कति गाह्रो छ है हाम्रो समाजमा छोरी भएर बाँच्न? त्योभन्दा पनि गाह्रो रैछ अर्काको आँगनीमा बुहारी भएर बाँच्न।
कति सजिलो हुन्छ है छोरीलाई आफ्नो जन्मघरमा बाबुआमालाई यो गर्दिनँ, त्यो गर्दिनँ, यो आउँदैन, त्यो आउँदैन भन्न? त्यति नै गाह्रो हुँदो रहेछ अर्काको घरमा आफूले सकेको भन्दा बेसी गर्न।
अर्काको घर भन्दा 'कस्तो अर्काको घर भनेकी, त्यो त तिम्रै घर त हो' भन्छन् भन्नेले त। भन्न त कति सजिलै भन्छन् तिम्रै घर हो भनेर तर साँच्ची त्यो मेरै घर हो त?
मजस्तो हरेक दिन बाबाआमालाई घुर्की लाउने छोरीको घर कि मजस्तै आफ्नो खुसीलाई केही नसोची परिवारको इच्छाअनुसार चलिदिने बुहारीको घर?
मेरै घर हो त? या भनौँ मेरो सपनाहरूको अन्त्य भएको अर्को संसार?
एउटी छोरी मान्छेलाई बिहे सम्झिँदा रहर लाग्छ। जिन्दगीभर साथ दिने कोही सम्झिँदा आनन्द र सुरक्षित महसुस हुन्छ तर त्योभन्दा पनि बेसी बिहेपछि घर अनि ती सम्बन्धहरू सम्झेर डर लाग्छ।
हरेक चोटि समाजमा घटेका डरलाग्दा घटनाहरू देखेर हरेक छोरीको मन सिरिङ्ग हुने गर्छ। आफ्नै घरमा आफ्नै परिवारबीच आमाजस्तै ममताकी खानी ठानेकी सासूबीच, हरेक साँघुरा गल्लीमा हात दिने बाबाजस्तै ठानेको ससुराबीच, उसैगरी हरेक साथमा साथ अनि हाँसोमा हाँसो थपिदिने आफ्नै दाजुभाइ, दिदीबहिनीजस्तै ठानेका नन्द, आमाजू, देवर अनि जेठाजुबीच उसलाई असुरक्षित महसुस हुने गर्छ।
मुटु जोडजोडले धड्किँदै मन र मस्तिष्कबीच थुप्रै प्रश्नहरूको लडाइ हुने गर्छ। विवाहजस्तो पवित्र बन्धनसँग डर लाग्ने गर्छ।
मेरा सपनालाई पखेटा दिने बाबा-आमाजस्ता भएनन् भने?
कुनै दिनको दिनचार्य पछि थाकेको शरीर अनि दुखेको मनको मलमपट्टी गरिदिने कोही भएनन् भने?
मेरो माइतीजस्तो भएनन् भने?
यस्ता कुराहरूले हरेक पटक उसको मस्तिष्कमा प्रश्नवाचक चिन्हहरूको झटारो हानेको हुन्छ।
आजकाल मान्छेहरू पुग्न त ठूला सहर नै पुगिसके तर आफ्ना सानो सोच लिएरै पुगेछन्। छोरीलाई शिक्षित बनाउने भन्नेसम्म त पुगिसके तर अझै पनि ती साना शब्द बुहारीमै अड्की बसेछन्।
बुहारी शब्दमा हारी यसरी जोडदिएछन् कि कसैको अगाडि नझुक्ने छोरी आफ्नो खाली शीरमा सिन्दुर नामक रातो रेखा आएदेखि हरेक परिस्थितिमा हार्न पुग्दछे।
अर्काले दुःख गरेर मलजल गरी हुर्काएको फूललाई चटक्क टिपी लगेर कति मजाले ओइलाइ जान दिन्छन् है मान्छेहरू?
कसैको आँखाको नानी अनि मुटुको ढुकढुकीलाई कति सजिलै सस्तो बनाइदिन्छन् है मान्छेहरू?
किन यति अन्तर छोरी र बुहारीबीच?
बुहारी पनि त छोरी होइनन् र?
आखिर कहिलेसम्म छोरी हुँदा संसार जित्छु भनेर देखेका सपना बुहारी भएपछि त्यही घरको दैलोसम्म सीमित राख्नुपर्ने?
छोरी हुँदा भरेका केही किताबका पानाहरू बुहारी भएपछि अधुरै छाड्नुपर्ने?
आखिर कहिलेसम्म छोरी हुँदा देखेका रहरहरू बुहारी हुँदाका बाध्यतासँग हार्नुपर्ने?
आखिर कहिलेसम्म मेरो भाग्य यस्तै रहेछ भन्दै भाग्यलाई धिकार्दै रात दिन परेली भिजाएर बस्नुपर्ने?
आखिर कहिलेसम्म दैवले नै त्यस्तै चिताको रैछ भन्दै छोरीकै कर्मलाई दोष दिँदै हिँड्ने?
आखिर कहिलेसम्म मनसँग लडाइ गर्दै आएका ती हरेक प्रश्नवाचक चिन्हको उत्तर खोज्दाखोज्दै जिन्दगीसँग यताउति भौतारिने?
आखिर कहिलेसम्म?
आखिर कहिलेसम्म?
के साँच्चै बुहारी पनि त छोरी हैनन् र?