बझाङका अंकित (परिवर्तित नाम) फेसबुकमा जोडिएको ८ वर्ष भयो। फेसबुकमा जोडिएपछि उनी दुर्गम जिल्ला बझाङमा मात्रै सीमित रहेनन्। उनलाई त फेसबुकले कैंयन् देश पुर्याइसक्यो, कयौँ व्यक्तिसँग चित परिचित पनि छन्।
उनको फेसबुकमा पनि लगभग ४ हजार साथी बनिसके कतिलाई त उनले साथी नै बनाएका छैनन्। रहरै रहरमा खोलेको फेसबुक अहिले उनको नशा बनेको छ। फेसबुक नचलाएसम्म उनलाई निन्द्रा नै पर्दैन, चलनचल्तीको भाषामा भन्दा खानै रूच्दैन। ४ हजार साथीको लिस्टमा कति त उनका केटी साथी छन्, कतिलाई उनी नै चिन्दैनन्।
फेसबुकबाटै बनाएका एक केटी साथीसँग उनको लामै कुराकानी हुन्थ्यो। अझै भनौं उनीहरूको लभ पर्याे ‘दुई वर्ष जति हामी माया प्रेममा थियौं, फेसबुकमा रातदिनै कुराकानी हुन्थ्यो तर अहिले न उनलाई पाउन सकें न केही गर्न सकें’ उनले गुनासो पोख्दै भने।
उनी अहिले सामाजिक सञ्जाल फेसबुकको लतमा फसेका छन्, उनी फेसबुकमा असामान्य विषयवस्तु पोस्ट गरिरहन्छन्।
अछामको मंगलसैन नगरपालिका वडा नम्बर ३ की रमिता साउँद (परिवर्तित नाम ) को नामबाट अपरिचित व्यक्तिले २ वटा नक्कली फेसबुक अकाउन्ट बनाइदिएका छन्। ती नक्कली फेसबुक आइडीबाट रमिताका आफन्तलाई अनेक म्यासेज जान्छ, यी र यस्तै समस्याबाट मानसिक समस्यामा छिन् रमिता। जिल्ला प्रहरी कार्यालय अछाममा उनले आफूलाई आइपरेको समस्याबारे उजुरी दिएकी छन्।
‘फेसबुककै कारणले कति समस्या भोगेकी छु, घरमा आमा– बुवाले पनि सही नसक्नुको गाली गर्छन्। अति भएपछि प्रहरीमा उजुरी दिएकी छु, मेरो जिन्दगी बर्बाद गर्ने अपराधीलाई त्यसै कहाँ छोड्छु?’ रिसले भरिएको शब्दमा आक्रोश पोखिन्। उनीजस्तै सामाजिक सञ्जालको सिकार भएकाहरू त कति छन् कति।
फेसबुक, टिकटक, युट्युब नचलाउने त सायदै होलान्। तर, सामाजिक सञ्जालमाथि अहिले बहस तीव्र छ। यसमा जोखिम बढी छ कि अवसर? सदुपयोग ज्यादा भइरहेको छ कि दुरूपयोग? सामाजिक सञ्जाललाई शौख बनाउने कि लत? सहयोगी बनाउने कि दुर्घटनाहरूको सहज अस्त्र? यी यावत विषयका बारेमा प्रश्नको उत्तर खोज्न ढिला नगरौं।
सामाजिक सञ्जाल मानिसहरूको विश्वासिलो र भरपर्दो साथी बनेको छ तर मानिसले मानिसलाई गर्ने विश्वास घटेको छ। मानिसलाई कम विश्वास गर्न थालेको मानिसले सामाजिक सञ्जाललाई बढी विश्वास र प्रेम गर्न थालेको छ।
कसैलाई भन्न नसक्ने र भन्न मन नलागेका आन्तरिक कुराहरू पनि फेसबुक लगायतमा सेयर गर्छन्। आफ्ना अन्तर मनका भावना सामाजिक सञ्जालमा पोख्छन्। एक्लै हुँदा पनि फेसबुकले एक्लोपनको आभास हुन दिँदैन आजकाल।
जीवनका सुखद् क्षण या दु:खद् पल। ती सबै साथी बनेर बाँड्ने ठाउँ बनेको छ सामाजिक सञ्जाल। यतिमात्र होइन, यो सञ्जाल ठूला-ठूला राजनीतिक बहस गर्ने वा एजेन्डा सेट गर्ने ठाउँको रूपमा विकास भइरहेको छ। सूचनाको स्रोत पनि यही बनेको छ।
अर्कोतर्फ, कसैलाई रिस र कुण्ठा पोख्ने माध्यम पनि बनेको छ। प्रत्यक्ष हाकाहाकी भन्न नसक्ने विषयमा अप्रत्यक्ष सामाजिक सञ्जालबाट तथानाम लेख्न सक्छन्। कुनै तथ्य, प्रमाणबिना कसैको चरित्र हत्या गर्नुपर्यो भने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जालमा लेखिदिनु या बोलिदिनु भएको छ।
जसका कारण मानिसले पाइरहेका दुःख, तनाव, सकस, सम्बन्धको दरारमा बढेको पारामिटरका बारेमा सायद धेरै बेखबर छौं। सामाजिक सञ्जालको प्रयोगले अझ कस्ता असर ल्याउँछन् यकिनका साथ भन्न सकिने अवस्था छैन।
यकिन भएको एउटै मात्र कुरा के हो भने मानिसको आचरण र अवस्था अनुसार मानिसलाई सामाजिक सञ्जालले फरक तरिकाले प्रभाव पारिरहेको छ। यद्यपि, सञ्चार प्रविधिको आजको युगमा सामाजिक सञ्जालको मोह थप चुलिँदो छ। यद्यपि, यसको अधिक प्रयोगका विषयमा संवेदनशीलता भने निश्चित जरूरी छ।