नेपालभन्दा ५ गुणा महँगो छ अमेरिका। नेपालमा ठिकै खाले रेस्टुराँमा खानाको मूल्य ३ डलर पर्छ भने अमेरिकामा १५ डलर। यस्तै हाम्रोमा राम्रै होटलका कोठा एक रातको २ सय डलर पर्छ भने अमेरिकामा १२ सय डलर।
अमेरिकामा ‘होमलेसहरू’को जनसंख्या ५ लाख छ। न्युयोर्कमा मात्र ६० हजार भन्दा वढी ‘होमलेस’ छन्।
अमेरिकामा कम्तिमा १ हजार डलर मासिक कोठा भाडा तिर्नुपर्छ अनि खाना खर्च, लत्ताकपडा र अन्य खर्च हुन्छ नै। यता नेपालमा मासिक १५ देखि २० हजार रुपैयाँ कमाउने व्यक्ति पनि हाँसिरहेको हुन्छ। भोजभतेर, पार्टी र भट्टीमा नाचिरहेको हुन्छ।
अमेरिका अनुभव- १
अमेरिकीहरू नेपालीभन्दा गरिब छन् भनेको सुन्दा अनौठो लाग्ला! विश्वास नलाग्ला, त्यसैले यो सत्य बुझाउन मैले तीन वटा तथ्य पस्कनै पर्छ।
पहिलो, अमेरिकाको जनसंख्या ३३ करोड भन्दा बढी छ भने त्यहाँको १० प्रतिशत जनसंख्या अति गरिब अवस्थामा छन्। यसरी नेपालको जनसंख्या भन्दा धेरै अमेरिकी दयनीय अवस्थामा बाँचेका छन्।
दोस्रो तथ्य, अमेरिकीको प्रतिव्यक्ति वर्षको आम्दानी ६५ हजार डलर छ भने ११ सय डलर आय हुने नेपाली कसरी धनी त?
अमेरिकाका १ प्रतिशत मान्छे विश्वकै धेरै धनी अर्थात् बिलिनियर छन्। त्यसैले गर्दा बाँकी ९९ प्रतिशतको वार्षिक प्रतिव्यक्ति आय पनि बढेको देखिन्छ।
सन् २०२१ को तथ्यले अमेरिकामा रहेका करिव ७५० बिलिनियर्ससँग नै कुल अमेरिकाको सम्पत्ती आयको दुई तिहाइ हुने र बाँकी एक तिहाइ मात्र आम मानिसमा रहेको देखाउँछ।
बिल गेट्स, एलन मस्क र सडकमा सुत्ने होमलेस ‘भिखारी’ लाई पनि एकै डालोमा राखेर वार्षिक आय निकाल्दा ६५ हजार डलरको तथ्यांक देखिएको मात्र हो।
तेस्रो तथ्य, एक डलरको भ्यालु (मान्यता मूल्य) १ सय २१ नेपाली रूपैयाँ (चैत २६ को विनिमयदर अनुसार) भएर पनि हो।
अमेरिकामा एक कप कफीको २ देखि ५ डलर पर्छ भने नेपालमा करिब आधा डलर। कफी बनाउने सामान चिनी, कफी, पानी र मेहनत दुबै देशमा समान खर्च हुन्छ। अब भन्नुस्, आधा डलरमै उस्तै कफी तयार बनाउन सक्ने देशका हामी नेपाली धनी भएनौं त?
यसको थप ब्यवहारिक पुष्टि अझैं छ। सन् २०११ ताका म अमेरिकाको दक्षिण पूर्वी राज्य नर्थ क्यारोलिनाको सारलोट शहर नजिकै बस्थेँ। अमेरिकीको वास्तविक जीवनबारे मलाई त्यति थाहा थिएन किनकि, म त्यहाँ पुगेको केही समय मात्र भएको थियो।
मेरो एक अमेरिकी मेरो मिल्ने साथी थियो–मार्कोस मिलर। ऊ मैले काम गर्ने ठाउँ नजिकै अर्को स्टोरमा काम गर्थ्यो।
मसँग त्यतिबेला आफ्नो कार थिएन, आवश्यकता पनि थिएन किनकि, मैले काम गर्ने र बस्ने ठाउँ ५ मिनेट पैदल दूरीमा थियो।
साथी र म फुर्सदको समय उसको हाफ ढाला भएको सानो ट्रक गाडीमा कहिले घुम्न त कहिले सँगै खाना खान गइरहन्थ्यौं। एक दिन उसले मलाई आफ्नो घरमा खाना जाऔं भन्यो। जाडोको समय थियो, जनवरी महिना। बाहिर अत्यन्त चिसो, माइनस जिरो डिग्रीभन्दा कम र सिरेटो चलिरहेको थियो। उसको सानो गाडी जसको पछाडि खुल्ला थियो, अगाडि भित्र २ सिट थियो। हामी भित्र सिटमा बस्यौं।
पचास काटेको जस्तो एक जना आएर पछाडि खुल्ला भागमा गाडीको ढालाबाट तल टाउको लुकाएर बस्यो। अमेरिकामा यसरी सवारी चलाउनु अत्यन्त डरलाग्दो र कानूनत खतराको काम हो। गाडी चल्यो, हामी साथीको घरमा पुग्यौं। साथी मार्कोस र म कुराकानी गर्दै थियौं, केही समयपछि साथीको त्यही छिमेकी एउटा बाल्टी लिएर पानी माग्न आयो। पछि उसको बारेमा साथीले बताउँदा मैले अमेरिकाको आन्तरिक वास्तविकताबारे अचम्मका जानकारी पाएँ। जुन अमेरिकाभर १५ देखि २० प्रतिशत जनसंख्याले भोग्दै आएको समस्या रहेछ।
वास्तवमा ऊ आफ्नै घरमा सुकुम्बासी रहेछ अर्थात अमेरिकी भाषामा ‘होमलेस’। पहिले राम्रो कमाइ र सुखी परिवार भएको ऊ बाबुआमा बस्ने घर छाडेर ठूलो सहरमा बस्दोरहेछ। बाबुआमाले आफ्नो सम्पत्ती छोरीको नाममा गरि संसार छाडेछन्। उता उसको राम्रो कमाइ हुने जागिर जानाले आर्थिक अभाव भएपछि घरमा झगडा शुरू भयो। उसको क्रेडिट बिग्रँदै गयो। उसले कतै पनि काम पाउन छाड्यो। लगत्तै श्रीमतीले डिभोर्स दिइन् र छोराछोरी पनि साथमै लगिछिन्।
अनि त उसले पागलझैं सडकमा भिख माग्न थालेछ। पछि उसकी दिदीले आफ्नो अर्को घर पनि भएकाले बाबुआमाले दिएको घरमा आएर बस, पानी र बत्तीको बिल तिर भनेकी रहिछन्। अहिले ऊ बाबुआमाको त्यही घरमा बस्दोरहेछ तर पानी र बिजुलीको बिल तिर्न नसकेपछि लाइन काटिएछ। त्यसैले मैनबत्ती बालेर उज्यालो र छिमेकीसँग पानी मागेर जीवन चलाउन थालेको रहेछ।
बत्ती र पानीको बिलको कारण उसकी दिदीले पनि आफ्नो क्रेडिट बिग्रने डरले ‘मेरो घर छाड्दे भन्दै छिन् रे’ । सायद केही समय पछि ऊ सहरकै कुनै सडक पेटीमा सुत्न गयो होला!
यो त एक उदाहरण मात्र हो। यस्ता लाखौं मानिस गाउँगाउँदेखि सानाठूला शहरका गल्ली र चोकचोकमा भेटिन्छन्। सन् २०२० को तथ्यांकअनुसार अमेरिकामा होमलेसको संख्या ५ लाख हाराहारीमा छ। र संसारको राजधानी मानिने धनी सहर न्युयोर्कमा मात्र ६० हजार भन्दा बढि होमलेस छन्। अर्को सहर क्यालिफोर्नियाको लस एन्जलसमा ६७ हजार होमलेस छन् जो सडकमा सुत्छन्।
हो अमेरिकी सरकार धनी छ तर आज पनि हामी ती सडकमा जीवन बिताउने वा सहर वा गाउँमा बस्नेको अवस्था हेर्नै हो भने आम नेपालीकोभन्दा निकै दुःखदायी र कष्ठपूर्ण छ। होमलेसभन्दा माथी उठेर घर हुने गरिबको नै तथ्य हेर्ने हो भने पनि कम पीडादायी छैन।
घरमा खाना खाने पैसा नभएर चाउचाउ सुप खाने कति छन् कति। १ डलरमा ४ वटा पाइने भएकाले चाउचाउ अमेरिकाको सबैभन्दा सस्तो अर्थात होमलेस खाना मानिन्छ। कति त त्यही चाउचाउ पनि खाने पैसा नभएर पहिले भएको बटर खाएर हप्तौं गुजारेको सुनाउँछन्।
एक दिन मैले काम गर्ने स्टोरमा साथी (कोओर्कर) सँग एक जना पैसा माग्न आयो। त्यसरी पैसा माग्न आउने मान्छे भन्दै थियो, ‘म भोकै छु। १ हप्ता भयो खाना नखाएको मात्र बटर खाएर बसेको छु।’ हामीले उसलाई केही पैसा दिएर पठायौं।
पछि मैले कोवर्करलाई सोधेँ, उसले किन बटर मात्र खाएको?
‘बटर खाएमा भोक लाग्दैन रे अनि खाना खानै परेन’, साथीको जवाफ सुनेर छक्क परेँ।
यति पढ्दै गर्दा तपाईंको मनमा के काम पाइँदैन र अमेरिकामा? काम गरेर खाए भइहाल्यो नि भन्ने प्रश्न उठे होलान् हगि?
पैसा कमाउन कि आफ्नै व्यवसाय वा उद्यम गर्नु पर्यो, त्यसका लागि पैसा र आइडिया दुवै चाहिन्छ। अर्को उपाय भनेको अरुको कुनै काम गरेर पैसा कमाउन सकिन्छ। तर काममा लगाउनेले अमेरिकी कानुनअनुसार कामदारको क्रेडिट हिस्ट्री हेर्छ। अर्थात् उसको आर्थिक विश्वसनियता र अनुशासित चालचलनको डाटा अनलाइनमा राखिएको हुन्छ। जब कमाई हुँदैन वा आर्थिक अनुशासनमा रहन सकिँदैन भने क्रेडिट हिस्ट्री खत्तम हुन्छ जुन होमलेस बन्ने पहिलो बाटो हो।
दोस्रो, संगत, परिवारिक पृष्ठभूमि र अपराधिक क्रियाकलाप पनि हुन्। यस्तै आदत र परिवेशजस्ता विविध कारण पनि छन्।
अर्कोतर्फ हेर्दा एक सामान्य अमेरिकीले काम गरेबापत पाउने ज्याला अर्थात सरकारी स्रोतबाटै भन्नुपर्दा एक ग्यास स्टेसन क्यासियर वा सो सरहका अन्य कामबाट वार्षिक आम्दामी २४ हजारसम्म हुने मानिन्छ। एक परिवारको ४५ हजार आय न्यूनतम आधार हो भने सामान्यतयः २ जना कमाउने सक्ने भएको ठानिन्छ।
स्थान र समय परिवेशअनुसार वर्षेनी परिर्वतन भइरहने यो तह वार्षिक कर चुक्ता गर्ने बेला हरेक अमेरिकामा बसोबास गर्ने सबैले अनिवार्य पालना गर्नैपर्छ। यसै सरकारी तथ्यका आधारमा कुरा गर्दा पनि प्रति महिना सरदर २ हजार कमाई हुन आउँछ।
ओभरटाइम, दोस्रो काम, राम्रो कम्पनी वा राज्यअनुसारको तलव स्केल, शिक्षा तथा स्वास्थ्य सुबिधा र अन्य लुप्त आयका कार्य नहुने हो भने त एक सामान्य अमेरिकी कामदार कसरी बाँच्छ?
अमेरिकामा कम्तिमा १ हजार डलर मासिक कोठा भाडा तिर्नुपर्छ। अनि खाना खर्च, लत्ताकपडा र अन्य खर्च हुन्छ नै। फेरि अमेरिकामा यातायातको सुविधा हेर्दा आफ्नो कार नहुने मानिस खुट्टा नभएको मान्छे सरह हो। कार छ भने त्यसको किस्ता, इन्सुरेन्स तथा भैपरि आउने खर्च आदिले कसरी बाँच्छ त्यो विचरा !
यीनै आर्थिक तथा पारिवारिक तनावले मानसिक रोग (डिप्रेसन), डिभोर्स र आत्महत्यालाई बढाइरहेको पनि हुन्छ। नेपालमा भने मासिक १५ देखि २० हजार रुपैयाँ सामान्य काम गर्नेले पनि कमाइरहेको हुन्छ। त्यही मान्छे हाँसिरहेको हुन्छ। भोजभतेर ,पाटी र भट्टीमा नाचिरहेको हुन्छ। शोक न सुर्ता भोक न भकारी झै घुमिरहेको हुन्छ।
अब तपाईं भन्नुस् अमेरिकी धनी कि हामी नेपाली?
धनी भन्नु नै खुसी हो त्यसैले बिशाल अर्थतन्त्र, जनसंख्या, भूगोल र विकास गरेको भारतभन्दा सानो देश भुटानका जनताको खुसी विश्व सूचकांकमा धेरै माथी छ। त्यस हिसावले देशका जनतालाई खुसी राख्न सक्ने सरकार नै धनी हो।
३३ करोड जनसंख्या भएको अमेरिकामा रोजगारका अवसर प्रशस्त छन्। त्यसैले जम्मा ४ प्रतिशत मान्छे बेरोजगार छन्। प्रायः रोजगारीबाट पाएको पैसाले खान र क्षमताअनुसार बस्न पुग्छ। त्यसैले आज अमेरिका विकसित, धनी राष्ट्र भएको छ तथा अधिकांस जनता पनि धनी बनेका छन् र बन्दै गएका छन्। तर यो अवस्था केही अमेरिकीको हो, धेरै अमेरिकी गाउँ र सहरका साना गल्लीमा बस्छन् जसको कुनै राम्रो कामधन्दा छैन। अनि कतिको त क्रेडिट हिस्ट्री नै छैन। त्यसैले उनीहरूको जीवन हामी नेपालीको भन्दा कमजोर छ।
नेपालमा रोजगारीका अवसर कम छन्। तथ्यांकमा ११ प्रतिशत बेरोजगार छन्। त्यसैले ५० लाख भन्दा धेरै नेपाली युवा विश्वका विभिन्न देशमा रोजगारी वा राम्रो अवसरको खोजीमा पुगेका छन्। नेपालमा रहेकै रोजगारमध्ये अधिकांश सिजनल अर्थात खेतीकिसानी तथा थोरै समय काम गर्ने समेत पर्छन्। उनीहरूको कमाईले वर्ष दिन खान पुग्दैन। अन्य उपभोग्य बस्तु र बसाइको ब्यवस्था गर्ने कुरा त पर को हो।
अमेरिका नेपाल भन्दा ५ गुणा महँगो छ। सामान्य रेष्टुराँमा खानाको पैसा नेपालमा ३ डलर पर्छ भने अमेरिकामा १५ डलर। यस्तै नेपालमा राम्रै होटलमा एक रातको २ सय डलर पर्छ भने अमेरिकामा १२ सय डलर। शिक्षामा स्नातक तहको कुरा गर्दा नेपालमा एक वर्ष २ सेमिस्टारको १५ सय २५ डलर पर्छ भने अमेरिकामा १० गुणा बढी १५ हजार भन्दा धेरै पर्छ।
मुख्य जान्नैपर्ने कुरा देश धनी छ, विभिन्न सुविधा र सहुलियत दिन्छ, रोजगारीको अवसर प्रशस्त छ। बाहिरी बिश्वमा शक्तिशाली देश छ भने देश भित्र नियम कानून तथा अर्थव्यवस्था नियमित ब्यवस्थित रुपमा सञ्चालित भैरहेको छ। राज्यले वैज्ञानिक रुपमा अनुसन्धान र कार्यान्वयन गरेकाले नै अमेरिका अमेरिका भइआएको छ ।
समाजशास्त्रीय हेराइमा एक व्यक्ति गरिव हुनु वा चोर हुनुमा ऊ एक्लो मात्र जिम्मेवार छैन, उसको समाज पनि जिम्मेवार हुन्छ। ऊ हुर्केको परिवारदेखि उसले देखेको समाज र संगत पनि जिम्मेवार हुन्छ। खासगरि पुँजिवादी अर्थतन्त्रको चरम विकास गरेको अमेरिकामा धनी, गरिब र मध्यम वर्गिय चित्ररेखा हाम्रो नेपाल वा भारतमा जस्तो ठाडो छैन। त्यहाँको डायमण्ड सेपमा छ अर्थात तल्लो लेवलका गरिव केही प्रतिशत छन् भने माथिल्लो लेवलमा पुँजिपती अर्थात् धनाढ्य केही प्रतिशत छन्। बाँकी ठूलो अंश मध्यम वर्गको छ।
मध्यम वर्ग पनि उच्च र निम्न छन्। यसरी अधिकांश मध्यम वर्ग अर्थात कुल जनसंख्याको ५२ प्रतिशतभन्दा धेरै मध्यमवर्ग भएकाले अमेरिका विकसित देखिएको छ। हालैको तथ्यअनुसार अमेरिकामा झण्डै एक तिहाई अर्थात ३० प्रतिशत जनसंख्या गरिब छन्। यो भनेको कुल जनसंख्यामध्ये १० करोड भन्दा धेरै हो।
उच्च धनी वर्ग मात्र १८ प्रतिशत छन्। यहाँ गरिब ३० प्रतिशत मध्येका एक तिहाई अर्थात नेपालको कुल जनसंख्या बराबरका मानिसको अवस्था अति दयनीय छ।
नेपाली भन्दा धेरै गरिब र दुःखदायी जीवन विताउनेहरू पनि छन् जसलाई खासै देखाइँदैन र समाचारमा ल्याउनु भनेको आफ्नो बेइज्जत गर्नु हो भन्ने ठानिन्छ। तर दुःख पाउने र पूर्ख्यौली तल्ला तहमा नै रमाउनेको संख्या अविकसित राष्ट्रको भन्दा कम छैन। किनकि, गरिबीको प्रतिशत वर्षेनी बढिरहेको छ।
सन् १९७१ को डाटामा गरिबको प्रतिशत २५ थियो भने सन् २००१ मा २८ प्रतिशत भयो। अहिले बढेर ३० प्रतिशत भएको छ।
हाम्रो गरिबी र उनीहरूको गरिबीको अन्तर धेरै फरक छ। हामीकहाँ गाउँको खेतबारी बाँझै छाडेर बजारमा सुकुम्बासी गरिबको दर्जामा हाजिर हुनेको संख्या धेरै छ तर अमेरिकामा बिलियनियरहरूको शहरमा पुख्यौली अर्थात बाबु पनि सडकमै जीवन गुजार्यो, छोरा पनि त्यसै सडकमा हुर्कदै छ भने नाती पुर्खा पनि त्यही सडकमा जन्मँदै छ।
मात्र धेरै मध्यम वर्गिय र उच्च वर्गिय समाज भएकाले र बलियो अर्थतन्त्र भएको सरकार भएकाले केही ब्यवस्थापन गर्न सक्छ तर पूख्यौली सडकमा जीवन बिताउनेको संख्या भने पहिलेभन्दा बढेको छ।
गएको ३ दशकदेखि त कुनै देशको विकासको मापन प्रणाली नै परिर्वतन भएको छ जसलाई हामी हामी एचडिआइ (हुमेन डिभलपमेन्ट इन्डेक्स) भन्छौं।
अमेरिकाका झण्डै एक चौथाई धनीलाई छाडेर बाँकी ७५ प्रतिशत अमेरिकीको कुरा गर्दा यदि संसारभरको पैसा, डलर वा जुनसुकै मुद्रा समान हुने हो र रोजगारी वा उद्यमको अवसर प्रशस्त हुने हो भने अहिलेको नेपाल अमेरिका जस्तो सम्पन्न र अमेरिका अहिलेको नेपाल जस्तो हुनेछ।
प्रयास गर्ने हो भने उपभोग्य हरेक बस्तु हाम्रै देशमा उत्पादन गर्न सक्छौ। किनकि, अमेरिकीले उपभोग गर्ने बस्तु र खाद्य पदार्थ ८० प्रतिशत भन्दा बढी बाहिरी देशसँग निर्भर छन् जसको मुद्रादर कम छ। त्यसैले अमेरिकीहरू हतियार र प्रविधि बेचेर महँगो डलर कमाउँछन। सस्तो खानेकुरा र उपभोग्य बस्तु आलु, चामल, मैदा फलफूल उपभोग गर्छन्। यसैकारण जिउन सजिलो भएको छ र धनी देखिएका हुन्।
जबकि, हामी नेपालीले आफ्नै उत्पादन बढाउने र उपभोग गर्ने हो भने अथवा आयातित संस्कृती र बढप्पन नदेखाउने हो भने मुस्किलले २० प्रतिशत बाहिरी वस्तु र खानेकुरा भए पुग्नेछ।
आफ्नै खेतमा फलेको धान बेचेर पाएको पैसाले भारतबाट आएको बोराको चामल किनेर खान्छौ हामी। भारतलाई उखु बेचेर उतैबाट आएको चिनी खान्छौ। यहाँ त घर खेत बेचेर आइफोन किन्नुपरेको छ, मकैबारी बेचेर पिज्जा वर्गर खानुपरेको छ। धानखेतमा घरबारी र कौसीमा तरकारी गर्नुपरेको छ।