म मेरो बा-आमाको दोस्रो सन्तान। चार जनाको परिवार, आमा घर चलाउने हेर्ने अनि बुबा हामी सानै हुँदादेखि नै विदेशिनु भएको थियो। दाइ र म दुई वर्षले साना-ठूला। माध्यामिक तहसम्म गाउँमै पढेर उच्च शिक्षाको लागि सहर छिरेँ।
पढ्ने बेला आफूभन्दा ठूलाबडाले भनेको सुन्दा इन्जिनियरिङमा राम्रो स्कोप छ भनेकै हुनाले मैले पनि इलेक्ट्रिकल इन्जिनियरिङ गर्ने निधो गरेँ। त्यसपछि सुरु भयो मेरो इन्जिनियर बन्ने यात्रा।
पढेर के गर्छु, के बन्छु कहिल्यै भनिनँ कसैलाई। सानामा स्कुलका सर/म्यामहरूले 'ठूलो भएपछि के बन्ने?' भन्दा कसैले 'डाक्टर, शिक्षक, सरकारी कर्मचारी बन्ने म्याम, काम धेरै गर्नु पर्दैन' भन्दा कक्षामा हाँसोको माहोल बन्थ्यो। तर म भने कहिल्यै केही बन्छु भन्ने लागेन र कहिल्यै भनिनँ पनि।
मनमा भने सधैँ यो थियो कि, ठूलो भएपछि धेरै पैसा कमाउँछु। पढाइ राम्रै चलिरहेको थियो। साथीभाइ सबै बनाइसकेको थिएँ। क्लासमा खासै ध्यान नदिए पनि कोठामा भने राम्रै पढ्थेँ।
क्लासमा हाँसो मजाकको माहोल चलिरहँदा सरहरूले तिमीहरूलाई क्यानडामा खुब स्कोप मिल्छ यो क्षेत्रमा भन्ने गर्थे। मलाई भने क्यानडामा राम्रो क्षेत्र छ भने यत्रो मेहनत किन? चौथो सेमेस्टरको परीक्षा सकिएपछि क्यानडा जाने इच्छा जाग्यो। मेरो दाइ त्यतिबेलासम्म विदेशिनु भइसको थियो।
कलेज पढ्दा बुबा, दाइलाई ढाँटेर कहिले क्लब, कहिले पार्क, कहिले कहाँ पार्टीमा पुगिन्थ्यो। साथसाथै पढाइलाई भने कहिल्यै गिर्न दिइनँ। सधैँ मध्यम स्तरमै रहिरहेँ। जब बाहिर जाने होडबाजी देख्न थालेँ तब लाग्यो मैले पढेर के चाहिँ गर्छु? आखिर कमाउनै त रैछ।
आफ्नै घरमा महिनाको चार लाख कमाउने दाइ हुँदा मलाई सायद त्यही चिजले पढाइ प्रतिको मेरो उर्जाशक्ति कम हुँदै गएको थियो। आमाबुबा र दाइलाई मनाउन त्यति सजिलो थिएन तर पनि नाई भने भनेनन् घरकाले। अनि सुरु भयो मेरो यात्रा।
कलेज जान छोडिसकेको थिएँ। पढ्न मन पट्टकै थिएन। अब भने बाहिर गएरै केही गर्छु भन्ने आयो। जब कन्सल्टेन्सीमा सबै हिसाब गरेर घर फर्किएँ, एकछिन त लाग्यो म त्यही पुगिसकेँ। तर त्यति आजभोलि जस्तो सजिलो र छिटो थिएन।
करिब डेढ वर्षको समयसम्म नि केही हुने छाँटकाँट नदेखिएपछि क्यानडाको मेरो यात्रा छोडेर जापान जाने र त्यहाँ छिटो पनि हुने भन्ने सुनेकाले त्यतै जाने निर्णय गरेँ। पढ्न सुरु गरिसकेको थिएँ तर बीचमा त्यहाँ कोही चिनेजानेका भए भनि अझै सजिलो हुन्छ भन्ने सुनेको हुनाले आफ्ना भए र चिने जाने जतिका साथीभाइसँग कुराकानी सुरु गरेँ।
कुराकानी गर्दै जाँदा साथीभाइले त्यहाँ गर्नुपर्ने दैनिक काम, कलेज र खर्चहरू सुन्दा मलाई एकाएक सपनाको घर भत्किएर भताभुंग भए जत्तिकै भयो। हुन त गर्नेले गरेकै छन्, कमाएकै छन्, खुसी पनि छन्। बचाएकै छन्, लाइफ स्टाइल पनि राम्रो छ। तर म भने आफ्नाको कुरा र म भित्रको लडाइबीच होमिसकेको थिएँ।
सायद त्यसपछि मेरो व्यक्तिगत धारणा एकाएक परिवर्तन भइदियो। लोक सेवा दिउँ भन्ने नि नआएको हैन तर भित्री मस्तिष्कमा कता-कता पराजयदेखि डर लाग्यो। झल्याँस्स बुबाको याद आयो।
आजसम्म केही नभनी हाम्रै लागि भनेर विदेशिएका मेरा बुबाले म थाकेँसम्म भन्न पाउनु भएको थिएन। रातभर यस्तै कुराहरूले निन्द्रा लागेन। यत्रो पढाए, अझै नि पढ, पढ्नुपर्छ भन्न नछोडेका मेरा बुबा आजसम्म हात समातेर हिँड्न सिकाए, बाटो देखाए। एक रातमा मेरो पूरै सोच बदलियो।
आजसम्म डोराएर बाटो देखाइदिए, अब गन्तव्यमा म आफै पुग्नुपर्छ जस्तो लाग्यो। बुबाको जिन्दगी भरको कमाइ एकझटमा मेरो गन्तव्य खोज्नलाई खर्च गर्ने आँट आएन। लाग्यो, आजसम्म बाले धेरै गरे अब त आफै खोज्नु पर्छ मैले मेरो गन्तव्य।
चिनेजानेकाले सुझाए पनि नपुग्दो त्यस्तो केही छैन। केही व्यापार गरे हुन्छ त बाउको यत्रो सम्पत्ति छ, राम्रो देश गए हुन्छ है खासै नपुग्ने त छैनौ तिमीहरू, हाम्रो यतिको भए कहाँ पुग्थे के गरिसक्थे भनेर सुनाउने भन्नेहरू साथीभाइहरू नि टन्नै भए।
तर मलाई भने मनमा एउटा घमण्ड भनौँ या अठोट आफै आफ्नो दमले गर्छु भन्ने प्रण गरेँ। आज आफ्नै जिद्दीले बुबाको पसिनाले भिजेको खल्तीबाट थोरै बाटो खर्च झिकेर महिनाको लाखभन्दा बढी कमाउँदा नि खुसी छैन मन तर सन्तुष्ट भने पक्कै छु।
भन्नेले अझै नि भन्छन्, 'फलानो यहाँ गयो, त्यहाँ गयो तँ नि जा।' आफ्नो खुसी मात्र हेरौँ कि सबैलाई खुसी राखौँ? सवाल जहिले उठ्छ मनमा। मेरो त्यो एक रातको निर्णय सही थियो या गलत? म सही थिएँ कि गलत? गन्तव्यमा आफै पुग्न सकुँला या नाई? केही जान्दिनँ म।
मैले कतिलाई खुसी दिएँ वा दिइनँ? मैले के पाएँ, के गुमाएँ? केही सही गुरूँला नगरुँला, त्यो आफ्नो ठाउँमा छ। तर मलाई बाटो देखाउन विदेशिएका मेरा बुबालाई मलाई गन्तव्यसम्म पुर्याउने बोझ भने दिन सकिनँ।
मलाई पढाउनदेखि लिएर मेरा हरेक जिद, झुटलाई साँचो मानेर मेरो पाइला बनेका मेरा बुबालाई मेरो गन्तव्यसम्म डोर्याउन सकिनँ।