चैत-वैशाखको समयमा हुरी-बतासले जुनसुकै बेला आक्रामक रूप लिन सक्छ।
करिब ६ वर्ष अगाडि भक्तपुरको मनोहरा खोला नजिकै पुगेपछि स्कुटर सामान्य तरिकाले लड्यो! कारण चैतको हुरी थियो। ती युवती जो मेरी प्रेमिका थिइनन् तर प्रेमिका जस्तै मायालु चाहिँ थिइन्।
उनले खुब रिसाएर भनेकी थिइन्- ‘तिमी अलि मोटो भएको भए लडिँदैन्थो।’
बतासजस्तै केही समयपछि उनी अमेरिका पुगिन्।
मेरा धेरै केटा साथीहरू छन् जो प्रेममा चुर्लुम्म डुबेर फेरि आफ्नी प्रेमिकासँग छुट्टिएर विरक्त कहानी सुनाएर बसिरहेका छन्। म सधैं उनीहरूलाई भन्छु- 'केटाहरू, उडेको बतास र छुटेका प्रेमिकाको कुरा नगर। यी दुवै प्राकृतिक कुरा हुन्। जो व्यक्ति पनि जुनसुकै बेला प्रेममा पर्नसक्छ। उमेर,पेशा,रूप,परिवार आदि विषय गौण बन्न पुग्छन् प्रेमिल मनको अगाडि।
गाडीमा होस वा सिनेमा घरमा,पार्कमा होस वा बाटोमा एक मुस्कानले तिम्रो मन चोर्न सक्छ, सानो आँखा जुधाइले तिमीमा प्रेमको अङ्कुरण हुनसक्छ।'
साथीहरू सोध्छन्- कसरी थाहा हुन्छ तिमीलाई?
थोरै भोगेर,धेरै देखेर अनि केही मनले सुटुक्क भन्छ।
मेरो एउटा अत्यन्तै मिल्ने साथीको आजको युवा पुस्ताको भाषामा भन्दा भर्खरै ब्रेकअप भयो।
म दुबैलाई नजिकबाट एकदमै राम्ररी चिन्छु। कतिपटक त म मेरो साथीको 'टेक्स्ट मेसेज' को सह-लेखक पनि थिएँ। छुटिन केही गहिरा कारण थिएनन्। मेरो साथी अरू कोही युवतीसँग बोलेको देख्यो कि ती युवती एकदमै शंकालु बनिदिने रहिछिन्। उनी बाहेकका अरू कोही केटी साथीसँग बोल्यो कि उनी रिसाई हाल्ने रहिछिन्। रिसले झगडाको रूप लिँदै प्रेममा पूर्णविराम लगाइदियो। मेरो साथी मलाई कुरा मिलाइदेऊ भन्छ।
म भन्छु- उडेको बतासको भर हुँदैन, छुटेका प्रेमिकाको थर हुँदैन्!
अर्को एउटा मिल्ने साथी छ।
विगत ५ वर्षदेखि एउटी युवतीको पछि 'पागल प्रेमी' भएर लागिरहेको छ।
नतिजा शून्य छ। केटो पढेलेखेको छ, इमान्दार छ, राम्रो परिवारको छ। सामाजिक बन्धन केही छैन। तर,युवतीले केही छनक दिन्नन्। कहिलेकाहीँ हामी चियागफमा कुरा गर्छौं- आखिर केटीहरू कस्तो केटा चाहन्छन्? एउटा युवामा के खोज्छन्?' यसको उत्तर ठ्याक्कै यही हो भनेर भन्न गाह्रो छ तर यति चाहिँ भन्न सकिन्छ कि प्रत्येक युवतीका रोजाइ फरक-फरक छन्।
सबैले एउटै मापदण्ड प्रयोग गर्दैनन्। प्रेममा मापदण्ड हुन्छ र? हिसाबकिताब हुन्छ? प्रेम त सिर्फ प्रेम मात्र हैन र? प्रेम व्यापार कि भावना? प्रेममा मस्तिष्क धेरै चल्छ कि मन? -- हो। दार्शनिक हिसाबले हो।
तर, कलियुगमा प्रेमको दार्शनिक पाटोले मात्र पुग्दैन किनकि यो हिसाबकिताबको जमाना हो,बेहिसाब प्रेम हुन्न मान्यवर! टिनएजका केटाहरू यदाकदा कुरा गर्छन् - लामो कपाल पालेर चुल्ठी बाटेमा,मुन्द्रा लगाएमा,ट्याटु हानेमा मात्र युवतीहरूको रोजाइमा पर्न सकिन्छ।
अँ...एउटा बाइक अनिवार्य चाहिन्छ। नत्र 'देवदास' बनिन्छ अरे। केटाहरूको पक्षबाट मात्र बोल्यो नभन्नुहोला।
म छोरा मान्छे भएकोले मैले एउटा पाटोबाट मात्र हेरें। युवतीहरूप्रति मेरो सम्मान छ।
प्रेम सम्बन्ध छुटेपछि युवतीहरू 'नर्मल लाइफ'मा फर्किन समय लगाउँछन् भनेर मैले सुनेको छु। तर, प्रेमीकासँग छुट्टिएपछि केटा मानिसहरू एकदमै रोएको सम्हालिन नसकेको पनि मैले नजिकबाट देखेको छु। प्रेमको वियोगमा कोही रोएको देख्दा सबभन्दा नरमाइलो लाग्ने रहेछ।
आजकाल बाटोमा हात समाएर हिँडिरहेका जोडीहरू देखेपछि यिनीहरू कहिल्यै नछुटिऊन् भनेर मनमनै प्राथना गर्छु। तर के गर्नु र! स्वार्थसँगै गाँसिएका सम्बन्धहरू स्वार्थ पूरा भएपछि छुट्टिन्छन्। दुईमध्ये कुनै एकले शारीरिक, आर्थिक वा सामाजिक अभिष्ट पूरा भएपछि अर्कोलाई छोडिदिन्छ। प्रेमको नमिठो शास्त्र हो यो।
कहिलेकाहीँ त लाग्छ कि हामी जेलाई प्रेम भन्छौं,साँच्चै 'प्रेम' भनेको त्यही हो र? मनहरू अनायासै गाँसिन्छन् अनि फेरि छुट्छन्। केही न केही बन्धनमा जोडीहरू पर्छन्।
सबैकुरा मिलिहाले पनि पारिवारिक दबाबले कति प्रेम सम्बन्धहरू छुट्छन्।
मेरा एकदमै कम केटी साथीहरू छन् जो मसँग खुलेर कुरा गर्छन्। आफ्ना प्रेमीको कुरा पनि खुलेर गर्छन्।
तिमीले गर्लफ्रेन्ड किन नबनाएको भनेर सोध्छन्। 'तिमी जस्तो नभेटेर' भनेर म जिस्काइदिन्छु। उनीहरू लजाउँछन्। केटी मान्छेहरू लजाउँदा चाहिँ 'फूल' जस्ता देखिन्छन्।
अँ,आँखामा प्रेमसँगै विद्रोहको ज्वारभाटा बोकेर हिँड्ने भेटिएमा पक्कै प्रेममा परिन्छ। तर डर लाग्छ किनकि उडेको बताससँगै प्रेमीकाहरू छुट्छन्!
एउटा अर्को कुरा पनि छ। जब एउटा केटा मान्छे कुनै केटीको पछि लाग्छ तर सफल हुँदैन तब उक्त केटीको बारेमा अफवाह चाहिँ नमज्जाले फैलाउँछ। केटाहरूमा यो गलत संस्कृति मौलाउँदै गएको छ।
अन्त्यमा, कसैको प्रेममा पर्नु मिठो अनुभव हो। प्रेम ऊर्जा हो भन्न कसैको हिच्किचाहट मान्नुपर्ने छैन। शुद्ध मनले प्रेममा रहेका 'प्रेमील मनहरू' कहिल्यै नछुटिऊन्।
उडेको बताससँगै प्रेम सम्बन्धहरू नछुटून्।
किनकि, टाढा-टाढा जानु छ साथी एकफेर हाँसिदेऊ!!!