उदयपुरमा तीन दिनको काम थियो तर काम नहुने भयो। दिउँसोको समय गाईघाटमा असाध्यै गर्मी थियो, काम नहुने भएपछि गर्मी झन् धेरै बढ्यो, खलखली पसिना आउन थाल्यो।
गाडी साइड लाएर चिसो कोक खान थाल्यौं तर आँत, अहँ भरिएन।
बेलुकाको चार बज्नै लाग्दा, हामीसँग तीन वटा विकल्प थिए। पहिलो विकल्प, गाईघाट नजिकैका पर्यटकीय स्थलहरू घुमेर फर्कने, दोस्रो विकल्प रामेछापमा रहेको आफ्नै कार्यालय फर्कने, तेस्रो विकल्प गाईघाटमा नै बसेर भोलिपल्ट फर्कने।
हामीले पहिलो विकल्प रोज्यौं।
श्रीमतीसँग पूर्वी नेपाल घुम्न पाएको थिइनँ। सँगै पढेका साथी वीरेन्द्र, चराहरूको राजधानी मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा कार्यक्रम अधिकृतका रूपमा कार्यरत थिए, उनैलाई सम्झिए र फोन हानेँ।
'कोशी टप्पु आउँदैछौं, के छ व्यवस्था?' उनै साथीलाई सोधेँ।
'को को आउँदै छौ?' साथीले प्रतिप्रश्न गरे।
'म, बसु अनि गुरू पनि हुनुहुन्छ।' मैले भनेँ। खुसी भए उनी।
'होटलमा बस्छौ कि होमस्टेमा?' उनले सोधे।
'आरक्ष घुम्ने भएपछि होटल किन बस्नु? होटल त जहिले, जहाँ पनि बसिन्छ। होमस्टे बस्ने हामी' मैले भनेँ।
आरक्षभित्रै होमस्टेको व्यवस्था रहेको, खाना बस्नको लागि समस्या नरहेको उनले बताए। कोशीका माछा खुवाउने कुरा गरे, हार्दिकता प्रकट गरे, हामी गाईघाटबाट कोशी टप्पु वन्यजन्तु आरक्ष जाने भयौं।
उदयपुर जिल्ला अदालतमा ठूलो बुवा (श्रीमतीको) हुनुहुन्थ्यो। जिल्ला न्यायाधीशको रूपमा उहाँलाई भेटेर आफ्नो गन्तव्यमा अघि बढ्ने योजना बनायौं।
ठूलो बुवालाई फोन गरेर जिल्ला अदालत रहेको ठाँउ यकिन गर्यौं। विपिनले गाडी अगाडि बढाए।
जिल्ला प्रशासनभन्दा केही अगाडि रहेछ ठूलो बुवाको क्वाटर। हामी फोन गर्दै क्वाटरसम्म पुग्यौं। ठूलो बुवालाई भेट्यौं।
कोशी टप्पु जाने कुरा गर्यौं। ठूलो बुवाले पनि हामीसँगै घुम्न जाने मन गर्नुभयो तर विविध कारणले सो अवसर जुट्न सकेन।
साढे पाँच बजिसकेको थियो। हामीलाई कोशी टप्पु पुग्नु थियो। होमस्टेमा बस्नु थियो। होमस्टेमा बसेको अनुभव थियो मलाई, लमजुङको घले गाँउमा तर बसुको लागि पहिलो अनुभव थियो यो। होमस्टे कस्तो होला? बस्नलाई सहज होला कि नहोला?गर्मीको समयमा कतै सर्प नै पो आउछन् कि? जङ्गली जनावर आए के गर्ने ?खाना कस्तो होला? यस्तै कुरा गर्दै थिइन् उनी।
कोशी टप्पु नगएर धरानसम्म पुग्ने हो कि?भन्ने योजना समेत बन्यो तर साथी वीरेन्द्रको हार्दिकतालाई अस्वीकार गर्न सकेनौं। गाईघाटबाट पूर्व पश्चिम राजमार्गको बाटो हुँदै सुनसरीतिर हानियौं।
हामी पुग्नुपर्ने ठाउँको बारेमा जानकारी दिएका थिए साथीले।
कोशी व्यारेजभन्दा दश बाह्र किलोमिटर पूर्वतिर बढेँपश्चात् नहर चोकमा पुगिने जानकारी गराएका थिए। नहर चोकबाट उत्तरतिर कोशी टप्पुको गेट रहेको, त्यही गेटबाट दुई किलोमिटर भित्र छिर्नुपर्छ भनेका थिए उनले।
साढे सात बजिसकेको थियो। हामी हाम्रो गन्तव्यमा पुगिसकेका थिएनौं।
'टाढा भए पनि हाम्रो माया गाढा छ नि' गाडीमा गीत बजिरहेको थियो। सप्तरीको बरमझिया पुगेका थियौं हामी।
सप्तरी भन्नबित्तिकै बाजेको पेडाको याद आउथ्यो, नआओस् पनि कसरी सडकको किनाराभरि पेडाका पसलहरू थिए, बासना गाडीसम्मै आएको थियो।
छपन्न वटा ढोका भएको कोशी व्यारेज आइपुग्यो। कोशीसँग जोडिएको रमाइलो किस्सा याद आयो। ओ सी (ओ समुद्र) भन्दा कोशी भएको रमाइलो किस्सा सुनाएका थिए एक जना साथीले रमाइलोको लागि।
साँझ छिप्पिसकेकोले कोशीको विशालता देख्न सकिएन, अनुभवमात्र गरियो। देशको सबभन्दा ठूलो नदी पार गरेपछि हामी सुनसरी पुग्यौं।
हामीलाई अझै दशबाह्र किलोमिटर अगाडि जानु थियो, गाडी गुडिरहेको थियो।
नहर चोकपुग्दा आठ बजिसकेको थियो। नहर चोकको उत्तरपट्टि कोशी टप्पु वन्यजन्तु आरक्ष लेखिएको गेट थियो, त्यहीबाट भित्र छिर्यौं।
चराका साथसाथै अर्नाका लागि पनि प्रख्यात रामसार साइटमा समेत सूचीकृत कोशी टप्पु प्रवेश गर्दैगर्दा मनमा उत्साह थियो, कौतुहलता थियो।
साथी वीरेन्द्रसँग निरन्तर फोन सम्पर्क भइराखेको थियो।
नहर चोकबाट झन्डै तीन किलोमिटरभित्र छिरेपछि सानो गोल घरको छेउमा पुग्यौं, जहाँ वीरेन्द्रले हामीलाई कुरिरहेका थिए।
अन्तत: साढे आठ बजेतिर सुदीप होमस्टेमा पुग्यौं।
होमस्टे पुग्दा दिनभरको थकान दूर भयो, आनन्दको महसुस भयो। हाम्रो लागि दुइटा कोठा बुक गरिदिएका थिए साथीले।
कोठा आकर्षक थिए। मयूर अङ्कित ठूलो खाटले कोठाको शोभा बढाएको थियो। घरको वरिपरि रहेका गहुँबारीले गर्मीको अनुभव हुन दिएक थिएन। नयाँ ठाउँ, नयाँ परिवेश, माहोल रमाइलो थियो।
झन्डै एक दशकपछि भेट भएको थियो साथीसँग।
लामो समय पछिको भेट भएर होला, हामीले विगतका कुरा गयौं, साथीहरूलाई सम्झियौं, वातावरणीय मुद्दामा छलफल गर्यौं, केन्द्रीय वातावरण विज्ञान विभागमा अध्ययन गर्दाका पलहरू सम्झियौं। कीर्तिपुरको हावा, पानी, माटो सम्झियौं। जहाँ प्रयोगात्मक अध्ययन गर्थ्यौं हामी। अध्ययन गर्दाका क्षणहरू सम्झिँदै विगतलाई पुनर्ताजकी गरायौं।
हामीले कुरा गर्दैगर्दा होमस्टे संचालक दाइ सँगै हुनुहुन्थ्यो, हाम्रो कुरा चाख दिएर सुनिरहनु भएको थियो। लुङ्गेली दाइका दुई छोरा रहेछन्, कान्छो छोराको नामबाट होमस्टेको नाम राख्नु भएको रहेछ। विगतमा नेपाल आर्मी हुनुहुँदो रहेछ, हाइटीसम्म पुग्नु भएको, शान्ति सेनाको रूपमा।
हामीले कुरा गर्दै गर्दा खाना तयार थियो। काँसको थालमा भात, काँसकै कचौरामा दाल आइसकेको थियो। कोशीको माछा थियो, गुन्द्रुकको अचार, आलुको भुजिया थालको एक कुनामा राखिएको थियो। जिब्रोमा पानी आइसकेको थियो, हामीले ढिला नगरी खाना खान थाल्यौं।
भात, दाल, गुन्द्रुक सबै स्थानीय परिकार थिए, स्थानीय उत्पादन थिए, एकदमै स्वादिला थिए। हामीले थपिथपि खायौं। जति खाए पनि नअघाउने, जिब्रोमै झुन्डिएको थियो स्वाद।
खाना खाएपश्चात् टहलिँदै मझेरीमै बस्यौं हामी। विगत अनि वर्तमानका कुरा गर्दै थियौं, घरपरिवारको कुरा भैरहेको थियो। कुराकै प्रसंङ्गमा साथीले 'घर कहाँ बनायौ ?बनायौ कि बनाएनौ ?' सोधिहाले।
'कहाँ घर बनाउनु? छैन यार। म त सुकुम्बासी पो त'जिस्कँदै भनिदिएँ।
लुङ्गेली दाइले सुनिरहेका थिए हाम्रो कुरा। मेरो कुरा सुनेर उनी केही गम्भीर बने।
'सर एउटा कुरा भनौं,' अप्ठ्यारो मान्दै लुङ्गेली दाइले सोधे।
'भन्नुस् न, एउटा कुरा भन्न पनि सोध्नुपर्छ? अप्ठ्यारो नमानी भन्नु', मैले भनेँ।
लुङ्गेली दाइ मुुसुक्क मुस्कुराए। अनि विस्तारै बोले, 'सर बाआमा भएको सन्तान कहिल्यै पनि सुकुम्बासी हुँदैनन्। तपाईंसँग नब्बे वर्ष पुग्नु भएका बा हुनुहुन्छ, असि वर्ष पुग्नै लागेकी आमा हुनुहुन्छ भने तपाईं कसरी सुकुम्बासी हुनुहुन्छ? तपाईं संसारको सबैभन्दा धनी मान्छे हो, तपाईं जस्तो भाग्यमानी, सम्पत्तिशाली कोही छैन यो संसारमा।
लुङ्गेली दाइले दार्शनिक कुरा गरे, सत्य कुरा गरे। उनको कुराले गम्भीर भएँ म। उनको कुरामा प्रतिवाद गर्ने कुनै ठाउँ थिएन। साँच्चै आफूलाई भाग्यमानी ठानेँ। बा सम्झेँ, आमा सम्झेँ, खुसी भएँ, मुस्कुराएँ।
नयाँ वर्ष भर्खरै सुरू भएको छ। नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने धेरैका योजना हुन्छन्। हिमाल, पहाड तराई, मधेस सबै ठाउँमा घुम्नको लागि अनेकौं ठाउँ छन् हामीसँग।
नयाँ वर्षमा नयाँ ठाउँ घुम्ने योजना बनाउनुभएको छ भने कोशी टप्पु एउटा विकल्प हुनेछ। बाआमा भएका सन्तान कहिल्यै पनि सुकुम्बासी हुँदैनन् भन्ने ज्ञान भएका, दर्शन बोकेका लुङ्गेली दाइको होमस्टेको भ्रमण तपाईंहरूको लागि पनि पक्कै अविस्मरणीय बन्नेछ।