दश वर्ष अमेरिकामा बसेर पहिलो पटक नेपाल फर्कँदा एयरपोर्टबाटै भाडाको ट्याक्सीमा घरमा जाँदा मलाई डर लाग्यो। यहाँको सडक अवस्था, सवारी चलाई र सवारी व्यवस्थापन देखेर म यति डराएँ कि फर्केको एक महिनासम्म स्कुटरसमेत चलाउने हिम्मत आएन।
...
अमेरिकामा बसोबास क्षेत्रका आफ्नो घर अगाडि अर्थात् घर बरण्डाले ओगटेको भागभन्दा अगाडि जमिन आफ्नो हुँदैन तर त्यस जमिनको संरक्षण र सफाई सोही घरधनीको हुन्छ।
...
आरक्षण अधिकार होइन, सुविधा हो। अर्थात पहेंलो लाइट हो, जुन कुनै समय, सीमा र सर्तअनुसार निश्चित काल, परिस्थितिका लागि मात्र लागु हुने हो।
अमेरिका डायरी-२
विश्वको शक्तिशाली देश अमेरिका मात्र ३ ओटा ट्राफिक लाइटमा चलेको छ– रातो, हरियो र पहेंलो। हरियोले भन्छ– एस (हुन्छ), रातोले भन्छ– नो (हुँदैन) र पहेँलोले भन्छ–सावधान, यो केवल सुविधा हो। समग्रमा भन्दा रंङ, राइट र प्रिभिलेज तीन रंगका संकेत चिन्ह हुन्।
३३ करोड जनसंख्या भएको अमेरिका बिशाल छ। यहाँ २ सय ८० मिलियन अर्थात २८ करोड गाडी गुडिरहेका हुन्छन्। यी गाडी गुड्ने राम्रो मुल सडक नै ४३ लाख किलोमिटर छ, जुन विश्वको सबैभन्दा धेरै लामो सडक सञ्जाल भएको मुलुक हो।
अमेरिकामा गाडी चलाउने अनुमति लिने चालकको संख्या नै २३ करोड हाराहारीमा छ। यति धेरै सवारी साधन र सडक भएको देशमा सडक दुर्घटना १०० माइल अर्थात १ सय ६० किलोमिटरमा १ दशमलव ३४ जना पर्न आउँछन्।
नेपालको तुलना गर्ने हो भने सन् २०२० को तथ्याङ्कअनुसार ५४ लाख सवारी साधन छन्। यहाँ राम्रो मुल सडक करिब १४ हजार किलोमिटर मात्र छ। तर पनि नेपालमा सडक दुर्घटनाको तथ्याङ्क हेर्दा प्रत्येक प्रति सय किलोमिटरमा १८ जना अर्थात १ सय माइलमा झण्डै २९ जनाको मृत्यु भइरहेको छ।
अझ काठमाडौंदेखि नौबिसेसम्मको सडकमा वार्षिक प्रतिकिलोमिटर ३ जनाका दरले सडक दुर्घटनाबाट मृत्यु हुने गरेको देखिन्छ। यसर्थ अमेरिकामा सडक दुर्घटना कम देखिनु मुख्य नियमकानुनको कार्यान्वयन र सडकको वैज्ञानिक ब्यवस्थापन नै हो। त्यसैले अमेरिका ३ रंगका सडक लाइटले चलेको देश भन्न सकिन्छ।
कानूनी भाषामा हरियो रंगले न्यायोचित, रातोले दण्डनीय (गैह्रकानूनी) कार्य र पहेँलोले सर्तसहितको सुविधा जनाउँछ। अर्थात कुनै पनि अधिकार प्रयोग गर्न पहिले आफ्नो कर्तब्य पुरा गर भन्ने हो।
खासमा पहिलेका २ रंग हरियो र रातो हुन्छ वा हुँदैन भन्ने कुरामा हामी जानाकार नै छौ तर नेपाल र नेपालीले वास्तविक अर्थमा नजानेको रंग नै पहेलो हो। जसको अर्थ सुविधा वा प्रिभिलेज हो।
त्यो काम तिम्रो पूर्ण अधिकारको विषय होइन तर सहुलियतका लागि समय, सीमा र सर्तमा रहेर अर्कालाई मर्का नपारी आफ्नो अधिकार उपभोग गर्ने भन्ने हो।
अर्कोतर्फ कानूनी मान्यतामा अमेरिकाको प्रत्येक क्षेत्रमा गर, नगर र सावधानीपूर्वक सुविधा उपयोग गर भन्ने हुन्छ। तर हामी नेपालमा कुन सही र अधिकार हो? गर्न हुने हो वा कुन गैरकानूनी हो वा गलत हो भन्ने २ कुरा त थाहा पाएका हुन्छौं। तर अर्को महत्वपूर्ण प्रिभिलेज अर्थात पहेलो रंग सुविधा उपयोग गर्ने कुरामा हामी अन्जान छौं।
यसलाई आफ्नै अधिकार मान्ने हाम्रो सोचले वास्तविक प्रिभिलेज भनेको अर्थ नै हामीलाई थाहा छैन। अरू कसैलाई असर नपर्ने वा अरूको अधिकार नछिन्ने गरि सुविधा उपयोग गर्ने कामको ब्यावहारिकता हामीकहाँ छैन।
मेरो एउटा अनौठो अनुभव छ। हाइस्कुलदेखि कलेज पढ्दासम्म साइकल सिकियो, सहरबजारमा चलाइयो। पछि मोटरसाइकल सिकियो, लाइसेन्स निकालियो र करिब १५ वर्ष आफ्नै मोटरसाइकलमा नेपालका विभिन्न शहर, गाउँ र कच्ची–पक्की सडकमा घुमेँ। त्यसपछि काम विषेशले अमेरिका पुगेँ।
करिब १० वर्षपछि म नेपाल फर्कँदा एयरपोर्टबाटै सवार भाडाको ट्याक्सी चलाई अनि सडकको सवारी देखेर डर लाग्यो। के–के न अमेरिकी भई टोपलिएको भनिदिने हुन् कि भन्ने डरले केही नबोले पनि यहाँको सडक अवस्था, सवारी चलाई र सवारी ब्यवस्थापन देखेर म यति डराएको थिएँ कि, करिब एक महिनासम्म आफैंलाई स्कुटरसमेत चलाउने हिम्मत आएन।
करिब १० वर्ष अमेरिकामा कार चलाएर विभिन्न राज्य, सहर र हाइवे चहारेर परफेक्ट ड्राइभर भएको मलाई नेपालमा सवारी चलाउन डर लाग्यो। पछि सम्झिएँ–म अहिले नेपालमा छु आफूले जाने/सिकेको अमेरिकी सवारी नियम यहाँ चटक्कै नछाडेसम्म सवारी चलाउन सकिन्न।
अब मैले नेपालमा पालना गर्नैपर्ने कुरा, पहिलो आफ्नो ज्यान बचाउ, दोस्रो आफ्नो सवारी बचाउ, तेस्रो जसरी भए पनि आफ्नो सवारी अगाडि बढाउ र चांैथो तथा पाँचौ अरू जान्नैपर्ने थुप्रै कुरा छन्। जस्तै कुनै गल्ती कमजोरी वा घटना भएमा गल्ती नगर्नेले होइन, पुलिस र कानून नजिक चिन्नेले अपराध र सजायँबाट उन्मुक्ति पाउँछ। त्यसैले नियम कानूनभन्दा पुलिस र नेतालाई राम्ररी चिनजान गर।
अमेरिकामा हप्तामा दुई ओटासम्म स्पिडिङ टिकट पाएर कुशल चालक, सवारी नियम र कानूनको गहिरो अध्ययन र ब्यावहारिक ज्ञानले सवारी चालकको शिष्ट ज्ञाता बनेको म नेपाल आएको एक महिना पछि पुरै फेरिएँ।
म पनि के कम, कुन लेन, कुन साइड, कुन गति स्पिड के मतलब! जब मैले सवारी नियम कानून र अमेरिकाको ब्यवहारिक सवारी चालक ज्ञान बिर्सिए तब म नेपालको उपर्युक्त सवारी चालक बनेँ।
आजकल म लेन भनेको के हो बत्तीको अर्थ के हो कसको पालो, अधिकार के हो यी सबै भुल्न बाध्य भएको छु। मात्र मलाई आफ्नो र सवारीको गन्तब्यबारे थाहा छ।
अमेरिकामा सवारीको स्पिड र महत्वलाई प्राथमिकतामा राखेर नियम बनाइएको हुन्छ। एक पैदल यात्रुभन्दा साइकल यात्रुको स्पिड बढी हुन्छ त्यसैले थोरै गतिवान पहिलो प्राथमिकतामा पर्छ।
एक कारको स्पिडभन्दा साइकलको स्पिड कम हुन्छ त्यसैले साइकलले पहिलो प्राथमिकता पाउँछ। फेरि एक प्राइभेट कारभन्दा स्कुल बसको महत्व बढी हुने हुँदा स्कुल बसले प्राथमिकता पाउँछ।
यस्तै एम्बुलेन्स, पुलिसको कार, दमकल, फनरल (मलामीहरू) वा कुनै साइरन लगाउँदै आएका सवारीलाई पहिलो प्राथमिकता दिइन्छ। यस्ता साइरनवाला गाडी पछाडि आएमा आफूले हाँकिरहेको गाडी छेउ लगाएर रोक्नुपर्ने हुन्छ। ताकि, उसको बाटो खुला होस् र छिटै अगाडि जान सकोस्।
हामीकहाँ बाटो जाममा परेर एम्बुलेन्समा ल्याइएको बिरामी बाटैमा मरेका धेरै घटना छन्। यस्तै जेब्रा क्रसिङ गरिरहेका पैदलयात्रुलाई हुइँकिएर आएको कारले हानेका घटना पनि कम छैन।
वास्तवमा अमेरिकाको सडक नियम आम जनताको हरेक नियमसँग मिलाइएको हुन्छ। यति सम्म कि, फुटपाथमा हिँडिरहेको दुई विपरित दिशाबाट आएका मानिसहरू पनि प्रायः आफ्नो राइट साइडबाट नै हिँड्छन्। तर हामीकहाँ ब्यस्त सडकमा पनि जुन साइड च्यापेर हिँडे पनि हुने, कुनै लेनको मतलव नै छैन। सडक बत्ती र ट्राफिक नियमको त कुरै नगरौं।
अमेरिकीहरू सडक लाइटमध्ये पहेँलोलाई आफ्नो अधिकार कहिल्यै मान्दैनन्। त्यो केवल सुविधा हो जुन सर्तक गराउन राखिएको हो भन्ने ठान्छन्।
सडकभन्दा बाहिर पनि ब्यवहारिकतामा धेरै यस्ता कार्य देखिन्छन्। जस्तै, कुनै वयस्क अर्थात २१ वर्ष कटेकाले चुरोट र रक्सी खान पाउँछ र जताततै बिक्रीका लागि राखिएको हुन्छ। तर कानूनअनुसार बयस्क नभएकाले चुरोट तथा रक्सी किन्न पनि पाउँदैन र बेच्नेले बेचेमा कारबाही भोग्नुपर्छ।
वयस्कले पनि चुरोट रक्सी सार्वजनिक ठाउँ वा स्मोक फ्रि जोनभन्दा बाहिर खान मिल्दैन। अब कुनै बयस्कले चुरोट पिउन सक्ने उसको अधिकार हो, अर्थात हरियो लाइट, तर उसको अधिकार प्रयोग भन्दैमा जहाँ पायो त्यहीँ वा सार्वजनिक स्थलमा पिउन सक्दैन र दण्डनीय छ त्यो रातो लाइटमा पर्ने भयो। स्मोक फ्रि जोन वा सार्वजनिकस्थल बाहेक अरूलाई असर नपर्ने ठाउँ छ भने चुरोट खान सक्छ त्यो पहेँलो हो।
सडक सवारीको कुरा गर्दा आफ्नो लेनमा गाडी चलाउनु उसको अधिकार वा हरियो रंगको नियम हो। लेन परिर्वतन गरेर अर्को लेनमा जानु परे साइडलाइट दिनुपर्ने हुन्छ तर आफू जान चाहेको लेनमा आइरहेको सवारीलाई पहिलो प्राथमिकता दिएर सुरक्षित भए मात्र अर्को लेनमा जान सकिन्छ। यो नै पहेलो रंगको सुविधा हो। तर केही स्थान वा समयमा चाहेर पनि अर्को लेन परिर्वतन गर्न सकिन्न। लेन परिर्वतन दण्डनीय हुने स्थानमा परिर्वतन गरे जरीवानासमेत तिर्नुपर्छ।
अर्को उदाहरण, इन्टरसेक्सनको हो जसलाई हामी नेपालीमा चोक भन्छौं। प्रायः चोकमा चार तिरको बाटो जोडिन्छ। अमेरिकाको ठूला हाइवेको इन्टरसेक्सन फ्लाइओभर ब्रिज बनेको हुन्छ। नेपालमा पनि कलंकीमा यस्तै बनिसकेको छ। एक बाटो माथि अर्को बाटो पुल बनाएर तारेको हुन्छ जसले सवारी साधन रोक्नु पर्दैन र कुनै दुर्घटना हुँदैन।
अर्को लाइट सिस्टम हुन्छ जसमा हरियो, रातो र पहेँलो बत्ती हुन्छन्। यहाँ हरियो बलेको तर्फको अगाडि बढ्छ, रातो रोकिन्छ। यो पनि नेपालका केही शहरका केही चोकमा देख्न पाइन्छ तर अमेरिकामा अत्याधिक सडकका चोकचोकमा यस्ता ट्राफिक बत्ती हुन्छन्।
अमेरिकी इन्टरसेक्सनमा अर्को एक बत्ती केही सवारी मात्र आउने जाने सानो सडकमा हुन्छ जुन रातो झिपझिप बत्ती बलिरहन्छ यसको अर्थ जुनसुकै साइडको सवारी साधन त्यो चोकमा पुगेपछि रोक्नैपर्छ जो पहिला आएको छ त्यो जान्छ र पालैपालो आफ्नो गन्तव्यमा जान्छन्।
खासै व्यस्त नहुने साना गल्ली बाटोको चोकमा बत्ती हुँदैन स्टप साइन हुन्छ। यसमा बत्ती भएको स्थानझैं पहिले आएको गाडी रोकिन्छ हेर्छ कसको पालो हो तब मात्र अगाडि बढ्छ।
हामीकहाँ यस्ता चोक प्रशस्त छन्। तर यसरी पालोपालो भने गरिँदैन र रोकिँदैन पनि। जसले सक्छ ऊ अगाडि बढ्छ अर्कोलाई हान्नै लाग्ने जस्तो भएमा बेस्सरी हर्न बजाउँदै दौडन्छ। यस्तै इन्टरसेक्सन् अर्थात चोकको बनोटमा राउण्ड मोडल हुन्छ चारैतिरका सवारी साधन चोकमा रहेको राउण्ड रेखामा आगमन समय अनुसार छिर्छन् र आफ्नो गन्तब्यमा निस्कन्छन्।
यो सिस्टम प्रायः साघुँरो सडक र ब्यस्त सहरको सवारीलाई मानवीय सचेतना र ब्यवहारले नै स्वतः नियन्त्रण गर्ने गरी बनाइएको हो। यो खासगरी अमेरिकाभन्दा पनि बेलायती सहरमा बढी पाइन्छ।
नेपालमा पनि यसै प्रक्रियाअनुसार चोकको बिचमा कुनै मूर्ति वा गोलो संरचना बनाएर सवारीले चोक पार गर्ने पद्धती बनाएको पाइन्छ। तर हामीले रेखा कोरेर गोलो घेरा बनाउने र नियमअनुसार पालोमा पास गर्ने पद्धतीलाई ब्यवाहारिक बनाउन सकेका छैनौं। बरू त्यो चोकको गोलो घेरा होइन, त्यहाँ कुन राजनीतिज्ञको वा आफ्ना आफन्तको मर्ति ठड्याउने त्यसको विषयमा चासो लिन्छौं।
अमेरिकामा बसोबास क्षेत्रका आफ्नो घर अगाडि अर्थात घर बरण्डाले ओगटेको भागभन्दा अगाडि जमिन आफ्नो हुँदैन तर त्यस जमिनको संरक्षण र सफाई सोही घरधनीको हुन्छ।
घाँस बढेमा काट्ने सफा गर्ने जिम्मा उसैको हुन्छ। यदि सरसफाइ नगरे समुदायले वा नगरपालिकाले जरिवाना लगाउन सक्छ। म एक पटक नर्थ क्यारोलिना राज्यको दुराम सहरको नयाँ वस्तीमा बस्थेँ। त्यो समाज सहरदेखि केही टाढा नयाँ आधुनिक घर बनाइएको स्थानमा थियो।
हामी बस्ने घरबेटी क्यानाडा बस्थे भने हामी त्यस ३ बेडको घरमा ३ जना बस्थ्यौं। एक दिन काम सकेर घर फर्किँदा हामी बस्ने घरको मुल दैलोमा एक नोटिस टाँसिएको थियो, ‘तिम्रो घर अगाडिको चौर अर्थात यार्डमा घाँस बढेर ६ इन्च लामो भइसक्यो तुरून्त काट, यदि उक्त घाँस ७ दिन भित्र नकाटेमा हामी काट्न बाध्य हुनेछौ र जरिवाना तिरानउने छौं।’
हामी त्यो चिठठी पाउनासाथ हतारहतार घाँस काटने मेसिन किन्न गयौं र सोही बेलुका घर वरपर हाम्रो जिम्मेवारीको घाँस काटेर सफा बनायौं। वास्तवमा हाम्रो घरबेटी टाढा बस्ने र घरमा भएको घाँस काट्ने मेसिन बिग्रेकाले त्यसरी घाँस बढेको थियो। तर ६ इन्चभन्दा धेरै लामो भइसकेको थिएन मात्र छिमेकीको भन्दा केही बढेकाले हामीले चिठ्ठी पायौं।
नागरिक स्वतन्त्रताको नमूना मानिने अमेरिकामा आफ्नो स्वामित्व भएको आफनो जमिन भए पनि नियम विपरित उक्त स्थानमा कुनै भौतिक संरचना बनाउन पाइँदैन। कसैको घर, कम्पाउड सम्पत्तीमा अनधिकृत प्रवेश गर्न वा कुनै गतिबिधि गर्न पाइँदैन।
यदि यसो गरेको खण्डमा घरधनीले गोली हान्नसमेत पाउने अधिकार छ। यस्तै कुनै व्यक्ति वा निजी कम्पनीको घर वा अपार्टमेन्ट भाडामा लिन सो घर धनी वा अपार्टमेन्ट मेनेजमेन्टको पूर्ण सहमति हुनुपर्छ। कसलाई दिने वा नदिने पूर्ण अधिकार घरधनी वा मेनेजमेन्टलाई हुन्छ। त्यसैले भाडामा लिन चाहनेको अनिवार्य ब्याकग्राउण्ड तथा सोसियल सेक्यूरिटी जाँच गरिन्छ। अर्थात् उसको तीन पुस्ते आर्थिक तथा सामाजिक गतिविधि हेरिन्छ।
भाडामा बसेपछि तोकिएको समय भित्र भाडा रकम बुझाउने र नियम पालना गर्नुपर्ने हुन्छ। यसो भएन भने घरधनी वा म्यानेजमेन्टले भाडावाललाई निकाल्न पुलिस बोलाउन सक्छ। तर कहीं कसैलाई कुनै आधारमा अपहेलना वा भेदभाव गर्न पाइँदैन।
भाडावालाले पनि आफ्नो अधिकार र कर्तव्यको सीमा भित्र बसेर मात्र आफ्नो नागरिक अधिकार उपभोग गर्न स्वतन्त्र हुन्छ। उसले घरधनी वा कोही कसैको निजी अधिकार वा स्वतन्त्रतामा कुनै पनि आरंक्षण वा अधिकारको निहुँमा दख्खल दिन सक्दैन।
मैले बुझे जानेअनुसार नेपालको संविधान, कानूनअनुसार आरंक्षण अधिकार होइन सुविधा हो। अर्थात पहेंलो लाइट हो, जुन कुनै समय, सीमा र सर्तअनुसार निश्चित काल, परिस्थितिका लागि मात्र लागु् हुने हो। तर हामीकहाँ आरक्षणलाई मौलिक अधिकार मान्नेहरू अर्थात हरियो लाइट मान्नेको संख्यामा कमी छैन।
नेपालको संविधान २०७२ मा ३१ वटा मौलिक हकबारे धारा १६ देखि ४६ सम्म उल्लेख गरिएको छ।
धेरै मौलिक हकको ब्यवस्था नजिकै धारा ४८ मा रहेको नागरिकका ४ प्रकारका कर्तब्यबारे पनि उल्लेख गरिएको छ। जसमा देशका हरेक नागरिकले राष्ट्रियता, अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्ने कर्तब्य आमनागरिकलाई दिएको छ। साथै संविधान र कानूनको पालना, राज्यले चाहेमा अनिवार्य सेवा र सार्वजनिक सम्पत्तीको सुरक्षा र संरक्षण गर्ने कर्तब्य पनि आम नागरिकको कर्तब्यमा पर्ने स्पस्ट उल्लेख छ। तर पनि हामी नेपालीमा आफ्नो कर्तब्यको ज्ञान छैन मात्र अधिकारको ज्ञाता छौं, केवल अधिकार खोज्न आम्दोलित छौ।
यर्थाथमा कर्तब्य भनेको घरमा भण्डारण गरिएको अन्न खाद्यन्न हो भने अधिकार भनेको खाना वा भोजन हो। जब घरको भकारीमा अन्न नै छैन भने खाना कसरी बन्छ र खान सकिन्छ?
रित्तिएको भण्डारबाट भोक लाग्यो खाना ल्याउ भन्दैमा कसरी खान दिन सक्छ र? अब हरेक नागरिकले सचेत हुनुपर्ने कुरा के छ भने कोही कसैले अधिकारका कुरा गरेको खण्डमा वा अधिकार मागेर होइन खोसेर लिने हो भन्ने मिठा र उत्तेजक नारा दिएमा उसैलाई प्रत्येक नागरिकले सोध्नु जरूरी छ। के तिमीले अधिकार माग्नु पहिले आफ्नो कर्तव्य पुरा गरेका छौ?
पुरा गरेको भए के कति छन् स्पस्ट पार, अनि मात्र अधिकारका कुरा गर। नत्र चुनावी नारा र फोस्रा आश्वासनले जनतालाई चुनावी भ्रम नफैलाउ। अब हामीले कुनै राजनीतिक दल वा नेतालाई जनताको पक्षमा काम गर्ने हो वा होइन वा सावधानी साथ छान्ने जिम्मा जनतामा आएको छ। सम्पूर्ण जनता यहीँ आफ्ना कर्तब्य र अधिकारका बारेमा सचेत भए मात्र हाम्रो देश, समाज र परिवारको हित विकास हुन्छ।
त्यो विकासको सवारीलाई अगाडि बढाउन आगामी दिनका लोकतान्त्रिक क्रियाकलापमार्फत रातो, हरियो र पहेलो बत्तीको संकेत दिनु आवश्यक छ। तब मात्र हाम्रो जीवन रंगीन, सभ्य, भब्य र सुखमय बन्ने छ।
अमेरिका डायरी-१
नेपालभन्दा ५ गुणा महँगो छ अमेरिका। नेपालमा ठिकै खाले रेस्टुराँमा खानाको मूल्य ३ डलर पर्छ भने अमेरिकामा १५ डलर। यस्तै हाम्रोमा राम्रै होटलका कोठा एक रातको २ सय डलर पर्छ भने अमेरिकामा १२ सय डलर।
अमेरिकामा ‘होमलेसहरू’को जनसंख्या ५ लाख छ। न्युयोर्कमा मात्र ६० हजार भन्दा वढी ‘होमलेस’ छन्।
अमेरिकामा कम्तिमा १ हजार डलर मासिक कोठा भाडा तिर्नुपर्छ अनि खाना खर्च, लत्ताकपडा र अन्य खर्च हुन्छ नै। यता नेपालमा मासिक १५ देखि २० हजार रुपैयाँ कमाउने व्यक्ति पनि हाँसिरहेको हुन्छ। भोजभतेर, पार्टी र भट्टीमा नाचिरहेको हुन्छ।
विस्तृतमा पढ्नुहोस् अमेरिका डायरी-१