देशमा स्थानीय चुनावको माहोल तातेको छ। राजनीतिक दलका नेता–कार्यकर्ता र तिनका उम्मेदवारहरू मतदाताका घरदैलो र खेतबारीमा पुगेका छन्। यसपालि स्वतन्त्र उम्मेदवारहरू पनि आफ्नो स्वर निकै बलियो बनाउँदैछन्।
अहिले चुनावको माहौलमा पनि यी नेताहरूलाई किन भोट दिनु, भोट दिएर हामीलाई के नै हुन्छ र चुनाव जितेपछि एक दिन पनि हाम्रो हालखबर सोध्ने होइनन् भन्ने निराशायुक्त भनाइ सुनिन्छ। यस्तो भनाइ नागरिकहरूमा व्याप्त असन्तुष्टिको अभिव्यक्ति हो, विरोधको स्वर हो।
नेपाली जनताको ठूलो त्याग र बलिदानले नै हो मुलुकमा लोकतन्त्र स्थापित भएको। लोकतन्त्रको एउटा अभिन्न पक्ष नागरिकहरू गोप्य मतदानमा सहभागी भई सक्षम नेतृत्व चुन्नु हो। मतदानमा सहभागी नहुनु खराब शासकबाट शासित हुन तयार हुनु हो। मतदानको अधिकारबाट आफ्ना लागि असल प्रतिनिधि छान्नु नागरिकको कर्तव्य हो।
भारतीय राजनीतिशास्त्री निरा चिण्डोकका अनुसार लोकतन्त्र एउटा साझा चौतारी हो जहाँ मानिसहरू भेला भएर उन्नत समाज सिर्जनाका लागि योगदान गर्न चाहन्छन् तर त्यसमा सबैको हैसियत समान हुनुपर्छ।
उक्त निष्कर्षले समावेशी लोकतन्त्रमा जोड दिन्छ। सबै नागरिकहरू असल नेतृत्व चयनका लागि उत्साही हुनुपर्छ। मतदान गरेर मात्र हुँदैन, असर र खराब छुट्याउन सक्नुपर्छ। लोकतन्त्रमा सबै नागरिक एक ठाउँमा अट्नुपर्छ। लोकतान्त्रिक प्रक्रियामा सबै सहभागी हुनुपर्छ। कोही छुट्नु हुँदैन, तब मात्र समाज उन्नत बन्न सक्छ।
अझ स्थानीय निर्वाचन त लोकतन्त्रको मुटु हो, देशको राजनीति र विकासको जग हो। जनताले आफ्नो सरकार अनुभूति गर्ने भनेकै स्थानीय सरकारबाट हो। नेपालमा सिंहदरबार शासनको प्रतीक हो।
खासमा सिंहदरबार केन्द्रीकृत शासन प्रणालीको प्रतीक हो। ‘गाउँगाउँमा सिंहदरबार’ भन्नुको अर्थ सिंहदरबारमा केन्द्रीकृत साधनस्रोत, शक्ति, अधिकार स्थानीय तहबाटै उपयोग पाउने अवसर हो।
विगत पाँच वर्षमा यस्तो अवसर ठिक ढंगले उपयोग भयो कि भएन भनेर मतदानमार्फत मूल्यांकन गर्ने अवसर पनि यही हो।
सिंहदरबारसँगै गाउँमा राजा पुगे, सिंहदबारको भ्रष्टाचार पुग्यो भन्ने टिप्पणी पनि हुने गरेको छ। गाउँको सिंहदरबारलाई केन्द्रीय शासनको प्रतिलिपि हुन नदिन मतदाता सचेत रहनुपर्छ। हामी विवेक पुर्याउने समयको संघारमा छौं।
असन्तुष्टि, प्रश्न र विरोध लोकतान्त्रिक प्रणालीको अर्को सौन्दर्य हो। लोकतन्त्रमा मतदाताले आफ्नो असन्तुष्टि र विरोध पनि मतदानबाट प्रकट गर्न सक्छ। यसै कारणले त पाँच वर्षमा जनप्रतिनिधिको निर्वाचन हुने गरेको हो।
आगामी ३० गते हुने स्थानीय तहको निर्वाचन लोकतन्त्र प्राप्तिपछि अर्थात संविधान जारी भएपछिको दोस्रो हो। विगत पाँच वर्षमा कतिपय ठाउँमा स्थानीय सरकारहरूले अपेक्षित परिणाम दिन सकेनन् होला। कतिपय ठाउँमा निकै राम्रो काम भयो होला र कतिपय ठाउँमा सन्तोजनक मात्र भयो होला।
धेरै वा थोरै जति भए पनि स्थानीय सरकार रहेको अनुभव भएको छ। नागरिकहरूले आफ्ना गुनासा सुनाउन पाएका छन्, प्रश्न गर्न र विरोध गर्न पाएका छन्। जिल्ला सदरमुकाम धाउनु पर्ने धेरै काम वडामै र पालिका कार्यालयमै हुन थालेको छ।
यो कमको उपलब्धि होइन। उपलब्धि संस्थागत गर्न समय लाग्छ। पाँच वर्षमा कायापलट होओस् भन्ने अपेक्षा अनुचित पनि हुन सक्छ। राजनीतिक प्रक्रिया र शासन प्रणाली क्रमिक विकासबाट संस्थागत र सुदृढ हुने हो। विगतमा गलत गर्नेलाई पाखा लगाएर तुलनात्मक रूपमा असल प्रतिनिधि चुनेर अघि बढ्दा मात्रै हाम्रा राजनीतिक संरचनाहरू बलिया हुँदै जान्छन्।
आखिर फलानाले के गर्यो र! यसपालि त भोट दिनै जान्नँ भनेर बस्ने हो भने शासनका राजनीतिक संरचनामा जनप्रतिनिधिका नाममा खराब मानिसहरू पुग्छन्। परिणाम के हुन्छ भने ठूलो बलिदानबाट प्राप्त लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ। प्रतिगमनका लागि बाटो बन्छ। यसर्थ पनि मतदानमा सहभागी भएर असल प्रतिनिधि चुन्नु नागरिक कर्तव्य हो।
संसारमा अझै केही देश छन् जहाँ नागरिकहरूले आवधिक निर्वाचनबाट आफ्ना प्रतिनिधि चुन्न पाउँदैनन्। उनीहरू एकाधिकारवादी शासन प्रणालीमा छन्। सीमित नेताद्वारा शासित छन्। हामी नेपाली नागरिकले मतदान गर्न पाएको ६ दशकभन्दा बढी भएको छ।
लोकतन्त्रमा मतदान नागरिकले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने माध्यम हो। यो अधिकारले आफूले इच्छाएका प्रतिनिधि आफ्नो मतमार्फत निर्वाचित गरेर राज्य सञ्चालनका लागि हस्तान्तरण गर्छ। नागरिकहरू आफ्नो प्रतिनिधिमार्फत शासित हुन्छन्। बालिग मताधिकारको प्रयोग गरी सक्षम नेतृत्व चुन्न आवधिक निर्वाचन प्रणाली विकास भएको हो।
मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचना छ। तीव वटै तहमा सरकार रहन्छन्। स्थानीय तहमा पनि स्थानीय कार्यपालिका र व्यवस्थापिका रहने संवैधानिक व्यवस्था छ। यसर्थ स्थानीय तह भनेको स्थानीय सरकार हो। त्यसैले त स्थानीय सरकारले कानुन बनाएर कार्यान्वयन गर्छ।
आजका बालिग मताधिकारवालाले आफ्ना लागि मात्रै मतदान गर्ने होइन, आफ्ना सन्ततिका लागि पनि हो। मतदान गर्न कुनै धक मान्न पर्दैन। कसैको डर पनि मान्नु पर्दैन। मतदान गोप्य हो। कुनै पनि उम्मेदवारले आफ्ना लागि मतदान गर्न कसैलाई पनि बाध्य बनाउन सक्दैन। उनीहरूले मतका लागि आग्रह गर्नु स्वाभाविक कुरा हो। मतदाताले आफ्नो विवेक प्रयोग गर्ने हो।
मतदाताको एक मत व्यक्तिको गलत शासकीय प्रवृत्ति अन्त्य गर्ने माध्यम र राजनीतिक दलहरूलाई सुधारको दबाब पनि हो। मतदान केवल अधिकार होइन, नागरिक कर्तव्य पनि हो। सक्षम, कुशल नेतृत्व चयन गरी राष्ट्र निर्माण कार्यमा सरिक हुने अवसर हो।
मताधिकार मात्रको रूपमा प्रयोग हुँदा त्यसको दुरुपयोग पनि हुन सक्छ। कर्तव्य बोध भएपछि दुरुपयोगको सम्भावना लगभग शून्य हुन्छ। यसकारण मतदानमा सहभागी बनौं, सक्षम नेतृत्व चुनौं, नागरिक अधिकार प्रयोग गरौं, नागरिक कर्तव्य पालना गरौं।