सृष्टि (नाम परिवर्तन) लाई बिएडको अन्तिम परीक्षा दिने बित्तिकै विवाह गरेर नवलपुरदेखि तनहुँ पुर्याइयो। श्रीमानको जागिर काभ्रेपलाञ्चोक जिल्ला भएको हुनाले उनी पनि सँगै काभ्रे गइन्।
सृष्टि सहनशील, परिश्रमी, मृदुभाषी थिइन्। उनको श्रीमानको परिवार सबै पढेलेखेका थिए। उनको श्रीमानलाई पनि श्रीमती पढाउनु पर्छ भन्ने दबाब थियो। विवाहको केही महिनामा नै बिएड पास भएको रिजल्ट आयो। लगत्तै कीर्तिपुरमा स्नातकोत्तर पढ्न श्रीमतीलाई भर्ना गरिदिएका थिए।
उनलाई कीर्तिपुर जाँदा त लाग्थ्यो, त्यहाँ पढ्ने मानिस बाहेक अरु कोही बस्दैनन्। क्रमशः दिनहरु बित्दै गए। गाउँ समाजले बिहे भएको यत्रो समय भइसक्दा पनि अझै बच्चा पाइन भन्न लागिसकेका थिए। उनी पहिलो वर्षको परीक्षा आउने बेलामा गर्भवती भइन्।
त्यस क्रममा बच्चालाई जन्म दिनुपर्ने थियो अनि परीक्षा पनि पास गर्नुपर्ने। माघमा परीक्षा सकी नसकी दिइन्। बच्चा जन्मने थियो वैशाखमा। नौ महिना पुगेपछि अस्पताल पुगिन्।
भगवानको लीला पनि कस्तो अनौठो, अस्पताल जाँदासम्म आमाबच्चा ठिक छ भनेको थियो। केही घण्टापछि मृत्यु भएको बच्चा जन्मियो। सुत्केरीको रगत अत्याधिक बगेको थियो। चिकित्सकले अर्को अस्पताल लैजान सल्लाहसँगै 'सुत्केरी ज्यान रगत अत्याधिक मात्रामा बगेको छ, नआत्तिनु सक्दो कासिस गर्छौं बचाउन गाह्रो छ' भन्ने जानकारी आफन्तलाई गराए।
घरपरिवार आत्तिने, रुने बाहेक के नै गर्न सक्थे र! भगवान भरोसा गरी बसिरहे। डाक्टरले भोलिपल्ट अर्को अस्पताल लैजाले सल्लाह दिए। 'हजुरहरु नआत्तिनुस्, हामीले अर्को अस्पतालसँग सल्लाह गरेका छौँ, उहाँहरुकोमा धेरै सुविस्ता छ। पठाउनुहोस्, हामी हेर्छौं भन्नु भएको छ' भनेर सम्झाए।
अर्को अस्पतालमा पुगेपछि चिकित्सकको टिम लागि पर्यो। ३२ प्वाइन्ट बल्ड १३ दिनसम्म चढाएर अनेक औषधि गरी आमाको ज्यान बचाए। २७ दिनको अस्पताल बसाइपछि उनीहरु घर फर्किए। त्यतिबेलासम्म आमाको ज्यान बचाउनु ठूलो कुरा थियो।
समय बित्दै गयो, पहिलो वर्ष त डाक्टरको फलोअपमा जाँदा आउँदा ठिक्क थियो। दोस्रो वर्षको पढाइ पनि रोकियो।
बिरामी भए लगत्तैको दसैँमा घर जाँदा सबैले आशीर्वाद दिए र भने- 'धन्न बाँचिस् र टीका लगाउन पाइयो।'
समय बित्दै गयो, अर्को दसैँमा घरपरिवारले भन्दा पनि गाउँलेले अनेक कुरा काटेको छिमेकीले सुनाए- 'तिमीले त अब बच्चा पाउदिनौ रे हो? तिम्रो त पाठेघर छैन रे हो? यहाँ गाउँमा अब तिमी आमा बन्न सक्दिनौ भन्ने हल्ला छ...।'
नियमित महिनावारी भइरहेको मान्छेलाई यस्ता अनेक कुरा सुन्दा अचम्म हुनु स्वभाविक थियो। डाक्टरले नभनेको, घरपरिवारलाई थाहा नभएको कुरा गाउँलेलाई कसरी थाहा भयो? सुन्दा अचम्म मान्नु पर्ने पनि थियो।
त्यसपछि कता-कता 'आमा बन्न नसक्ने नै हो त म? मलाई थाहा नदिएर कुरा लुकाएका हुन् कि' भन्ने अनेक तर्कना उनले मनमा खेलाइरहिन्। श्रीमानसँग रुन नसकेर दसैँलगत्तै तिहारमा माइत गएको बेलामा रातभरि रोएर मनको पिर हलुङ्गो बनाइ फर्केकी थिइन्।
उनको शिक्षाले त्यहाँ हुने केही थिएन। त्यसैले श्रीमानलाई फकाउँदा भलो छ भन्ने ठानेर 'अब बच्चा पाउनु पर्छ है' भनि सम्झाइन्। श्रीमानले 'हुन्छ' भन्ने बनाइन्। छरछिमेक, इष्टमित्रको मुख थुन्नका लागि बच्चा जन्माउने निर्णय गरिन्। आफ्नो ज्यान के-कस्तो हुने हो? केही थाहा थिएन। जेसुकै होस्, मरे कुरै सकियो नभए बच्चा चाहियो भन्ने अठोट गरिन्।
हाम्रो समाज परिवर्तन भएको छ भनेर जति भने पनि 'कि परेकालाई थाहा हुन्छ कि गरेकालाई' भने जस्तै हो। सृष्टिलाई जस्तै यो समाजमा पीडा लुकाएर बसेका नारी धेरै छन्। के उनको विश्वविद्यालयबाट पाएको प्रमाणले काम गर्यो? ज्यान जोखिममा राखेर पनि बच्चा चाहिने हाम्रो समाजलाई तपाईं के भन्नुहुन्छ?