बिहानी पख‚ पोखराको मौसम घाम ताप्न निस्केका बादलहरूले आकाश आंशिक रूपले ढाकिएको थियो। सेतो माछापुच्छ्रे‚ सेता बादलहरूको बीचबाट कहिले टाउको देखाउँथ्यो त कहिले छाती।
कुनै पनि कुरा रहस्यमा झनै सुन्दर र विशिष्ट देखिने रहेछ। परको बादललाई छिचल्दै कतै देखे-देखेजस्तो शरीर र अनुहार लम्कँदै थियो मेरो शरीर भएतिर।
'दिदी!' चिन्ने बित्तिकै आश्चर्य प्रकट गरेँ।
'पृथ्वी सानो छ नि भाइ, झन् नेपाल त धेरै सानो। भेटिएका मान्छे भेटिरहन्छन् मात्र मानले इच्छा गर्नु पदर्छ।'
मैले केही सोध्नै लाग्दा उहाँले नै भन्नु भयो‚ महिला सशक्तीकरणको तालिम दिनलाई पोखरा आउनु भएको रहेछ। उहाँ पोखरा आउनुको कारण मैले पाइसकेको थिएँ तर महिला सशक्तीकरणको शब्दले मेरो दिमागमा अनौठो तरङ्ग पैदा गरायो।
केही समयअघि महिला सशक्तीकरण सम्बन्धी लेख पढ्ने अवसर जुरेको थियो। लेखिएको थियो 'अबको महिलाले समानता र स्वतन्त्रता खोज्छन्।' त्यही क्षण मेरो दिमागले भनेको थियो हामीले खोजेको समानता र स्वतन्त्रता कस्तो हो? नियम बाहिर जानु स्वतन्त्रता हो र?
दिमागको ज्वारभाटालाई साम्य पार्दै हँसिलो अनुहारले मैले औपचारिकता प्रस्तुत गरेँ, 'दिदी लामो समयपछि भेट भयो, आउनुहोस् बसेर एक कप चिया गफ गरौँ।'
माइती आएकी दिदीलाई गरेझैँ सम्मानले आग्रह गरेँ। मेरो हार्दिकतालाई दिदीले खुसीसाथ स्वीकार गर्नुभयो।
चियापत्तीको वास्ना बाटोका पेटीमा अत्तरझैँ छरिएका थियो। हिजोको थकाइलाई बिर्सेर आजको सुरुआतका लागि तयार थिए चिया पिउँदै गरेका पसलका ग्राहक।
'दाइ, दुईवटा कालो चिया' मैले अर्डर गरेँ।
'पोखरा काठमाडौँभन्दा अलि गर्मी रहेछ है?' मौनतालाई चिर्दै आधिकारिकतालाई मोडेर दिदीले भन्नुभयो।
'हो' भन्ने आशयका साथ मेरो मुन्टो हल्लियो तर बोली फुटेन किनभने महिला सशक्तीकरणको शब्दले पैदा गरेको मेरो दिमागी तरङ्ग सेलाएको थिएन। शान्त देखिएका मेरा अनुहार भित्रले मांसपेशीले उत्तर मागी रहन्थ्यो, महिला स्वतन्त्रता र महिला सशक्तीकरणको।
'दिदी, महिला सशक्तीकरण र समानता केका लागि? समानता र आरक्षणको कुरासँगै गरेको सुन्दा विरोधाभास अनुभूति हुन्न र? हजुर महिला जागरणकै लागि यहाँसम्म आउनुभएको रहेछ‚ मेरो अन्योल्तालाई हटाइदिनु पर्यो।'
मेरो अकस्मातको आग्रह मिश्रित प्रश्नले दिदीको अनुहार चहकिलो भयो‚ आश्चर्यले‚ खुसीले वा अकमक्कताले मैले बुझ्न सकिनँ।
सेतो कपमा कालो रङ्गका दुई चियाकप हामीअघि आइपुग्यो। चियाको पहिलो चुस्कीले जिब्रोलाई तताएर दिदीले भन्नुभयो, 'नेपालमा आधिकांश महिलालाई कमजोर बनाइएको छ‚ पुरुषको सोचले। हो, त्यही पुरुषको सोचलाई चिर्नका लागि महिलाबाट गर्नुपर्ने काम कर्तव्य र व्यवहार नै महिला सशक्तीकरण भित्र पर्दछन्।
महिलाहरू कमजोर छन् वा हुन्छन् म पटकै मान्दिनँ तर पनि हाम्रो समाज‚ परिवार र संस्कारले नसुनिने तर देखिने आवाजमा भनिरहन्छ‚ महिला तिमी कमजोर छौ‚ तिम्रो अस्तित्व पुरुषसँग गाँसिएको छ‚ तिम्रो आँगन साँघुरो छ। यही नसुनिने तर देखिने आवाजलाई दबाउन जुन विगुल बजाइन्छ, त्यो महिला शसक्तिकरणको विगुल हो।'
दिदीको दह्रिलो र ओजिलो अभिव्यक्तिले चियाको तातोपनलाई चिसो बनायो। तर मेरो दिमागले तातोपनलाई चिसाउन सकेन। महिलाको चौतर्फी विकासका लागि गरिने कृयाकलाप महिला सशक्तीकरण भित्र पर्दछन् मेरो बुझाइमा। महिला स्वतन्त्र छैनन् र उनीहरूलाई स्वतन्त्रताको आवश्यकता छ‚ महिला आधिकारकर्मिको मुखबाट सुनिरहिने आवाज हो।
समाजका सबै महिलालाई एउटै आँखाले हेर्न सकिँदैन तर समाजका फरक-फरक महिलालाई एउटै आँखाले हेर्दा उब्जिएको विकृतिलाई न त कानुनको आँखाले देख्छ न त समाजको। स्वतन्त्रता र सशक्तीकरणको जसलाई आवश्यकता छ‚ ती महिला कतै दूर दराजको गाउँमा पीडा सहेर गर्भिलो पेटले भारी बोकिरहेछन्। जसले उनीहरूका लागि कुरा गर्छन् उनीहरू सहरको कुनै सुन्दर होटलमा आफ्नो वाक कला प्रस्तुत गरिरहन्छन्।
हामी पुरुष जति नै सक्षम छौँ भनेर वाइनका ग्लास बोकर‚ सभा हलमा गरेका कार्यक्रमले के ग्रामीण अशिक्षित र निमुखा महिलाको उत्थान गर्न सक्छ र? वा गर्न सकिएको छ र? यसको लेखाजोखा कसले राख्ने? महिला उत्थान र जागरणका कयौँ कार्याक्रमहरू कार्यक्रममा मात्र सीमित भएको उदाहरण छैनन् र हामीसँग?
हजारौँ प्रश्नको वेगलाई बाँध बाँधी प्रश्नका ज्वरभाटमा लगाम लगाएर मैले प्रश्न राखेँ, 'हामीले खोजेको स्वतन्त्रता कस्तो हो? हामीले गर्न खोजेका सशक्तीकरण केका लागि? समय‚ काल र परिवेश अनुसारको नियमलाई अवलम्बन गर्नु दासत्व स्वीकार गर्नु हो र? महिलाले पाएका हक र अधिकारको महिलाबाट नै अवमूल्यन भएको छैन र? कानुनलाई ढाल बनाएर महिला हक र अधिकारहरू पुरुषमाथि प्रहार भएको छैन र?'
दिमागी ताप बोलीसम्म सरेछ सायद, अन्य टेबलका चियाप्रेमी ग्राहक हामीलाई हेर्दै थिए। आँखाले दिएको सन्देशलाई दिमागले आदेशमा परिपात गर्यो‚ म सेलाएँ।
सानो मौनतालाई चिर्दै ठूला तेजिला आँखाले मलाई हेरेर दिदीले भन्नुभयो, 'सबै महिलालाई एउटै भाडोमा राखेर हेर्नु हुँदैन। सहरका महिलाले भोग्ने पीडा र ग्रामीण महिलाले भोग्ने उत्पीडन पक्कै पनि फरक हुन्छ। डिग्री सकेर घरमा थुनिएर बस्न विवश सहरिया महिलालाई पनि शुद्धीकरणको आवश्यकता छ। छाउपडी गोठमा थुनिन विवश छोरीलाई पनि सशक्तीकरणको आवश्यकता छ।
अरुकै भरमा जीवन काट्छु भन्ने महिलाहरूलाई पनि र आफ्नै आफन्तबाट भोग्नु परेको यौन हिंसालाई दबाएर राख्न बाध्य युवतीको लागि पनि आवश्यक छ महिला सशक्तीकरण। ठाँउ परिस्थिति र संस्कारअनुसार महिलाको सोच र व्यवहार फरक हुनु स्वभाविक हो। त्यसै अनुसारको कार्यक्रमहरू अगाडि सारिन्छन र सारिएका छन्।
टाउको दुखेको बिरामी‚ पेट दुखेको औषधि खाएर निको हुँदैन, थाहा छ हामीलाई। ठाँउ‚ परिस्थिति र परिवेशअनुसार महिलालाई अत्मनिर्भर र स्वावलम्बी बनाउन गरिने क्रियाकलाप नै महिला सशक्तीकरण हुन्। सबै कार्याक्रमहरू सफल नहुन सक्छन् तर यसको अर्थ यो होइन सबै कार्याक्रमहरू प्रभावकारी नै छैनन्।
आजकाल धेरै सुनिने कुरा महिलाले आफ्नो अधिकारको गलत प्रयोग गरे। यो पूर्ण रुपमा सत्य कुरा होइन। कहीँकतै गलत घटना भए होला तर यसको अर्थ यो होइन‚ महिलालाई अधिकार दिनु नै गलत भयो। नियम‚ कानुन सधैँ ठूलो समुदायको हितका लागि बनाइन्छ। समाजमा ठूलो संख्याका महिला पीडित छन् पुरुषको तुलनामा।
महिलाउपर घरदेखि समाजसम्म हरेक तह र तप्कामा अन्याय भएको छ, महिलाले हरेक ठाउँमा लडाइ गर्नु परेको छ। उनीहरूले अंशको लागि लडाइ गर्नुपर्छ‚ आफ्नो अस्तित्वको लागि र आफ्नो इज्जतको लागि, हरक्षण हरपल लडाइ गर्नुपर्छ। लडाइ जितका लागि होइन, समानता र न्यायका लागि।
छोराको नाममा सजिलै जाने बाबुको अंश‚ छोरीको नाममा जान किन गाह्रो मान्छ? छोराको शिक्षाका लागि जति पनि खर्च गर्ने बाबुको हात छोरी पढाउन किन काम्छ? छोराका लागि सधैँ खुला हुने मन्दिरको ढोका छोरीका लागि कहिलेकाहीँ किन बन्द हुन्छ? रातको १२ बजे आउने छोरालाई देखेर नआत्तिने आमाको मन छोरी घर ढिला आउँदा किन हतासिन्छ?
कालो चिया सरवत बनिसकेछ। दिदीको कुराले म मौन भएँ, दिदी पनि मौन हुनुभयो। तर हाम्रो मौनतालाई समयले कुरेन। मलाई कार्यालयको समयले बोलाउँदै थियो अनि दिदीलाई कार्याक्रमले। चिया गफलाई त्यही छाडी महिला सशक्तीकरणको गफलाई टेबलमा पछारी फेरि भेट्ने आशाका साथ हामी बिदा भयौँ, अर्को भेट नहुन्जेल सम्मका लागि।