विश्वका हरेक देशमा बढ्दो सवारी दुर्घटनाका कारण ठूलो मात्रामा मानवीय तथा आर्थिक क्षति हुने गरेको छ। यसले ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण विश्वका हरेक नागरिकको दैनिक सरोकारको रूपमा विकसित भएको छ।
अल्पविकसित, विकासोन्मुख, विकासशील राष्ट्रहरूमा मात्र नभई परिष्कृत सडक पूर्वाधार र प्रविधि भएका विकसित राष्ट्रहरूमा समेत सडक सुरक्षा अर्थात् सहज यातायात व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण समस्याका रूपमा रहेकाले विश्वको अगाडि यो ठूलो चुनौतीका रूपमा खडा भएको छ।
सामान्य उदाहरणको रूपमा काठमाडौँ उपत्यकाभित्र कुनै गन्तव्यमा पुग्न जामका कारण झण्डै दोब्बर वा सोभन्दा बढी समय लाग्ने अवस्था छ। प्रायः सवारी चालकहरूले जामका बेलामा पनि अनावश्यक रूपमा सवारी साधनहरू चालु अवस्थामै राख्ने गर्छन् जसले गर्दा धेरै मात्रामा विदेशबाट आयातित इन्धनको अनावश्यक खपत भैरहेको मात्र नभई सो इन्धनबाट वातावरण समेत थप प्रदुषित भैरहेको छ।
यदि जामको समस्यामा कमी आई यातायात व्यवस्थापन सहज हुने हो भने व्यस्त दैनिकीमा समयको बचत हुने, अनावश्यक इन्धनको खपतमा कमी आउने र वातावरणीय प्रदुषणमा कमी आउने मात्र नभै प्रदुषणका कारण हुने विभिन्न रोगहरूमा पनि कमी आउने गर्छ।
जामका कारण जुन मानसिक तनाव हुन्छ त्यसैको फलस्वरूप धैर्य गुमाई चालकहरू अनावश्यक तीव्र गतीमा सवारी साधन चलाउने, बाटोमा झै-झगडा गर्ने र रूखो बोल्ने गर्दछन् भने यात्रुहरूको पीडा अलग सोचनीय विषय हो।
ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक इन्जिनियरिङको महत्वपूर्ण भूमिका हुन्छ। ट्राफिक इन्जिनियरिङ सिभिल इन्जिनियरिङको एउटा शाखा हो जसले सडकमा मानिस र सामानको सुरक्षित र कुशल आवतजावत गर्न इन्जिनियरिङ प्रविधिहरू प्रयोग गर्छ।
सडक सुरक्षाको मेरूदण्डका रूपमा पनि ट्राफिक इन्जिनियरिङलाई बुझ्न सकिन्छ। सहज यातायात व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणमार्फत मात्र सडक सुरक्षाको प्रत्याभूति गर्न सकिन्छ। सामान्यतया हरेक ट्राफिक इन्जिनियर सिभिल इन्जिनियर हुन् तर सबै सिभिल इन्जिनियर ट्राफिक इन्जिनियर नहुन सक्छन्।
सामान्यतः तीन चरणको निम्न प्रक्रियाहरूलाई निरन्तर एउटा चक्रको रूपमा प्रयोग गरी मात्र सडक/राजमार्गहरूलाई व्यवस्थित एवं सुरक्षित बनाउन सकिन्छ।
प्रथम चरण
सडकलाई व्यवस्थित एवं सुरक्षित बनाउन स्पीड र स्ट्यान्डर्ड भारवहन क्षमता कति राख्ने? कहाँ कति उकालो बनाउने? कस्तो खाले टर्निङहरू प्रयोग गर्ने? कति दूरीमा अनिवार्य टर्निङ दिने? ब्ल्याक स्पट र बोतल नेकको समस्या आउन नदिने, ओभरटेकिङ साइट डिस्टान्स, स्टपिङ डिस्टान्स, साइट डिस्टान्स, फूटपाथ र सोल्डरहरूको व्यवस्था, चालकका लागि बढीभन्दा बढी भिसिबिलिटी कसरी दिने?
कहाँ-कहाँ फ्लाइओभर, अन्डरपास वा ओभरहेड ब्रिजको आवश्यकता छ? चोकहरूमा कस्तो खाले जिओमेट्रिक डिजाइन तथा ट्राफिक आइल्यान्ड बनाउने? पहिरोबाट सडकलाई बचाउन के गर्ने? ड्रेनेज सिस्टम कसरी बलियो बनाउने आदि विषयहरूलाई डिजाइन वा निर्माणको बेलामा नै ध्यान दिनुपर्छ।
दोस्रो चरण
सडक/राजमार्ग निर्माणपश्चात पनि चोकहरूमा सवारी साधनहरूको बढीभन्दा बढी संचालन गर्न, जाम घटाउन र दुर्घटना न्यूनीकरण गर्न जेब्रा क्रसिङ र स्ट्यान्डर्डअनुसार लेनहरू प्रष्ट छुट्टिने गरी रोड सरफेस मार्किङ गर्नेदेखि प्रविधिसँग सम्बन्धित सम्पूर्ण कुराहरूलाई अर्थात् सडक बत्ती र ट्राफिक लाईट कहाँ, कस्तो लगाउने? रोड फर्निसिङ्ग कस्तो प्रयोग गर्ने? सिसिटिभी कहाँ-कहाँ लगाउने?
घुम्तीहरूमा विपरीत दिशाबाट आएका सवारी साधन प्रष्ट देखिने गरी कन्भेक्स मिरर राख्ने, तीव्र गतीका सवारी साधनहरूलाई नियन्त्रण गर्ने साधनहरूको प्रयोग, नाकाहरूमा अटोमेटेड सिस्टमहरूको प्रयोग, चोकहरूमा कन्ट्रोल रूमबाट सिसिटिभीको सहायताले सवारी साधनहरूको मोनिटर र कन्ट्रोल गर्ने आदि कुराहरूमा ध्यान दिनुपर्छ।
तेस्रो चरण
नयाँ सडकको डिजाइन/निर्माण र यातायात व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि विभिन्न सफ्टवेरहरूमार्फत दुर्घटनाको डाटाहरू संकलन गरी सोको सूक्ष्म अध्ययन र अनुसन्धान गरी थप जानकारीहरू हासिल गर्नु पर्छ।
यी तीनै चरण कुनै न कुनै रूपमा ट्राफिक इन्जिनियरिङसँग प्रत्यक्ष सम्बन्धित छ।
सहज यातायात व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणका लागि सडक/राजमार्ग, फलाइओभर, अन्डरपास आदि भौतिक संरचना निर्माण मात्र समस्याको निराकरणका उपाय होइनन्। ती निर्मित संरचना जबसम्म व्यवस्थित एवं सुरक्षित हुन्नन्, चालकहरूले सचेत भई सवारी साधनहरू चलाउँदैनन् र जनचेतना लगायतका कार्यहरूको निरन्तरता हुन्न तबसम्म माथि उल्लेखित समस्या यथावत नै रहन्छ।
कुनै पनि संरचनाको निर्माण शतप्रतिशत परिणाममुखी हुन्छ भन्ने हुन्न। कुनै पनि संरचनाको निर्माणपश्चात प्रयोगको सिलसिलामा त्यसमा भए/रहेका कमी कमजोरीहरू देखा पर्छन् जसलाई दोस्रो चरणमा उल्लेख गरिएका सुधारका कार्यक्रमहरू आवश्यकताअनुसार लागु गर्नुपर्ने हुन्छ।
तत्पश्चात पनि सहज यातायात व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण शतप्रतिशत हुन्छ भन्ने हुन्न किनकि सवारी साधनको समय क्रममा हुने संख्यात्मक वृद्धि, चालकको प्रवृत्ति, जनचेतनास्तर, वातावरण/मौसम आदि कारणहरूले पनि सहज यातायात व्यवस्थापनमा समस्या ल्याउने र सडक दुर्घटना हुने अवस्था रहन्छ।
यी दुर्घटनाहरूको डाटा उपयुक्त माध्यमबाट संकलन गरी सूक्ष्म अध्ययन र अनुसन्धान गरी थप सुधारका कामहरू गर्नु पर्ने हुन्छ। विशेषगरी नयाँ संरचनाहरूको डिजाइन र निर्माणमा यसको ठूलो महत्व हुन्छ र यसले ठूलो टेवा पुर्याउँछ। तसर्थ, सहज यातायात व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरणका लागि यी तीन चरणलाई एक चक्रको रूपमा निरन्तर प्रयोगमा ल्याउनु पर्ने हुन्छ।
नेपालका सडक संजाललाई सुरक्षित मान्न सकिने अवस्था छैन, धेरै त्रुटी कमजोरीहरू छन् र व्यापक सुधारको आवश्यकता छ। नेपालका प्रमुख सहरहरूमा हुने जाम र दुर्घटनाको संख्या अत्यास लाग्दो छ। पहाडी भेगमा वर्षातको बेला हुने नदी कटान र भू-क्षयका कारण पहिरो आई वर्षेनी ठूलो धनजनको क्षती हुने र घण्टौँ जाम हुने समस्या छ।
तराईमा वर्षातको बेला सडक डुवानमा पर्ने र आवागमनमा वर्षेनी असहज परिस्थिति निर्माण हुने गर्छ। नेपालको सन्दर्भमा जम्मा एउटा व्यवस्थित अन्डरपासको निर्माण कलंकीमा भएको छ। फ्लाइओभर निर्माणको थालनी नै भएको छैन, ओभरव्रिजहरूको फाट्टफुट्ट निर्माण सुरू भएको अवस्था छ।
सम्पूर्ण ट्राफिक व्यवस्थापनको काम न्यून स्रोतसाधन भएका ट्राफिक कर्मचारीहरूको काँधमा छ। सडक पूर्वाधार निर्माणका लागि स्रोतसाधन र बजेटको कमी छ। यी समस्याहरूलाई न्यूनीकरण गरी भएका सडक/राजमार्गहरूलाई व्यवस्थित एवं सुरक्षित बनाउनु र नयाँ भौतिक संरचनाहरू विकास गरी सुरक्षित र सहज यातायात व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्नु राष्ट्रकै लागि ठूलो चुनौती भएकाले नेपालको सन्दर्भमा ट्राफिक इन्जिनियरिङको र यसको सही सदुपयोगको अझ ठूलो महत्व छ।
स्रोत साधनको कमी, निर्माणमा अधिक लागत, लामो समय र परिष्कृत प्राविधिक दक्षता आवश्यकता पर्ने हुनाले नेपालमा फलाइओभर, अन्डरपास आदि भौतिक संरचना निर्माणमा समय लाग्छ। यद्यपि दीर्घकालीन समाधानका लागि फ्लाइओभर र अण्डरपासको श्रृंंखला निर्माणको विकल्प छैन।
तत्कालका लागि भएका सडक/राजमार्गहरूलाई व्यवस्थित एवं सुरक्षित बनाउन ट्राफिक इन्जिनियरिङको दोस्रो चरणका सुधारमा र नयाँ भौतिक संरचनाहरू बनाउनका लागि आवश्यक पर्ने डाटाहरू संकलनका लागि तेस्रो चरणका कार्यहरूमा विशेष जोड दिनु उपयुक्त हुन्छ।
साथै नयाँ निर्माण हुने सडक संरचनालाई त्रुटीरहित ढंगले निर्माण गर्नेतर्फ जोड दिनु पर्छ।
(लेखक डिएसपी श्रेष्ठ ट्राफिक इन्जिनियर हुन्।)