राज्यले चाहेको बखत सेवा गर्नु प्रत्येक नागरिकको जिम्मेवारी हो। त्यसमा पनि सेवा नै गर्छु भनेर सरकारी सेवमा प्रवेश गरेकाहरूको त यो अनिवार्य दायित्व नै हो। यसबाट पन्छिन खोज्ने कुरै भएन। व्यक्तिगत र पारिवारिक महत्वका केही कामहरू थाती राख्दै स्थानीय तह निर्वाचनमा आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न तयार भएँ।
एसियाकै सबैभन्दा ठूलो उपत्यका, स-साना बहाबका नदीहरूको संख्या धेरै भएको जिल्ला। दुई वटा उपमहानगरपालिहरू भएको जिल्ला। डङ्गुरा जातिको मूल बसोबास भएको जिल्ला। पुरन्धारा नामक प्रसिद्ध झर्ना भएको जिल्ला। लोक सेवा तयारीको क्रममा दाङको बारेमा धेरैले पढ्ने कुरा यिनै हुन्। जुन मैले पनि केवल पढेकी मात्र हुँ।
कुनै पनि ठाउँ बुझ्न त्यसलाई पैतलाले हेर्नुपर्छ रे। जागिरको जीवनको पैतला परेपछि यो ठाउँलाई नजिकबाट बुझ्दै छु। स्थानीय तह निर्वाचन, २०७९ ले यस ठाउँलाई थप नजिकबाट बुझ्ने मौका दियो।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ११ बमोजिम मतदान अधिकृतको रुपमा नियुक्ति बुझियो। बबई गाउँपालिका वडा नम्बर- १ स्थित गँगटे मतदान केन्द्रका लागि। दाङको कर्णाली भनेर मैले यसको नाम सुनेकी थिएँ। सुगम स्थानमा मतदान गराउनुको अनुभव त थियो नै। यो पटक भने फरक अनुभव बटुल्न पाउने भएँ भनेर निकै उत्साहित थिएँ।
२६ गते साँझको ३ बजे दाङ जिल्ला अदालतको प्राङगणबाट यात्रा सुरु भयो। सुरक्षाकर्मी सहितको टोली घोराहीबाट पश्चिमतर्फ लाग्यो। घोराही र बबईको बीचमा तीन वटा स्थानीय तह पर्ने रहेछन्। तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका। दङ्गीशरण र शान्तिनगरको साँध सिमाना पनि रोचक खालकै थियो।
टोलीभित्र यस ठाउँलाई राम्रोसँग बुझेका व्यक्तिहरू पनि हुनुहुँदो रहेछ। त्यसैले त दूरी बढ्दै गर्दा मेरा कौतुहलहरू घट्न थाले। त्यो दिन गँगटेमा भएको वर्षाको कारण गन्तव्य पुग्न सकिँदैन भन्ने खबर पायौँ। त्यो रात हाम्रो बसाइ अत्यन्त कडा सुरक्षाको बीचमा हापुरेमा हुने भयो। द्वन्दकालमा नाम प्रसिद्ध भएको हापुरे त्यही ठाउँ हो भन्ने जानकारी पाएँ। हाल त्यो ठाउँमा बबई गाउँपालिकाको कार्यालय रहेछ। निर्वाचन अधिकृतको कार्यालय पनि त्यही स्थापना गरिएको थियो।
अर्को दिन बिहान सबेरै उठेर गाउँपालिकको कार्यालय एक फन्को लगाएँ। बजारबाट केही पर यथेष्ठ क्षेत्रफलमा फैलिएको सफा अनि धेरै हदसम्म वातावरणमैत्री। गाउँपालिकाको भवन राम्रो बनेको रहेछ। त्यो स्तरको गाउँपालिकाको कार्यालय कमै होलान् नेपालमा। लगभग ७ बजेतिर हापुरेबाट गँगटेको लागि हिँड्यौँ। बाटोमा ट्वाङ खोला भन्ने ठाउँ रहेछ। दाङ र सुर्खेतलाई जोड्ने सबैभन्दा छोटो बाटो हो रे। अहिले दाङबाट कोहलपुर हुँदै सुर्खेत जानु पर्ने बाध्यता कम भएको रहेछ।
केही अगाडि पुगेपछि सुरु भयो जोखिमपूर्ण यात्रा। अघिल्लो दिनको पानीले बाटो अत्यन्त चिप्लो। साँघुरो पनि त्यस्तै। ठाउँ-ठाउँमा ओर्लंदै र गाडी धकेल्दै गर्नुपर्ने। कहीँ-कहीँ त छेउछाउका अवरोध हटाउन खन्नुपर्ने बाध्यता पनि आयो। २४ किलोमिटर दूरी पार गर्न साढे तीन घन्टा लाग्यो। यो समय नै पर्याप्त छ बाटोको अवस्था कल्पना गर्न। जेनतेन पुगियो मतदान केन्द्रमा। सरस्वती जनता मावि गँगटे।
वरिपरि डाँडा बीचमा समथल भूभाग। अलौकिक प्रेम बाँड्दै अविरल बगिरहेको बबई नदी। अनि ससाना घरहरू। बाल्यकालमा यस्तो चित्र खुब कोरिन्थ्यो। सबैले कोर्छन् सायद। त्यहाँ पुग्दा यस्तै यथार्थ धरातलीय चित्रभित्र स्वयं आफै नै छिरेजस्तो भयो।
विद्यालयको चौरमा पुगेर वरिपरिको दृश्य नियाल्दा सबै दुःख बिर्सेजस्तो भयो। सुर्खेत, बाँके र सल्यानको सिमानमा पर्ने दाङ जिल्लाको गँगटेको प्राकृतिक सुन्दरता देखेर मन खुसी भयो। केही दिनको लागि भए पनि शरीरमा प्रशस्त अक्सिजन प्रवाह हुने भयो। रगतमा हेमोग्लोबिनसँगै उत्साह पनि बग्ने भयो। यस्तै सोचेर दङ्ग बने केही बेर त।
तर पेटमा भोकको तापक्रम बढेपछि बबई नदीबाट बग्ने शीतल हावाले आनन्द दिन छोड्यो। टोली खाना बनाउने सुरसारमा जुट्यो। पानीको लागि भने केही टाढाको पँधेरोको विकल्प थिएन। पानीको अत्यन्त अभाव रहेछ। पिउने र सिँचाइ गर्ने दुवैको।
त्यो त्यही बबई नदी हो जसले बर्दिया जिल्लाको हजारौँ हेक्टर भूमि सिचाई गर्ने ल्याकत राख्दछ। बर्दियामा राष्ट्रिय गौरवका योजनाको रुपमा बबई सिचाई योजना सञ्चालित छ। तर त्यही बबई त्यहाँ बेबजाह बगिरहेको भान हुन्छ।
त्यहाँका स्थानीयबासीहरूको लागि पायक पर्ने बजार भनेको बाँकेको कोहलपुर रहेछ। 'हापुरे पुग्न ६ घन्टा लाग्छ हिँडेर। कोहलपुर ४ घन्टामा पुग्गेलिन्च। हामी त सरकारी कामको लागि मात्रै जान्छम् हापुरे त। बिहान कोहलपुर गइम भने साँझ सामान बोकेर घरै आइपुग्छम् हामी ता' एक स्थानीयले भने। हाम्रा कयौँ सीमाङ्कनहरू कति अवैज्ञानिक र अव्यवहारिक छन्, त्यसको एक ज्वलन्त उदाहारण हो यो।
विकटतामा नै भावनात्मक निकटता भेटिने रहेछ। मतदानको दिनसम्मै सबैको साथ र सहयोग पाइयो। प्रकृतिले पनि त्यो दिन साथ नै दियो। मौसमको भर हुँदैन भन्छन्। होइन रहेछ। माता प्रकृति स्वयमले पनि प्राकृतिक न्यायको सिद्धान्तलाई आत्मसाथ गरिन् त्यो दिन।
सबै काम सोचेजस्तै गरी सम्पन्न गरियो। टोलीका सबैले आआफ्नो जिम्मेवारी राम्रै तरिकाले पूरा गर्ने प्रयत्न गर्यौँ। तर पोल बुकका केही पानाहरू भने भर्नै सकिएन। तालिममा सिकाएअनुसार पर्यवेक्षकका सुझाव र सल्लाह र पृष्ठपोषण पनि पोलबुकमा भर्नुपर्ने हो। त्यसो गर्नको लागि त पर्यवेक्षक पनि त्यहाँ पुग्नु पर्यो नि!
स्थानीय तह पर्यवेक्षण निर्देशिका, २०७३ मा निर्वाचन प्रचार अभियान, मतदाताको निर्वाध आवतजावत, संवेदनशील निर्वाचन सामाग्रीहरूको ओसारपसार, मतदान प्रकृया, सञ्चार माध्यमको पहुँच आदिको पर्यवेक्षण गर्नु पर्यवेक्षकको कर्तव्य रहने छ भनी उल्लेख गरेको छ।
यो त केवल कानुनी प्रावधान न हो। चाहे मानव अधिकारकर्मी होस् या पत्रकार! नागरिक समाज होस् या कुनै सरकारी कर्मचारी! पर्यवेक्षकका रुपमा यी सबै त्यतै नै भेटिन्छन् जहाँ पुग्न सहज हुन्छ। सानातिना समस्या यसो टिपेजस्तो गर्दै ठूला कुरा गर्न पाइन्छ। यत्ति गर्दा पनि भत्ता आइहाल्छ। फेरि दुःख के का लागि गर्नु? ज्यानै जोखिममा राखेर विकटतिर किन जानु र?