आज म सन्तानकी आमा भइरहँदा मुटुभरि त तिम्रो माया छताछुल्ल छ आमा, तर पनि मेरो हातमा केही मिठो खानेकुरा पर्नासाथ तिम्रो होइन मलाई मेरो सन्तानको याद आउँछ।
अनि तिम्रो मायाले सताउँछ आमा।
बाबाको मायामा पनि फरक केही छैन तर पहिलो जित हासिल तिमीले गर्यौ आमा।तिमीले गर्ने साँचो माया र सत्यताले सधैं ब्युँझाइदिन्छ। तिमीलाई जस्तै मलाई पनि हुन्छ आमा। त्यो तिम्रो हाल मलाई पनि दोहोरियो आमा।
जब मेरो हातमा खानेकुरा पर्छ उसको मुखसम्म पुर्याउन अनेक प्रयास गर्छु। मेरो हात मेरो मुखतर्फ जानै खोज्दैन आमा। तिमीले जस्तै कतै पोको पार्न बाध्य हुन्छु कि मनमा उसैलाई सम्झँदै जनतन निल्न बाध्य हुन्छु अनि बल्ल तिमीलाई सम्झन्छु।
मेरो आमाको हालत पनि यस्तै भएर होला। आज छोरी आफैं कमाउने छे, आफ्ना इच्छा चाहना आफैं पूरा गर्न सक्छे र पनि तिमीले दूधे बालक सरहको व्यवहार अझै भुलेकी छैनौ आमा।
तिम्रा सन्तान आमा भइसक्दा पनि तिम्रो हालत सधैं उस्तै छ आमा।
तिम्रो महत्व सदासर्वदा त्यति नै छ मुटुमा। तिम्रो बास भइरहँदा याद किन तिमीलाई जस्तै मलाई पनि हुन्छ आमा?
तिम्रा लागि हरेक पल, हरेक क्षण, हरेक दिन त्यति नै महत्वपूर्ण छ, जति आमाको मुख हेर्ने दिनमा हुन्छ त्यही दिनमा मात्र किन सबैलाई तिम्रो फोटो पोस्ट गर्न चटारो पर्ने होला।
आमा तिमीलाई सम्झँदा पल-पलमा आँखा भरिएर आउँछ। भगवानको नाम लिनभन्दा पहिले तिम्रो नाम आउँछ। भगवानसॅंग भन्दा धेरै शक्ति तिमीसॅंग हुन्छ रे आमा।त्यसैले होला आमा हरेक दु:ख सुखसॅंग तिम्रो नाम जोडिएर आउँछ।
हे आमा, ऐंया बा ती शब्दले पनि प्रष्ट पारिदिन्छ। जब-जब तिम्रो नाम आउँछ, तिम्रो याद आउँछ।
मरेका ती आशाका किरण फेरि पलाउन थाल्छन्। तिम्रा लागि संसार जित्ने सपना आफैं पूरा भएर आउँछ। तिमीले त तिम्रा सन्तानलाई तिम्रो मायाको तलाउमा सधैं डुबाएरै राख्न सक्छौ।
तिमीमा त्यो शक्तिको भण्डार छ आमा। चाहे तिम्रा सन्तानको व्यवहार समाजलाई नै नपच्ने किन नहोस्, तिमीले सजिलै पचाइदिन सक्छेऊ आमा।
आमा तिमीलाई खेतबारीमा फलेको चिजको के कुरा गर्नु एउटा सानो गमलामा फलेको चिज तिम्रो सन्तानको मनको भने तिम्रा सात समुन्द्र पारका सन्तानको मुखमा पारि दिन सफल हुन्छेऊ आमा।
उनीहरूको मुखमा नपरून्जेल तिम्रो मन शान्ति नै हुँदैन तिमीमा जितको भण्डार छ आमा।
यो मेरो छोराछोरीलाई सारै मनपर्छ उनीहरूले जहिले खान खोज्छन् यो त मलाई निलिँदैन के गर्ने होला अनेक तरहका उपाय खोज्छेऊ र सफल पनि हुनिछेऊ।
त्यसमा अनेक तरहको कोसिस जारी राख्छेऊ आमा। ताजै पुर्याउन नपाए पनि अनेक तरहका कोसिस तिमीमा जारी रहन्छ।
सुकाएर हुन्छ कि अचार सादेर हुन्छ कि अन्य उपाय निकाल्दै तिमी अवश्य सफल भएरै छाड्छेऊ।
आमा जब तिमीले पठाएका मायाका ती पोका मेरा हातमा पर्छन्, ती पोका खोल्छु। आँखा त्यसै-त्यसै मन भरिएए आउँछ।
तिमीमा सबै कुरा कसरी सम्भव छ आमा। गाउँमा कसैले तिमीलाई केही मिठो खान दिए त्यो तिम्रो मुखमा पर्दैन आमा। त्यो खानेकुरा तिम्रो मुखमा होइन, तिम्रो पटुकीमा पोका पर्छन्। ती कैयन् पोकाहरू तिमीले सन्तानका लागि साचेर आफ्ना इच्छा चाहना समेत मारेर सन्तानका लागि बाँची दिन्छेऊ आमा।
आमा तिमीलाई आजसम्म मैले तिम्रो मन भरिने तिम्रो इच्छा चाहना केही परिपूर्ति गर्न सकेकी छैन।
तिमी रहदम मेरै साथमा भएको आभास भइरहन्छ। मन मुटुमा तिमी छेऊ आमा। फरक त्यति मात्र हो आज मलाई पनि तिम्रो बानी व्यवहार सरेको छ आमा।
संसारमा तिमीभन्दा अमूल्य केही छैन कि तिमीलाई दिन सकूँ!
तिमीले जस्तो व्यवहार गर्छेऊ म पनि त्यस्तै बनिदिन्छु आमा। वर्षौंपछि तिमीलाई भेट्दा तिमीलाई हेर्न तिमीलाई अंगालोमा बेर्न मन आतुर भएको हुन्छ। तिमीलाई भेट्नेबित्तिकै वर्षौंसम्मका थकान विलिन भएर जान्छन्।
भोकाएको पेट भरिएर आउँछ। तिमीलाई हेर्न यो मन सधैं आतुर हुन्छ। तिमीलाई पनि मन लाग्छ होला मेरा सन्तानले पकाएर दिएको खान। तिम्रो पनि हातले विश्राम पाउन तिम्रो पनि मुखले स्वाद फेरोस् तर तिम्रा सन्तान तिमीभन्दा बुढा भइदिन्छन्।
तिमीमा जस्तो जाँगर तिम्रा सन्तानमा कहाँ हुन्छ र आमा! त्यसैले मेरो लागि सधैं तिमी (Mother’s Day) हौ आमा।
तिम्रो काखको गरिब छु आमा। भागमा जे परे पनि भाग्यमा तिमी छेऊ नि आमा। भागमा परेकोमा होइन आमा भाग्मा तिमी र बदलामा तिमी हुन पाउँदा सदैव गर्व महसुस हुन्छ आमा। तिम्रो मनमा जति म छु नि मेरो मन मस्तिष्कमा पनि तिमी छेऊ आमा।
म त छोरी हो नि आमा। तिम्रो काख त गर्भ बाहिर निस्कने बित्तिकै समाजले नै छुट्याइ दिन्छ। (अर्काको घर जाने जात)भनेर। तर सौभाग्य ठूलै पाएकी छु। छोराले भन्दा छोरीले माया गर्छन् भनेर। आमा म कहिल्यै दु:खी भएकी छैन। तिमी भएर जन्म लिन पाउनु नै सबभन्दा ठूलो उपहार हो मेरा लागि।
तिमीलाई पनि थकान लाग्छ। तिमीलाई भोक प्यास लाग्छ। तर मेरी आमा तिमीले आजसम्म त्यो कुरा भनेको सुनेकी छैन।
‘आज मलाई सन्चो छैन, तिमीहरूले जे सुकै खाऊ/आफैं पकाएर खाऊ’ तिमीमा कति ठूलो शक्ति छ आमा। त्यसैले पनि भनिएको होला भगवानसॅंग भन्दा ठूलो शक्ति तिमीमा हुन्छ भनेर।
तिमीमा कहिल्यै थकान देखिँदैन। भोक प्यास देखिँदैन। सुखीको होइन आमा तिमी दु:खीको सहारा बन्छेऊ। माया उसैलाई गर्छेऊ।