उन्नती भर्खर १७ वर्षकी भइन्। दुई वर्षअघि लकडाउनका कारण भर्चुअल कक्षा सञ्चालन भएपछि उनकी आमाले निकै असजिलो अवस्थामा मोबाइल किनिदिएकी थिइन्।
सिन्धुपाल्चोकबाट काठमाडौँ आएका उनको परिवारको तरकारी बेचेर गुजारा चल्थ्यो। छोरीको पढ्ने रहर र लगनशीलता देखेर उनकी आमाले श्रीमानलाई फकाएर मोबाइल किनिदिएकी थिइन्। मोबाइलकै प्रयोग गरेर उन्नतीले एसइई पास गरिन्। अहिले उनी काठमाडौँकै एउटा कलेजमा ११ कक्षामा अध्ययनरत छिन्।
हातमा मोबाइल परेपछि कक्षाको साथै सामाजिक सञ्जाल पनि चलाउन थालिन्। दुई वर्षमा उन्नतीको फेसबुकमा तीन हजार बढी साथीहरू जोडिए, ती मध्ये निकै थोरैसँग मात्र उनको प्रत्यक्ष चिनजान छ।
यसरी साथी बनाउने र कुराकानी गर्ने क्रममा उन्नतीले निकै समय बिताउन थालिन्। कुराकानी कै क्रममा एकजना केटासँग उनको निकटता बढ्दै गएको रहेछ। प्रत्यक्ष नभेटे पनि उनीहरूबीच प्रेमिल कुराकानी हुन थालिसकेको थियो। यस्तैमा केटाले प्रेम प्रस्ताव राखेर उन्नतीलाई भेट्न बोलायो।
लामो समय कुराकानी भएकोले उन्नतीले पनि कलेज जाने समयमा केटालाई भेटिन्। पढाइ सकेपछि बिहे गर्ने दुबैले वाचा गरे। प्रत्यक्ष देखेपछि माया झनै बढ्यो। मेसेन्जरमा कल हुने समय पनि बढ्दै गयो। कुरैकुरामा केटोले एकदिन भिडिओ कलमा गोप्य अंग देखाउन भनेछ।
सुरुमा उन्नतीले अस्वीकार गरिन्। तर केटोले मायाको कसम दिएर भविष्यको श्रीमान-श्रीमतीबीच केही फरक नुहुने भन्दै भरोसा दिलायो। निकै कर गरेपछि केटो रिसाउला भनेर सम्बन्धलाई जोगाउन भन्दै उन्नतीले बाध्य भएर उसले भने झैँ गरिन्।
केही समयपछि केटोले शारीरिक सम्पर्कको लागि कर गर्न थाल्यो। उन्नतीले अस्वीकार गरेपछि 'तिमी भिडिओ कलमा अंग देखाउन सक्नेले अरुसँग पनि यस्तै गर्छेउ होला' भनेर चरित्रमा प्रश्न उठाउँदै ब्रेकअप गर्यो। भर्चुअल मायाको फन्दामा परेकी उन्नती अहिले डिप्रेसनको बिमारी भएकी छिन्।
तराईको एउटा जिल्लाबाट काठमाडौँमा पढ्न आएकी प्रगतीलाई कलेज भर्नासँगै उसको बाबाले मोबाइल किनिदिएका थिए। घरबेटीले 'वाइफाई फ्री' भनेर घरभाडामा दिएका थिए। नयाँ मोबाइलमा सामाजिक सञ्जाल प्रयोग गरेर बाआमासँग कुरा गर्दा प्रगतीले घरबाट टाढा आएको महसुस नै गरिनन्।
आमाको अनुहार हेरेर कुरा गर्दा उसलाई घरमै भएको आभास हुन्थ्यो। हुन पनि खाना पकाउनेदेखि कलेज तयार हुँदा प्रगति आमासँग भिडिओ कलमै हुन्थिन्। आमालाई पनि घरबाहिर बस्ने जवान छोरीको पलपलको खबर पाएर ढुक्क हुन्थ्यो। उनीहरू बेलाबेला इन्टरनेट र मोबाइललाई धन्यवाद पनि भन्थे।
समय बित्दै गएपछि प्रगतीका नयाँ साथीहरू बन्दै गए। तीमध्ये कतिपयलाई उनले चिनेकी हुन्थिन् भने कतिपय अपरिचित। प्रगतीले पनि उन्नतीजस्तै नचिनेको मान्छेसँग कुराकानी गर्न थालिन्। विस्तारै उनी पनि भर्चुअल मायाको जालमा पर्न थालिन।
बाआमासँग लामो कुरा गर्ने प्रगती साथीहरूसँगको कुरामा पर्न थालिन्। कलेजकै एकजना केटाले प्रगतीलाई फेसबुकमै प्रेम प्रस्ताव राख्यो। भर्खर १७ वर्ष पुगेकी प्रगतीले के सही, के गलत छुट्याउन सकिनन्। उनले पनि प्रेम स्वीकार गरिन्।
दुबै जनाबीच मायापिरतीका लामा-लामा कुरा हुन थाले। उनीहरूका कुरा यति लामा हुन्थे कि रातहरू पनि छोटा लाग्थे। मायामा चुर्लुम्म डुबेकी प्रगतीले केटाका सबै कुरामा भरोसा गरिन्। तर केटाले प्रगतीले जस्तै साँचो माया गरेको रहेनछ।
प्रगतीसँग गरेको कुराकानीको स्क्रीनसटहरू गरेर उसले आफ्नो साथीहरूलाई देखाएपछि प्रगतीको जीवनमा अकल्पनीय घटना घट्न पुग्यो। प्रगतीलाई चरित्रहीन भन्दै अरु केटाहरूले पनि उसलाई दुर्व्यहार गर्न थाले। बाआमालाई आघात पुग्छ भनेर प्रगतीले यो कुरा घरमा भन्न सकिनन्।
उनलाई अब निद्रा नलाग्ने, डराउने समस्या देखिएको छ। अस्तपालमा परामर्श सेवा लिएर अहिले उनी पनि औषधि खान थालेकी छिन्।
माथिका दुबै घटना अहिलेको भर्चुअल दुनियाँबाट प्रभावित प्रतिनिधिमूलक घटना हुन्। यीजस्ता वा यीभन्दा पनि धेरै जोखिम व्यहोरेका अरु पनि थुप्रै घटनाहरू बेलाबेला समाचार बनेका हुन्छन्।
हुन पनि इन्टरनेटको पहुँचले गर्दा हाम्रो समाजमा कति मानिसको जीवनमा सकारात्मकभन्दा नकारात्मक असरहरू देखिएका छन्। इन्टरनेटको सदुपयोग गर्न नजान्दा माथिको घटनामा भनिएका उमेरका युवतीहरू मात्र नभई अधबैँसे महिलाहरू र कतिपय घटनामा किशोर तथा पुरुषहरू समेत प्रभावित बनेका छन्।
कतियय घटना बलात्कार, हत्या र आत्महत्यासम्म पनि पुगेका छन्। नेपाल प्रहरीको साइबर क्राइम ब्युरोमा सन् २०१६ देखि २०२० सम्ममा सामाजिक सञ्जालबाट दुर्व्यवहार भोगेका पाँच हजार ५७४ घटना दर्ता भएका छन्। जसमध्ये ५५ प्रतिशत महिला तथा किशोरी थिए।
सन २०२२ सम्म आइपुग्दा साइबर क्राइमका घटना ७६ प्रतिशतले वृद्धि भएको छ। २०२० पछि कोरोना महामारीका कारण भएको लकडाउन र त्यो समयमा भएको इन्टरनेटको प्रयोगकर्ताको वृद्धिले गर्दा यो तथ्यांक बढेको हुनुपर्छ।
अझ त्यो समयमा स्कुल र कलेजका विद्यार्थीहरूले अनलाइन क्लासको लागि इन्टरनेटको प्रयोग गर्दा नबुझेर, सामाजिक सञ्जालको सदुपयेग गर्न नसक्दा भएको देखिन्छ। एक अध्ययनअनुसार सामाजिक सञ्जालमा दुर्व्यवहार भोग्ने मध्ये १० प्रतिशतले मात्र प्रहरीमा घटना दर्ता गर्ने गरेका छन्। अर्थात् दुर्व्यवहार व्यहोर्ने अधिकांशले ती घटनालाई सहिरहेका वा मानसिक यातना खेपिरहेका छन्।
अझ हाम्रो पितृसत्तात्मक सोच भएको समाजमा यस्ता घटना बाहिर आउँदा महिलालाई नै चारित्रिक आक्षेप लगाइने भएकोले अधिकांश महिला र किशोरीहरू कि भोग कि चुप बसको अवस्थामा छन्।
अहिले देशका कुनाकाप्चामा इन्टरनेटको सेवा विस्तार हुँदै गइरहेको छ। इन्टरनेटको प्रयोग सामान्य र दैनिकीजस्तो हुँदै गइरहेको छ। कसैको घरमा पाहुना आएपछि सबैभन्दा पहिले वाइफाईको पासवर्ड मागिन्छ। कतै यात्रामा निस्किए बास बस्ने ठाँउमा वाइफाई छ, छैन हेर्छौं।
एकैछिन खाजा खान रेस्टुरेन्ट पस्दा वाइफाई के छ भनेर सोध्छौ। बच्चाले खाना मानेन वा रुन थाल्यो भने इन्टनेटबाट मोबाइलमा कार्टुन वा गेम खेल्न लगाइन्छ। यहाँसम्म कि यात्रा गर्ने बसमा समेत फ्री वाइफाई भनेर लेखिएको हुन्छ। अघिल्ला स्थानीय निकायको निवार्चनमा धेरै जनप्रतिनिधिले फ्री वाइफाई जोनको कुरा गरे, कतिपय ठाँउमा त्यस्तो सुविधा पनि भइसकेको छ।
अहिले फेरि हामी निवार्चनकै मुखमा छौँ। यो पटक पनि उम्मेदावारहरूले आफ्नो पालिका, वडा र टोललाई फ्री वाइफाई जोन बनाउने घोषणा गर्नेछन्। इन्टरनेटको सदुपयोग गरेर संसारलाई ग्लोबल भिलेजको रुपमा फाइदा लिन जाने त राम्रै हो। तर हाम्रो देशमा अधिकांश प्रयोगकर्ताले इन्टरनेटको बृहतम प्रयोग बारे बुझेका छैनन्।
सामाजिक संजालको प्रयोग र मनोरन्जनको रुपमा मात्र इन्टरनेटको प्रयोग भइरहको हुँदा यसले सकारात्मक, उत्पादकभन्दा नकारात्मक प्रभावमा बढिरहेको छ। यसको सबैभन्दा जोखिममा अहिलेका बालबालिकाहरू रहेका छन्।
तसर्थ इन्टरनेटको सदुपयोग, प्रयोग गर्दा अप्नाउनु पर्ने सावधानीहरू बारे प्रयोगकर्ताहरूलाई सचेत र जागरण गर्नुपर्ने आवश्यकता छ। अझ बालबालिका र किशोरीहरूले थप सावधानी अप्नाउनु पर्ने आवश्यकता देखिएको छ।