हिमालयको क्षेत्र प्राचीनकालदेखि पवित्रभूमि, देवस्थल र तपोभूमिका रुपमा रहँदै आएको छ। पुराण आदिमा यसको प्रशस्त उल्लेख पनि छ र तर हामीले यसको समुचित व्याख्या गर्न नसक्दा यी क्षेत्रको महत्व बुझ्न सकेका छैनौं। व्याख्या गर्न सकेका छैनौं र प्रचार गर्न सकेका छैनौं।
प्राचीन भारत वर्षको भूमिमा भगवान् शिवका द्वादस ज्योतिर्लिङ्ग प्राकाट्य भएर रहेका छन्। पुराणहरूमा र सामाजिक प्रचारमा १२ ज्योतिर्लिङ्गको चर्चा भए पनि श्री पशुपतिनाथलाई ज्योतिर्लिङ्गका रुपमा चर्चा गरिँदैन। भगवान श्री पशुपतिनाथ महाज्योतिर्लिङ्ग भएको मान्न सकिन्छ। पशुपतिनाथ सबै ज्यातिर्लिङ्गका पनि शिर हुन्।
भारतमा भएका सबै ज्यातिर्लिङ्गको स्थापनाको कुनै न कुनै कथा छ । भक्तको प्रार्थना, तपस्या र भक्तिले प्रसन्न भएर भगवान् शिवजीले दर्शन दिएर वा भक्तले स्थापना गरेर ज्योतिर्लिङ्ग स्थापित भएका छन्। तर, पशुपतिनाथ चाहिँ आफैं उत्पत्ती भएका ज्योतिर्लिङ्ग हुन्।
सबै ज्योतिर्लिङ्ग विभिन्न आकारका छन्। तर, शिवलिङ्गमा शिरको मूर्ति भएको कुनै ज्योतिर्लिङ्ग छैन। पशुपतिनाथको ज्योर्तिलिङ्गमा चारैतर्फ शिरको/मुखको आकृति छ। यसकारण पनि पशुपतिनाथ सबै ज्योर्तिलिङ्गको पनि शिर्षस्थानमा भएका महाज्योतिर्लिङ्ग हुन् भन्न सकिन्छ।
पुराणमा उल्लेख भएअनुसार भगवान् पशुपतिनाथ केदारनाथका शिर हुन्। शिवपुराणको कोटीरुद्र संहिताकाअनुसार भगवान् शिव केदारनाथमा पछाडिको भाग र नेपालमा शिर भागका रुपमा बसेका छन्।
शिवपुराणको कथाअनुसार महाभारत युद्धपश्चात पाण्डवहरूमा गोत्रहत्याको ठूलो ग्लानी भयो। गोत्रहत्याको पापबाट उनीहरू विचलित हुन पुगे। तब व्यास ऋषिको उपदेशअनुसार शिवजीको कृपाले मात्र गोत्रहत्याबाट मुक्ति हुन सम्भव छ। तब उनीहरू हिमालयमा गएर शिवजीको आराधना गर्न लागे। शिवजी पाण्डवहरूलाई दर्शन दिन चाहनुहुन्नथ्यो। पाण्डवहरू आफूलाई खोज्दै आएको, भक्ति गरेको देखर शिवजी कैलाशबाट भैंसीको रुपमा भाग्न थाल्नु भयो।
भिमले भगवान् भोलेनाथ भैंसीका रुपमा एउटा दलदलमा लुक्दै गरेको देखे र तत्काल भैंसीको पुच्छर समातेर प्रार्थना गरे।
पाण्डवहरूका प्रार्थनाले खुसी भएर शिवजीले भैंसीको पछाडिको भागमा आफ्नो स्वरुप केदारनाथमा छाडिदिनुभयो। तर, शिर मात्र चाहिँ नेपालमा गएर रहनु भयो। शिवजीको सो स्वरुपको दर्शन प्राप्त गरेर पाण्डवहरू गोत्रहत्याको दोषबाट मुक्त भए।
यो वै हि पाण्डवान्दृष्ट्वा महिषं रुपमास्थिताः ।
मायामास्थाय तत्रैव पलायनपरोऽभवत् ।।
धृतश्च पाण्डवैस्तत्र ह्यवाङ्मुखतया स्थितः ।
पुच्छं चैव धृतं तैस्तु प्रार्थितश्च पुनः पुनः ।।
तद्रुपेण स्थितस्तत्र भक्तवत्सल नामभाक् ।
नयपाले शिरोभागो गतस्तद्रुपतः स्थितः ।। (शिव पुराण) कोटी रुद्रसंहिता १९ अध्याययको १३–१५ श्लोक)
माथिका श्लोकहरूले स्पष्ट रुपमा भनेका छन् केदारनाथमा भगवान् भोलेनाथको भैंसीको स्वरुपको पछाडिको मात्र अवस्थित छ तर शिर भाग चाहिँ नयपाल (नेपाल) मा स्थित छ। (नयपाले शिरोभागो गतस्तद्रुपतः स्थित ) नेपालमा स्थित शिरभाग भनेको भगवान् पशुपतिनाथ नै हुन्। यसलाई प्रमाणित गर्ने धेरै आधार छन्।
संसारमा कही पनि शिवलिङ्गमा शिर वा मुखको आकृति छैन। तर, पशुपतिनाथको मूर्तिमा÷लिङ्गमा पा“चै तर्फ मुखका स्वरुप छन्। शिर छन्। भगवान् पशुपतिनाथको पूर्व मुखलाई तत्पुरुष, दक्षिण मुखलाई अघोर, उत्तर मुखलाई वामदेव, पश्चिम मु्खलाई सद्योजात र उध्र्व मुखलाई इशान भनिन्छ। त्यसले पनि यो भगवान् शिवजीले केदारबाट उम्किएर आफ्नो शिरभाग यही अवस्थित गर्नु भएको मान्न सकिन्छ।
त्यो बेलाको नयपाल भनेको हालको काठमाडौं नै हो ‘ने’ अथवा ‘नय’ भन्ने ऋषिले बसोबास गराएको कारण यसको नाम नयपाल (पछि गएर नेपाल) भएको इतिहास छ। यहाँका पशुपतिनाथ आफैं उत्पत्ति भएका हुन्। कसैले स्थापना गरेका होइनन्। पछि उत्खनन् गरेर पूजा शुरु गरेको कथा छ।
भगवान् विष्णुले पशुहरूको स्वरुपमा विभिन्न अवतार लिएका भए पनि भगवान् शिवले पशुहरूको अवतार लिनु भएको प्रसंग अत्यन्त थोरै मात्र आउँछ। तर शिवपुराणको कोटीरुद्र संहिताअनुसार भगवान शिवले भैंसीको स्वरुपमा अवतार लिनु भएको र भगवान भोलेनाथ सबै देवताका पनि देव सबैका नाथ भएकाले उहाँलाई पशु अवतारको नाथका रुपमा पशुपतिनाथ भन्न थालिएको हो। पशुपतिनाथ केदारनाथको शिरका रुपमा सबै प्राणीका, पशुका देव र नाथ (मालिक/प्रभु)का रुपमा यहाँ विराजमाज हुनुहुन्छ।
उपरोक्त श्लोकअनुसार पाण्डवहरू आफ्नो दर्शन गर्न आएको थाहा पाएपछि भगवान् शिव दलदलमा लुक्न थाल्नु भयो। तर, भीमले पुच्छर मात्र भेटे। तर, त्यही दलदलबाट शिवजीको शिर स्वरुप नेपालमा स्थापना भयो। त्यो बेला नेपालको त्यो स्थान पनि दलदल नै थियो। काठमाडौं ठूलो ताल थियो र नय ऋषिले बसोवास गराएता पनि सबै भूमि बसोबास योग्य हुन धेरै समय लागेको हुनसक्छ। दलदल रहेको सो स्थानमा भगवान्ले भैंसीको शिरका रुपमा आफूलाई त्यहाँ लुकाएर राख्नुभयो।
शिवजीका अनेकौं लिङ्ग स्वरुप मध्ये १२ लिङ्गलाई ज्योतिर्लिङ्ग भनिन्छ। तर, ती सबै ज्यार्तिलिङ्ग प्रादुर्भाव भएका होइनन्, स्थापित गरिएका हुन्। पशुपतिनाथ मात्र आफैं उत्पत्ति भएका शिवलिङ्ग हुन्। सबै ज्योर्तिलिङ्गका शिर हुन्। त्यसैले पशुपतिनाथ महाज्योर्तिलिङ्ग हुन्।
द्वादस ज्योतिर्लिङ्गहरूमा ‘सोमनाथ’ चन्द्रमाद्वारा स्थापना गरिएका हुन्। ‘मल्लिकार्जुन’ शिव पुत्र कुमारजीको तपस्याद्वारा स्थापित भएका ज्योतिर्लिङ्ग हुन्। ‘महाकालेश्वर’को स्थापना ब्रा≈मणवेद प्रियका चार पुत्रको प्रार्थनामा खुसी भएर भगवान् शिवले ज्योतिर्लिङ्गका रुपमा उज्जैनमा स्थिर हुनुभएको हो।
यसैगरी ‘ओंकारेश्वर’का रुपमा पर्वतराज विन्द्याचलको तपस्याद्वारा प्रशन्न भएर भगवान् ज्योतिर्लिङ्गका रुपमा नर्मदा नदीका तटमा विराजमान हुनुभयो। पाण्डवहरूको प्रार्थना सुनेर ‘केदारनाथ’ स्थापित हुनुभयो। कुम्भकर्ण पुत्र भीमको संहार गर्न सुदक्षिण नामक राजाको तपस्याका कारण ‘भीमशंकर’को स्थापना भयो। प्रकृति र पुरुषले उत्पत्तिको समयमा सृष्टिका लागि गरिएको तपस्याद्वारा काशीमा ‘विश्वेश्वर’को स्थापना भयो। महर्षि गौतमको तपस्याद्वारा नासिकमा ‘त्रयम्बकेश्वर’को स्थापना भएको शिवपुराणमा उल्लेख छ।
रावणद्वारा ‘वैद्यनाथ’को स्थापना गरियो। भगवान् रामद्वारा ‘रामेश्वरम्’को स्थापना गरिएको कथा शिवपुराण र रामायणमा उल्लेख छ। सुधर्मा नामक ब्राम्हण पत्नी घुश्मालाई कृपा गर्न भगवान् शिवले ‘घुश्मेश्वर ज्योतिर्लिङ्ग’का रुपमा विराजमान हुनुभयो। दारुका राक्षसीको प्रार्थनामा द्रविभूत भएर भगवान् भोलेनाथले आफ्नो ज्योतिर्लिङ्ग स्वरुप ‘नागेश्वर’का रुपमा द्वारका नगर निकट निवास गर्नुभएको शिवपुराणका विभिन्न अध्यायमा वर्णन गरिएको छ। पशुपतिनाथ भने कसैले स्थापना गरेको नभइ आफैं उत्पत्ति भएको कथा प्रचलित छ।
काठमाडौंमा महिषपाल वंशीहरूको समयमा (कसैकसैले गोपालवंशीको समय पनि भन्ने गरेका छन्) एउटी कामधेनु स्वरुपी गाईले सधैं एउटा ढिस्कोमा दूध चढाउथिन्। किन गाईले दूध चढाइन् भनेर उत्खनन् गर्दा त्यहाँ पशुपतिनाथको अनन्त स्वरुप ज्योतिर्लिङ्ग फेला परेको हो। सोही मूर्तिलाई पशुपतिनाथका रुपमा मन्दिर निर्माण गरेर पूजा गर्न थालिएको कथा प्रचलित छ। जतिबेला काठमाडौं (नेपाल) मा महिषपाल (भैसी पालन गर्ने) हरुको राज्य थियो भगवान् भैसीको शिरको रुपमा त्यहाँ रहनु र भैसी पालन गर्नेहरुले उत्खनन् गरेर दर्शन पाइ भक्ति गर्दै मन्दिर निर्माण गरि पुजा परम्परा शुरु हुनुले पनि पशुपतिनाथ नै केदारनाथको शिर र भैंसी स्वरुपको शिर नै हुन् भनेर मान्न सकिन्छ।
केदारनाथ र पशुपतिनाथका बीच बडो आश्चर्य अर्काे संयोग पनि छ। वि.सं. २०७२ सालको भुकम्प आउँदा काठमाडौंका अधिकांश धरोहरहरूमा क्षति पुग्यो। कति त भत्किए पनि तर, पशुपतिनाथको मन्दिरमा कहिं कतै केही भएन। त्यस्तै यो भन्दा २ वर्ष अघि केदारनाथमा आएको प्रलयले मन्दिर बाहेक अरु केही पनि बाँकि नराखेको हामी धेरैले पढेका सुनेका थियौं। त्यो बेला पनि केदारनाथ मन्दिरमा केही भएको थिएन। यसरी हेर्दा केदारनाथ र पशुपतिनाथ एउटै शरीरका दुइ अंग भएको मान्न सकिन्छ। भगवान् शिवको दुई भाग मान्न सकिन्छ र पशुपतिनाथलाई केदारनाथको शिर हुन् भनेर भन्नुपर्ने हुन्छ।
(बराल पर्यटनविज्ञ हुन्।)