अहिलेको समयमा हरेक युवायुवतीहरूमा आफ्नो देश छोडेर विदेश गई पैसा कमाएर आफ्नो भविष्य बनाऊँ भन्ने चाहना हुनु स्वभाविक नै हो। मैले पनि मेरो बाल्यकालदेखि अहिले यहाँसम्म आइपुग्दा जीवनमा धेरै कुरा गर्छु भन्ने आँट राखेकी छु।
कक्षा दशसम्म पढ्दा एक अब्बल विद्यार्थीको रुपमा चिनिने म भविष्यमा केही गर्छे भन्ने सबैमा ठूलो आशा थियो। फेरि हाम्रो समाजमा अझै पनि यदि विद्यार्थीले राम्रो श्रेणीले पास गर्यो भने विज्ञान विषय लिएर पढ्नु पर्छ भन्ने सोच छ।
तर कक्षा दश पढ्दै गरेको विद्यार्थीलाई विज्ञान विषय लिने कि व्यवस्थापन विषय या अन्ने अरु विषय लिने राम्रोसँग ज्ञात हुँदैन। घर सल्लाहबाट मैले पनि विज्ञान विषय पढ्ने विचार राखेँ।
एसइई दिएर सपनाको सहर काठमाडौँ गएर पढ्ने मलगायत मेरो अन्य साथीहरूको पनि चाहना थियो। म दुई वर्षकी हुँदा बुवाको निधन भएको थियो, त्यसैले आमाबुवा दुवै संसार नै मेरी आमा हुनुहुन्थ्यो।
आमाकी कान्छी छोरी म, पाँच/छ दिन बाहेक आफ्नो घर र आमाबाट कहिल्यै टाढा नबसेकी, मनमा धेरै डर थियो। बाहिर गएर पढ्छु भन्ने निर्णय त्यति बेला साह्रै अप्ठ्यारो भैरहेको थियो।
एकातिर मनमा धेरै पीडा, अर्कोतिर आँखामा अनेक सपना बोकेर आमा र घर छोडेर सपनाको सहरतिर गएँ। सोचेजस्तै ठूला-ठूला भवनहरू र बाटोमा निरन्तर रुपमा गुड्ने साधनहरू त रहेछन् तर गाउँमा जस्तै ओल्लो घर पल्लो घरमा छरछिमेक भन्ने थिएनन् यस सहरमा।
सुरु-सुरुमा यताउता घुम्दै गर्दै रमाइलो लागिरहेको थियो। मेरो आफ्नो दाइ र दिदी पनि साथमा हुनुहुन्थ्यो तर आमाको कमि भने कसैले मेटाउन सकेको थिएन। दिन, हप्ता बित्दै गयो घरको साह्रै याद आउने गर्थ्यो। आमासँग फोनमा बोल्दा पनि मन भक्कानिन्थ्यो ।
यस्तैगरी कक्षा ११ र १२ पढ्न कलेज भर्ना भएँ। आफ्नो स्कुलको जेहन्दार विद्यार्थी मलगायत कलेजमा अरु प्रशस्त थिए। गाउँबाट आएको भए पनि कार्यक्रम संचालन गर्ने लगायत अन्ने अवसरहरू प्राप्त गरेको थिएँ।
१२ कक्षापछि के गर्ने भनेर सबै साथीहरू बीच सल्लाह हुन्थ्यो। धेरैले इन्जिनियर पढ्नी भने त कतिले विदेश जाने सोच बनाएका थिए। म पनि इन्जिनियर पढ्छु भनेर प्रवेश परीक्षा दिएँ तर राम्रो अंक आएन।
लाग्यो मेरा लागि सबै ढोकाहरू बन्द भयो। विदेश गएर म पनि केही गर्छु भन्ने सोच नआएको होइन, तर घरमा दिनु हुन्न होलाजस्तो लागेर त्यो सोच मनमै विलिन बनाएँ।
वातावरण विषयमा स्नातक गर्न भर्ना भएँ। समय बित्दै गयो तर मनमा विदेश जाने कुरा भने खेली नै रहेको थियो। मनलाई रोक्न सकिनँ र एकदिन घरमा सल्लाह गरेँ। मेरो दिदी-भिनाजु बेलायतमा हुनुहुन्थ्यो। म पनि त्यही जाने सोच बनाएँ। त्यो समयमा राहदानी बनाउने प्रकृया लामो थियो। पन्ध्र दिन जति लगाएर राहदानी बनाएँ।
यता स्नातक तहको पहिलो वर्षलाई निरन्तरता दिइरहेको थिएँ। घरमा दाइ म विदेश जाने कुरामा सकारात्मक नै हुनुहुन्थ्यो तर आमा भने मलाई पठाउन चाहनु हुन्न थियो।
आमाले भन्नुभयो, 'तिमी सानैदेखि मेरो काखमा हुर्केकी, कान्छी छोरी हौ। अहिले यो कलिलो उमेरमा अरुको देशमा गएर सबै जिम्मेवारी आफ्नै काँधमा सम्हाल्न गाह्रो हुन्छ, पछि स्नातक सकिएपछि जाऊ।'
तर मेरो मन विदेश जाने भनेर एकोहोरिरहेको थियो। दिनहुँ आमासँग कुरा गर्दा 'नजाऊ, यही धेरै अवसरहरू छन्, धेरै मानिसहरूमा यही केही गर्छौं भन्ने आशा छ' भन्दै आँसुका धारा बगाइरहनु हुन्थ्यो।
आमाको यस्तो वचन सुनेर मैले पनि धेरै सोचेँ। यदि म आमाको मन दुखाएर उहाँलाई छोडेर गएँ र कतै मेरो कारणले आमालाई केही भयो भने त्यो मेरो जिन्दगीको सबैभन्दा ठूलो गल्ती हुनेछ।
यहीँ आफ्नो आमाको साथमा यहीँ देशमा केही गर्छु भन्ने अटुटका साथ विदेश जानी इच्छा आकांक्षालाई अहिले मनमै सीमित गरेर अगाडि बढिरहेको छु।