मानिस भएर जन्म लिएपछि अनेक थरी पीडा भोग्नुपर्छ। गरिबलाई भोकै बस्नु पर्छ कि भन्ने चिन्ता। किसानलाई राम्रो उब्जनी हुन्न कि भन्ने ताप। व्यवसायीलाई व्यवसाय चल्दैन कि भन्ने पिर। चोरलाई चोर्न पाइँदैन कि भन्ने चिन्ता।
नेतालाई पद पाइन्न कि भन्ने चिन्ता। भ्रष्टलाई सुशासन कायम हुन्छ कि भन्ने चिन्ता। जोगीलाई भिक्षाको चिन्ता। जागिरेलाई जीवन धान्न सकिन्न कि भन्ने पिर। बेरोजगारलाई त्यस्तै पिरलो। सम्पन्नदेखि विपन्नसम्म सबैका आफ्नै दुःख। अमिरदेखि दीन दुखीसम्मका आफ्नै ताप र राप। सबैलाई जीवनभर केही न केही पीडा। यावत पीडाहरूले पिल्सनु पर्ने मानव जुनीको अकाट्य बाध्यता।
बाचुन्जेल त भैगो मृत्युपश्चात पनि त्यस्तै। सन्तानहरू विदेशमा भएका कारण लास बनेर लडेको मुढो समेत संस्कारका जंजालमा फस्नुपर्ने। अन्त्येष्टी क्रियाको पर्खाइमा मसानघाटमा धेरै समय गुजार्नुपर्ने। जीवित रहँदा आर्थिक बाहेक अन्य साथ नपाएको त्यो मानव, आज लास बनेपछि मसानघाटमा तड्पिनु परेको छ। अन्तिम बिदाइको लागि कसैको पर्खाइमा।
विदेशमा रहेकाहरूले आमाबालाई आर्थिक रुपमा सुख सयलमा राख्ने प्रयत्न गरेकै हुन्। दुःख नपरोस् भनेर सधैँ ध्यान दिएकै हुन्। घरमा सुसारेदेखि अन्य सुविधामा कमी नहोस् भन्ने चाहेकै हुन्। तथापि बिरामी पर्दा आफ्नो कर्तब्य निभाउन सकेनन्। चाहिने बेलामा सहारा दिन सकेनन्। आड, भरोसा दिन सकेनन्।
आफूले जन्माएका, हुर्काएका, पढाएका र असल मानिस बनाएकाहरू मर्ने बेलामा सँगै छैनन्। उसको अन्तिम सास जाँदा पानी खुवाउन समेत आउन भ्याएनन्। मृत्युपश्चात मसानघाटमा समेत छैनन्। किनकि उनीहरू सुखी जीवनको प्यासमा विदेशमा रहेका छन्। पैसा कमाइरहेका छन्। पैसामाथि पैसा कमाउन लहसिइरहेका छन्। निचोडमा भन्नुपर्दा भौतिक संसारमा अलमलिइरहेका छन्।
यथार्थ यस्तो छ कि नेपालमा बा-आमा अलिअलि बिरामी हुँदा आइहाल्न मिल्दैन। त्यसैले उहीबाट चेकजाँच गरेर औषधि सेवन गर्न सुझाउँछन्। अलिक बढी भएमा अस्पताल गएर भर्ना हुन भन्छन्। अलि बढी नै बिसन्चो भएमा आइसियूमै राख्न भन्छन्। अब बाच्ने कि मर्ने भन्ने दोधार भएपछि एकपटक भेन्टिलेटरमा राख्न भन्छन्।
जति पैसा लागे पनि उपचारमा कमी नगर्न अस्पताललाई अह्राउँछन्। लागे पुगे प्रयास गर्न हार गुहार गर्छन्। तथापि जब मेडिकल साइन्सले हार खान्छ तब उनीहरू तत्काल स्वदेश आउन सक्दैनन्। अनि सासै गइसकेपछि किन हतार गर्ने भन्ने पनि हुन्छ। मिलाएर आउँदा ढिलै हुन्छ।
यसर्थ दाह-संस्कारको समयमा प्रायः उनीहरू यहाँ उपलब्ध हुँदैनन्। तर संस्कार अनुसारको मृत्यु पश्चातको कर्म गर्न उनीहरू आउँछन्। मृत शरीरलाई भेट्न। दाग बत्ती दिन। परलोकको बाटो देखाउन। तथापि मृत्यु र दाह-संस्कारको बीचको कुराइ पीडादायी छ।
जीवनभर उनीहरूका लागि संघर्ष गरेको व्यक्ति लास बनिसकेपछि तिनैको एक काँटी सलाई वा त्यस्तै धर्म अनुसारको संस्कारका लागि लामो समय कुर्नु परेको छ। उनीहरूको पर्खाइमा लासघर र मसानघाटमा झिँगाहरूसँग समय गुजार्नु परेको छ।
आज मसानघाटमा मुढो झैँ पल्टिरहेको त्यो लास हिजो उमेर छँदा सन्ततिहरू नभए पनि जीवन चलाउन सक्षम थियो। बिरामी हुँदा पनि जसोतसो सह्यो। दुःख पर्दाका बखत त्यसलाई पनि दबायो। जीवनमा जेसुकै पर्दा सकेसम्म सन्ततीलाई दुःख दिन चाहेन।
जे-जसरी भए पनि आफै सामना गर्यो। उसका अनेकन पीडाहरू छोराछोरीलाई सुनाएन। सास रहेसम्म सन्ततिहरूबाट अपेक्षित सहायता भएन। अब जाबो मुढो लासको अन्तिम संस्कारका लागि उसले किन सन्ततिलाई दुःख दिन्थ्यो र? जीवनका दशकौँ वसन्त तिनको अभावमा जीवन धानेकोले लास बनेपछि केही मिनेटको कामलाई उनीहरूलाई किन तनाब दिन्थ्यो र?
फोनमा पनि बोल्ने समय नहुने ती छोराछोरीलाई मरेपछि किन झन्झटमा पार्थ्यो? सायद मिल्ने भए सन्तति कुराउने थिएन। परम्परा जेसुकै होस भनेर भनेर आफै सलाई कोरेर खरानी बन्थ्यो। तर त्यो सम्भव थिएन।
त्यसैगरी लासले अनुमति दिन मिल्ने भए मलामीहरूलाई पनि छिटै फर्कने वातावरण मिलाइदिन्थ्यो। लास बोल्न नमिल्ने।
मलामीहरू गाइँगुइँ गर्दै थिए 'घाट आइयो। सामाजिक सम्बन्ध बन्यो। श्रद्धाञ्जली दिने काम भयो। भेटिएका परिवारका सदस्यहरूलाई समवेदना व्यक्त पनि भयो। अब जाबो लासलाई किन समय दिने? जल्ने हो जल्छ। पुरिने हो पुरिन्छ। विदेशमा रहेका सन्तती आएपछि स्वाहा हुन्छ। लासलाई कस्को के मतलब?'
लासलाई यस्ता अभिव्यक्ति अपाच्य लाग्थ्यो। घडी हेरेर विभिन्न ठाउँमा जान हतास गरिरहेका उनीहरूलाई किन रोक्थ्यो र? तथापि के गर्ने?
हो, लासलाई थाहा छ मानिसहरू कति हतार र हतासमा छन् भन्ने। लासलाई ज्ञात छ कि आधुनिक मानिसमा समय कति कम छ। दुःखमा साथ दिन भनी आएका मलामीहरू घडी हेर्दै थिए। मलामी बन्नु त उनीहरूको सामाजिक बाध्यता थियो। चाहना भए पनि नभए पनि त्यहाँ उपस्थित हुनु अनिवार्य सरह थियो।
लासले मलामीहरूको कुरा पनि अनुभूत गर्दै थियो। लासले आफै आगो झोस्न मिलेन? न त मलाई कुर्नु पर्दैन भन्न नै मिल्यो। जे जति समय पर्खाय पनि मुढो सरह लडेर रहनुको विकल्पन थिएन।
वास्तवमा मलामी आउने भनेको लासलाई जलाएर वा पुरेर घर फर्कनका लागि हो। जात्रामा झैँ आफू भ्याउँदा जाने। अनि हात हल्लाएर फर्कने त पक्कै हैन। तथापि त्यहाँ यस्तै दृष्य देखिन्थ्यो। औपचारिकताले संस्कार स्वाहा भएजस्तो लाग्थ्यो। सबैलाई आफ्नै हतारो मात्रै।
कसैका बैँकमा काम हुन्छ। कसैलाई पैसा उठाउनु थियो। कसैलाई सामान बिक्री गर्नुपर्ने। कोही अफिस जानु थियो। कोही ठेक्कापट्टामा जानुपर्ने बाध्यता थियो। कोही कलेज जान। कोही घर जानु थियो। कोही कहाँ कोही कहाँ। अन्त्यमा त लास र परिवारका सदस्य मात्र बच्ने हुन् कि भन्ने चिन्ता। यस्तो वस्तु स्थितिले लासलाई साह्रै असहज बनाइरहेको थियो।
तथापि लासको प्रतिक्षाका पात्रहरू सन्तति हुन्। उनीहरू आउने आशमा मसानघाटमा पल्टिइरहेको छ। सास छँदा आफूलाई समय दिन नसक्नेलाई आज प्रतिक्षा गर्नु परेको छ। जीवनका कतिपय प्रतिकूल समयमा बेवास्ता गर्नेलाई अहिले आएर वास्ता गर्नु परेको छ।
लगभग जीवनको लामो समय आफ्ना अभिभावकलाई केवल यान्त्रिक रुपमा छोराछोरीको पहिचान दिन सकेकाहरूलाई आज मृत्युपछि गरिने संस्कारले तानेर निकट पार्दैछ। सास हुँदा साथ नदिएकाहरूलाई सास गएपछि कुर्नु परेको छ।
कथित परम्पराको दास बन्नु परेको छ, जाबो एउटा मुढो बनेको लास। बाँचुन्जेल सन्ततीको मायाको अभावमा तड्पनु पर्यो। मृत्युपछि स्वर्ग वा परलोकको नाममा तड्पनु परेको छ। तथापि यो अकाट्य बाध्यता थियो।
जीवनको अन्तिम गन्तव्य हो मसानघाट। यो कटु यथार्थ हो। धनी, गरिब सबैको एउटै वहिर्गमन स्थल। त्यहाँ जान कुनै संघर्ष गर्नु नपर्ने। न कुनै परीक्षा नै दिनुपर्ने। न कुनै प्रवेश पास नै चाहिने। न कुनै समय चाहिने। ब्रह्माण्डमा एकाकर हुन केवल सास जानुपर्ने। मानिस मुढो सरह बन्नु पर्ने।
तथापि शून्यमा विलिन हुन पनि कसैको प्रतिक्षा गर्न बाध्य छ लास। देह त्यागपछि पनि उसले कसैको पर्खाइमा समय व्यतित गर्नुपरेको छ। जीवनका सबै इच्छा चाहना सर्वनाश भइसकेपछि पनि अन्तिम दाह संस्कारको पर्खाइमा तड्पनु परेको छ।
द्वेष, वैरभाव, काम, क्रोध, मोहको नास्ती भएपछि पनि एक पटक तिनै बिर्सेर बसेका सन्ततीहरूको पर्खाइमा नाङ्गै भुइँमा पल्टनु परेको छ। जिउँदो छँदा हेरविचार गर्न नभ्याउने तिनै सन्ततीलाई दाह संस्कारका निम्ति मात्र कुर्नु परेको छ।