वैशाख महिनामा पनि दसैं-तिहारमा जस्तै सहरी क्षेत्रबाट गाउँ घरतिर फर्किनेहरूको भिड र कुनै चाडपर्व र उत्सवभन्दा कमको छैन।
दसैं तिहार जस्ता रकमइला चाडपर्वहरूमा जस्तै वेशाख महिनाको चुनावी वातावरण भएर होला आ-आफ्नो स्थानीय तहतिर जानेहरूको लहर निकै देखिन्छ।
फरक यति छ कि दसैंको बेला जति महंगो पैसा तिरे पनि टिकट पाउन धौधौ हुने तर यो वैशाख महिनामा सजिलै पैसा नतिरेरै पनि घर जान र आउन सहज वातावरण मिलाइ दिने माननीयज्यूहरूलाई सलाम छ!
दसैं तिहारको समयमा पटक-पटक फोन गरेर माननीय ज्यूहरूलाई घर आउन एउटा सिटमात्र मिलाइ दिए हुन्थ्यो भन्ने आशा गर्दा दुई शब्द बोल्न नरूचाउने, सिट उपलब्ध गराउन नसक्ने र सर्वसाधारण जनताहरूलाई घरसम्म आइपुग्न सवारी साधन उपलब्ध गराउन नसक्ने माननीयज्यूहरूले काम गर्न खोजे भने अथवा चाहे भने त सबै सम्भव हुने रहेछ भन्ने कुराको पुष्टि यो चुनावको समयले प्रष्ट रूपमा झल्काइदिएको छ।
अहिले चुनावको समयमा टिकट मिलाइदिन्छु भनेर फोन गर्ने हुनेवाला माननीयज्यूलाई मेरो एउटै अनुरोध छ कि माननीयज्यू, मलाई दसैंमा घर आउँदा बसमा एउटा सिटमात्र नपाउँदा बाटोमा एकदम सास्ती झेल्नुपर्छ, त्यसैले आज म विभिन्न कारण बस घर आउन सकिनँ र मेरो लागि तपाईं जिते पनि हारे पनि दसैंको बेला तपाईं मलाई एउटा मात्र टिकट पठाइदिनु ल भन्दा उचित होला कि नहोला?
आफ्नो नेतृत्व क्षमता, नैतिकता र हैसियतले भन्दा पनि पैसाले भोट किनिराखेको अवस्था यो स्थानीय तहको चुनावमा विछट्टै भेटिन्छ नैतिकता र नेतृत्वको क्षमता हुन नसक्ने उम्मेदवारहरूलाई आफ्नो अमूल्य भोट बिक्री गरेमा उहाँहरूबाट आफ्नो स्थानीय तहको विकास र समृद्धिको अपेक्षा राख्नु हामी मतदाताहरूको पनि मूर्खताको कार्य हुनेछ।
मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य जस्ता गरिमामय पदहरूमा उम्मेदवारको रूपमा खडा भएर चुनावी गीत गाउँदै सर्वसाधारण जनताहरूको घरदैलोसम्म धाइरहेका हुनेवाला माननीय व्यक्तिहरूको राजनीतिक ज्ञान र नेतृत्व क्षमता मापन गर्ने कुनै आधार चुनाव हुनुभन्दा अगाडि स्पष्ट पारिदिएको भए सायद सफल व्यक्ति छनोट गर्नेमा हामीलाई अलमल हुने थिएन होला।
आफ्ना चुनावी एजेन्डामाथि छलफल गर्न नसक्ने आफ्नो पार्टीको घोषणापत्र समेत राम्रोसँग अध्यापन गर्न नसक्ने र नेपालको संविधानको भाग, धारा, अनुसूची समेत राम्रोसँग भन्न नसक्ने व्यक्तिहरूको हातमा हाम्रो स्थानीय तहलाई सुम्पिँदा अबको पाँच वर्षभित्रमा कतिको विकास गर्न सक्षम होलान् भन्ने कुराबारे हामी सर्वसाधारण जनताहरूले सोच्नुपर्ने जरूरी देखिन्छ।
नेपाल सरकारले विकासका पूर्वाधारहरू भनेर घोषणा गरिएका एवम् मानिएका शिक्षा, स्वास्थ्य रोजगारी, कृषि, खानेपानी, यातायात आदि कुराहरूलाई लिएर छलफल तथा बहस गर्नुभन्दा पनि फलानो पार्टीको कमजोरी यस्तो हो, फलानो काम नलाग्ने पार्टी हो हाम्रो पार्टी जस्तो राम्रो कोही पनि छैन भन्दै एक अर्काको कुरा काट्ने प्रवृत्तिसँगै चुनावी गीत बाजागाजासहित फूलमाला र अबिर लगाएर घरदैलो धाउने उम्मेदवारहरूबाट देश उन्नतिको दिशातर्फ जान्छ भनेर आशा गर्नु 'आकाशको फल आँखा तरी मर' भने जस्तै हुन्छ भन्दा फरक पर्दैन होला।
एक शैक्षिक सत्र समाप्त हुँदासम्म पाठ्यपुस्तक नपुग्ने नेपालका दूरदराजका अथवा दुर्गम क्षेत्र भनेर घोषणा गरिएका ठाउँमा माननीयज्यूका चुनावी प्रचारका पर्चाहरू रातारात कसरी पुग्छन् होला भन्ने प्रश्न गर्न मन लाग्छ।
यो प्रवृत्तिलाई हेर्दाखेरी यदि राजनीतिक दलहरूले चुनावको समयमा जस्तै अन्य समयमा पनि यसरी नै लागि पर्ने हो भने त विकास सम्भव छ भन्ने कुरा प्रष्ट्याएको छ र सबैले सचेत भएर काम गर्न खोज्यो भने विद्यार्थीहरूका लागि पाठ्यपुस्तक पनि समयमै सम्बन्धित विद्यालयहरूमा पुर्याउन सकिन्थ्यो कि भन्ने चेतना हाम्रा माननीयज्यूहरूमा कहिले आउला।
सर्वसाधारण जनताहरूले वडा अध्यक्षको उम्मेदवारको रूपमा खडा भएका व्यक्तिहरूलाई तपाईं किन चुनाव लडिरहेको भनेर प्रश्न गर्दा उहाँबाट म किन चुनाव लडिरहेको हुँ भन्ने प्रश्नको जवाफ आउन सक्दैन, तबसम्म आफ्नो स्थानीय तहलाई विकाससँग जोड्न सकिँदैन भन्ने कुरामा दुईमत छैन।
आफ्नो पार्टीको एजेण्डाको बारेमा बोल्न नसक्ने अलमल पर्ने, चुनाव जितेपछिको आफ्नो भिजनको बारेमा स्पष्ट हुन नसक्ने आफ्ना स्थानीय तहमा रहेका हजारौं समस्याहरूमध्ये आफ्ना स्थानीय तहमा रहेका चार वटा समस्याहरूलाई स्पष्ट पार्न नसक्ने र रोजगारीका अवसरहरूबारे बोल्न नसक्ने व्यक्तिहरू भोट माग्ने विकल्प भोट कसरी किन्ने बुद्धि विवेकले काम गर्न नसकेको ठाउँमा पैसाको बल प्रयोग गर्नु उचित होला कि नहोला भनि सोच्नुपर्ने बाध्यता छ।
मेरो आफ्नो स्थानीय तहलाई केलाएर हेर्दाखेरी यो चुनावका लागि टिकट पाउनेहरूको जमातलाई हेर्दा धेरैजसो उम्मेदवारहरू व्यापार व्यवसायमा संलग्न व्यक्तिहरू रहेका छन् यस्ता व्यक्तिहरूको चुनावमा जीत भएछ भने आफ्नो राजनीतिक तथा वडा अध्यक्षको जिम्मेवारी बहन गर्नुभन्दा पनि आफ्नो व्यापार व्यवसायलाई बढी महत्व दिने सम्भावना प्रचुर मात्रामा रहेको छ भन्दा फरक नपर्ला सायद।
दसैं-तिहारमा आफन्तहरू तथा दिदी बहिनीहरूलाई गिफ्ट उपहार दिएजस्तै सर्वसाधारणहरूलाई गिफ्ट बाँडेर भोट माग्ने नेताहरूको लहर घरदलौमा निकैबेसी देखिन्छ।
यदि हामीले आफ्नो अमूल्य भोटहरूलाई माननीयहरूको व्यापारसँग नजोडिकन सही ठाउँमा सदुपयोग गर्न सक्यौ भने र भोट पैसामा नबेचिकन हामीले सही व्यक्तिको छनोट गरेर दिएको हो भने भोलिका दिनमा हुने सबै विकास निर्माणका कार्यहरूमा हामीले औंला उठाउन पायौं। तर उम्मेदवारलाई भोट बेचेको हो भने हामीले आफूले बेचेको वस्तुमा कुनै पनि हक लाग्दैन। जस्तै: पैसामा बेचेको भोटले पनि भोलिका यी ५ वर्षका दिनहरूमा केही पनि बोल्न नमिल्ने अवस्था सिर्जना गर्न सक्छ।
त्यसैले मतदाताहरूले आफ्नो अमूल्य भोट नबेचिकन राम्रो ठाउँमा लगानी गर्यो भने स्थानीय तहसँगै राष्ट्र उन्नतितिर जान सक्थ्यो कि जनताहरूलाई टिकट र पैसाले होइन बरू तपाईंको क्षमता र नैतिकताले आफ्नो पार्टीतिर अर्थात् पक्षमा भोट हाल्न आकर्षित गर्नुहोस्।
अहिले टिकट काटेर सहजै घर जाने वातावरण सिर्जना गर्नुभन्दा पनि सर्वसाधारण जनतालाई सधैंभरी ढुक्क साथ सहजै सुपथ मूल्यमा टिकट पाउने र सुरक्षित भएर यात्रा गर्ने पाउने वातावरण सृजना गर्न सक्ने प्रतिबद्धता गर्नुहोस्।
भोट किनेर माननीय बन्नुभन्दा सबैको मन जितेर माननीय बन्ने प्रयास गर्नुहोस्, तपाईंलाई हाम्रो विशेष अनुरोध छ।