बैँकमा काम विशेषले गएको थिएँ। एउटा २५ वर्ष जतिको युवकले दायाँ हातको बुढी औँला स्ट्याम्प प्याडमा चोबलेर मतिर हेर्दै सोध्यो- 'यो दायाँ कि बायाँ हो हजुर?'
मैले भनेँ, 'लेफ्ट भनेको बायाँ र राइट भनेको दायाँ।'
अनि ऊ ढुक्क भयो।
हुन पनि हो, अङ्ग्रेजीमा लेफ्ट-राइट भनिन्छ भने नेपालीमा दायाँ-बायाँ भनिन्छ। यसले गर्दा पनि कति मान्छेहरू झुक्किने गर्दा रहेछन्। फेरि अङ्ग्रेजी माध्यममा पढेकाहरूले दायाँ-बायाँ भन्ने शब्द नै सुनेका हुँदा रहेनछन्।
नयाँ पुस्ताका मानिसहरू १२ कक्षा उत्तीर्ण गरिसक्दा पनि बैँक लगायतका वित्तीय संस्था र सरकारी कार्यालयमा भर्नुपर्ने फाराम र निवेदनहरू अरुलाई लेख्न लगाउँछन्। कोही नभेटे सुरक्षा गार्ड र कार्यालय सहयोगीलाई लेखिदिन आग्रह गर्छन्। लेखनदास बस्ने कार्यालयहरूमा भने पैसा तिरेर लेख्न लगाएको प्रशस्त देख्न सकिन्छ।
मैले धेरै ठाउँमा धेरै व्यक्तिका कागजपत्रहरू र फाराम नि:शुल्क तयार पारिदिएको छु। निजी बोर्डिङ स्कुल र निजी कलेजमा पढेर हुर्किएका व्यक्तिहरू नेपाली विषयमा कमजोर हुँदा रहेछन्। किनकि त्यहाँ प्रशासनिक काम कारबाहीदेखि लिएर बोलीचाली गर्ने भाषा सबै अङ्ग्रेजी हुँदो रहेछ।
जागिर खाने सिलसिलामा नेपालीमा लेखपढ गर्नुपर्ने कतिपय कार्यालयमा नवपुस्ताको आकर्षण घट्दो देखिन्छ। जागिर खाएका कतिपय व्यक्तिहरू पनि नेपाली भाषामा चिठीपत्र र डकुमेन्ट तयार गर्न नसकेर हैरान भएका देखिन्छन्।
अचेलका युवायुवतीहरू प्राय: हिन्दी र अङ्ग्रेजी चलचित्र हेर्छन्। हिन्दी र अङ्ग्रेजी गीत सुन्छन्। सामाजिक सञ्जालमा पनि सधैँ अङ्ग्रेजी भाषामा नै आफ्ना र विचार अभिव्यक्त गर्छन्। अङ्ग्रेजी र हिन्दी साहित्य बढी पढ्छन्।
हामीले पढ्दाको बखत निजी विद्यालय र कलेजहरू विरलै मात्रामा थिए। अहिले कर्मचारीतन्त्रमा आफ्नो स्थान बनाएका अधिकांश व्यक्तिहरू सरकारी विद्यालय र सरकारी क्याम्पसका उत्पादन हुन्। त्यसैले उनीहरूको अङ्ग्रेजी र नेपाली दुवै भाषामा राम्रो ज्ञान छ। क्याम्पस स्तरमा प्राविधिक विषय अङ्ग्रेजीमा नै पढाइ हुँदै आएको छ भने अन्य क्षेत्रमा भने दुवै भाषामा लेख्न पढ्न पाइने व्यवस्था थियो।
म आफू इन्जिनियरिङ क्षेत्रको व्यक्ति भएकोले क्याम्पसमा पूरै अङ्ग्रेजी माध्यममा पढ्नुपरेको थियो। तर विद्यालय स्तरमा नेपाली माध्यममा पढेको हुँदा दुवै भाषामा राम्रो ज्ञान हासिल गर्न सफल हुन पुगेँ। सरकारी कार्यालयमा काम गर्दा प्राविधिक शाखाका सबै कागजात र डकुमेन्टहरू अङ्ग्रेजी भाषामा तयार गर्नुपर्थ्यो भने प्रशासन शाखाका सबै कागजात नेपाली भाषामा तयार गर्नुपर्थ्यो।
एसएलसी परीक्षामा मेरो नेपाली विषयमा ६७ र अङ्ग्रेजी विषयमा ७२ अङ्क आएको थियो भने क्याम्पसमा पढ्दा नेपालीमा ६८ र अङ्ग्रेजी विषयमा ७४ अङ्क आएको थियो। त्यसैले मैले जागिर जीवनमा कार्यसम्पादन गर्दा अरु कसैको मुख ताक्नु परेन। यसमा मलाई गर्व छ।
मेरा छोराछोरीहरू पनि भाषा, साहित्य र पत्रकारितामा रुचि राख्छन्। इन्जिनियरिङ विषय पढेका उनीहरूको अङ्ग्रेजी भाषामा राम्रो दखल छ र धेरैजसो अङ्ग्रेजीमै प्रस्तुत हुन्छन्। तर मैले उनीहरूलाई नेपालीमा पनि लेख्न प्रेरित गरिरहन्छु। र त उनीहरू नेपालीमा त्यति कमजोर छैनन्।
के तपाईहरू पनि आफ्ना बालबच्चाहरूलाई अङ्ग्रेजी भाषामा पोख्त बनाउने बहानामा कतै नेपाली भाषामा कमजोर त बनाउनु भएको छैन? हरेक अविभावकले यसमा ध्यान पुर्याउनु जरुरी देखिन्छ।