देशमा चुनावको चौतर्फी माहोल बनेको छ, जताततै चुनावका नाराहरू, भाषणहरू घन्किन थालेका छन्। चुनावका गीतहरूले देश गुञ्जयमान भएको छ।
नेताहरूले विकास गरेनन्, जितेर गएपछि गाउँ फर्केनन् भनेर गाली गर्ने अहिले उनै नेताको पछि-पछि लागेर हिँडेको देखिन्छ।
हस्पिटलमा आफन्त औषधि नपाएर मर्दा नेतालाई ठेगान लगाउँछु भन्ने युवा अहिले नेताको लागि मर्न तयार भएर मैदानमा उत्रेको छ। हिजोसम्म पार्टीलाई होइन व्यक्तिलाई विजयी गराऔं भन्दै हिँड्ने मान्छे रातारात आज पार्टीको घोषणापत्र वितरणमा सक्रिय भएको छ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी गराउनुपर्छ भन्नेहरू अहिले नेताजीको भाषण सुनेर मख्ख परेका छन्।
फरक-फरक पार्टीले फरक-फरक नामका घोषणापत्रहरू सार्वजनिक गरेका छन्।
घोषणा पत्रको नाम फरक-फरक छ तर कुरा सबैको एउटै, उही पहिलेजस्तै। बिजुली बत्ती, खानेपानी, औषधि उपचार, शिक्षा सबैकुरा निःशुल्क बनाउने घोषणा गरेका छन्।
सामाजिक सुरक्षा भत्ता बढाउने, सुत्केरीलाई महिनौंसम्म भत्ता दिने, युवाहरूलाई बेरोजगार भत्ता दिने कुरा गरेका छन्।
हस्पिटल जान नसकेर बिरामी घरमा मरिराख्दा भ्यू टावर बनाउने कुरा गरेका छन्। पहिलेजस्तै यसपालि पनि सबैकुरा फ्री मै बाँड्छौं भनेको सुनेर ताली बजाउँदै छन्।
तर पनि कसैलाई कौतुहलता छैन, यति सबै पैसा कहाँबाट आउँछ देशमा? राज्यको आयस्रोत के हो? देशका नेता र नेतृत्वका कुरा सुन्दा, पार्टीका घोषणापत्रहरू 'लायन किङ' भन्ने अंग्रेजी फिल्ममा देखाइएका हाइनाहरूको याद आउँदैन कसैलाई?
सबैकुरा फ्री मै बाँड्दै हिँड्नलाई ट्याक्सको झटारो हाम्रै ढाडमा हान्ने कुरामा ताली बजाउँदैछौं। सबै कुरा फ्री मै बाँड्ने हो भनेको ट्याक्सले हाम्रै ढाड भाँच्ने हो!
हुन त अचम्म मान्नु पर्ने केही छैन तै पनि घिन मान्नुपर्ने अवस्था छ हामीहरूले यी घोषणापत्र पढेर। कसैले रोजगारी सिर्जना गर्छु भनेको सुनिँदैन, कसैले सिर्जना गर्छु भन्छ भने पनि कुनै आधार र योजनाबिना नै।
कुनै पार्टीले, कुनै नेताले नेपालमै कारखाना खोल्छाैं, उद्योगधन्दा चलाउँछाैं, निर्यात बढाउँछाैं, युवालाई देशमै रोजगारीका अवसर दिनेगरी आधार र योजना सहितका कुरा गरेको सुनिँदैन।
पर्यटन विकासका गफमात्रै सुनिन्छ तर त्यसका आधारहरू सुनिँदैन। युवाहरूलाई स्वरोजगार बनाउने गफबाहेक कुनै योजनाहरू सुनिँदैन! सिटामोल नपाउने देशमा हस्पिटल जान नपाएर मान्छे मरेको छ, जाडोले कठ्यांग्रिएर मान्छे मरेको छ, परिवारको भोक टार्न मान्छे विदेशीको गुलामी गरिराखेको छ , विद्यालय जान घण्टौं हिँड्नुपर्छ। त्यै देशका नेताहरू महँगा कारमा चढेर सरर आउँछ र भन्छ अब पाँच वर्षमात्रै दिनोस् देश सिंगापुर बनाउँछौं!
अझै राजनीतिक दलका घोषणा पत्र पढ्नुपर्छ कुहिएर गन्हाउने भएका उनै पुराना खोक्रा सपनाहरू!
र पनि राजनीतिक कर्मकाण्ड पूरा गर्न निद्रामै लेखिएका राजनीतिक दलहरूका घोषणापत्र पढेर मख्ख पर्ने हामीहरू नै होइनौं र?
कसलाई चुन्ने भन्ने जिम्मा हाम्रो हो, देशको प्रधानमन्त्रीको एक भोट र हाम्रो एक भोटको मूल्य एकै हो त्यै पनि केही बोरा चामल, केही किलो दाल र दुई चार हजारमा आफ्नो भोट बेचेर देश बनेन भन्नु आफ्नो खुट्टामा बन्चरो हानेर खुट्टा काट्यो भन्नुजस्तै हो!
दुई चार बोतल बियर र छोइलाको भरमा मैदानमा उत्रिने युवाहरूको के कुरा गर्नू! पढेरमात्रै मान्छे शिक्षित नहुने रैछ, चेतना नै नभएपछि! सारा जिम्मा हाम्रो हातमा छ र पनि हामी हाम्रो कर्तव्य पूरा गर्न जान्दैनौं, अधिकारको सदुपयोग गर्न जान्दैनौं।
हामी आफैंले बिगारेको हो देश, हामी आफैंले बिगारेको हो नेता। चुनावको बेला पैसा बाँडेर हिँड्नेलाई भोट दिएपछि भ्रष्टाचार नगरेर के गर्छ? राजनीतिलाई कूलपूजा सम्झेर उसैलाई जिताएपछि नहेपेर के गर्छ?
त्यसैले देशको राजनीति देख्दा मलाई मेरै मुखमा थुक्न मन लाग्छ!
अब सोच्ने बेला आएको छ, नभुलौं पल्लाघरे काकी अस्पताल जान नपाएर गर्भवती हुँदै गर्दा मरेको, नभुलौं हातभरि सर्टिफिकेट र ऋणको भारी बोकेर घर परिवार अस्ति बिहे गरेकी श्रीमती छाडेर रूँदै परदेश पसेको।
नभुलौं छोरीले खाना माग्दा पानी दिएको, नभुलौं चुनावमा नेतालाई जोगाउँदा फुटेको आफ्नो टाउको अझै निको नभएको। त्यसैले सोचौं, अझै सोचौं, देश बनाउने साँचो हाम्रो हातमा छ।