मेरो प्यारो इभान भान्जो,
फेरि पनि तिमीलाई जन्मदिनको धेरै-धेरै शुभकामना!
मेरो भान्जोको पहिलो बर्थडे। यो बर्थडेमा मेरो उपहार चाहिँ तिम्रो र मेरो बारे कहानी।
आज त तिमी पढ्न सक्ने छैनौ। चाँडो-चाँडो स्कुल गएर कखरा चिनेपछि पढ्नू है? भान्जो तिम्रो र मेरो सम्बन्धपछाडि एउटा रमाइलो कहानी छ।
म २० वर्षको थिएँ दिदीसँग भेट हुँदा। दिदीसँग भेट नभएको पनि त्यो दिन ठ्याक्कै २० वर्ष भएको रैछ। दिदी मेरो परिवारसँग टाढा-टाढासम्म नि जोडिनु भएको थिएन। न त मैले कहिल्यै देखेको नै थिएँ।
तर म भाग्यमानी छु किनकि आजभन्दा चार वर्षअगाडि मैले सुमी दिदीसँग भेटेँ। यसको श्रेय जान्छ मेरो प्यारो राजेश दाइ (तिम्रो बाबा) लाई। तिमीसँग पहिलो पटक तिम्रो जन्मदिनमा भेट्दै छु र तिम्रो ममी (सुमी दिदी) लाई पनि मैले पहिलो पटक तिम्रो बाबाको जन्मदिनमा भेटेको।
त्यो दिल्लीजस्तो ठाउँमा आफ्नो दिदी भेटिँदा मलाई अर्काको सहर नि आफ्नो जस्तो लाग्थ्यो। दिदीसँग भेट हुँदा छोडेर कतै नजाउँ जस्तो लाग्थ्यो। किनकि दिदी बाहेक मेरो आफ्नो कोही थिएन त्यो बिरानो सहरमा। थियो त घरको याद अनि आफ्नो सपना।
कामको सिलसिलामा बाहिर गएर दिल्ली फर्किँदा नि घर फर्किएजस्तो लाग्थ्यो। कारण, मेरो दिदी हुनुहुन्थ्यो त्यहाँ। दिदीको त्यो उपस्थितिले मेरो त्यो शून्य संसारमा यसरी खुसी ल्याएर बिसाइदियो कि म आफै अलमलमा थिएँ, हिजोको दिन र आजको दिन देखेर।
तिमीलाई आजभन्दा पहिला मैले कहिल्यै भेटेको छैन। मोबाइलको फोटो र भिडिओकलमा बाहेक देखेको नि छैन। आजभन्दा चार वर्षअगाडि तिम्रो बाबाको जन्मदिनमा दिदीलाई भेटेँ, अब तिमीलाई भेट्दै छु, तिम्रो पहिलो जन्मदिनमा।
अब त तिमीले अलिकति यो संसारलाई देखिसकेको छौ। आमा भन्न थालिसकेको छौ। ती कलिला खुट्टाले ममीलाई हुरुक्क हुनेगरी हान्छौ रे कहिलेकाहीँ। बाबाको ल्यापटपमा निस्फिक्री भएर किबोर्डका कीहरू जथाभावी थिच्छौ रे, त्यो नि मुस्कुराउँदै। गल्ती गरेको थाहा नै नभए जसरी।
अब त यो संसारमा एक वर्ष अनुभव भयो तिम्रो पनि अनि मामाभान्जाको भेटको चाहिँ आज पहिलो अनुभव। मेरो त खुसीको सीमा छैन। तिमीलाई त थाहा नि छैन म आउँदै छु भनेर।
मेरो भान्जो जसको बारे कुरा गरेर दिदी-दाइ अनि म घण्टौँ यसै बिताउँथ्यौँ। दाइ र दिदीको डिस्कस हुन्थ्यो कस्को जस्तो फेस हुन्छ बाबूको भनेर। अनि निर्णय गर्ने चाहिँ मेरो जिम्मा। मलाई यति गाह्रो हुन्थ्यो! एकचोटि तिमीलाई भेटेर निर्णय गर्दिऊँ जस्तो।
त्यो बेला तिमीलाई भेट्न हामीलाई यति धेरै मन हुन्थ्यो, तर तिमीलाई बाहिर आऊ भन्न पनि त सक्दैन थियौँ। तिमी त्यतिबेला संसारको सबैभन्दा प्यारो घरमा भौतिक रूप लिँदै थियौँ, किन थाहा छ? मामाजस्तो ह्यान्डसम देखिन।
अब त तिमी प्यारो घर छोडेर बाहिरी संसारमा आएको छौ। आज त हाम्रो भेट हुँदैछ, त्यो नि तिम्रो जन्मदिनमा। भेट भएपछि तिमीसँग छुट्टिनु पर्ने क्षण सम्झेर अहिले नै आफूलाई सम्हाल्न गाह्रो हुन्छ। तर सोच्छु तिमीले मलाई मुस्कुराउँदै बाई गर्नेछौ, शब्द उच्चारण गर्न नसके पनि भित्रभित्रै भनिरहेको हुनेछौ- 'सी यू सून मामा।'
म पनि त्यो समय तिमीजस्तै निःशब्द हुनेछु र मनमनै भन्नेछु 'आई कान्ट वेट टू सी यू अगेन इभु बेबी।'
सायद धेरै वर्ष सम्मको लागि यो पहिलो भेट नै हाम्रो अन्तिम भेट हुनेछ। अब आउने बर्थडेमा त तिमी अमेरिकामा हुनेछौ, द ड्रिम वर्ल्ड अर्थात् त्यो सपनाको संसारमा। अनि म चाहिँ यहाँ हाम्रो पहिलो भेट सम्झिँदै फेरि भेट हुने दिनको प्रतीक्षा गर्दै बसिरहेको हुनेछु।
यो बाहिरी संसारमा पनि तिमीलाई सधैँ खुसी मिलोस्। आमा र मामाको माया त छँदै छ, त्योभन्दा धेरै माया अरूको मिलोस्। अनि अर्को साल चाहिँ मामा भन्नुपर्छ है? यो साल खुसी अनि स्वस्थ हुनू, अरु विश चाहिँ अर्को सालको लागि अलि ठूलो भएपछिलाई है? जुन बर्थडेमा म इनभाइटेड भए पनि केवल भिडिओ कलबाट बाबुको बर्थडेमा उपस्थित हुनेछु।
ह्याप्पी बर्थडे इभान भान्जो!
मामा लभ्स यू सो मच!
मामाको माया, आशीर्वाद अनि साथ सधैँ तिमीसँग रहने छ।