म एक आम २४ वर्षीय अर्धबैँसे युवक। म जिन्दगीको दोस्रो मतदान गर्दैछु। म कसलाई केका लागि र किन मतदान गर्दैछु? यो स्पष्ट हुन जरुरी छ। मेरो जनप्रतिनिधिसँग मेरो के स्वार्थ छ? त्यो पनि स्पष्ट हुनु जरुरी छ।
अहिलेलाई मेरो स्वार्थ के छ? भनेर उजागर गर्नुभन्दा अघि म छोटा मेरा बितेका पलहरूको यादलाई ताजा बनाउन तिर लागेँ।
मलगायत मेरा साथीहरू दिउँस भैरहवाको १२ बजेको त्यो टन्टलापुर घाममा दिनभरि क्रिकेट खेलेर फोहोरी भएर डढेर घर आउँदा आमाको कुटाई खाएको अस्ती भर्खरजस्तो लाग्छ। खैर! आज त्यो समय बदलिएछ। आज मेरा भाइहरू कुलतको लतमा फसेर आमाको कुटाइ खान्छन् रे!
उहिले म निजी स्कुलमा पढेकाले मख्ख परेर आफूलाई महान ठान्दथेँ तर महान् त ती मेरा बा रहेछन् जसले आफूले खाई नखाई आफ्नो आम्दानीको करिब चालिस प्रतिशत मेरो शिक्षामा लगानी गरेका रहेछन्। अनि मेरो मतदान केका लागि? शैक्षिक क्रान्तिका लागि।
आफू त सानैदेखि खाना लाउनको सोखिन, केही मिठो/राम्रो देख्यो कि आमालाई किनदिन भनिहाल्ने। तर मभन्दा सोखिन त मेरी आमा रहेछिन। आफ्नो छोराको खुसी हेर्न आफ्ना ती रोगहरू लुकाएर कति वर्षसम्म त अस्पतालको मुखै हेरिनन्। किनकि आफ्नो बचतको पचास प्रतिशतभन्दा बढी त उनको उपचारमै जाँदो रहेछ। अनि मेरो मतदान केका लागि? स्वास्थ्य क्रान्तिका लागि।
आज पनि मेरी आमाले बनाएका ती ताजा अचारका बास्ना/स्वाद मेरो मस्तिकमा ताजै छन्। आज आएर बल्ल मलाई महसुस भयो कि त्यो मेरी आमाको त सीप पो रहेछ। खै! श्रमवर्ग/गरिबी निरुपणको वकालत गर्ने ती मेरी आमा लागेका पार्टीले उनलाई कहिले उद्यमी बन्न सिकाएन क्यारे।
सिकायो त केवल आफ्नो संगठन विस्तार गर्न र भाषण गर्न। विचरी ती मेरी आमालाई कसले त्यो बेला सम्झाओस् कि आफ्नो सीपको प्रयोग गरी उद्यमी बनी आम जनताको गरिबी निर्मूल पारेर एउटा क्रान्तिको विगुल फुक्न सकिन्थ्यो। अनि मेरो मतदान केका लागि? उद्यम क्रान्तिका लागि।
मैले सानैमा देखेको भोगेको त्यो बेला वृद्धावृद्ध बाआमाको साथ दिन नातिनातिना छोराछोरीहरूसँगै हुन्थे तर आज त्यो परिस्थति बदलिएको छ। आज कोरोनाजस्तो महामारीमा छर्लङ्ग के दिखियो भने जब ती बाआमा मृत्युको मुखमा थिए, तब आफ्ना सन्तानबाट एक थोपा पानी पनि नपिई परलोक जान बाध्य भए।
विचरा उनीहरू नि के गरून्, आफ्नो शिक्षाअनुसार जागिर छैन, अरु काम गर्न सीप छैन। के गर्नु हाम्रो शिक्षा प्रणाली नै यस्तै छ। अनि मेरो मतदान केका लागि? सीप क्रान्तिका लागि।
पहिले पहिले गाउँटोल कति हरियाली स्वच्छ थियो, सडकपेटी व्यवस्थित थियो। सडक छेउछाउमा रुखका छहारी, चौतारीमा बसेर गफ गर्नुको मज्जा नै बेग्लै थियो। खैर! आज त्यो परिस्थिति बदलिएको छ, गाउँटोल बदलिएको छ।
अहिले जताततै फोहोरको थुप्रो देखिन्छ, सडकपेटीमा फोहोरको थुप्रोलाई पन्छाउँदै नाक थुन्दै हिँड्नु पर्छ। ती हरियाली रुखका साटो अहिले अव्यवस्थित रुपमा गाडीहरू पार्किङ गरी राखिएका मात्र देखिन्छन्। आज त्यो सहरमा पहिलेको जस्तो स्वच्छ जीवन छैन। सबै धुमलिएको छ, फोहोर भएर डुङडुङ्ती गनाउने भएको छ।
अब त त्यो आफ्नो प्यारो सहर पनि बिरानो लाग्न थालेको छ। अहिले त्यहाँ त सेवकभन्दा पनि शोषक जन्मिएका छन् रे। पैसा र सत्ताका लागि आफ्नो आमाको रगत पिउने नरपिचास जन्मिएका छन् रे। अनि मेरो मतदान केका लागि?
म त अलि धेरै भावनामा बहकेछु। म त स्वार्थी मान्छे, मेरो स्वार्थ त भन्नै बिर्सेछु। मेरो जनप्रतिनिधिसँग धेरै स्वार्थ छ। म मेरा प्राथमिक/माध्यमिक भाइबहिनीहरूको शिक्षा निःशुल्क होस् भन्ने चाहान्छु। उनीहरूका बाआमा आफ्नो स्वास्थ्य र इच्छा आकांक्षा मारेर आफ्ना छोराछोरीलाई पढाउन नपरोस् किनकि यो त राज्यको आफ्नो नागरिकप्रति गरिने लगानी हो।
मेरी आमाजस्तो अरु आमाले प्राथमिक स्वास्थ्य परीक्षणका लागि पनि दस चोटि सोच्न बाध्य नपारिओस्।
हो, म स्वार्थी छु। म मेरा ती भाइबहिनीहरू जो जानी नजानी राज्यको व्यवस्थाले कुलतमा फसे, उनीहरूको उचित व्यवस्थापन, उनीहरूलाई आफू जस्तो ठगेर लुटेर खाने नभई उद्यम गरी खाने बनाउने जनप्रतिनिधिको खोजीमा छु।
ती हाम्रा चेलिबेटीलाई राज्यमा सुरक्षित राख्ने जनप्रतिनिधिको खोजीमा छु म। ती ठूला-ठूला के-के वाद/सिद्धान्तको गफ नहानी आवश्यकताको सिद्धान्तलाई अंगाल्ने जनप्रतिनिधिको खोजीमा छु म।
हामीले अहिले स्थानीय निर्वाचनमा पार्टीभन्दा पनि आफ्नो स्थानीय स्तरको समस्या बुझेर काम गर्ने र गफ गरी खाने नभई गरिखाने/उद्यम गर्ने जनप्रतिनिधि रोज्न जरुरी छ। अहिलेको पुँजीवाद युग जहाँ पैसा बिना एउटा सिता चामल नआउने युगमा कसैले उद्यम नगरी राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउँछ। त्यस्तो जनप्रतिनिधि, जनप्रतिनिधि नभई दलाल प्रतिनिधि हुने पक्कापक्की छ। त्यसैले म स्वार्थी छु, म यस्तो जनप्रतिनिधिको खोजीमा छु जसले मलाई उद्यम गर्न सिकाउँछ।
हो, म स्वार्थी छु। हजुरहरू पनि स्वार्थी हुन सुरु गर्नुस्। किनकि यस्तो जनप्रतिनिधि नचुन्नुहोस जसले तपाईं उद्यमी हुनुभन्दा अघि नै तपाईंलाई करको भारले मारोस्। यस्तो जनप्रतिनिधि नछान्नुहोस् जसले तपाईंको छोराछोरीलाई निःशुल्क गुणस्तरी शिक्षा दिन नसकोस।
म मेरो गरिबी वा राजनीतिक पहुँच नभएकै कारण एउटा सानो मौलिक हकबाट वञ्चित हुन नपरोस्। मेरा ती भाइबहिनीहरू फेरि पनि कुलतमा नफसून्, उनीहरूलाई देश अनुसारको सीप सिकाइ यही उद्यम गर्ने वातावरण बनाइयोस्। अनि मेरो मतदान केका लागि? युवा क्रान्तिका लागि।