले मसँग दिल खोलेर गफ गर्न नचाहिरहेकी लामो समय भइसकेको थियो।
उसलाई पठाएका कतिपय म्यासेजको रिप्लाई नै आएन। पछि आफ्नै मन गह्रौं बनाएर मैले उसलाई सामाजिक सञ्जालबाट ब्लक गरिदिएँ। ऊसँग कुरा गर्ने सामाजिक सञ्जाल नै त माध्यम थिए। तर, उसले कुरा गर्न नचाहेपछि मेरो के लाग्यो र ?
उसलाई मेरो माया लाग्ने रहेछ भने कल आउला नि। त्यसैले नम्बर चाहिँ ब्लक गर्न सकिनँ। तर आएन। एकदिन आएन।दुई दिन आएन। तीन दिन आएन, १ वर्षसम्म पनि आएको छैन।
उसले मलाई नसम्झे पनि मलाई त उसको माया लाग्छ नि। फेरि एक वर्षपछि आफैंले फेसबुकमा अनब्लक गरेँ।
लेखेँ, ‘मुसी के छ? तिमीलाई मेरो माया लाउँदैन र ? म्यासेजमा आँसु झार्दै गरेका इमोजी पठाएँ। रिप्लाई आयो।
‘ब्लक गरेको होइन? फेरि यो के नाटक,’ शब्दहरू रिसले भरिएका थिए।
‘फोन पनि उठाउन छोड्यौ। रिप्लाई नि आउन छोड्यो। अनि मलाई पनि त चित्त दुख्छ नि,’ मैले जवाफमा लेखेँ।
'डिस्टर्ब नगर्दा नै ठिक हुन्छ,' 'फोन नगर्दा हुन्छ'। यतिभन्दा त बुझ्नु हुन्छ होला नि पत्रकारज्यू,’गह्रौँ अक्षरका शब्दवाण पठाई।
उसका यी शब्दहरू मेरो मनमा काँडा भएर बिझ्यो। मोबाइलको किबोर्डमा देखाउने त्यही आँसु भएको इमोजी पठाएँ।
मनलाई सम्हालेर लेखेँ, ‘एक पटक फोन उठाऊ न।’
‘मलाई मन छैन, सो प्लिज......ब्लक गर्न नपरोस्,’ चेतावनी आयो।
मैले केही नभनी फेरि फेसबुकमा ब्लक गरेँ। मेरो पहिलो माया हो यो, मेरो पहिलो प्रेमिका थिई ऊ।
उसले मलाई माया नसरेर के भयो त। म त उसलाई माया गरिरहन्छु नि। म बिहे हुनुलाई मात्रै प्रेमको अन्त्य मान्दिनँ। मिस यु मुसी!