त्यो दिन मानौं तेस्रो विश्व युद्ध भएको थियो। म घरबाट खेदाइएको थिएँ। न्युयोर्क जति गतिमान, जीवन्त र रोमान्टिक छ त्यतिकै क्रुर पनि छ।
मेरो लागि जाने ठाउँ कहीँ थिएन। कुइन्स रेल्वे स्टेसनको एउटा बेञ्चमा बसिरहेको थिएँ। कठ्याङ्ग्रिदो जाडो थियो।
गोजीमा एक डलर थिएन। नत्र मदिरारूपी अस्त्रले जाडो परास्त गर्थेँ होला। आँखामा आँशु थियो। मनमा बारूद। बारूद बिस्फोट हुने साहस गर्दैनथ्यो। बारूदको पनि आफ्नै बाध्यता हुँदोरहेछ।
‘कहिले बिहान होला र त्यहीँबाट काममा जाउला?’ भनेर हरेक क्षण घडी हेरिरहेको थिएँ। तर रात यति निर्दयी थियो कि, मेरो अवस्थासँग अलिकति पनि दया देखाएन। आफ्नै गतिमा रात बित्दै गयो।
रेल्वे स्टेसनको बाहिर निस्कने सिँढीबाट एउटा ब्यक्ति झरिरहेको थियो। ऊ मेरो नजिक आएर ठिङ्ग उभियो। सत्तरीको दशकको बेलामा जस्तै बटम पाइन्ट र बुट लगाएको थियो। आँखामा जोन लेनोनको जस्तो चश्मा र कम्मरमा बडेमानको बेल्ट भिरेको थियो। शिरमा काउ बोइ टोपी 'ह्याट' थियो।
'यु वान्ट टु बुज' (रक्सी खाने हो)?, उसले सोध्यो।
मैले बिनम्रतापूर्वक 'नो थ्याक् यु' भने।
उसले निकै कर गरेपछि मैले पनि 'लौन त' भनेर घटघट लगाइदिएँ।
कुरै कुरामा उसले आफू होमलेस भएको बतायो।
होमलेससँग मेरो विशिष्ठ सम्बन्ध छ।
सुरूका अमेरिकी दिनमा म बाटो भुल्थेँ। गलत स्टेसनमा उत्रिन्थेँ। अंग्रेजी ठिकसँग आउँदैन्थ्यो। रातको समयमा प्रायः सडकमा होमलेस नै भेटिन्थे। बाटो बिर्सिंएमा उनीहरूको सहयोग माग्थेँ।
मेरो अंग्रेजी सायद उनीहरूले मात्र बुझ्थे। मेरो भाग्य राम्रो भनौं न, बडो धैर्यता र आदरपूर्वक मलाई उनीहरूले मद्दत गर्थे।
केही महिना त म कामबाट फर्किँदा होमलेसका लागि खाना र रक्सीसमेत लिएर आउँथेँ।
यो होमलेस अलि भिन्न थियो। उसको गेटअप हिप्पीझैं लागे पनि सफा र स्टाइलिस थियो।
उसले मलाई सोध्यो, 'के तिम्रो घरमा झग्डा भयो।? तिमी होमलेस जस्तो त देखिदैनौं।'
मैले मन मनमा भने, 'मभन्दा भाग्यमानी तँ छस्, कमसे कम तलाईँ कसैको चिन्ता त छैन।
मैले टुटेफुटेको अंग्रेजीमा उसलाई आफ्नो हबिगत बताइदिएँ।
रक्सी खाएपछि अंग्रेजी र हिन्दी बोल्ने राष्ट्रिय प्रवृत्तिबाट म पनि अछुतो थिइनँ।
उसले भन्यो, ‘नो वरिज्, लाइफ इज नट अबाउट अ ब्लेम गेम। (जिन्दगी दोषारोपण गर्ने खेल होइन। तिमी दुबै ठिक हौं, तिमी दुबै गलत हौ।)'
गजबको उद्गार थियो। शायद कोही होमलेसले मात्र यस्तो भन्न सक्थ्यो।
रक्सीको झोकमा आफू पत्रकार रहेको खुलासा पनि मैले गरिसकेको थिएँ। त्यसैले होला उसले मसँग सहज ठान्यो।
'ब्रदर रीड खलील जिब्रान। म जे भन्छु त्यसको आधा अर्थहिन हुन्छ। तै पनि भन्छु- किनकि, आधा त तिमीसँग पुग्छ। यो भनाइ मेरो होइन खलील जिब्रानले भनेका हुन्,' यती भन्दै उसले जोडसँग हात मिलायो र आफ्नो बाटो लाग्यो। हामी त्यसपछि कहिलै भेटेनौं।
झिसमिसे उज्यालो भईसकेको थियो, काममा गएँ। कामबाट फर्कँदा खलिल जिब्रानको कथा संग्रह लिएर गएँ। बिद्रोही आत्मा भन्ने एउटा कथा रहेछ। गुल्बदन भन्ने एक सुन्दर युवतीको प्रेम कथा।
यो कथालाई तत्कालिन समयमा बेरूतको बिच बजारमा जलाइएको रहेछ। गुल्बदनको विवाह कम उमेरमा एक जना धनाड्य तर उमेरले निकै पाको रसिद बेग नामक व्यक्तिसँग भएको हुन्छ।
बिहेको समयमा गुल्बदनको बुझाई विवाह भनेको राम्रो कपडा, गहना र श्रृंगार मात्र हो भन्ने थियो।
रसिद बेग खानदानी हुनुमा गर्व गर्ने मनोवृत्तिका हुन्छन्। उनी भौतिक सुख सुविधा दिएर गुल्बदनको आत्मामा राज गर्न चाहन्छन्। गुल्बदनलाई यसको अनुभूति धेरै पछि मात्र भयो।
उनले एक दिन आफूमा प्रेमको झिल्को चम्केको महसुस गरिन्। उनी प्रेमको आकाशमा उड्न चाहन्थिन्। समाजको विरोध र अपमानको परवाह नगरि उनले एक गरिब तर वौद्धिक नौजवानसँग बिहे गर्ने फैसला गर्छिन्।
उनले समाजको खोक्रो आदर्शलाई लत्याउँछिन्। ती दुई जोडी मेरा लागि यौवन र एकताका मूर्ति प्रतित हुँदै थिए। दुबै अलौकिक लागे। बेरूतमा यो किताब किन जलाइयो मैले बुझेँ। जुन समाजले प्रेम र स्वतन्त्रताको विरोध गर्छ त्यसले युगौंसम्म त्यसको मूल्य चुकाउँछ।
मैले आफूलाई सोधेँ, 'गुल्बदन र रसिद बेगमा को ठिक थिए?
मलाई त्यो होमलेसको याद आयो-उसको दिब्यवाणी याद आयो, 'कोही ठिक होइन, कोही गलत होइन।'
होमलेससँगको भेटले मेरो पितृसतात्मक सोच ध्वस्त पारेको थियो। त्यो दिन मेरा लागि तेसो विश्व युद्धनै सावित भयो। मेरो नयाँ दृष्टिकोण निर्माणको दिन थियो।
विद्रोही आत्मापछि म खलील जिब्रानका अन्य पुस्तक पढ्दै गएँ। 'द प्रोफेट', 'द म्याड म्यान' प्रमुख थिए। पढ्दै गए उनको नामको अर्थ पनि बुझेँ।
खलीलको अर्थ आफूले चुनेको साथी या मित्र, जिब्रानको अर्थ आत्मालाई शान्ति दिने र कमिल्लको अर्थ परिपूर्ण हुँदोरहेछ।
खलील जिब्रानको जन्म १८८३ फेब्रुअरीमा लेनानको बशरी गाउँमा भएको थियो। उनका मावली बाजे पुरोहित रहेछन्। उनका बाजे उत्तरी लेबलाको ठूलो धनाड्य परिवारका ब्यक्ति थिए। उनकी आमाको नाम कमिला र पिताको नाम खलील थियो।
मैले खलील जिब्रानको लेखन शैलीमा कल्पना शक्ति, हृदयको गहिरो सम्बेदनशीलता र कलाकारमा हुने सहनसिलता पाएँ।
हामी दुई भिन्नाभिन्नै कालखण्डमा जन्मिएका थियौं। जिब्रान एक महान लेखक कवि र चित्रकार थिए। उनको मानव सभ्यतालाई ठूलो योग्दान थियो।
म एक साधारण मान्छे। एक नन एन्टिटी। उनले जसरी मेरो विचारलाई आन्दोलित पारे, सत्यको बाटो पहिलाउने सोच दिए मलाई यी महान हस्तीभित्र आफूले चुनेको मित्र भेटेझैं लाग्यो।
रेल्वे स्टेसनमा भेटेको त्यो होमलेससँग मेरो फेरि कहिलै भेट भएन। न्यूयोर्कमा ऊ कता हरायो, कता। पढ्दै गर्दा थाहा भयो होमलेस मित्र हराएको यसै न्यूयोर्क शहरमा मेरा प्रिय खलील जिब्रानले १० अप्रिल १९३१ मा अन्तिम सास लिएका रहेछन्।