नेपाल सरकारको वनस्पति विभागले गत चैत्र २९ गते 'वनस्पतिको अनुसन्धान र नवप्रवर्तन, नेपालको उन्नयन' भन्ने नारा सहित वनस्पति दिवस मनायो। सबैको मनमा संशय पैदा हुन्छ, के साँच्चीकै नेपालको जडीबुटीजन्य वनस्पतिबाट समृद्धि सम्भव छ र? कि नाराको लागि शब्द चयन मात्र हो?
वनस्पतिले समग्र रुपमा बिरुवा प्रजाति जनाए तापनि आम चासो गैरकाष्ठ वन पैदावारमा महत्वपूर्ण मानिने जडीबुटी तथा सुगन्धित तेलजन्य वनस्पतिको सम्भाव्यताको सवालमा रहने हुनाले यो आलेख पनि यसैमा केन्द्रित रहेको छ।
हामीले जप्दै आएको मन्त्र जल, जंगल, जडीबुटी, जनसंख्या, जमिन आदि नेपालका अमूल्य सम्पदा हुन्। तर उपलब्ध स्रोतहरूको सदुपयोग किन भएन? अपेक्षित लाभ लिन किन सकिएन? के भयो भने गर्न सक्छौ? यस्ता तमाम सवालको जवाफ चित्त बुझ्दो रुपमा पाइएको छैन।
नेपालभित्र चुनढुङ्गाको खानी अत्याधिक मात्रामा हुँदाहुँदै आजभन्दा एक दशक अघिसम्म सिमेन्टको कुल मागको दुई-तिहाई भारतबाट आयात हुन्थ्यो। अहिले आन्तरिक माग नेपाल भित्रबाटै पूर्ति भएर निर्यात गर्न सकिने अवस्था बन्दै छ।
जलस्रोतमा विश्वको दोश्रो धनी देश भएर पनि अठार घण्टासम्म लोडसेडिङ हुने गर्थ्यो तर अब चिन्ता बिजुली कहाँ खपत गर्ने र कसलाई बेच्ने भन्ने छ। यी क्षेत्रमा उल्लेखनीय सुधार हुनुमा राज्यका तर्फबाट भएको नीतिगत हस्तक्षेप नै हो, तर जडीबुटी र सुगन्धित तेलजन्य वनस्पति जस्ता पैदावारमा विडम्बना भन्नुपर्छ मूल्यका आधारमा निर्यातको नौ गुणा जति त विदेशबाट आयात नै हुन्छ।
जैविक विविधतामा धनी देश
नेपालको कुल भूभागको ४४.७४ प्रतिशत ओगटेको वन क्षेत्रमा कुनै न कुनै प्रकारका औषधिजन्य एवं उपयोगी वनस्पतिहरू पाइन्छन्। जैविक विविधताको हिसाबले नेपालमा ११८ प्रकारका परिस्थितिकीय प्रणाली, ७५ प्रकारका वनस्पति वर्ग, ११ हजार ९७१ वनस्पति प्रजाति भएकोमा करिब ७०० प्रकारका त औषधिजन्य जडीबुटीहरू रहेका छन्। भनिन्छ हरेक वनस्पतिमा कुनै न कुनै औषधिय गुण तथा उपयोगिता रहेकै हुन्छ।
नेपाल व्यापार सूचना पोर्टलले नेपालबाट सयभन्दा धेरै प्रकारका वनस्पतिहरू वार्षिक रुपमा व्यापारमा गएको देखाएता पनि जडीबुटीबाट राष्ट्रिय आयमा भएको योगदान भने सन्तोषजनक छैन।
विश्वमा जडीबुटीको व्यापार हेर्ने हो भने सन् २०१९ मा ८३ अर्ब अमेरीकी डलर भएकोमा सन् २०३० सम्ममा वार्षिक १९ प्रतिशतको वृद्धि भई ५ सय ५० अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। यसमा नेपालको हिस्सा नगन्य छ तर उत्पादन गर्न सकेमा हामीलाई बजारको खाँचो छँदै छैन।
जडीबुटीको क्षेत्रमा नेपालमा केही पनि भएको छैन त?
जडीबुटीको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायहरू नभएका पनि हैनन्। विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू र विभागहरूले कुनै न कुनै रुपमा अनुसन्धान र विकासका कार्यहरू संचालन गर्दै आएका पनि छन्।
जडीबुटी खेतीका लागि नेपालको पश्चिमी क्षेत्रहरूमा पकेट क्षेत्रको निर्धारण, कृषकलाई अनुदान वितरण र जडीबुटी बिमाको सुरुआत गत वर्षदेखि थालिएको छ तर परिणाम अझै पनि अपेक्षाकृत छैन।
व्यवसायिक जडीबुटी खेतीको सुरुआत भने हुन थालेको छ। यदि हामी सर्लाही जिल्लाको नवलपुरमा गयौँ भने राजमार्गको छेवैमा उत्तरतर्फ जडीबुटी तथा सुगन्धित तेलजन्य वनस्पतिको प्रशोधनका ठूला उपकरणहरू देख्न सकिन्छ।
त्यहाँ सामुदायिक वनको करिब १५० बिघा क्षेत्रफलमा विद्युतको हाई-टेन्सन लाइनको वरिपरि काम नलाग्ने जमिनमा लेमनग्रास, सिट्रोनेला, पाल्मारोजा, मेन्थाजस्ता सुगन्धित तेलजन्य वनस्पतिको खेती गरिएको छ।
त्यस उद्योगबाट करिब २०० घर परिवार प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। उत्पादन भएको सुगन्धित तेल युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा राम्रै भाउमा बिक्री हुने गरेका छन्। रोचक कुरा त यो कम्पनी राज्यबाट केही पनि सुविधा नलिइकन विगत २५ वर्षदेखि नियमित रुपमा संचालनमा रहेको छ।
यस्ता काम नलाग्ने जमिनहरू उपयोग गरेर जडिबुटी खेती गरेका सफल र प्रेरणादायी उदाहरण तराई एवं पहाडी जिल्लाहरूमा अरु पनि भेटिन्छन्।
नेपालका जडीबुटी नै किन?
भौगोलिक र जलवायु विविधताले गर्दा नेपालमा जैविक विविधता सम्भव भएको हो। नेपालको हिमाली क्षेत्रका जडीबुटीमा अन्य देशहरूको भन्दा विशेष औषधिय गुण रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
जडीबुटीमा औषधिय गुण भएका रसायनलाई सेकेन्डरी मेटाबोलाइट भनिन्छ। वनस्पतिले विषम् हावापानीसँग जुध्न तथा आफ्नो सुरक्षाका लागि पनि त्यस्ता रसायनहरू उत्पादन गर्ने गर्दछन्। ती रसायन पहिचान गरी छुट्याउन सकेमा औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। औषधिय गुण प्रयोगशालामा अनुसन्धानको विभिन्न वैज्ञानिक विधिअनुसार पत्ता लगाउन सकिन्छ।
नेपालका पहाडी र हिमाली क्षेत्रमा पाइने जडीबुटी स्वच्छ माटो र हावामा हुर्केका हुनाले अर्गानिक (जैविक) प्रकृतिका पनि हुन्छन्। जंगलभित्र पाइने जडीबुटी त त्यसै पनि अर्गानिक नै ठहरिन्छन्।
अहिले विश्व जैविक उत्पादनको उपयोगमा लालायित भएकोले धेरैको ध्यान यहाँका जडीबुटीतिर आकर्षण भएको पाइन्छ, जसरी नेपाली गाँजामा विदेशीले आँखा लगाएर बसेका छन्।
इन्डोनेशियाले शीतलचिनीको बोक्रा, पात, फल, बिउ, आदिबाट दुई दर्जन जति विभिन्न प्रकारका उत्पादन बनाई ब्राण्डिङ गरेको पाइएको छ भने नेपालमा यस्तो बायोप्रोस्पेक्टिङको सम्भावना त छ नै नेपालका जडीबुटीलाई हिमाली जडीबुटीको ब्राण्डले गर्दा तुलनात्मक लाभ पाउन सक्ने प्रचुर अवसर पनि छ।
लाभ लिन किन सकिएन त?
विडम्बना नै भन्नुपर्छ खेती विस्तार हुन नसक्दा नेपालमा जडीबुटीको यथेष्ठ मात्रामा उत्पादन हुन सकेको छैन, अझै पनि जंगलकै भर हो। एकातर्फ नेपालमा करिब ८५ प्रतिशत जडीबुटी जंगली बासस्थानबाट संकलन हुने गर्दछ भने अर्कोतर्फ भएको जडीबुटी पनि बिना प्रशोधन, बिना मूल्य अभिवृद्धि निर्यात हुने गरेको छ।
नेपालका जडीबुटी बहुमूल्य छन् तर प्रशोधन तथा मूल्य अभिवृद्धि नगरी बजारमा लैजाने हो भने हामीले पाउने मूल्य नगन्य नै हुन आउँछ। जसरी सुनको भाउ प्रशोधन नगरी बेच्दा कति मूल्य पर्थ्यो होला र?
यार्सागुम्बा, जटामसी, पाँचऔँलेजस्ता बहमूल्य वनस्पति पनि हामीले कच्चा पदार्थकै रुपमा बेचिरहेका छौँ। यार्सागुम्बाबाट औषधि र जटामसीबाट अत्तर तथा औषधिजन्य उत्पादन बनाई बेच्न सकेमा दसौँ गुणा मूल्यवृद्धि गर्न सकिन्छ। लौठसल्लाबाट क्यान्सरको औषधि बनाउन सकिने रसायान 'टेन-ड्याब' बनाएर निर्यात गर्न सके यथेष्ठ आम्दानी गर्ने ठाँउ छ।
हामी त माल पाएर पनि चाल नपाएका जस्तै छौँ। जडीबुटीमा मात्र यस्तो समस्या छैन। नेपालको मकवानपुर क्षेत्रमा करिब ५६ प्रतिशत क्याल्सियम अक्साइड भएको चुनढुङ्गा प्रशस्त मात्रामा रहेको खानी विभागको अध्ययनमा देखिन्छ जुन सामान्य प्रशोधन गरेमा केमिकल ग्रेडमा ग्राममा तौलेर बेच्न मिल्छ।
तर सोही चुनढुङ्गा सिमेन्ट उद्योगमा टनका टन प्रयोग भएको हुँदा कौडीको मूल्यमा रित्तिँदै छ। त्यसैगरी यार्सागुम्बा माइक्रोग्राममा बेच्न पर्नेमा केजीमा बिक्री भएको छ। यसको एकमात्र उपाय भनेको प्रशोधन गरी हाई भ्यालु प्रोडक्ट बनाएर बेच्नु नै हो।
जबसम्म हामीले जडीबुटीबाट आफ्नै प्रोडक्टहरू बनाएर ब्राण्डिङ गरी बेच्न सक्दैनौँ तबसम्म जडीबुटीबाट समृद्धि नारामा मात्र सीमित रहन्छ र रहिरहनेछ।
नेपालमा जडीबुटीको मूल्य अभिवृद्धि किन हुन सकेन?
जडीबुटीमा भएका विभिन्न गुणहरूको खोज र अनुसन्धानको विषय महत्वपूर्ण त छ नै यसको अर्को अपरिहार्य पक्ष भनेको भएका अध्ययन अनुसन्धानको उपयोग तथा ज्ञान र सीपको व्यवसायीकरण हो। एकातर्फ अनुसन्धान हुने सरकारी होस् वा गैरसरकारी प्रयोगशालाको स्तरीयता पुगेको छैन भने अर्कोतर्फ नेपालका उम्दा वैज्ञानिकलाई स्वदेशमै खोज अनुसन्धानमा उत्प्रेरित गरी टिकाइराख्न राज्यले स्पष्ट दृष्टिकोण पनि लिन सकेन। यो अति नै गम्भीर र सोचनीय विषय हो।
नेपालमा पर्यटन, जलस्रोत, भौतिक पूर्वाधार, कृषि र सेवाका क्षेत्रलाई लगानीका प्राथमिकताका क्षेत्र तोकियो तर जडीबुटीसँग सम्बन्धित क्षेत्र लगानीकर्ताको प्राथमिकतामा कहिल्यै परेनन्। राज्यका तर्फबाट पनि राष्ट्रिय गौरवका आयोजना तोकिँदा जडीबुटीको उत्पादन र विकासको क्षेत्रका कुनै पनि रुपान्तरणकारी आयोजना सूचीमा पर्न सकेका छैनन्।
अर्को महत्वपूर्ण पाटो व्यापार प्रवर्द्धनमा कानुनी स्पष्टताको अपरिहार्यता। जडीबुटीको कच्चा पदार्थको विदेश निर्यात गर्न सहजता रहेको तर मूल्यवृद्धि गरी तयार जडीबुटीजन्य उत्पादनको गुणस्तर प्रमाणिकरण र व्यापार सहजीकरणको विषय कुनै पनि निकायले आफ्नो कार्यक्षेत्र हो भनेर अग्रसरता नलिदा व्यापारमा गैरमुद्रा व्यावधान (ननटेरीफ ब्यारियर) भैरहने अवस्था पनि छ।
यद्यपि केही उत्पादन बजारमा नआएका पनि होइनन् तर यथेष्ठ अध्ययन र परीक्षणबिना आएकोले ती उत्पादनको गुणस्तर र विश्वसनियतामा प्रश्न चिन्ह पनि छ।
अन्त्यमा,
हाम्रा जडीबुटी बहुमूल्य छन्, यिनको संरक्षण गर्दै रणनीतिक योजनाका साथ दिगो उपयोग र आर्थिक उपार्जनमा लाग्न ढिला गर्नु हुँदैन। अध्ययन, अनुसन्धान बौद्धिक विलासिताका लागि भन्दा पनि उपयोगितामा केन्द्रित गरौँ।
गैरकाष्ठ वन पैदावारका लागि प्राकृतिक बासस्थानमा मात्र निर्भर नपरी खेती प्रविधिमार्फत उत्पादन बढाएर मूल्य अभिवृद्धि गरी बजारमा पठाउन सकेमा नेपाल अन्तर्राष्ट्रिय बजारमा जडीबुटीको केन्द्रका रुपमा विकसित भई समृद्धिको ढोका खुल्न धेरै समय पर्खनु पर्दैन।
(लेखक प्राकृतिक सम्पदा अनुसन्धानशालाका वरिष्ठ अनुसन्धान अधिकृत हुन्।)