२०७९ वैशाख ३० गते शुक्रबारको दिन
स्थान: श्री पशुपति मावि, रातामाता
मुसिकोट-२, रुकुम पश्चिम।
बिहान ३:३० बजे निद्रा खुलेपछि स्कुलको लाइब्रेरी कक्षको चिसो भुइँमा ओछ्याइएको कालो पिपी फोम, त्यो माथिको रातो तन्ना र चाइनिज ओढ्ने ब्ल्याङ्केट पन्छ्याउँदै उठ्छु।
सँगै भुइँमा मस्त निदाएका सहकर्मी साथीहरूलाई नियाल्दै बाहिर निस्कँदा ड्युटीका प्रहरी भाइको मोबाइलमा गीत बजिरहेको हुन्छ, 'जाग लम्क चम्क हे, नौजवान हो...'
आफू फ्रेश भई ताली र आवाज संकेतबाट अन्य साथीहरूलाई पनि बिउँझाउने र उठाउने प्रयास गर्छु।
बिहान ४:३० बजे अघिल्लो दिनको योजनाअनुसार नै केही म्यादी प्रहरी भाइबहिनीहरू खाना बनाउने तरखरमा लाग्छन्। केही साथीहरू हिजो तयार पारिएको मतदान स्थलमा पोस्टर टाँस्ने, टेबल-कुर्सी लगायतका सामाग्रीहरूको व्यवस्थापनमा लाग्छन्। विद्यालयमा आवश्यक टेबल कुर्सी पर्याप्त नभए पनि जे-जस्तो पाइन्छ सो अनुसारकै स्थल व्यवस्थापन गरिन्छ।
बिहान ५:३० बजे पालो मिलाउँदै मेस समूहले तयार पारेको खाना, गेडागुडी र झोल अनि अलि पाक्न बाँकी सिमी र आलुको तातो तरकारी सहितको खाना खाइन्छ। पुन: मतदान स्थलको व्यवस्थापनको अन्तिम तयारीमा जुटिन्छ।
बिहान ६:३० बजे म्यादी भाइबहिनीहरूसहित कलमजीको कमाण्डमा खटिएका सुरक्षा सदस्यहरूलाई निडर, निष्पक्ष र उच्च मनोवलका साथ विशेष जिम्मेवारी बहन गर्न निर्देशन सहितको अनुरोध गरिन्छ। अघिल्लो दिनकै बिहान ६:०० बजे उपस्थितिको लागि दल/उम्मेदवारका प्रतिनिधिहरूलाई अनुरोध गरिए पनि केही सदस्यहरू ६:३० बजेसम्म पनि पूर्ण रुपमा उपस्थित भैसकेका थिएनन्।
सहायक मतदान अधिकृत केशवजीलाई आवश्यक मुचुल्काहरूको तयारी गर्न र गेदलाल दाइ, देवीलालजी, गङ्गामायाजी, लक्ष्मणजी, विवेचनाजी लगायतका अन्य सहयोगीहरूलाई मतपेटिका, शिलको तयारी गर्न लगाइन्छ।
६:४५ बजे उपस्थित प्रतिनिधिहरूको रोहवरमा मुचुल्कासहित खाली मतपेटिकामा नियमानुसार शिल लगाउने, स्वस्तिक छाप परीक्षण, मतपत्रको शिलबन्दी खोल्ने कार्य गरिएपश्चात ७ बजे मतदान सरु हुन्छ। मतदान अधिकृतको मोबाइललाई घडीको आधार मान्ने जानकारी गराइन्छ।
सरुमा, मतदाता रुजु गर्ने स्वयमसेवक भाइ र कर्मचारी साथी, सोपछि नङमा मसी लगाउने बहिनी, सोपछि तथ्याङ्क भर्ने सहयोगीहरू र उनीहरूका पछाडि सिटमा रहेका दल/उम्मेदवारका प्रतिनिधिहरूलाई अघिल्लो दिनको छलफलबमोजिम नै मतदाता रुजु गर्ने र चिन्ने पहिलो जिम्मा लगाई त्यस विषयमा कुनै विवाद नगर्ने र विवाद भए सहमति गराउने अनुरोध गरिन्छ।
बिहान ९:३० बजे सौहार्दरुपमा करिव-करिव आधा मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरिसक्छन्। मतदाताहरू पनि उत्साहित र खुसी देखिन्छन्। कर्मचारीहरू, प्रतिनिधिहरू पनि हँसिला र जाँगरिला देखिन्छन्। ठूलो कम्पाउन्ड भित्रको माहोल र बाहिरी वातावरण पनि बाहानी सूर्यको प्रकाशमा उज्यालो मनमोहक शान्त देखिन्छ। अशक्त मतदातालाई सहयोग गर्ने एकाघरको परिवारको सदस्यको पहिचानमा प्रतिनिधिहरूबाट पूर्ण सहयोग प्राप्त भै रहन्छ।
बिहान १०:३० बजे सूर्यको प्रकाश छिप्पिन थालेसँगै होल पनि विस्तारै मनतातो भएको हो कि? भन्ने भान पर्छ। सँगैको 'ख' बुथमा अलिअलि हल्लाखल्ला गुञ्जन थाल्छ। सौहार्द रुपमा खस्ने संख्याको झण्डै ६० प्रतिशत मत खसिसकेको अवस्थामा एकजना महिला मतपत्र हातमा लिई गोप्य कक्ष जाने क्रममा भन्छन् 'म आँखा देख्दिनँ, सहयोग गर्नु पर्यो सर।'
तत्कालै दिमागमा आएको विचारसँगै मेरो दाहिने हातको केही औँलाहरू देखाएर 'कति छन् भन्नुस् त?' भनि जिज्ञासा राख्दा ती दिदी त हौसिएर' तिन' भन्नुहुन्छ। एकपटक पछाडि प्रतिनिधिहरू तर्फ फर्कें। सबैजना हामीलाई हेरि मुसुमुसु हाँसिरहेको पाएँ। तत्कालै उत्साहित हुँदै ती दिदीलाई आफै मत हाल्न सक्नेमा विश्वस्त गराई अगाडी पठाएँ। उनले सहजै रुपमा आफ्नो दायित्व पूरा गरी त्यहाँबाट बाहिरिन् पनि।
धेरै जनाले मतपत्र पाएपछि कहाँ जाने? के गर्ने? कसरी चिन्ह लगाउने? भनि अल्मलिरहँदा आफूले केही गर्न नसकिएको मनमनै महसुस गरेँ। सायद मतदाता शिक्षामा थप जोड आवश्यक छ।
बिहान ११:३० बजे शान्तिपूर्ण रुपमा खस्ने मत संख्याको झण्डै ८० प्रतिशत मत खसिसकेको अवस्थामा सँगैको केन्द्रमा केही वादविवाद सुनिन्छ। धेरै हल्लाखल्ला भएपछि सुरक्षा प्रमुखलाई शान्त पार्न अनुरोध गर्छु।
सँगै जोडिएको 'ख' बुथका मतदान अधिकृत कुवेर सर सरल, शान्त स्वभावका छन्। भएछ के भने, 'ख' बुथमा एउटा काका नाता पर्ने व्यक्तिको मत अर्को सँगै आएको भाइले सँगै आई हाल्न भ्याएछन्। मतदान प्रतिनिधिहरू र कर्मचारीहरूले मेसो नै पाएनछन्। सो देखिरहेका लाइनका व्यक्तिहरूले 'उनीहरू दुई जना सम्बन्धित होइनन्' भन्दै सोको आवाजसहित विरोध जताइरहेको हो कि? भन्ने महसुस गरेँ।
केही क्षणमा सो काका पर्नेको मत हालिदिने व्यक्ति हाम्रो बुथमा आफ्नो मत प्रयोग गर्न आइपुग्छन्। उनको परिचयपत्र र नामावली माग्छु, सबै ठिकै देखिन्छ। त्यहाँ रहेका प्रतिनिधिहरूले, 'उनले आफ्नो मत प्रयोग गरिसक्यो, अब दोहोरो हाल्न पाइन्न' भनि सामान्य विवाद सरु हुन्छ।
प्रतिनिधिहरूसँग 'अब के गर्ने?' भनि सुझाव माग गर्छु, तर आ-आफ्ना पक्षगत कुरा राख्न सरु गर्छन्। सो व्यक्तिलाई केही समय छुट्टै स्थानमा राखी आफू थप मतपत्रमा दस्तखत गर्ने कार्यमा लाग्छु।
ठोस समाधान नलाग्ने भएपछि प्रतिनिधिहरूकै रोहवरमा ती काका पर्ने व्यक्तिलाई झिकाई उनको सट्टाको मत ती काका पर्नेलाई नै प्रयोग गर्न दिइन्छ। तत्कालको लागि समस्या समाधान हुन्छ।
घाम कडा हुन थाल्छ। चर्को घामले कर्मचारी साथीहरू असिनपसिन हुन थाल्छन्। केही थकित भएका देखिन्छन्। प्रतिनिधि साथीहरू पनि केही ओइलाएझैँ छातामुनि लुकेको देख्छु। सहयोगी गेदलाल दाइलाई सबैजनालाई चिसो पानी खुवाउन भन्छु।
पुन: आफू थप मतपत्रमा सहीछाप गर्न तल्लीन हुन्छु। मेहनति सहायक मतदान अधिकृतले नजिक बोलाउँदै एउटा मतपत्रमा दस्तखत छुटेको जानकारी गराउँछन्। 'हो र?' भन्दै सहीछाप गर्दै 'राम्रोसँग चेक गरेर मात्र दिनुहोला है' भनि अनुरोध गर्दछु। आफू पनि दस्तखत छुटेको छ कि भनि बेलाबेलामा चेक गरिरहेकै हुन्छु।
बेलाबेलामा गोप्य कक्षको स्वस्तिक छापहरू र मसी पनि परीक्षण गरिरहेकै हुन्छु। सुरक्षाको सर मतदान प्रगतिको विवरण माथिल्लो तहमा रिपोर्टिङ गर्नमा व्यस्त देखिन्छन्।
दस्तखत गर्न व्यस्त म, एकाएक कतैबाट आएको कोलाहल आवाजले झस्कन्छु। एक्कासीको कोलाहलले भिडको रुप लिन थाल्छ। मतदान स्थलको सीमा पर्खाल, मूल गेटमा आक्रोशित युवाहरू भित्र प्रवेश गर्ने प्रयास गरिरहेको पाउँछु।
'के भयो?' भनि जिज्ञासा राख्दा सबै कर्मचारीहरू, प्रतिनिधिहरू, सुरक्षा व्यक्तिहरू अन्योलमा पाउँछु। 'पस्यो, पस्यो, त्यसलाई ठोक....भन्ने शब्दहरू सुनिरहँदा' दल प्रतिनिधि मध्येका एकजनाले एउटा युवकलाई भित्र प्रवेश गराएको स्थिति रहेछ, त्यो पनि बाहिर निस्कने बाटोबाट।
तुरुन्त त्यो युवक र प्रतिनिधिलाई नियन्त्रणमा राखी सर्वप्रथम मतपेटिका र बाँकी मतपत्रको सुरक्षाको लागि निर्देशन गर्छु। सँगै उभिएको सुरक्षाको साथीलाई थप सुरक्षा व्यवस्थाको लागि खबर गर्न जानकारी गराउँछु।
उग्र भिड मध्ये केही व्यक्तिहरू पर्खालबाट हामफाली भित्र प्रवेश गर्ने क्रममा देखिन्छन् भने कमजोर मुलगेटलाई उखाली फालिहाल्ने गरी भिड अनियन्त्रित तर्फ अग्रसर भैरहेको पाउँछु। सामान्य अवस्थाको त्यो मतदान स्थल मिनेट भरिमै रणभूमि हुने अवस्थामा पुग्छ।
बाहिरको हल्लाखल्ला र मानिसहरूको भागदौडले असामान्य स्थिति इंकित गर्दै गर्दा मौकामा मोबाइल प्रहरी र सशस्त्र प्रहरीको उपस्थित भएको देख्छु। केही मिनेटमै स्थिति सामान्य अवस्थामा फर्कन्छ।
बिहान १२:३० बजे कर्मचारी साथीहरू 'परबाट हानेको ढुङ्गाले अलिकतिले मात्र लाग्नबाट जोगियो' भन्दै कुरा गरिरहेको सुन्छु। मतदान स्थलका सुरक्षा प्रमुखले ठाउँ-ठाउँमा जिम्मासहित खटाइएका मध्येका मतदान गरिसकेपछि मतदाताहरूलाई बाहिर पठाउने स्थानमा खटिएको म्यादी प्रहरी भाइलाई 'किन यो ठाँउबाट मान्छे भित्र आउन दियौ?' भनि सचेत गराइरहँदा, त्यो भाइ त्रसित र लज्जित भैरहेको पाउँछु।
'भैहाल्यो, अब यस्तो गल्ती नदोहोर्याउनू, यहाँबाट कसैलाई प्रवेश नगराउनू' भनी मनोबल उच्च बनाउने प्रयासमा हुन्छु। तर कता-कता आफ्नो मन पनि सम्भावित घटनाको परिणाम र अहिलेको शान्त वातावरणको अवस्था बारेमा सोचेर मलिन हुन्छु।
अशक्तलाई सहयोग गर्ने भनि मूल गेटबाट पटक-पटक भित्र प्रवेश गर्ने प्रयास गरिरहेको ती युवकलाई सुरक्षाले रोकिरहेको रहेछ। उनलाई केन्द्रभित्र प्रवेश गराउनका लागि एउटा दलको प्रतिनिधिले खाजा खान बाहिर निस्कने बहानामा अनधिकृत रुपमा भित्र प्रवेश गराइरहँदा बाहिरका मानिसहरूले देखेपछि एकैपटक आक्रोशमा आएको रहेछ।
त्यति उग्र आक्रोश पनि किन चाहिएको थियो र? हामी टिमले सो व्यक्ति आधिकारिक हो, होइन? रुजु गर्ने नै थियौँ, हाम्रा कर्मचारी टिम, प्रतिनिधिहरू त त्यसैका लागि त थियौँ नि, वा 'सहज रुपमा हामीलाई जानकारी गराउँदा नि हुने थियो नि' भनि मनमनै सोचिरहन्छु।
राम्रो चुस्त र व्यवस्थित सुरक्षा प्रणालीले सो भिडलाई समयमै व्यवस्थापन गरिदिएपछि केही मिनेटैमा मतदान सुचारु हुन्छ। सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको जानकारी सम्बन्धित निकायमा गरिन्छ। आफ्ना टिमलाई पुन: सामान्य रुपमा काम गर्न उत्साहित गरिन्छ।
भिड र होहल्ला मत्थर हुँदै गर्दा अनावश्यक होहल्ला र आक्रोशले सामान्य घटनालाई पनि असामान्य र अतिरञ्चजित बनाउन मिनेटै नलाग्ने मनन गर्छु। खटिएका कर्मचारीहरू, प्रतिनिधीहरू तथा सुरक्षा व्यक्तिहरू हरेक मिनेट थप चनाखो भएन भने सानो झिल्कोले बन डढाएझैँ हुने स्थिति पनि महसुस गरिन्छ।
विशेषगरी म्यादी प्रहरीहरूको मनोबल र जिम्मेवारी साथै दल/उम्मेदवारहरूका प्रतिनिधिहरूको भूमिका शान्तिपूर्ण निर्वाचन संचालनको पहिलो सर्तको रुपमा देख्छु।
१:३० बजे स्थिति सामान्य छ। लाइनहरू प्रायः खाली छन्। छुटपुट मतदाताहरू प्रवेश गरिरहेका छन्। चर्को घाममा सबैजना सेलाएझैँ देखिन्छन्। 'टिकटक बनाउने हो कि?' भन्छन् कोही साथीहरू, त्यो पिर भुलाउन। बिस्कुटको एक/एक पाकेट र जुस प्राप्त हुन्छ। बल्ल बिहान खाएको खानाको सम्झना र पेटमा भोक लागेको हो कि? भन्ने महसुस हुन्छ। त्यतिखेर त्यो सानो पुरिया बिस्कुट र जुसले शरीरलाई खुब मद्दत गरेको भान हुन्छ।
२:३० बजे बुथमा मतदाताहरू खाली छन्। सबै कर्मचारीहरू र प्रतिनिधिहरू छायाको खोजिमा देखिन्छन्। बिहानैदेखि पर्यवेक्षकको परिचयपत्र भिरेर बसेका एकजना प्रतिनिधिले 'सर, मसँग पनि मतदाता परिचय पत्र छ, मैले भोट हाल्न मिल्छ कि मिल्दैन?' भनि जिज्ञासा राखेपछि सम्बन्धित निकायमा सो बारेमा सोधिहाल्छु। सम्बन्धित मतदाता सोही स्थानमा पर्यवेक्षक खटिन नपाउने व्यवस्था जानकारी पाएपछि उनलाई केन्द्र बाहिर जान अनुरोध गर्दछु।
३:३० बजे पानी पर्ने सम्भावन देखिन्छ। राखिएका त्रिपालहरू निकालेर, मतपेटिका तथा गोप्य कक्षलाई माथि वरण्डामा स्थानान्तरण गरिन्छ। अहिलेसम्मको मतदान प्रगतिको तथ्याङ्क तयारी गर्ने कार्य थालिन्छ। सुरक्षाको साथीले बाहिरका बुथहरूबाट कर्मचारीहरू र म्यादी प्रहरी हाम्रो केन्द्रमा मतदान गर्न आइरहेको खबर सुनाउँछन्। त्यसको व्यवस्थाका बारेमा जिल्ला निर्वाचन कार्यालयमा 'के गर्ने होला?' भनि पुन: जिज्ञासा राख्छु। तर स्पष्ट जवाफ पाउँदिनँ।
४:३० बजे मतदान सकिन आधा घन्टा बाँकी रहेको सूचना जारी गर्छु। कोही आइपुग्ने सम्भावना नरहेपछि सम्बन्धित फाँटवारि तयारी गरेपश्चात उपस्थित प्रतिनिधिहरूको रोहवरमा ठिक पाँच बजे मुचुल्कासहित सम्पूर्ण कागजातहरू र मतपेटिकालाई सुरक्षित रुपमा पोका पारिन्छ। सम्बन्धित कर्मचारीहरू र सुरक्षा सदस्य बाहेकका सबैजनालाई मतदान स्थलबाट बाहिर गई स्थल खाली गर्न सुरक्षालाई अनुरोध गर्छु।
५:३० बजे अर्को मतदान केन्द्र छिङ्गबाट आउने सुरक्षा सहितको गाडीले हामीलाई खलङ्गास्थित निर्वाचन अधिकृतको कार्यालय पुर्याउने सूचना पाउँछु। कम्पाउन्ड बाहिर फेरि पनि होहल्ला सुनिन्छ। मूल गेटमा फेरि भिड देखिन्छ। वरपर डाँडापाखामा मानिसहरू हुलमुल चहलपहल बढ्न सरु हुन्छ।
सुनिन्छ, बाहिर सामान्य दोहोरो झडपको स्थिति पनि छ रे! मतपेटिका र टोली लान बाटो क्लियर छैन। ढुङ्गामुढा र तोडफोडको सम्भावना छ।
साँझ ६:३० बजे अँध्यारो हुने क्रम बढ्दैछ। गेट बाहिरको स्थिति झन् तनावपूर्ण छ। सम्बन्धित जिल्लाका सुरक्षा संयन्त्रसँग यथाशीघ्र उद्वारको लागि अनुरोध गर्दछु। गाडीसहित आइपुगेको सुरक्षा टोलीले भिड क्लियर गर्ने प्रयास गर्छ। करिब साँझको सवा सात बजे बाटो क्लियर गर्दै मतपेटिका सहितको हामी चढेको गाडी मतदानस्थल छोड्न तयार हुन्छ।
सुनिए अनुसारको सम्भावित ढुङ्गामुढाको अवस्थालाई मध्यनजर गर्दै हामी दोस्रो बाटोबाट खलङ्गा पुगिन्छ। त्यहाँ मतपेटिका र सम्बन्धित सामाग्रीहरू बुझाइ सकिएपछि तुलनात्मक रुपमा लामो श्वास तानिन्छ र अन्त्यमा मूख्य निर्वाचन अधिकृत सरलाई 'आज साह्रै रमाइलो भयो, सर' भन्दै आ-आफ्नो बासस्थानतर्फ लागिन्छ।