देशको संघीय राजधानी काठमाडौंका स्थानहरूसँग मिल्दाजुल्दा नाम इन्द्रचोक, असन, नयाँबजार हुँदै देवीस्थान टोलसम्म बेग्लै रौनकताले त्यहाँको माहोल नै रंगीविरंगी बनाएको छ।
म नुवाकोटको कुरा गर्दैछु, काठमाडौंको होइन। मानिस रमाइरहेका छन्। कतै बासुरीको धून त कतै विभिन्न मनोरञ्जनमय खेलहरू भइरहेका छन्।
सबै आ–आफ्नै धूनमा सामान तथा खेलहरू हेर्दै रमाइरहेका छन्। मन प्रफुल्ल छ। बजार पूरै सजिएका छन्। जेरीको लहर, जसलाई हेर्दा जेरी जात्रा भन्दा फरक नपर्ने। जात्रामा बाजा बजाएर देवताका खटलाई घुमाउदै एकअर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेल्दै रमाइलो गर्ने भएकोले यसलाई सिन्दूरे यात्रा भनिन्छ।
यसरी सांस्कृतिक नगरी नुवाकोट जात्रामय बनेको छ।
केही वर्ष यता कोरोना भाइरस महामारीको कारण नुवाकोट मण्डला (दरबार क्षेत्र) मा उच्च महत्वको रूपमा हेरिने विभिन्न पर्वहरू नराम्रोसँग प्रभावित भएका थिए। कयैन् मन्दिरहरूमा पूजापाठ रोकिएका थिए। सामूहिक भेला हुन निषेध गरिएकै कारण यो अवस्था सृजना भएको हो।
नुवाकोट दरबार परिसरमा बर्सेनि आयोजना हुने शताब्दिऔं पुराना जात्राहरूमध्ये सिन्दूरे जात्रा पनि एक हो। यो नुवाकोटको आफ्नै सांस्कृतिक पहिचान हो।
सिन्दूरे जात्रा अर्थात् देवी जात्रा नुवाकोटमा विशेष महत्वका साथ हेरिन्छ। नेपालको इतिहासलाई पल्टाउने हो भने सात तले दरबारको दक्षिणतर्फ रहेको देवी भैरवीलाई देशको रक्षक मानिन्छ।
नेपाल–चीन युद्ध हुँदा राजा रणबहादुर शाहले भैरवीको आराधना गरेका र दैवी शक्तिका कारण विजय प्राप्त गरेको भन्ने विश्वास छ। भैरवीको सिन्दूर यात्राको भव्यता अनुपम छ।
हरेक चैत्रशुक्ल पूर्णिमाका दिन यो जात्रा धुमधाम साथ मनाइन्छ। यो यात्रा फागु पूर्णिमादेखि सुरू भएर महिना दिनसम्म चल्छ।
यो जात्राको अवधिभर यसका पुजारीहरूले जहाँ पायो त्यहा खाँदैनन्।
यो जात्रा चलिरहँदा नारायण जात्रा पनि धुमधामका साथ मनाइन्छ। यो जात्रा घोडे जात्राको दिन र त्यसको भोलिपल्ट गरेर दुई दिन चल्ने गर्छ। यसलाई मिनी सिन्दूरे जात्रा पनि भनिन्छ।
सिन्दूरे यात्रालाई प्रत्येक वर्ष परम्परागत रूपमा सञ्चालन गर्नका लागि धामी (भैरवी मन्दिरका पुजारी) धमिनीका साथै द्वारे (सरकारका प्रतिनिधि), कुमार, गणेश, तथा गुठियारहरूको व्यवस्था हुँदै आएको छ।
हालका धामी हरिमानसिं डंगोलको बाह्रौं पुस्ताका धामी हुन्।
चैत्रशुक्ल चतुदर्शी (२ गते) को दिन बेलु्का कुमारीको हातबाट लिएको धामीको स्नान कार्यसँगै जात्रा विधिपूर्वक सुरू हुन्छ।
बन्दुक पड्केको विशेष साइतमा स्नान कार्य गरेपछि धामीलाई पोशाक पहिराइन्छ। सुनौला मुकुट, गहना, बाला, चाँदीको पेटी, डमरु पात्र, भोटो र जामा आदि भेषभूषामा धामी निकै आकर्षक देखिन्छन्। त्यसपछि धामी दौडेर द्वारेको घरमा पुग्ने गर्छन्। त्यहाँ गुभाजुले तान्त्रिक विधिमार्फत् धामीधमिनीमा भैरवभैरवी चढाउने कार्य गरिन्छ अनि गाजल लगाइन्छ।
सो कार्य सम्पन्न भएपश्चात् बुढी भैरवी ( देवी भैरवीको आमा ) र भैरवी मन्दिरको पछाडि एक एक वटा लिङ्गो (४२ हात लामो) गाड्ने गरिन्छ। पहिले लिंगो गाड्ने काम स्थानीयबाट हुन्थ्यो। केही वर्षयता नेपाली सेनाले गाड्ने गरिएको छ। सामान्य बुद्धि लगाएर लिंगो गाड्न सकिँदैन। यो लिंगो वैशाख कृष्ण नवमी र दशमीका दिन क्रमशः ढालिन्छ।
पूर्णिमाको दिन (४ गते) विशेष बाजागाजा साथ धामीधमिनी र गणहरूलाई तलेजु मन्दिरतर्फ लगिन्छ। त्यहाँ बज्राचार्य(गुचाजु)द्वारा आवश्यक पूजाआजा गर्ने कार्य सकिएपछि यो जात्रा भैरवी मन्दिरदेखि दक्षिण–पश्चिमपट्टि सूर्यमती र गण्डकीको संगमस्थल देवीघाट (जालपा मन्दिर) तर्फ प्रस्थान गर्दछन्।
खटमा भैरवभैरवी र अष्टमातृकाका मूर्तिहरू राखिएको हुन्छ। बाटोमा पर्ने स्थानहरूमा रथको तथा जीवित देवताको रूपमा पुजिने धामीधमिनीको दर्शन तथा पूजा गर्न भक्तजनहरूको भीड लाग्छ। मध्यरातमा देवीघाट पुगेका धामीले करिब २४ घण्टाको बसाइँमा बिहान विशेष पूजाआजासहित जालपा मन्दिर परिसरमा जिउँदो पशुचौपाया तथा माछाको भोग खाएर नयाँ सालको देशमा हुने घटनाक्रमका भविष्यवाणी गरिन्छ।
यो भविष्यवाणी सुन्ने अवसर गुभाजु, द्वारे, बाह्रभाइ खलक आदिलाई मात्र प्राप्त हुन्छ। उल्लेखनीय वाणीलाई नेपाल सरकारका राष्ट्र प्रमुख समक्ष पुर्याइने प्रचलन रहेको द्वारे ( महेन्द्रकुमार शाही) ले बताए।
देवीघाटको मेला सकिएपछि धामीधमिनी लगायत अन्य गणहरू बाजागाजासाथ रमाइलो यात्रा गर्दै नुवाकोट डाँडातर्फ लाग्छन्। देवीघाट, ठूलो बगैंचा, माझीटार, बट्टार हुँदै धरमपानी पुर्याइन्छ। बट्टारमाथि रहेको बाराही मन्दिर र धरमपानीको बीचमा विशेष जात्रा भोज ख्वाइन्छ र रथलाई धरमपानीमा सर्वसाधारणलाई पूजाआजाको लागि राखिन्छ।
द्घितीयाको दिन (५ गते) धरमपानीमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरूको उपस्थितिमा नेपाली सेना (जबर जंग गण) ले दुई सलामी (निशान झण्डा र भैरवी सलामी) बढाइँ दिइन्छ। यो यात्रा देवी भैरवी मन्दिर दक्षिणतर्फ रहेको महिषासुर मर्दिनी (दुर्गा) मन्दिरको अगाडि बज्राचार्यले विशेष पूजाआजा गरेपछि विजय उत्सवको रूपमा द्वारेले धामीलाई सिन्दूर र गाजल लगाइन्छ। जुन सिन्दूरे जात्राको रूप लिन्छ। किंवदन्ती अनुसार जालपा देवी (भैरवीको दिदी) आएको अवसरमा सिन्दूरे जात्रा गरी हर्ष बढाइँ गरिएको मानिन्छ।
विशेष बाजामा नाच्दै रमाउँदै हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइकेको अनुमतिमा खट(रथ) उचालेपछि यात्रा र गणहरू तुलजा भवानीतर्फ लम्कन्छ।
तृतीयाको दिन भैरवी मन्दिर पछाडि राखिएको डबलीमा अष्टमातृकाको खट अगाडि धामीलाई सरकारी वकिलको तर्फबाट बिहान दुइटा रागोको बलि खाने प्रचलन रहेको छ। जुन हेर्दा पीडाबोध हुन्छ। देवता धारण गरेका धामीले राँगा, बोकाको रगत पिउन डरलाग्दो गरी झम्टन्छन्। वैशाख कृष्ण अष्टमीका दिन बाहिर खटमा रहेका देवीदेवताका मूर्तिहरूलाई मन्दिरमा बाह्रभाइ खलकीद्वारा पुनर्स्थापना गरिन्छ।
नुवाकोटमा सञ्चालन हुने यो जात्रा नेपालकै लामो दिनसम्म चल्ने जात्राको रूपमा लिन सकिन्छ। यसको मुख्य आकर्षणको केन्द्र रथ यात्रा र जीवित भगवानको रूपमा पुजिने धामीधमिनी नै हुन्। जात्रामा बूढापाकाको सहभागिता घट्दै गए पनि युवाहरूको सक्रियता बढ्न थालेको छ। कला सांस्कृतिकमा उनीहरूको लगाव अत्यधिक देखिन्छ।
हो, पनि नुवाकोटेहरू जात्रामै जीवन देख्छन्। यहाँका जात्रासँग किंवदन्ती र मिथक जोडिएको छ। यस्ता पर्वले समाजमा रहेको असमानतालाई पुरेर समानता प्रवर्द्धन गर्न मद्दत पुग्छ। स्थानीय उत्पादनले बजार पाउँछ। आन्तरिक र बाह्य पर्यटनलाई आकर्षित गर्छ।