ऊ एक मेहनती र संघर्षशील नारी हो। कक्षा १ देखि डिग्री पास गर्दासम्म उसले कहिल्यै पनि दोस्रो स्थान प्राप्त गर्नु परेन। सधैँभरि पहिलो स्थानमा रहने ऊ आफ्नै श्रीमानको पहिलो स्थानमा रहन सफल भइन।
एकाबिहानै त्यो दिन उसको रोएको इमोजीवाला म्यासेज आयो। मैले हत्त न पत्त रिप्लाई दिएँ, 'के भो केटी? किन रोएको बिहान बिहानै?'
उसले फेरि त्यहीँ इमोजीवाला म्याजेस पठाई।
'अरे! के भो किन रोएको?' भनेर भिडिओ कल गरेँ।
अरुबेला मेरो कल उता पुग्नेबित्तिकै उठ्ने भए पनि त्यस दिन भने समय लाग्यो।
फोन उठाएपछि रुन्चे स्वारमा 'हेलो' भनी।
'के भो? सन्चै त छौ नि?'
उसको अनुहार मोबाइलको स्क्रीनमा राम्रोसँग देख्न सक्थेँ, आँसुले पूरै मुख भिजिसकेको थियो। आँखा ठूलो-ठूलो, रातोपिरो देखिन्थ्यो। उसको आँखा देखेर मलाई लागिरहेको थियो कि ऊ हप्तौँदेखि सुतेकी छैन या त रोइरहेकी छ।
फेरि रिस निकाले झैँ गरी कराएँ, 'के भो क्या?'
अब उसले फोन नै काटी। मलाई झन् डर लाग्यो। के भएको होला उसलाई आज? मलाई छटपटी हुन थाल्यो। उसको आँखामा आँसु आउनुको पछाडि के छ भनेर जान्नु थियो।
मैले फेरि म्यासेन्जरमै फोन गरेँ। अब भने फोन उठेन। फोन उठ्नुको साटो एउटा फोटो आयो। फोटो पनि त्यही अवस्थाको थियो, आँसुले लतपतिएको। मनमा झन्-झन् डर पैदा हुँदै गयो। मैले अझ कुरा गर्न कोसिस गरिरहेँ। अब त ऊ अनलाइनबाट गैसकिछ, कल लागेन।
मैले यो त भएन अब सोचेर उसको नम्बरमा कल लगाएँ। कल रिसिभ हुने कुरै भएन। दोस्रो पटक कल गर्दा मोबाइल नै अफ गरिछ। मलाई लाग्यो ऊ अब बोल्ने मुडमा कति पनि छैन। तर भएको के होला त? म सोचमग्न थिएँ।
उसको घर परिवार सबै राम्रो नै थियो। आर्थिकदेखि लिएर उसलाई गर्ने सपोर्टमा राम्रो नै भएको कुरा मलाई भन्ने गर्थी। फेरि आज एक्कासी के भएको होला त? यसो गर्दा गर्दै बिहानको ९ बजेको पत्तै भएन, हतार हतार खाना बनाएँ र अफिस गएँ।
अफिसमा के काम गर्न मन लाग्थ्यो र आँखामा रानी (नाम परिवर्तन) को आँसुले लतपतिएको अनुहार मात्रै आइरह्यो। मलाई उसलाई भेट्न र उसको बोली सुन्न हतारो भइरह्यो तर न त फोन नै अन भयो न त मैले उसको घर जाने आँट नै गरेँ।
दिक्क लागेर अफिसबाट पनि छिट्टै फर्किएँ। कोठा पुगेँ, एकछिन बेडमा पल्टिएर आँखा बन्द गरेँ तर उसलाई मात्रै सम्झिरहेँ।
यत्तिकैमा फोन बज्यो। त्यो कल उही मेरी एक मात्रै औँलामा गन्न सकिने साथीको थियो। उसको फोन आउँदा बज्ने छुट्टै रिङटोन थियो। त्यसैले फोनै नहेरी पनि रानीको कल भनेर ढुक्क भएँ। ढिलो नगरी फोन उठाएँ, 'हेल्लो! '
'हेल्लो, के छ?'
अहिले भने आवाज बिहानझैँ रुन्चे थिएन।
'ओई पागल केटी, के पारा हो तेरो? के गरिरहेको यस्तो?'
'एकछिन भेटेरै कुरा गरौँ हुँदैन?' भनी।
'अहिले भट्ने र? १ बजिहाल्यो त' भनेँ।
उसले चिया खाने समयसम्म एकछिन बस्ने कुरा गरी।
म उसलाई भैट्न हतारमा गएँ। ऊ पनि आई।
मेरो कोठोको छेउमै रहेको पार्कमा गएर बस्ने कुरा मैले गरेँ। उसले पनि सहमती जनाई। दुवै जनाको त्यही पार्कमा भेट भयो। दुई/तीन महिनामा भेट गर्ने हामी योपालि काम व्यस्तताले अलि ढिला भयो। करिब ६/७ महिनापछि भेटेका थियौँ।
ऊ पहिलाभन्दा दुब्ली देखिन्थी। मैले सुरुमै सोधेँ, 'के भो रानी? तिमी त दुब्लाएछौ त।'
उसको अनुहारको चमक पनि गएको महसुस गरेँ तर भनिनँ।
'ल भन त के भो तिमीलाई? सबैजना घरमा ठिकै त छन् नि? सासू, ससुरा, छोरा अनि भिनाजु सबै आरामै छन् नि?'
रुन्चे स्वारमा सबैजना ठिकै भएको बताई।
'अनि के भएको हो त?'
उसको आँखाबाट बरबर्ती आँसु झर्न थाले। बोली पनि फुटेन। मैले सान्त्वना दिँदै भनेँ, 'हेर, जीवन एक रंगमञ्च हो, हामी त खेलाडी हौँ। आफ्नो तर्फबाट कहिल्यै कुनै चिजमा कमी र गल्ती गर्ने होइन, बाँकी सबै हामीले भगवान भरोसामा छोड्ने हो।
रुनु भनेको आफू सकिनु र कमजोर हुनु सिवाय केही होइन, त्यसैले रुन बन्द गर्। जीवनमा ज्ञान, सीप, माया, बाँडे बढ्ने चिज हो भने पैसा र दुःख बाँडे जहिले पनि घट्ने चिज हो। त्यसैले केही प्रतिशत भए पनि दुःख बाड्दा मन हलुङ्गा भएको भान हुन्छ, सो भन्। प्लिज नरो।'
उसलाई मैले आफ्नो छातीमा टाँसे र आँसु पुछिदिएँ। एकछिनलाई हामी दुवै मौन बस्यौँ। केही बेरपछि ऊ बोली, 'सुन् न, मेरो जीवनमा खुसी भन्ने चिज चाडपर्वजस्तो समेत भइदिएन।'
'हेर, खुसी केलाई भन्ने, कसरी हामी खुसी हुने त सबै हामीभित्रै छ बस् चिन्न सकेका छैनौँ।'
ऊ रिसाए बोली, 'सम्झाउन जति सजिलो भोग्न छैन। आफूलाई परेपछि मात्रै थाहा हुन्छ केही कुरा। तँ पनि बिहे गर् अनि सबै थाहा पाउने छस्।'
उसको यो कुराले मेरो मन सिरिंग भयो।
'के भएको हो, भन्न रानी?'
आँसु पुछ्दै भनी, 'हेर्न म त तेरो भिनाजुबाट छुट्टिएर बसुँ कि साचिरहेकी छु।'
'किन? के भयो र? सबै राम्रै छन्, घर, परिवार, भिनाजु भन्थिस् त। आज आएर यो सबै, के भो?'
'नयाँ-नयाँ सम्बन्ध हुँदा मात्रै हो मान्छे देखावटी बन्ने। जब पुरानो हुँदै जान्छ सम्बन्ध तब आफ्नो असली रुपमा आउँछ। तेरो भिनाजुसँग केही कुरा पनि मिल्न छोड्यो। न त मेरो कुरा नै सुन्नु हुन्छ, बस् खालि 'तँ किचकिच मात्रै गर्छेस्' भन्नुहुन्छ।
'तेरो के काम छ र? दिनमा खाना बनायो, खायो, परिवारको लुगाफाटो धोयो, घर बडार्यो, बसिरह्यो यति त हो। यो कुनै काम हो त? मेरो त कति मान्छेसँग बाहिर हिँड्नु पर्छ, कति कुरा मिलाउनु पर्छ। थाकेर आएको बेला तँ पनि झन् यसो भएन, उसो भएन मसँग बोलेन भन्छेस्। तँ जति फ्री म हुँदिनँ' भन्नुहुन्छ।
राम्रो कुरा सोधे पनि 'तँलाई केको चासो? म जता जाउँ, जे गरुँ, जोसित हिडुँ, जे खाउँ जे लाउँ, तलाई के मतलब? साँझ घर आएकै हुन्छु, तँसँग साँझबिहान बोलेकै हुन्छु। तँ पो फोकटमा बसेकी हुन्छेस् र यी सबै कुरामा चासो राख्न भ्याउछेस्। मलाई त समय हुँदैन, म त भ्याउदिनँ। चुपचाप आफ्नो काम गरेर छोरासित बसिराख्। मेरोबारे चासो राख्ने हैन। क्याउँक्याउँ गर्ने हैन' यस्तै-यस्तै नानाभाती कुरा भन्नु हुन्छ।
ल भन् त अब म यस्तो मान्छेसँग कसरी जीवन बिताउँ? मेरो सम्मानको कुरा त छोडिदे, मेरो कामको समेत सम्मान छैन। ल ठिकै छ मैले सहुँला त्यो अर्थोपार्जन नहुने कामलाई, मेरो समाजले यस्तै भन्ने गर्छ भनेर पनि तर मैले आफ्नै श्रीमानको बारेमा चासो नराखेर के छिमेकीको श्रीमानको बारेमा राखूँ त? सबै त्यागेर म ऊसित आएकी हुँ, उसले नै मेरो बारेमा धेरै चासो नराख् भनेपछि मेरो ऊबाहेक अरु आफ्नो को छ त्यो घरमा भन त?
सासू-ससुरा पनि श्रीमान् आफ्नो नभए आफ्ना हुँदैनन्। श्रीमानले नै मेरो वास्ता नगरे, उसको वास्ता मलाई नगर भने अरु कसको वास्ता गर्ने कसले? छोराको भविष्यको बारेमा कुरा गर्न खोज्यो भने त्यसै आलटाल गर्न खोज्नु हुन्छ। भइहाल्छ नि, हेरुँला नि यस्तै-यस्तै भन्नुहुन्छ।
धेरैबेर मेरो कुरा सुन्न रुचाउनु हुन्न। भएको जागिर पनि छोराको रेखदेखमा लाग भनेर छुटाउन लगाए। सबै कुरा उहाँले नै भनेको हुनुपर्ने, मैले भनेको केही नहुने? मेरो पनि मन छ। मेरो पनि कति रहर, चाहना, सपना छन्। मैले प्राप्त गर्न पाउनु हुँदैन र? मलाई त्यो घरभित्र नोकर बन्न भित्र्याएको कि एक असल श्रीमती, बुहारी, आमा, भाउजू बन्न? म आफै अलमलमा छु।
आज पनि बिहान केही भएको होइन खासै त, उहाँ एक प्रोग्रामको लागि बाहिर जाँदै हुनुहुन्थ्यो। मैले सबै कुरा तयार पारिदिएँ। अन्तिममा 'को-को जाँदै हुनुहुन्छ? कति दिनमा फर्किनु हुन्छ?' यति मात्रै सोधेको के थिएँ तँलाई सबै लेखाजोखा राख्नु पर्छ है भनेर कराउनु भो र निस्किहाल्नु भो। त्यसपछि मेरो महत्व र मेरो अधिकार कति रहेछ भन्ने कुरा महसुस गरेँ। यति कुरा पनि मैले जान्नु हुँदैन र? त्यो पनि आफ्नै श्रीमानको।'
रानीका ती तिखा प्रश्न मेरो मनलाई शूलझैँ घोच्न थाले। मसँग केही जवाफ थिएन। नारीहरूलाई खुसी हुन र दुखी हुन ठूलो करण चाहिँदैन। श्रीमानबाट धेरै आशा अपेक्षा पनि हुँदैन बस् थोरै समय, श्रीमानको दिलमा श्रीमतीको लगि थोरै माया, ठाउँ भए पनि श्रीमतीले जस्तोसुकै काँडामा पनि हिँड्न र अन्धकारमा उज्यालो छर्न तयार हुन्छे। तर पुरुष नारी भित्रको मोह किन बुझ्न सक्दैनन्?
रानीको श्रीमान पनि पढेलेखेको मान्छे हो। खै त रानीलाई बुझेको उसले? भित्री मनबाट जे काम पनि गर्दा हामी सफलता पाउँछौँ। यदि मन नै छैन भने बाहनाहरू सुरु हुन्छ। रानीको सपना खै त पूरा गर्ने वातावरण मिलाएको? खै उसको भावनाको कदर गरेको? किन आजकाल सम्बन्ध विच्छेद गर्ने वातावरण मात्रै सृजना गर्छन् दम्पतीहरूले? किन एकअर्काको सम्मान गर्दैनन्?
रानी पनि पढेलेखेकी नारी हो। उसको श्रीमानले रानीलाई छोराको स्याहारसुसार गर्नको लागि जागिर छोड्न आदेश दिएको थियो। आज श्रीमानले नै आफ्नोपन नदेखाएपछि अब छोरा र उसको यात्रा कसरी अगाडि बढ्ला त? पुरुषार्थले भरिएको समाजमा नारीको भावना र सपनामाथि प्रहार मात्रै हुन्छ।
यसरी श्रीमानको घट्दै गएको सामीप्यताबाट रानी कति दिनसम्म पो खुसी हुनसक्छे खै? सानो छोराले के पाठ सिक्छ आमा-बाबाबाट?
रानीका कुराले दिक्क लाग्यो। पुरुषप्रतिको सम्मान पनि घट्न थाल्यो। सुरुमा उनीहरूको जस्तो राम्रो जोडी र सम्बन्ध मेरो नजरमा अरु कसैको थिएन। म रानीलाई 'तँ भाग्यमानी होस्' भन्थेँ तर आज उसको जति तितो जोडी अरु कसको होला?
उसले भनी, 'अब म के गरुँ भन् त?'
जवाफ दिएँ, 'यस्तो श्रीमानसँग बस्नुभन्दा आजीवन एक्लै बस्नु बेस्। तिमीसँग क्षमता छ, थोरै चुनौतीको सामना गर्नुपर्ला तर त्यही चुनौतीले तिमीलाई खुसी मिल्ने छ। आत्मसम्मान र समाजमा पहिचान मिल्ने छ।
त्यसैले छोरो र आफ्नो भविष्यमा फोकस हौ अब। यस्तो गतिको श्रीमानको पुच्छार समातेर सफलता मिल्दैन। सुतेकोलाई पो बिउँझाउन सकिन्छ, सुतेको नाटक गर्नेलाई कहिल्यै बिउँझाउन सकिँदैन रानी।'