मेरो एकजना साथीले सामाजिक शिक्षा (सोसियल स्टडिज) पढाउने क्रममा, सामाजिक शिक्षाको किताब नेपाली भाषामा भएर आफूले राम्रोसँग पढाउन नसकेको कुरा व्यक्त गरिन्।
उनले भनिन्, 'कस्तो गाह्रो यार! पूरा नेपालीमा छ, केही बुझ्दिनँ बुकमा के भनेको-भनेको, झन् स्टुडेन्टले त के बुझ्नु, सबको मार्क्स कम आएको छ।'
म उनको कुरा सुन्दा एकछिन मौन रहेँ। तर निकै बेरको मौनतापछि मेरो दिमागमा धेरै प्रश्नहरू जन्मिए- के नेपालीले नेपाली भाषा नै नबुझ्ने हो त? के जन्मेदेखि त्यही भाषामा हुर्किएर ठूलो भएपछि त्यही भाषा बुझ्नमा गाह्रो हुन्छ त? के हामी आफ्नो भाषामा भन्दा अरुको भाषामा दक्ष छौँ त? आखिर कहाँनेर छ त समस्या? यो हाम्रो आडम्बर सोच हो कि वास्तविक समस्या हो? मलाई यो एउटा जल्दोबल्दो सम्स्या लाग्यो र केही कुरा उठाउने जमर्को गरेको छु।
मेरो साथीले नेपाली माध्यममा पढाउन गाह्रो पर्यो भनेर व्यक्त गरेका धारणाले र गलत बुझाइले मलाई एकछिन गम्भीर बनायो। मैले यस्ता प्रशस्त प्रसंगहरू सम्झिएँ- अधिकांश व्यक्तिहरूले नेपाली आउँदैन बुझ्दिनँ, झन् नेपालीमा भएर विद्यार्थीले केही, नबुझेको, नसिकेको भनेर व्यक्त गरेका धारणाहरू।
अनि कतिपय स्कुल, कलेजले 'सोसियल स्टडिज' नेपाली माध्यममा सरकारी निकायले जबर्जस्त पढाउनुपर्ने बनाइदिँदा शिक्षक विद्यार्थीलाई पढाउन, बुझाउन र बुझ्न गाह्रो भयो भनेर अंग्रेजी माध्यममा पढाएको कुरा पनि सुन्नमा आएको छ।
मैले यो विषयमा के रहेछ त भनेर अनुसन्धान गर्दा निकै ठाउँमा खोक्रो आडम्बर पत्ता लगाएँ र धेरैजसो अवस्थामा यसलाई निकै ठूलो इस्यू बनाएर सिकाइलाई प्रभावित बनाएर यता न उताको बनाइएको भेटियो।
आखिर सिकाइ भनेको एउटा भाषा मात्र हो त? के भाषालाई बार बनाएर सिकाइ प्रभावकारी बन्छ र? आखिर कहाँ चुकिरहेका छौँ त हामी? कहिलेसम्म बाच्ने हामी यस्तो खोक्रो आडम्बरमा?
मेरो केही महिनाअगाडि एकजना निजी स्कुलमा पढाउने शिक्षकसँग भेट भयो। भेटघाटको क्रममा स्कुलमा पढाउने विषयहरूमा हाम्रो वार्तालापसँगै छलफल भयो। उहाँको भोगाइअनुसार आजकाल स्कुलमा वास्तविक सिकाइभन्दा अंग्रेजी भाषालाई बढावा दिएको पाइन्छ।
विद्यार्थीले सिक्नुपर्ने कुरा कसरी सिक्छ, आफूसँग भएको श्रोत साधनहरूको कसरी अधिकतम प्रयोग गर्ने? भन्ने कुरामा पटक्कै ध्यान दिएको पाइँदैन। कतिपय शब्दहरू, च्यापटरले भन्न खोजेको कुराहरू विद्यार्थीले बुझ्दैनन् र बुझाउनको लागि नेपाली भाषामा बोल्यो भने र विद्यार्थीलाई बुझायो भने निकै गाली खाइन्छ स्कुलमा।
झन् अहिले त सोसियल विषय नेपालीमा छ तर विद्यार्थीलाई पूरा अंग्रेजीमा ट्रास्लेट गरेर पढाउनु पर्छ। कतिपय शिक्षकहरू त भन्छन्- 'कस्तो गरेको होला नेपाल सरकारले? किन नेपाली माध्यममा निकाल्नु पर्यो सोसियलको बुक, केही त बुझ्दैनन विद्यार्थीहरू, बेकार छ नेपाल सरकार!'
म उहाँको कुरा सुनेर एकछिन सोचमग्न भएँ। कुरा सुन्दा कुनै व्यक्तिको सामान्य गफ जस्तो लाग्ने तर गहिरिएर सोच्दा गम्भीर विषय लाग्यो मलाई। यो एउटा कुनै व्यक्तिको व्यक्तिगत भोगाइ मात्र नभएर नेपालका अधिकांश निजी विद्यालयमा विकराल बन्दै गएको एउटा साझा समस्या हो।
आफ्नो देशको पहिचानमाथि यति ठूलो लजास्पद अभिव्यक्ति? के नेपाली भएर नेपाली बुझ्दिनँ, नेपाली आउँदैन, नेपाली भाषामा भएर सिकाइ प्रभावकारी भएन भन्न सुहाउँछ त? विषयवस्तुमा दखल र खोज गरेर पूर्णरुपले तयार भएको शिक्षकले आफ्नो भाषामा भएका कन्टेन्ट झन् प्रभावकारी ढंगले अध्यापन गराउँछ।
पढाउने व्यक्तिको नै त्यस्तो सोच भएपछि कसरी हुन्छ अध्यापन राम्रो? अंग्रेजी भाषाको नाममा आफ्नै भाषामाथि त्यती ठूलो अपमान?
मैले चिनेको एकजा दिदी काठमाडौँको निजी विद्यालयमा अध्यापन गर्नुहुन्छ। उहाँले शिक्षण पेसामा निकै समय व्यतित गरिसक्नु भएको छ। यस्तै प्रसंगमा उहाँसँग कुरा चल्यो। मैले सोधेँ, 'पढाउन कति गाह्रो छ?'
उहाँले प्रतिउत्तरमा भन्नुभयो, 'पढाउन त रमाइलो नै लाग्छ तर अहिले नेपाल सरकारले १-३ सम्म सोसियल र साइन्स कम्बाइन गरी 'मेरो सेरोफेरो' बनाइदिएर पूरा नेपाली माध्यममा छ, निकै गाह्रो भैसक्यो। के गरेको होला बेकारमा, अहिलेको समयमा नि नेपालीमा पढ्छन्, पढाउँछन्?'
यो कुराले मलाई निकै क्रोधित बनायो। यस्तो पनि कुनै नेपाली नागरिक हुन्छ जसले आफ्नै भाषालाई होच्याएर बोल्छ? अनि म पनि के कम, उहाँलाई सभ्य भाषा प्रयोग गरेर नम्र शैलीमा झाको झारेँ।
'नेपाली नागरिक त्यो पनि एउटा शिक्षक जसले समाज परिवर्तन र देश विकासमा महत्वपूर्ण भूमिका निभाउँछ, यस्तो शब्द प्रयोग नगर्नुस्। होला हाम्रो देशमा शिक्षकलाई दिनुपर्ने सम्मान र मान्यता दिएको छैन। के साँच्चै हजुरले मेरो सेरोफेरो किताबमा समावेश गरिएका तथ्य, घटना र विषयहरू नबुझ्नु नै भको हो त? अनि हजुरले आफूले नबुझेका शब्दहरू कहीँकतै खोज्ने, अध्ययन गर्ने र विद्यार्थीलाई उनीहरूले बुझ्नेगरी पढाउने प्रयास गर्नु भयो त? किन सरकारले मेरो सेरोफेरो भनेर नेपाली माध्यममा राख्यो त भनेर अनुसन्धान गरेर कारण पत्ता लगाउनु भयो त?'
मैले यतिका प्रश्नहरू तेर्स्याउँदा उनीबाट मैले कुनै चित्तबुझ्दो जवाफ पाइनँ। म छर्लंग भए उनी पनि अधिकांश व्यक्तिले देखाउने खोक्रो आडम्बरलाई पछ्याउँदै छिन्। यो समस्या उनको नभएर उनीभित्र रहेको आडम्बरी सोचसँग रहेको थियो।
म एउटा स्कुलमा विशेष कामले गएको थियो। मेरो त्यहाँ स्कुलमा कार्यरत कुनै व्यक्तिलाई भेट्नु थियो। उहाँ केही समय व्यस्त भएकाले म युक्त स्कुलमा रिसेप्सनमा बसिरहे र म त्यहाँ बसिरहदा त्यहाको रिसेप्सनिस्टलाई सोधेँ, 'अहिले सोसियल विषय नेपाली माध्यममा छ है?'
उहाँको उत्तर आयो कि 'छैन नि, पोहोरै हटाएको हामीले। अंग्रेजीमा पढाउने शिक्षकलाई कसरी नेपालीमा पढाउन आउँछ? अनि पेरेन्ट्सले विरोध गरे, विद्यार्थीले केही बुझेनन् भनेर अनि हटाको नि। अहिलेको टाइममा नि प्राइभेट स्कुलले नेपाली माध्यममा पढाएर हुन्छ त? क्वालिटी खस्किहाल्छ नि?'
मैले उहाँको कुरा सुनेर टाउको हल्लाउनु बाहेक कुनै प्रतिकृया देखाइनँ किनकि उहाँमा पनि त्यही गलत धारणा थियो। मैले दोहोरो प्रतिप्रश्न गरेर, वादविवाद गरेर हुनेवाला केही थिएन। यो उदाहरणबाट नि प्रस्ट हुन्छ कि हाम्रो सिकाइप्रति कति गलत बुझाइ रहेको छ।
मैले सामाजिक विषयको परीक्षामा निरीक्षण गर्दा विद्यार्थीहरूको दयनीय अवस्था पाएँ। यतिसम्म कि विद्यार्थीहरूले सामान्यभन्दा सामान्य शब्दहरू नबुझेको। निम्न स्थानहरू, पछिल्लो समय, घटनाक्रमजस्ता शब्दहरूमा विद्यार्थीहरू अलमलिरहेको।
यतिसम्मको लज्जास्पद अवस्था देखेँ कि नेपालको राष्ट्रगान शुद्धसँग विद्यार्थीहरूले लेख्न नसकेको। यस्तो अवस्था देखेर मलाई निकै नरमाइलो लाग्यो। परीक्षा सकिएपछि मैले आफूले देखेका अवस्थाहरू त्यहाँ कार्यरत शिक्षकहरूसँग राखेँ। कतिपय शिक्षकको जवाफ थियो कि विद्यार्थीले कहाँ बुझ्छन् र नेपाली माध्यममा? जमना कहाँबाट कहाँ पुगिसक्यो, हाम्रो देश भने सधैँ पछाडि छ। किन नेपाली माध्यममा राखेको त?
यस्तो प्रतिकृया आएपछि म चुप बसेँ किनकि यहाँ बोल्नु र थप बहस गर्नुको कुनै औचित्य छैन। तर मैले नबुझेको कुरा आफ्नो देशको राष्ट्रिय गान लेख्न नसक्नुलाई किन गर्वको रुपमा लिन्छन् त?
मैले धेरै अभिभावक भेटेको छु जसले 'सोसियल स्टडिज नेपाली माध्यममा भयो, मेरो बच्चाले केही बुझेन, लाजैमर्दो भयो, हामीलाई त आउँदैन कसरी बुझाउनु भन्ने गरेको। फलना स्कुलमा अंग्रेजीमा छ यहाँ किन नेपालीमा? यो त अति नै भएन र भनेको' मैले सुनिरहेको छु।
तर विडम्बना, स्कुलमा आएर कम्प्लेन गर्ने कुनै अभिभावकले सोसियल स्टडिज नेपाली माध्यममा राख्नुको कारण भने बुझेको पाइनँ। किन राख्यो त सरकारले नेपाली माध्यममा? सोसियल स्टडिज भनेको कस्तो विषय हो? त्यस विषयलाई कसरी बुझ्न सकिन्छ? सोसियल विषयमा कस्ता प्रकारका कन्टेन्टहरू अध्ययन गरिनुपर्छ? सोसियल स्टडिज नेपालीमा अध्ययन गर्दाका के-के फाइदाहरू छन् त? जस्ता विषयमा उनीहरू अनविज्ञ देखिन्छन।
मात्र भन्छन् कि अंग्रेजी माध्यममा पढाउनु पर्छ बच्चाले केही बुझेन, मार्क्स नै आएन। यो देखेर मलाई आफ्नो देशको अवस्थाप्रति दया लागेर आउँछ। कुनै पनि विषयमा खोज अनुसन्धान नगरी, त्यसको आशय नबुझी कति ठूलो भ्रममा बाँचिरहेका छन् नागरिकहरू। आफ्नै भाषा बुझ्दैनन् नागरिकहरू।
जबसम्म कुनै पनि नागरिकले आफ्नो भाषा, संस्कृति र सभ्यतालाई सम्मान गर्दैन, बुझ्दैन अनि कसरी हुन्छ देशको विकास? देश विकास हुनु भनेको भौतिक सम्पत्तिले मात्र नभएर सोचले हुने हो।
केही महिना अगाडि म कोरोनाको खोप कार्यक्रममा सहभागी भएको थिएँ र त्यहाँ उपस्थित प्लस-टुका भाइबहिनीहरूलाई आफू बसेको नगरपालिका र वडाको बारेमा सोध्दा थाहा छैन भन्ने जवाफ सुन्दा म अचम्मित भएँ। सुन्दा नगरपालिका थाहा नहुँदैमा के हुन्छ र भन्ने सुन्दिन्छ तर यो गम्भीर समस्या हो।
यो कुनै विद्यार्थी विशेषको समस्या नभएर हाम्रो हुर्काइ र संस्कारको समस्या देखिन्छ। किनकि अहिले बच्चालाई यसरी हुर्काइन्छ नेपाली भाषा र नेपालको बारेमा जान्नु जरुरत छैन। यस्तो प्रवृत्ति बढ्दै जाँदा भोलिका पुस्ताले नेपालको बारेमा धारणा नै बेग्लै बनाउँछन् र नेपालीपन लोप भएर जाँदैन भन्न सकिन्न।
केही महिना अगाडि मलाई एकजना सरकारी स्कुलको प्रधानाध्यापकले फोन गर्नुभएको थियो। फोनमा उहाँले मलाई भन्नुभयो 'तिमी आएर पढाउछौ?'
सुरुमा उहाँको कुरा सुन्दा खुसी लाग्यो। उहाँले मलाई विश्वास गरेर पढाउनको लागि बोलाउनु भयो। तर जब मैले उहाँको मलाई बोलाउनको आशय बुझेँ तब म निकै निराश भएँ। उहाँको भनाइ थियो 'अब हाम्रो स्कुललाई बोर्डिङ स्कुल बनाउने अंग्रेजी माध्यममा लगेर, अब अंग्रेजीमा लगियो भने स्कुलको गुणस्तरीयता बढछ।'
सामान्य तबरले बुझ्दा उहाँको भनाइ ठिकै जस्तो लाग्छ तर उहाँको भाषा र सिकाइ प्रतिको गलत बुझाइ देख्दा मलाई दु:ख लाग्यो। अंग्रेजी एउटा भाषा हो भने टिचिङ निकै चुनौतिपूर्ण र गहन विषय हो। अहिलेको ग्लोबलाइजेसनको जमानामा अंग्रेजी भाषाको महत्वलाई नकार्न सकिँदैन। तर अंग्रेजी माध्यममा पढाउँदैमा क्वालिटी एडुकेसन भन्नु चाहिँ पक्कै पनि हाम्रो गलत बुझाइ हो।
अर्को कुरा, सरकारी स्कुलको कुरा गर्नु पर्दा सरकारी स्कुलमा पढाउने अधिकांश शिक्षकहरू शिक्षा सम्बन्धित सब कुरा बुझेर, पढेर परीक्षा पास गरेर गएका हुन्छन्। कसरी पढाउने, कुन-कुन विधिहरू प्रयोग गर्ने, कसरी विद्यार्थीको मनोविज्ञान बुझ्ने, प्रश्नपत्र कसरी बनाउने, विद्यार्थीको मूल्याङ्कन कसरी गर्ने भनेर सब कुराहरू बुझेको हुन्छन्।
अर्को शब्दमा भन्नुपर्दा, टिचिङसँग सम्बन्धित र आवश्यक सब कुरा बुझेको हुन्छन्। राम्रोसँग नपढाउनु, काम नगर्नु र अंग्रेजी माध्यम नभएर क्वालिटी भएन भन्नु निकै ठूलो समस्या हो। अंग्रेजी भाषाको महत्वलाई बुझाउँदै विद्यार्थीलाई अहिलेको समयअनुसार टिक्न सक्ने बनाउन किन सकिरहेको छैनन् त पब्लिक स्कुलहरू?
सामाजिक विषय नेपाली भाषामा पढाउनु पर्छ भनेर सरकारले आह्वान गर्नु र किताबहरू नेपाली भाषामा प्रकाशित गरिनुको कारण के हो भनेर कुनै पनि शिक्षकले खोज गरेको पाइँदैन। मैले यस्तोसम्म मान्छे भेटेको छु कि नेपाली माध्यममा भएर 'सोसियल स्टडिज' विषय पढाउदिनँ भन्ने व्यक्तिहरू।
एक नेपाली नागरिक भएर आफूलाई नेपाली भाषा बुझाइ र बोलाइमा समस्या छ भन्नु आफ्नो अस्तित्व र आफ्नो पहिचानमाथि तिरस्कार गर्नु होइन र? होला कोही कसैलाई कता-कता समस्या होला, सबै कुराहरू आफ्नै भाषामा बुझ्न सकिँदैन तर खोज अनुसन्धान गरेर, अध्ययन गरेर बुझ्न सकिँदैन त? के अंग्रेजी भाषा बुझ्छु भन्नु नै ठूलो हो त?
मलाई दु:ख लागेको कुरा किन शिक्षक, अभिभावक र स्कुल प्रशासनले सोसियल स्टडिजमा नेपाली माध्यममा राखियो भन्ने कुराको अनुसन्धान र अध्ययन नगरेको? सामाजिक शिक्षा एउटा वृहत विषय हो। यसमा आफू बसेको भौगोलिक क्षेत्र, आफ्नो परिवेश, परिवार, समाज, राज्यको अध्ययन हुन्छ।
हरेक विद्यार्थीले काक्षाकोठामा आफ्नो देशको धर्म, संस्कार, समाज संस्कृति, भूगोल आदिका बारेमा सैद्धान्तिक र विवरणात्मक कुराहरू सिक्छन् र व्यवहारिक सिकाइ भने परिवार, समाज र राज्यसँगको अन्तक्रियाबाट प्राप्त गर्छन्।
यदि स्कुलमा अंग्रेजी माध्यममा पढाएर, घोकाएर अध्ययनपन गरियो भने आफूले सिकेका कुराहरू विद्यार्थीले समाजसँग जोडेर अध्ययन गर्न सक्दैनन् र सिकाइ प्रभावकारी पनि हुँदैन।
भनिन्छ राष्ट्र, राष्ट्रियता, भाषा संस्कृति हरेक देशको आफ्नो सम्पत्ति र सम्पन्नता हो। हरेक देशको आफ्नै किसिमको पहिचान र फरकपन हुन्छ। त्यो नै ठूलो चिनारी हो। संसार भरिका देशको आफ्नै खाले भाषा हुन्छ। इन्टरनेटको विकास अनि विज्ञान र प्रविधिको विकासले संसारले कोल्टो फेरेको कुरालाई हामी नकार्न सक्दैनौँ।
विश्वव्यापीकरणले गर्दा हामीले निकै कुराहरू सिक्न पाएका छौँ संसार भरका। सिङ्गो विश्व आज एउटा साँघुरो गाउँ भएको छ। तर दु:खको कुरा नेपालजस्तो विकासोन्मुख देशमा आफ्नोपन हराउँदै गएको छ।
अन्य देशको भाषामा नेपाली समाजको वास्तविक वस्तुस्थिति र यहाँका सम्भावनाहरूको सही पहिचान गराउन नसकिने हुँदा उनीहरूमा आफ्नो देशमा केही राम्रो सम्भावना नभएको जस्ता निरशाजनक भावनाहरू उत्पन्न हुन्छ र देश छोडी भाग्ने र विदेश पलायन हुने मानसिकता प्रभावशाली बन्छ।
यो मानसिकतलाई चिर्न सानै उमेरदेखि बालबलिकामा हाम्रो समाजका सम्भावनाहरूका बारेमा उत्सुकता जगाउन सक्नुपर्छ जुन कुरा सामाजिक शिक्षा नेपालीमा पढाउँदा मात्र सम्भव छ।
दोश्रो महत्वपूर्ण कुरा, सामाजिक विषयमा नेपालको राजनीतिक प्रणाली, इतिहास, भूगोल, प्रशासन, कानुन आदिका बारेमा पनि पढाइन्छ। विद्यार्थीले यी विषयका शब्दावली अंग्रेजीमा मात्र सिक्छन्। व्यवहारमा र सञ्चार माध्यममा आउने नेपाली शब्दावली उनीहरूले बिल्कुलै जानेका हुँदैनन्।
यसरी अंग्रेजीमा पढाइने सामाजिक शिक्षाले हाम्रा बालबालिकालाई देशको राजनीति, प्रशासन र कानुनको ज्ञानबाट विमुख बनाइदिन्छ। उनीहरू सरकारी कार्यालयमा आवश्यक पर्ने एउटा अति सामान्य फारम भर्न नसकेको र सरकारी सूचना पढ्न नसकेको अवस्था मैले निकै देखेको छु। यो निकै लजास्पद विषय होइन र?
अनि जानी नजानी कनीकुथी लटरपटर अंग्रेजीमा पढाउँदैमा विद्यार्थीको सिकाइ राम्रो हुन्छ भन्ने ठूलो गलत अवधारणा हो। यदि शिक्षकलाई विषयवस्तुमा राम्रो ज्ञान छ, पढाउने तरिका राम्रो छ, विद्यार्थीलाई कसरी बुझाउँदा बुझ्छन् भनेर खोज अनुसन्धान गरी पढाउँछ भने अवश्य पनि सिकाइ निकै प्रभावकारी हुन्छ र विद्यार्थीले बुझ्नु पर्ने कुराहरू राम्रोसँग बुझ्छन्।
तर कुनै तयारी र उपयुक्त टिचिङ मेथड थाहा छैन भने अंग्रेजी भनेर बस्छ विद्यार्थी, यता न उताको हुन्छ। अनि अहिलेका पुस्ताले अंग्रेजी सिक्ने भनेको स्कुल र शिक्षकबाट भन्दा युट्युब र सोअध्यानबाट हो।
सामाजिक शिक्षा नेपालीमा पढाएर विद्यार्थीको अंग्रेजी बिग्रिएको, खस्किएको भन्ने हाम्रो ठूलो गलत बुझाइ हो। १-२ विषय अंग्रेजीमा नपढाउँदैमा विद्यार्थीको अंग्रेजीको स्तर खस्कियो भन्दै नाराबाजी गर्नु पक्कै पनि ठूलो अज्ञानता हो।
अध्ययनले यो भन्छ कि आफ्नो मातृभाषामा जति राम्रो पकड भयो उति नै अन्य भाषाहरू सिक्न सहज हुने कुरा प्रमाणित भइसकेको छ विज्ञहरूको अनुसन्धानबाट। जब हामी हाम्रो भाषामा दखल हुन्छौँ अनि अन्य भाषाका शब्दहरू यसलाई यो भनिँदो रहेछ भनेर सजिलै बुझ्न सक्दछौँ।
यतिसम्म देखिएको छ कि कतिपय अहिलेका पुस्ताले नेपाली गीत संगीत नबुझ्ने, नेपाली किताब नपढ्ने, नेपाली पत्रिकाहरू पढेर के भनिएको छ, कहाँ के भैरहेको छ भनेर नबुझ्ने। यदि यस्तो अवस्था बढ्दै गएमा अबको केही बर्षमा हाम्रा भावी पुस्ताले नेपाललाई नै बिर्सन्छ।
त्यही कुरालाई मध्यनजर गर्दै सरकारले यस्तो नियम ल्याएको हो। अंग्रेजी लटरपटर बोल्नु बुझ्नुलाई मात्र हामीले सिकाइ भन्नु हामीभित्र रहेको डरलाग्दो समस्या हो। भाषाले हामीलाई जोड्ने काम काम गर्छ। अहिलेको प्रतिस्पर्धात्मक र ग्लोबलाइजेसनको जमनामा अंग्रेजी भाषाको महत्वलाई नजरअन्दाज गर्न सकिँदैन। अहिलेको सोसियल मिडिया ग्लोबलाइजेसनको युगमा अंग्रेजी सिक्नु र दखल हुनु समयको माग हो।
ग्लोबलाइजेसन र अत्याधिक मात्रामा भएको सोसियल मिडियाको विकासले गर्दा क्रमिक रुपमा नेपाली पहिचानहरू हराउँदै र गुम्दै गएका छन्। आफ्नै बाबुआमाले बोलेका भाषाहरू अहिलेका पुस्ताले नबुझेका अवस्थाहरू नि निकै छन्। मानापाथी, ढक, तराजुजस्ता ठेट भाषाका शब्दावलीहरू अहिलेका पुस्ताले बुझ्दैनन्।
नेपालको भूगोल, इतिहास, धर्म, संस्कृति, जात-जाती, राजनीतिजस्ता विषयमा अहिलेका पुस्ताहरू निकै अनविज्ञ देखिन्छन्। उनीहरूले नेपालको बारेमा बुझ्न पाइरहेका छैनन। यस्तै प्रवृत्ति बढ्दै गएमा भोलि गएर नेपालको अस्तित्व गुम्ने कुरामा दुइमत देखिँदैन। देशभक्तिपन पनि क्रमिक रुपमा हराउँदै गएको छ।
यी र यस्तै विविध कारणहरू र आगामी दिनमा आउन सक्ने पारीणामलाई मध्यनजर गर्दै शिक्षाविद तथा नेपालको शैक्षिक प्रणालीबाट यस्तो नियम ल्याइएको हो। नेपालमा विभिन्न पाटोहरू, विषयहरू अंग्रेजीमा पढ्न र पढाउँदा उपयुक्त नहुने र वास्तविक ज्ञान हासिल नगर्ने हुँदा यो नियम आएको हो। ढुक्क हुनुस्, १/२ विषय नेपालीमा पढाउँदैमा एडुकेसनको क्वालिटी खस्किँदैन, बरु बढ्छ।
मैले उठाउन खोजेको विषय अंग्रेजी भाषाको विरोध होइन, सबले सबै विषयहरू नेपाली माध्यममा पढाउनै पर्छ पनि भन्न खोजेको छैन। मेरो लेखको आशय हाम्रो आफ्नै भाषा प्रतिको असम्मान र गलत बुझाइको।
अंग्रेजी एउटा भाषा हो भने सिकाइ अर्कै पाटो हो। हरेक अभिभावक, शिक्षक र विद्यार्थीले यो बुझ्न जरुरी छ कि सरकारी तबरबाट सोसियल स्टडिजबाट 'सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा' भनेर नेपाली माध्यममा ल्याइनु खास उदेश्यका साथ छ।
सबैले यसको खोज, अनुसन्धान र आवश्यक तयारी गरेर सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयलाई प्रभाकारी ढंगले अध्ययन र अध्यापन गराऔँ र आफ्नो भाषाको सम्मान गरौँ। सकिन्छ सम्मान नगर, सकिँदैन अपमान नगरौँ। म भन्छु सोसियल स्टडिजलाई नेपाली खस भाषामा मात्र नभएर अन्य लोकल तथा मात्री भाषामा पनि राखिनु पर्दछ र अध्यापन गराउनु पर्छ।