ठ्याक्कै कति सालको कुरा हो थाहा भएन, धादिङको एउटा दुर्गम गाउँबाट बसाइ सरेर पोखरा आएक हुन् अरे। पोखरा आएपछि परिवारको पहिलो सन्तानको रूपमा जन्मिएका थिए, राजुजंग कार्की।
सामान्य परिवारमा जन्मिएर हुर्किएका उनी बाबाले छोरोको उज्ज्वल भविष्यको लागि केही नगरेका भने पक्कै होइन। पढाइमा पनि अब्बल नै थिए, सानैबाट पढाइमा भन्दा धेरै फूटबल खेलको पारखी थिएँ अरे।
परिवारमा उनीपछि एउटा भाइ पनि जन्मिए। आमा अलि बिरामी-बिरामी नै रहन्थिन्। अब दुई छोरा पढाउन र हुर्काउने जिम्मेवारी बाबाको काँधमा थियो। घर खर्च, घर भाडा, पढाइ खर्च आमाको दबाई बाबालाई साह्रै नै गाह्रो थियो।
बाबाले ज्याला मजदुरी गरेर भए पनि दुई छोरालाई कहिले दुःख दिएनन्। मिठो मसिनो खाना र राम्रो लाउन भने अलि मुस्किल नै थियो।
दसैँ आउथ्यो, सबैको घरमा खसी, बोका, च्याङ्ग्रा ल्याउँदा राजुलाई पनि आफ्नो घरमा ल्याएर सिङ्गै खसि काटेर आफन्तीमा बाँड्न मन लाग्थ्यो। तर बाबाले जहिले घरको लागि मात्र अलिकति लिएर आउनु हुन्थ्यो।
विस्तारै परिवारमा खर्च बढ्न थाल्यो। बाबाको कमाइले भ्याउन मुस्किल हुँदै गयो। उनले सोचे 'अब बाबालाई साथ दिनुपर्छ, बाबाको काँधमा काँध मिलाउनु पर्छ। आखिर घरको जेठो छोरो म नै त हुँ, मपछि भाइ पनि त छ।'
यति सोचेर आफ्नो पढाइलाई बीचमै रोकी परदेश जाने निधो गरे। विदेश जाने, मनग्यै पैसा कमाउने, बाबाआमालाई सुखले पाल्ने, भाइलाई पढाउने, पोखरामै आफ्नै सानो घर बनाएर स-परिवारलाई खुसी राख्ने सपना बुनेर एकदिन कतार उडे। तर उनले सोचेजस्तो सजिलो थिएन खाडीमा पैसा कमाउन।
घरमा आफैले खाएको भाडा नमाझेका उनी कतार आएपछि बाह्र घण्टा होटेलमा भाडा माझ्नु पर्थ्यो। कमाइ पनि भने जति थिएन। जे-जति थियो उनको अवस्थाको लागि उचित थिएन। उनले अब खाडीमा पैसा कमाउन भाडा माझ्ने होइन केही इलम सिक्नु पर्दो रहेछ भन्ने कुरा बुझ्दै थिए।
विस्तारै काम सिक्दै गए। अब त तीन वर्ष बितिसकेको थियो। उनेले कम्पनीमा आफ्नो कामअनुसार मासिक तलब बढाउने कुरा राखे। कम्पनीले उनले मागे जति दिन नसक्ने र कम्पनीदेखि बाहिरा काम गर्न पनि नमिल्ने, सिधा नेपाल फर्काउने धम्की दियो।
उनी एकदमै मेहनती र लगनशील थिए कामको मामलामा। यति कुरा सुनेपछि पनि उनले बाहिरा काम खोज्दै गरे। बाहिर काम भेटियो तर नेपालबाट आउन नमिल्ने भएपछि उनी एग्जिटमा ओमान जाने, ४/५ दिनमा कतार फर्किने र नयाँ कम्पनी जोइन हुने निर्णय गरेर कतारबाट ओमनतर्फ लागे। त्यो नयाँ ठाउँ न कोही आफ्ना आफन्त, कहिले कता, कहिले मस्जिदमा बसेर ओमानबाट एक हप्तामा बल्लतल्ल मिलाएर दोहा आए।
अब नयाँ कम्पनी जोइन त गरे तर सोचेजस्तो सहज भएन। काम गर्दै गए, तलब समयमा दिन छोड्यो। घरमा साह्रै नै समस्या थियो। यता कम्पनीले काम गरेको तलब पनि दिएको थिएन। केही सोच्नै सकेका थिएनन्।
विस्तारै शत्रु हाँस्दै थिए, आफन्ती पराई हुँदै थिए। साथीभाइले पनि फोन उठाउन छाडिसकेका थिए। छिमेकमा पनि उनका बाबालाई छोराले केही गर्न सक्दैन भनेर सुनाउने गर्थे।
अब राजुसँग न काम थियो न त पैसा नै। समय पनि उराठ लाग्दो हुँदै थियो, भनौँ समय पनि उसको पक्षमा थिएन। तर पनि उसको यो सपना आँखाअगाडि घुमिरहन्थ्यो, बा-आमाको दाँतले चपाउन सक्दै कमाउनु थियो, मिठो मसिनो रुच्दारुच्दै खुवाउनु थियो।
थाहा थियो उसलाई अशक्त हुनु थला पर्नु हो, ओछ्यानले जकेड्नु हो। त्यो समयमा खानाका परिकारका साथमा के खान मन छ भनेर बा-आमालाई सोधी-सोधी खुवाउनकै निम्ति कमाउनु थियो उनलाई। जति पैसा कमाउनु छ उमेर छँदै कमाउनु थियो।
बाबा-आमालाई सबै सुख उपभोग गराउन सकूँ, बुबाआमाले गरेको दुःखको बदलामा सुख दिनु थियो। आफ्नो बुवाआमाको सम्मान तथा खुसीका लागि नै देखेको सपना थियो। अवश्य पूरा गर्छु भन्दै भगवानसँग जोड-जोडले चिच्याएर सुनाउने गर्थ्यो।
एकदिन राजुले मैले काम गरेको पाउनु पर्ने हिसाब मिलाइयोस् भन्दै कम्पनीलाई पुलिसमा उजुरी गरे। धेरै दुःखपछि केही रकम पाए पनि कतिले भने दिएनन् ।
अब बाबाको उमेर ढल्दो थियो। भाइ पनि ठूलो हुँदै थियो। घर खर्च बढ्दो थियो। ऊ हजार सपना बोकेर खाडी आएको मान्छे काकाकुलजस्तै भोकभोकै, प्यासी भई हिँडिरहेका थिए। कतैबाट केही सोच्नै सकेका थिएनन् उनले तर पनि हिम्मत हारेका थिएनन्।
कति रात खाडीको गल्लीहरूमा भोकभोकै सुतेका थिए, कति दिन दोहाका होटलहरूमा बेखर्ची हिँडेरै काम माग्न ढोका ढकढक्याउन पुग्थे।
अब विस्तारै सोच्न थालिसकेका थिए, सपना कहिल्यै पूरा हुँदैन रहेछ, अब नेपाल फर्केर बाबाको काम घर रंग्याउन काममा सहयोग गर्छु, अरू अन्य काम गर्नुपर्ला। तर एक्कासी एउटा पत्रिकामा भ्याकेन्सी देख्न पुगे। त्यसपछि ई-मेलमार्फत डकुमेन्ट हालिदिए।
साँच्चीकै एम हप्तामा अन्तर्वार्तामा बोलाइयो। उनी गए। साहु र सेफलाई फूड टेस्टिङ गराए। उनीहरूलाई बेहत मन पर्यो उनको खाना। उनलाई हेड सेफमा अफर आयो। उनी खुसीले केहीबेर होस सम्हाल्न सकेनन्।
खाडीमा १२ घण्टा भाडा माझेका उनी, हेड सेफ हुने भए। केही दिनमै सबै कागजातको काम पूरा गरी उनी त्यो होटलमा हेड सेफमा पुगे। अब विस्तारै उनको समय चक्र फिर्दै थियो।
आफ्ना त छोडौँ, पराई पनि आफ्ना हुँदै थिए। साथीभाइले फोन गरेर सन्चो बिसन्चो सोध्न थाले। उनले त्यहाँ पुगेको केही समयमै अर्को पनि एउटा होटल खोल्न सफल भए। उनको होटलले राम्रै बिजनेस गर्न थाल्यो।
अहिले दसैँमा बाबाले खसी डोर्याएर आउनु हुन्छ। घरमा सिङ्गै खसी ढालेर आफन्तीमा मासु बाँड्नु हुन्छ। भाइ राम्रो पढेर युरोप जाने प्लानमा छ। परिवार सबै खुसी छन्। अब पोखरामा आफ्नै घर बनाउने सपना पूरा हुँदैछ।
बाबाको जन्मदिन पारेर नयाँ घरको जग बसाल्ने सुरू गर्ने तयारीमा छन् उनी। अहिले उनी खाडीमा बसेर पनि काम नपाएका, दुःख पाएका नेपाली अथवा अन्य दुखी मान्छेलाई काम लगाइदिने, सकेको सहयोग गर्ने गर्छन्।
आफूले पाएको दुःख अरूले नपाउन् भन्ने उनको यो विचार र उनको यो कडा मेहनत तथा हिम्मतबाट पक्कै हामी सबैले केही सिक्नुपर्छ।