बिहान बिहान कलेज जानुअघि पैसो माग्नुपर्छ। दिनको यो पाटो मलाई मनै पर्दैन। यत्रो ठूलो भइसकेँ अझ बाआमासँग ङिच्च गर्दै पैसा माग्दा दिक्क लागेर आउँछ।
त्यही पनी लुसुक्क गर्दै जान्छु आमाकहाँ।
'मामे! पैसा चाहियो।'
आमा धेरैजसो तयारी जवाफसँग बसेकी हुन्छिन्।
'जा। बाबासँग माग।'
वाल्ल पर्दै बाबाकहाँ जानुपर्छ। बिहानै कलेज जान रेडी हुँदै, मोजा लगाइरहेका बालाई कोट्याएर भन्छु, 'बाबा, पैसा।'
पैसा शब्द सुन्नेबित्तिकै खै किन हो अनुहारको रंग परिवर्तन हुन्छ बाबाको।
'हिजो भर्खर दिएको होइन?'
'खर्च भयो के बाबा, पैसै छैन', असहाय बालकझैं म उभिन्छु।
पर्स निकाल्दै बाबा धेरै जसो सय रुपैयाँ दिन्छन्। फिल्मजस्तै असल जिन्दगीमा पनि गीत बज्ने भइदिएको भए पक्कै हरेक बिहान मेरो कानमा, 'तड्प तड्प के इश दिल से :: आह! निकल्ती रही::।' बज्ने थियो होला।
आँखाबाट तपक्क आँसु नै खस्छन् जसरी म भन्छु, बाबा! जाबो सय रुपैयाँले के गर्नु?'
बाबा मोजाबाट आँखा पनि नउठाई भन्छन्- बीस रुपैयाँ जान बीस रुपैयाँ आउन, अझ साठी रुपैयाँ फिर्ता ले।
'अनि भोक लाग्दैन?' म प्रतिकार गर्छु।
'दस रुपैयाँमा पारलेजी बिस्कुट आउँछ त।'
पाकिस्तानले भारतविरूद्ध क्रिकेट हर्दा एउटा ग्वाँग्वाँ रूँदै भाइरल भाको थ्यो। त्यसको पीडा म बुझ्छु।
'मारो मुझे मारो।'
'आजकलको जमानामा को खान्छ पारले जी! ह्याँ बाबा, लास्टै ल्याङ नगरिस्यो न।'
'लास्टै! के हो त्यो लास्टै भनेको? नेपाली शब्द हो त्यो? खत्तम भइसक्यो बोली यसको छि: छि:।'
गाली गर्न त बाआमालाई के निहुँ पाउँ कनिका बुक्याउँ नै त हो।
'बाबा! अलिकति अझ दिस्यो न, पिलिज।' म गनगन गर्छु।
'आजकलका बच्चा कस्ता भए। हामी एक घन्टा हिँड्दै गर्मीमा प्याकप्याक मुख सुकाउँदै स्कुल जान्थेम्। केको खाजा के को पैसा। छोरी! तँलाई बाउले रूखबाट पैसा टिपेर ल्याउँछ जस्तो लाग्छ हो?' निधारमा त्रिशूल बनाउँदै बाबा भन्छन्।
उफ् ! यो हरेक बाउआमा एक घन्टा हिँडेर स्कुल पुग्नुपर्ने राष्ट्रिय कथा हो कि क्याहो। म सोच्छु।
बल्लतल्ल महासंग्रामपछि बाले सय रुपैयाँ अझ थपिदिन्छन्। खुसी हुन हाँसो निस्केको पनि हुँदैन, बा भन्छन् 'पर्सीसम्म नमाग फेरि।'
धेरैजसो बाबा र मबीच हुने गफ यति नै हो। बिहानै गएर बेलुका फर्किन्छन्, मेरा बा! दिनभरि कलेजमा पढाएर लखतरान परेर घर आउँदा म कहिले आफ्नै काममा व्यस्त हुन्छु, कहिले सुतिसकेको हुन्छु। बाबासँग मज्जाले गफ गर्न खासै पाइँदैन।
जिम्मेवारीको बोझले होला कपाल सेता भइसके, आँखा चाउरिन थालिसके। अलिअलि आर्थिक जिम्मेवारी म पनि बाँडौं भनेर धेरैपटक भन्छु।
'म काम गर्छु के! आफैं कमाउँछु अनि आनन्द!' त्यही पनि मलाई काम गर्न दिँदैनन्।
'खुरूखुरू पढ्। स्वास्थ्य र पढाइलाई महत्त्व दे। मास्टर पढुन्जेल काम गर्नु पर्दैन।'
अब यो माया गरेकै त होला नि। मेरो बाबाको संसार निकै सानो छ। म, बहिनी र आमा। हामी वरिपरि नै बाबाको संसार छ। बाबाले आफ्ना लागि भनेर गरेको केही कुरो याद छैन, मलाई।
पुस्तकबाहेक अरू केहीको अमल छैन मेरो बाबाको। लुगा पनि हामीले लगेर किन्दिएन भने आफैं कहिले किनेर ल्याउने होइन। खाजा, खाना घरबाटै लिएर जाने हो।
म सोच्छु यो बाबा म जत्रो हुँदा कस्तो होइसिन्थ्यो होला? आफ्नो बारेमा त कहिले सोच्ने होइन। अरूबाट सुनेको कलेज पढ्दादेखि नै ट्युसन पढाएर निकै मेहनत गरेर विद्यार्थी जीवन काटेका भुक्तभोगी मेरा बा।
पढाइ र परिवार यिनै हुन् मेरा बाको जिन्दगीका मुख्य द्वारहरू।
तर सधैं बाबाले माया नै गर्दैनन् जस्तो लाग्छ। स्कुलमा धेरैजसो प्रथम हुन्थें। खुसी हुँदै मार्कसिट लगेर देखायो। 'राम्रो, अझ राम्रो गर्नू' यही ब्रम्ह वाक्य दोहोरिन्थ्यो सदाकाल।
मेरो अगाडि कहिले फुर्केनन् र मलाई पनि कहिले फुर्क्याएनन्। कयौं प्रमाणपत्र, मेडल ल्याएर देखाउँदा 'स्याबास् छोरी!' भनेर कहिले अँगालो मारेनन्।
जुंगामा ताउ लाउँथे होलान् तर जुंगा ताउ लाउने खालको भए पो!
अमेरिकन सिनेमामा जस्तो 'आई एम प्राउड अफ यूू' कहिले भनेनन् बाले।
लोलोपोतो नगरेर होला हाम्रा बा हामीलाई माया नै गर्दैनन् जस्तो लाग्थ्यो।
एकदिन म आफ्नै कोठामा थिएँ। बा फोनमा साथीसँग भिडिओ कलमा हुनुहुन्थ्यो।
साथीले भने,'अनि सुभाष जी! सुनाउनुहोस् आफ्नो बारेमा।'
बाले मेरो बारेमा बोल्न थाले। म के गर्दैछु। के केमा भाग लिन्छु। के के जितें। के लेखें। कसले के प्रशंसा गर्यो।
बाको आवाजमा गर्व थियो। साथीले बालाई आफ्नो बारेमा सोधेका थिए। बाले केवल मेरो बारेमा मात्र बोले, मानौं म भन्नु नै मेरो बाका लागि आफ्नो पहिचान थियो।
त्यो दिन म धेरै रोएँ। मेरा बाले गरेका स-साना कुरा याद आयो।
सानोमा म ब्रस गर्न मान्दिनँ थिएँ। धेरै किचकिच गर्नुपर्थ्यो ब्रस गराउन। मेरो दाँतमा किरा नलागून् भनेर थरीथरीका रङ्गीविरङ्गी ब्रसले सधैं आकर्षित गर्थे मलाई। त्यसपछि मलाई ब्रस गर्न कहिले कर गर्नु परेन।
मैले पढुँ भनेर बाबाले सानैदेखि किताब किन्दिन्थे। बेडटाइम स्टोरी, गुड ह्याबिट्स, माई बडी। ठूलाठूला चित्र भएका चिल्ला महँगा किताबहरू म घन्टौं लगाएर ओल्टाइपोल्टाइ गरेर बस्थें, पढ्थें। हरेक महिना बालपत्रिका 'मुना' आउथ्यो।
हरेक महिना मुना लिएर बाबा घर आउँदा दसैं आएको झैं लाग्थ्यो। एक बैठकमा पढिसक्थें अनि दिनदिनैको गनगन सुरू हुन्थ्यो - 'बाबा! अर्को मुना कहिले आउँछ? बाबा! मुना ल्याइदिस्यो न।'
मैले पढेको शेक्सपियरका कथा संग्रह, बुद्धिसागरका उपन्यास सबै बाबाले किन्दिए। अकबर वीरबलका कथादेखि मार्केजका उपन्याससम्म ममा पढ्ने बानी बसाल्ने श्रेय मेरो बाबालाई जान्छ।
अहिले अंग्रेजी फररर बोल्दा के-के न जान्ने भएँजस्तो लाग्छ। उबेला टिभीमा सोनपरी र हातिम हेर्दा बाले रिमोट खोसेर 'हिन्दी नहेर! नेसनल जिओग्राफी, एनिमल प्लानेट हेर्नुपर्छ।' भनी च्यानल बदलेको याद आउँछ।
मेरा बा क्रिकेट भनेपछि हुरूक्कै हुन्छन्। उबेला रेडियोमा कमेन्ट्रीमात्र सुन्ने गर्थे रे। अहिले रातभर बसेर पनि आइपिएल हेरेरै सुत्छन् बिहान चार बजे उठ्नुपर्दा पनि। बासँगै बसेर मैले पनि क्रिकेट हेर्न थालें। बाबाले गहिरिएर क्रिकेटका नियम बुझाउँदा मेरा कान ठाडा हुन्थे - ऊ.. ऊ.. हान्यो। छक्का भनेर कोठै थर्काउँदा म पनि बुरूक्क पर्थें अनि हाँस्दै रमाउँदै बाको क्रिकेट हेर्ने साथी भएँ।
मेरा बा झनक्क रिसाउँछन् तर रियालिटी शोमा भावनात्मक दृश्य आए पिलपिल आँसु खसाल्ने पहिलो हुन्छन्। बिरामी पर्दा ख्वाङ्ग ख्वाङ्ग खोक्ने म हुन्छु तर छाती मेरो बाका चर्किन्छन्।
नारायण गोपाल, महोम्मद रफीका गीत कठस्त छन् मेरा बालाई, तर मेरो जन्म दिन हतारहतार मेरी आमालाई सोध्छन्। मेरा बा सम्पन्न नहोलान् तर सन्तुष्ट अवश्य छन्। माया देखाउन पटक्कै आउँदैन तर हरेक दिन घरबाट निस्किँदा 'दायाँ-बायाँ हेरेर हिँड्, बाटोमा गफ नगर्नु, मोबाइल नचलाउनू, गाडी हुत्तिएर आउँछन्।', भन्न कहिल्यै बिर्सिदैनन्।
कलेजमा विद्यार्थीहरूले दिएको चकलेट पनि मेरा बाको घाँटीबाट हामीलाई नखुवाई मरिगए छिर्दैन। घरसम्म ल्याएर चार भाग लगाउनुपर्छ। एक दिन एउटा सिंगो किट्क्याट ल्याएर 'बाबा ! यो हजुर खाइस्यो।' भनेर दिएँ।
मेरो बाबालाई त्यो सिंगो चकलेट निल्न महाभारत लडेझैं भयो।
बेला-बेलामा पुलुक्क मतिर हेर्दै- 'ला! एउटा टुक्रा खा' भनिहाले। धरोधर्म खान्न आज सिङ्गै खाइस्यो भनेर किरिया खाएपछि मात्र बल्लतल्ल घाँटीबाट झर्यो। सायद जिन्दगीमा पहिलो पटक मेरा बाले सिंगै चकलेट खाए।
एकदिन बहिनी, म र बा सँगसँगै बसेका थियौं। बहिनीले अचानक सोधी- बाबा हजुरको गर्लफ्रेन्ड थियो?
महाअपराध गरेझैं बाले भने, 'के भनेको त्यस्तो पापका कुरा, राम राम।'
मैले भनेँ, 'अनि कोही मन परेन त?'
टाउको कन्याउँदै बा भन्छन्, 'अहँ तेरै मामेले मोहनी लगाई।'
हामी मुर्छा परेर हाँस्यौं।
विचित्रका छन् मेरा बा। आँखाबाट हतपत आँसु आउँदैन। थकाइ निरासा भए पनि मुखबाट सधैं 'बेटा पढ्।' निस्किन्छ।
आफ्नो वर्तमान ध्वस्त पारेर हाम्रो उज्ज्वल भविष्य निर्माणका खातिर हड्डी खियाउँदै छन् अनवरत।
स्वार्थहीन माया गरेको दसकौं बित्यो। छोरी भए पनि कहिल्यै बाले छोरा नभएजस्तो व्यवहार गरेनन्। स्वावलम्बी हुन, इमानदार हुन र सन्तुष्ट हुन मैले मेरा बाबाट सिकेँ।
सानो हुँदा बा भलिबल खेल्थे रे। सोच्दा नि अचम्म लाग्छ। हामीबिना पनि कुनैबे ला बाको आफ्नो जिन्दगी थियो। कसरी बाले आफ्नो सम्पूर्ण जीवन मेरो नाम गरिदिएका छन्। म भने त्यही सय रुपैयाँमा झुन्डिएको छु। कहिलेकाहीँ मलाई पनि बालाई अँगालो मारेर 'आई लभ यू बाबा' भन्न मन लाग्छ तर अंग्रेजीमा भन्छन नि 'क्रिन्ज' हुन्छ अनि मनमनै भन्छु बाउजस्तै।
जति बाको माया लागे पनि फेरि भोलिपल्ट कोट्याउन जानैपर्छ। 'बाबा! पैसा!'
मेरो मायालु बाबा भुतभुताउँदै निस्कन्छन्।
'सत्यानाश गर्ने भई। हो, सबै उडाइदे बाउको पैसा। आप के धन हैन, बाप के धन त हो। अनिता, ए अनिता! हेर्न आज त हजार रुपैयाँ माग्छे, के गर्ने?'
आमा सिफारिस लगाउन दगुर्दै आउँछिन्।
'दिस्यो न त दिस्यो छोरीले नचाहिँदो गर्दिन, काम परेरै त भनी होली', भन्दै बाउको टाउको सुम्सुम्याउँदै पर्सबाट फुत्त हजारको नोट मेरो हातमा राखिदिन्छिन्।
पैसा चाहिएको छ के गर्नू! हजारी समाउँदै म ङिच्च हाँसिदिन्छु।
'आई लभ यू बाबा।' भन्दै दगुर्छु।