मैले एकदम नजिकबाट चिन्ने एक जना दाइ छन्, आजभोलि स–परिवार काठमाडौं बस्छन्। आमाबाहेक।
बा छैनन् उनका, मैले चिन्नुभन्दा अघि बितेका हुन् सायद। खानदान राम्रै हो, काठमाडौंमा आफ्नै घर छ उनको।
दाइको जागिर उतै काठमाडौं, अनि बिहेपछि मात्र आमालाई पनि सँगै लिएर गएका हुन्।
आमा तीन महिना बस्न सकिनन् त्यो काठमाडौंमा। फर्केर गाउँ आइन्। तर दाइ-भाउजू आएनन्।
आउथे पनि कसरी, दुबै जनाको जागिर। त्यो उनीहरूको आफ्नै बाध्यता होला।
तीन महिना काठमाडौं बसेर आएकी ती आमाको रहनसहनमा निकै फेरबदल थियो। उनी वास्तविकता खास्सै बताउँदैन थिइन्, हामी अड्कल मात्र काट्थ्यौं।
उनी काठमाडौं बसाइका रहर लाग्दा कथा सुनाउन चाहँदैन थिइन्।
उनी दु:ख पनि सुनाउँदैन थिइन्। गाउँघरका आन्टीहरू उनलाई सोध्थे, उनी बताउँदैन थिइन्।
म आफैं पनि उनलाई सोध्थेँ, ‘उतै बसेको भए हुन्थ्यो नि बोई, बिरामी पर्दा छोरा बुहारी त हुन्थे।’
अनुहार खुम्च्याउँदै भन्थिन्, ‘सात जुनिसम्म साथ दिने कसम खाएका बुढाले त एक्लै छाडेर गए, झन् जाबा सन्तानको के आशा नाति।’
प्रष्टै हुन्थ्यो, कि आमा काठमाडौं बसाइमा खुसी थिइनन्, पीडा बताउन चाहिनन्। मैले खोतल्न पनि चाहिनँ।
लगभग वर्ष दिन जति उनको गाउँघरतिर गएको थिइनँ म। अलि टाढैको गाउँ थियो, मौकै नमिल्ने। एकदिन त्यस्तै मौका मिल्यो, अनि गएँ।
घर बन्द थियो, आँगनमा घाँस उम्रेर मान्छे नबसेको प्रष्टै हुन्थ्यो। मान्छे बस्ने घरको आँगन अलिकति सफा नै हुन्छ।
ताला लागेको घर देखेपछि छिमेकी दाजुलाई सोधे, ‘यो घरकी बोई कता जानुभएछ ? काठमाडौं छोराहरूसँगै बस्न थाल्नु भयो कि ?’
उनले सुस्केरा हाल्दै भने,‘कठै बरै! उनको त्यति भाग्य कहाँ थियो र भाइ। वृद्धाश्रम बस्छिन् आजभोलि।’
म अचम्म परेँ, दाइले बताउँदै गए , ‘दसैंपछि छोरा बुहारी काठमाडौं फर्किए। बुढी त्यो पेटीबाट लडेर खुट्टा मर्काइन्। पानी सारेर खान दिने मान्छे नभएपछि उनकै छोराले वृद्धाश्रम लगेर राख्दिनुस् दाइ भनेर मलाई फोन गर्यो, अनि उसैले उताबाट व्यवस्था मिलादिएपछि मैले लगेर छाडेको हुम्।’
छिमेकी दाइसँग बिदा भएँ। बाटोभरि मनमा कुरा खेल्यो, आखिर सन्तान केको लागि ? बुढेसकालको सहारा भन्दै हुर्काए , पढाए तर सहारा भएन।
सन्तान सहाराकै निम्ति जन्मने पनि होइनन तर एउटा असल संस्कार पाएर हुर्केको छोरोले त बुझ्नु पर्छ नि बाआमाको मन। तर ती बोईका छोराले बुझेनन्।
मैले बुझेअनुसार बाआमा दुबैको माया दिएर हुर्काएकी थिइन् रे छोरालाई। सम्पत्ति भएको तर आम्दानी नभएको परिवार थियो उनीहरूको। कमाउने मान्छे नै नभएपछि कुन दु:खले छोरालाई पढाइ होलिन् ती बोईले?
हामी कल्पनामात्र गर्न सक्छौं, ती बोईका पीडा तर आफैंले महसुस गर्न सक्दैनौं किनकि पक्कै पनि निकै कष्टकर थिए उनका ती दिन।
यो मैले चिनेको एकजना बोईको कथा थियो, बोई अझै जिउँदै छिन् तर घरमा बस्दिनन्। उनी वृद्धाश्रममै बस्छिन्।
उनीहरूको गाउँको घर सायद ढलिसक्यो, छोरा बुहारी काठमाडौंमै बस्छन्।
यो बोईको कथालाई लिएर मैले आमाको मुख हेर्ने दिनसँग जोड्दै छु अब।
बोईको ताला लागेको घरबाट फर्केकै दिन फेसबुकमा एउटा फ्रेण्ड रिक्वेष्ट आयो। मैले उनको प्रोफाइल खोलेर हेरेँ।
प्रोफाइल तस्बिर बोईका छोरा बुहारीको थियो अनि कभर फोटो चाहिँ ती बोईको, जो आजभोलि वृद्धाश्रम बस्छिन्।
आमालाई कभर फोटोमा सजाएका ती दाइले फेसबुकमा आमाबारे निकै ज्ञान समेत बाँडेका रहेछन्।
स्क्रोल गर्दै जाँदा पोहोर सालको आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा दाइले पोष्ट्याएको आमाको फोटो हेर्न पाएँ।
आहा ! कति मीठो लेखाइ ।
यदि म त्यो दाइलाई चिन्दिनथेँ, या बोईको बारेमा थाहा पाउँदिनथेँ भने म त्यो दाइको ठूलो फ्यान भैसक्थेँ यतिबेला।
तर मलाई थाहा थियो, वास्तविकता अघि भर्खर देखेर अनि सुनेर आएको छु।
फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्ने जाँगरै चलेन। डिलिट ठोकिदिएँ।
केही समयपछि उस्तै गरेर फेरि आमाको मुख हेर्ने दिन आयो।
मैले उनै दाइको फेसबुक प्रोफाइल सर्च गरेर हेरेँ, उनले एकाबिहानै मीठो क्याप्सन लेखेर आमाको फोटो पोष्ट्याएका रहेछन्।
मलाई झोक चल्यो, तलबाट कमेन्ट ठोकिदिएँ ‘आमालाई स्वाङ नपारौं, माया गरौं। फेसबुकमा लेखेको आमाले पढ्नुहुन्न। बरू आमाको मन पढौं।’
त्यतिले मात्र मन भरिएन, एउटा स्टाटस नै पोष्ट्याइदिए। उनीजस्ता स्वाङ पार्नेहरूको विरोधमा।
हो! आफ्नै बाध्यताले बाआमासँग वर्षौं भेट्न नपाउनेहरूले पोष्ट्याउँदा मलाई रिस उठ्दैन। साँच्चिकै माया गर्नेहरूले पोष्ट्याउँदा पनि मलाई रिस उठदैन तर दुनियाँको अघि स्वाङ पार्नेहरूको त्यस्ता पोष्ट देख्दा मलाई औडाह नै छुट्छ।
आमाको मुख हेर्नु भनेको फेसबुकमा फोटो पोष्ट गरेर स्वाङ पार्नु हैन भन्छु म। फेरि यो मुख हेर्ने दिनमात्र माया देखाउने अनि अरू दिन बेवास्ता गर्ने पनि हैन।
म परदेशमा छु। आमाभन्दा हजारौं किलोमिटर टाढा तर आमाको फोटो फेसबुकमा पोष्टेर स्वाङ पार्दिनँ।
फोटो पोष्टिन या आमाको बारेमा केही लेख्न मन लाग्यो भने आमाको मुख हेर्ने दिन कुरेर पनि बस्दिनँ। बरू फुर्सदमा दिनहुँ फोन गर्छु । भिडिओ कल गरेर जिस्काउँछु ।
मेरी आमा अझै उस्तै छिन् मेरा लागि। बरू म उनको लागि बूढो भैसकेँ।
‘बाउ बनिसकिस्, अझै केटाकेटी पारा गाको छैन तेरो।’ आमाले जहिल्यै गाली गर्दा भन्ने शब्द यस्तै हुन्छन् तर मेरा लागि मेरी आमा उस्तै छिन्, जस्तो मैले थाहा पाउँदा थिइन्।
उस्तै हिम्मती, उस्तै राम्री , उस्तै बलवान्।
मलाई फेसबुकमा फोटा पोष्टेर आमालाई स्वाङ पार्नु छैन। मेरी आमालाई पनि त्यो स्वाङ नै हो जस्तो लाग्छ।
आमाप्रति माया देखाउने सबैलाई आमाले पनि स्वाङ भन्नुहुन्न, तर आमाप्रति मनमा कालो भएकाहरूले फेसबुकमा आमाप्रति निकै स्वाङ देखाउँछन् भनेर आमा आफैंले स्वीकार्नु हुन्छ।
यति लेख्दै गर्दा आमाप्रति निकै माया भएकाहरूको मन दुख्न सक्ला। तर मैले लेख्न खोजेको कुरा एकदिन फेसबुकमा माया देखाएर आमाप्रतिको कर्तव्य पूरा हुँदैन भन्ने हो।
मैले उदाहरण दिएका दाइ जस्ताको विरोध हो मेरो यो लेख। फेसबुकमा आमाप्रति अथाह माया देखाउने तर वास्तविकतामा आमालाई हेप्नेहरूका निम्ति झटारो हो यो लेख।
तर आमालाई मनैदेखि माया गर्नेहरूका निम्ति त उच्च सम्मान छँदैछ ।
बिहे गरेका सन्तानबाट आमाहरूले मागेर हक जमाउन सक्दैनन्। उनीहरूको भावना बुझ्ने हो। उनीहरूको मन पढ्ने हो।
ती बोई मज्जाले नातिहरूसँग रमाउँदै काठमाडौं बस्न नसक्नु भनेको दाइले आमाको मन नबुझ्नु हो, भावना नबुझ्नु हो।
आमाको मन नबुझ्ने तर गजबको मन छुने क्याप्सन लेखेर फोटो पोष्ट्याउँदै आमाको मुख हेर्ने दिन मनाउनुको अर्थ रहँदैन।
त्यस्ता सन्तान तपाईं हाम्रा छिमेकमा प्रसस्तै छन्, तिनिहरूको विरोधमा हो मेरो यो आजको लेख। बाँकीले आमालाई माया गर्नुस्, फोटो पोष्ट्याउनुस्।