गाउँमा जन्मेको म, गाउँघरमै हुर्कें अनि गाउँघरमै पढेँ। कक्षा १० अर्थात् एसइईसम्म गाउँकै एक आवासीय विद्यालयमा अध्ययन गरेर उच्च माध्यमिक तह (प्लस टु) पढ्न प्रदेश राजधानी पोखरा जाने इच्छा जाग्यो।
घरमा भने गाउँमै म्यानेजमेन्ट पढ्न सुझाउनु भयो। तर म विज्ञान पढ्ने भन्दै पोखरा जाने कुरामा अडिक भएँ। उसो त म कक्षा १० सम्म औसतभन्दा माथिकै विद्यार्थी थिएँ र एसइईमा पनि राम्रै नतिजा 'ए प्लस' आयो।
त्यसपछि छिमेकी, नातेदार, इस्टमित्र, आफन्त गाउँका बुद्धिजीवी सबले मलाई विज्ञान पढाउन पोखरा पठाउन सुझाए यद्यपि म आफूलाई यो नतिजा आएको भरमा विज्ञान पढ्ने जोश आएको होइन। तर जति पनि आफन्तले आमाबुबालाई सुझाव दिए त्यो सबै मेरो नतिजा देखेर हो भन्ने मेरो बुझाइ थियो।
महंगो निजी कलेजमा विज्ञान पढाउन नसक्ने कुरा घरमा भैसकेपछि सरकारीमै पढ्छु भनेर आएँ। तर सरकारी पढ्न त्यसै नपाइने। दुई वटा सरकारी विद्यालयमा प्रवेश परीक्षा दिएँ, एउटामा नाम निस्क्यो। त्यो समय मलाई गाउँको सरकारी विद्यालयको सम्झना आयो जहाँ विद्यार्थी नभएर गुहार्नु पर्ने अवस्था छ, छिः छिः र दूर-दूरको अवस्था छ तर यहाँ भने १२० सिटको लागि ३००० जना मैदानमा छन्।
यत्तिकैमा सुरु भयो प्लस टु विज्ञानको यात्रा। न डाक्टर पढ्छु भन्ने उदेश्य थियो न इन्जिनियर पढ्छु भन्ने। उचित काउन्सिलिङको अभावले होला कक्षा ११ को सुरुआती दिनमा मलाई त इन्जिनियर पढ्न १२ मा भौतिक समूहबाट र डाक्टर पढ्न जीव विज्ञान समूहबाट हुनुपर्छ भन्ने नि थाहा थिएन।
विज्ञानको विद्यार्थीलाई ब्याचलरमा जुन विषय पढ्छु भने नि रोकतोक हुँदैन भन्ने थाहा थियो र उदेश्य बिना विज्ञान बाहेकका विषय पढेर पछि विज्ञान क्षेत्रतर्फ उदेश्य जाग्यो भने पूर्णबिराम लगाउनुको अर्को विकल्प नहुने हुँदा बरु २ वर्षपछि नै पूर्णबिराम लगाउने मनस्थिति बन्यो।
मेरा धेरै सहपाठीहरू एउटा उदेश्य बोकेर त्यसलाई पछ्याइरहेका थिए तर म भने पोखराको पृथ्वीचोकमा अल्मलिएका बटुवाजस्तै बिना उदेश्यको संसारमा हराइरहेको थिएँ। मन चञ्चल भैरहन्थ्यो, नयाँ-नयाँ उदेश्य नआएका पनि होइनन् तर एउटामा अडिक हुन सकिरहेको थिइनँ र म आफू पछि पछुताउनु नपरोस् भन्ने कुरामा सजक थिएँ।
त्यसैले जुनसुकै बेला जुनसुकै पाइला चाल्न सकिने हुँदा त्यसलाई कुनै रोकतोक नहोस् भन्नलाई मैले १२ मा भौतिक र जीव विज्ञान दुवैको अध्यन गरे र यति गरिसकेपछि डाक्टर, इन्जिनियर, आइटी, फरेस्ट्री, कृषि सम्पूर्ण क्षेत्रलाई फुकुवा हुन्थ्यो।
एक पटक घरमा के पढौँ भनेर सोधेँ। नातेदार एकजना दाइ सिभिल इन्जिनियरिङ गरेर त्यो समय राम्रै स्थापित हुनुभएको कुरा उहाँका बुबाले घरमा सुनाउनु भएको रहेछ। त्यो सुनेर घरबाट इन्जिनियर पढ् भन्नुभयो तर आमाबुबालाई थाहा थिएन इन्जिनियरिङ यति थरीका हुन्छन् र तिनीहरूको क्षेत्र फरक छ भन्ने कुरा। सँगै 'जे पढे पनि नेपालमै सरकारी जागिर खानु पर्छ है' भनेर झस्काउनु भयो। डाक्टर पढाउन त न घरबाट आँट गर्नुभयो न मैले आँट गरेँ।
इन्जिनियरिङ पढ्नुभन्दा पहिले यस क्षेत्रबाट कत्तिको स्थापित हुन सक्छु भन्ने कुरा अध्ययन गर्न जरुरी ठानेर अध्ययन गरेँ १/२ महिना, इन्जिनियरिङ क्षेत्रमा लागेका अग्रजसँग सल्लाह लिएँ र तिनीहरूलाई नियालेँ। त्यहाँबाट प्राइभेट इन्जिनियरिङ सबल नभएको र आउनु पर्ने सरकारी क्षेत्रमा देखेँ। त्यसका लागि पास गर्नुपर्ने लोक सेवा।
चार वर्षको इन्जिनियरिङ पढाइ र १/२ वर्ष लोक सेवाको तयारी गरी करिब ६ वर्षपछि लोक सेवामा छिर्नुभन्दा बरु अहिले नै किन नछिर्ने भन्ने प्रसङ्ग मनमा पलायो। हुन पनि इन्जिनियरिङ बाहेकका फरेस्ट्री, कृषिजस्ता क्षेत्रमा पनि उस्तै वर्षको समयपछि आउनु पर्ने लोक सेवामा नै रहेछ।
१२ को नतिजा पनि सार्वजनिक भयो, नतिजा राम्रै आयो। त्यसपछि '६ वर्षपछि लोक सेवामै आउनु पर्छ भने अहिले नै लोक सेवामा किन नजाने?' भन्ने मेरो मनको प्रश्नलाई मेरो मानसपाटलले पनि आत्मसाथ गर्यो। घरमा पनि योजना सुनाएँ। घरबाट पनि कुनै रोकतोक भएन।
मेरा सहपाठी साथीहरू विभिन्न क्षेत्रको प्रवेश परीक्षाको तयारी सुरु गरे र मैले लोक सेवाको। पहिलो पटक नासुको फर्म भरेर आउँदो केही दिनमा परीक्षा पनि दिँदै छु तर यो परीक्षा नाम निकाल्नको लागि भन्दा पनि लोक सेवाका परीक्षाप्रति व्यवहारिक हुन सामेल हुने धारणा बनाएको छु।
आजभोलि कसैले भावी योजना सोधे भने गर्वका साथ 'गभर्मेन्ट अफिसर' भन्दिन्छु। उनीहरू भन्छन्- 'स्याङ्जालीको नशा-नशा, रगतमै लोक सेवा हुन्छ। स्याङ्जालीलाई त त्यति गाह्रो नि छैन।' यसरी मेरो उदेश्य अन्त्यमा 'लोक सेवा' हुन पुग्यो।