एकपल्ट कल्पना गर्नुस् त!
तपाईंको पाँच तले घर छ। त्यो घरमा न त भर्याङ राखिएको छ, न त लिफ्ट नै। अब तपाईं कसरी घरको माथिल्लो तलाहरूमा जान सक्नु हुन्छ?
तपाईंको म्यानेजरले तपाईंलाई एउटा प्रेजेन्टेसन स्लाइड पठाउनु भयो तर त्यसमा तपाईंले कालो बाहेक केही पनि देख्नु भएन। अब कल्पना गर्नुहोस्, तपाईं त्यसबेला कस्तो महसुस गर्नु हुन्छ?
तपाईंलाई लाग्छ कि तपाईं अवसर पाएमा सबै काम गर्न सक्नु हुन्छ तर तपाईंको परिवार अनि नजिकका व्यक्तिहरूले भनिरहेको छ कि तपाईं केही गर्न सक्नु हुन्न, कल्पना गर्नुहोस् त, तपाईंको मनस्थिति कस्तो हुन्छ?
संसारमा हरेक व्यक्तिहरू फरक-फरक हुन्छन् र उनीहरूको क्षमता पनि फरक नै हुन्छ। कोही जन्मजात शारीरिक, मानसिक, बौद्धिक तथा इन्द्रीय हिसाबले पूर्ण भएर जन्मिएको हुन्छ भने कसैकसैमा कुनै पक्षमा कुनै किसिमको विचलन हुन सक्छ। त्यस्तै कसैले जीवनको कुनै खन्डमा कुनै पनि कारणले उल्लेखित मध्ये कुनै पक्षमा विचलन आउन सक्छ।
त्यसरी विचलन आउँदैमा अनि त्यसले उसको कार्यगत सीमितता गराउँदैमा ऊ कमजोर हुन्छ नै भन्ने छैन तर विडम्बना हाम्रो समाज त्यसरी कुनै विचलन आएर अपाङ्गता भएकै कारण उसलाई कमजोर र हेयको दृष्टिकोणले हेर्ने प्रवृत्ति छ।
म एक दृष्टिसम्बन्धी अपाङ्गता भएको व्यक्ति हुँ र म हाल एक कन्सल्टिङ कम्पनिमा कार्यक्रम अधिकृतको रूपमा कार्यरत छु। बोल्ने स्फटवेरको सहायताले म कम्प्युटरमा सजिलैसित अरू व्यक्तिहरूजस्तै काम गर्न सक्छु तर कामको सिलसिलामा होस् या अध्यन अथवा अन्य कुनै प्रयोजनको लागि मैले थुप्रै साइटबाट इन्फर्मेसन तथा डकुमेन्टहरू सङ्कलन गर्नुपर्ने हुन्छ तर त्यस्ता धेरैजसो साइट र डकुमेन्टहरू यसरी निर्माण गरिएको हुन्छ कि म मेरो बोल्ने सफ्टवेरको सहायताले ती साइटहरूसम्म पुग्न र त्यहाँका जानकारी तथा सामाग्रीहरू पढ्नै सक्दिनँ।
कामको सिलसिलामा होस् या अन्य प्रयोजनको लागि म काठमाडौँभित्र या बाहिर आवतजावत गरिरहेको हुन्छु। दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूलाई सहज होस् भनेर काठमाडौँका केही ठाउँका फूटपाथहरूमा ट्याकटाइल (एल्लोपाथ) राखिएको हुन्छ तर तिनीहरू यसरी निर्माण गरिएको छ कि कतै त्यो गएर बिजुलीको पोल, फलामको गमला या भित्तामा गएर ठोक्किनु पर्दछ।
त्यस्तै त्यसमा सेतो छडी राखेर हिँड्दा कतै सेतो छडी अड्किन्छ भने कतै पार्किङ त कतै पसलहरू राखिदिनाले आवतजावतमा निकै कठिनाइ हुने गर्दछ।
अध्ययनको कुरा गर्दा हाल म स्नातकोत्तर गरिरहेको छु। अध्ययनको यहाँसम्मको यात्रामा मैले थुप्रै चुनौतिहरूको सामना गर्नुपरेको छ। कहिले पाठ्यपुस्तक त कहिले पाठ्यसामाग्रीहरूको अभाव, कहिले लेखन सहयोगीको अभाव, शिक्षकहरूमा सही तरिकाले कसरी अध्यापन गराउनुपर्छ भन्ने पर्याप्त ज्ञान र सीपको अभाव, उपयुक्त भौतिक र सिकाइ वातावरण नहुनुलगायत थुप्रै चुनौतिहरू विभिन्न समयमा भोग्दै आइरहेको छु।
त्यति मात्र होइन, कुनै काम लिएर सरकारी कार्यालय, अस्पताल, विभिन्न एनजिओका कार्यालयहरू जाँदा पनि त्यहाँ व्यवहारजन्य, सञ्चारजन्य तथा भौतिक वातावरणसँग सम्बन्धित अवरोधहरूको सामना गरिरहनु पर्ने हुन्छ।
उल्लेखित अवरोध र चुनौतिहरू मेरो अपाङ्गताको कारण सिर्जना भएको हो भन्ने गर्दछन् तर खासमा ती अवरोधहरू अपाङ्गतालाई एक मानवीय विविधताको रूपमा स्वीकार नगर्नाले सिर्जित भएका हुन्।
यदि कुनै भौतिक संरचनाहरू निर्माण गर्दा त्यहाँ मजस्ता अपाङ्गता भएका व्यक्तिहरू पनि आउन सक्छन् है भन्ने कुरालाई ध्यानमा राखेर निर्माण गरिदिएको भए सायद मैले त्यहाँ कुनै भौतिक अवरोधको सामना गर्नु पर्दैनथ्यो। त्यस्तै अन्य व्यक्तिसरह मलाई पनि सहजै स्वीकार गरेर सकारात्मक व्यवहार गरिदिएको भए मैले कुनै पनि किसिमको विभेदको सामना गर्नुपर्ने थिएन।
अपाङ्गता भन्ने अवस्था न त कसैले चाहेर प्राप्त गर्दछ न त चाहेर यसलाई समाप्त गर्न सकिन्छ। यो त समाजले ऊप्रति कस्तो व्यवहार गरिरहेको छ र के-कस्ता अवरोधहरूको सामना गर्न विवश छन् भन्ने कुराले निर्धारण गर्दछ। काठमाडौँमा स्वतन्त्र रूपमा सेतो छडी वा ह्विलचियर प्रयोग गरेर हिँड्न सक्ने व्यक्ति काभ्रेको कुनै गाउँमा पुग्नसाथ त्यहाँ ऊ केही पनि गर्न सक्दैन।
त्यस्तै अमेरिकाको कुनै सहरमा स्वतन्त्र रूपमा आफ्नो काम गर्न सक्ने कुनै अपाङ्गता भएको व्यक्तिले काठमाडौँमा आएर केही पनि गर्न नसक्ने पनि हुन सक्छ। यसबाट प्रष्ट हुन्छ कि अपाङ्गता हुनु कसैको दोष होइन, यो त हाम्रो सामाजिक, भौतिक र सञ्चारजन्य अवरोधको कारण अन्य व्यक्तिसरह समाजमा घुलमिल हुन नसक्दा सिर्जित परिस्थिति हो।
संसारका सबै संरचना, उत्पादन तथा सेवाहरू सबै किसिमका व्यक्तिहरूले कुनै पनि अवरोधबिना उपयोग गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ अहिले 'पहुँचयुक्तता' भन्ने धारणा विश्वव्यापी बन्दै गइरहेको छ। पहुँचयुक्तताले कुनै पनि वस्तु, सेवा तथा संरचना सबै किसिमका व्यक्तिहरूले प्राप्त गर्न सक्ने गरी निर्माण गर्ने र प्रयोगकर्ताहरूले त्यसमा कुनै सहायक प्रविधिको प्रयोग गरेर या नगरेर पहुँच कायम गर्न सक्दछन् भन्ने मान्यता राख्दछ।
पहुँचयुक्तताको बारेमा सचेतना बढाउनको लागि हरेक वर्षको मे महिनाको तेस्रो बिहिबार विश्वभरि नै 'ग्लोबल एक्सेसिबिलिटी अवेरनेस डे' अर्थात् विश्व पहुँचयुक्त सचेतना दिवस भनेर मनाउने गरिन्छ।
नेपालमा पनि पहुँचयुक्तताको लागि कामहरू हुन सुरु भइसकेको छ। नेपाल सरकारले विसं २०६९ मा नै 'पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका' तयार गरी कार्यान्वयनमा ल्याइसकेको छ। फलतः हाल बनिरहेका धेरैजसो नयाँ भौतिक संरचनाहरू केही हदसम्म पहुँचयुक्त हुन थालेका छन्। भौतिक पहुँचयुक्ततताको साथसाथै हाल 'डिजिटल पहुँचयुक्तता' को लागि पनि नेपालमा कामहरू हुन सुरु भएको छ।
यसरी केही सुरुआती कदमहरूको कारण आशावादी हुने ठाउँ त छ यद्यपि अपाङ्गतासम्बन्धी विद्यमान पुरातनवादी सोच र धारणा नबदलिएसम्म अनि अपाङ्गतालाई एउटा मानवीय विविधताको रूपमा लिएर उनीहरूको अस्तित्वलाई समान रूपमा नस्वीकारेसम्म न त अपाङ्गता भएका व्यक्तिहरूले स्वावलम्बी र मर्यादित जीवनयापन गर्न सक्छन् न त समावेशी समाजको निर्माण नै हुन सक्छ।
माथि उल्लेख गरिएका दृष्टान्तहरू मेरो व्यक्तिगत अनुभव मात्र होइन, मजस्ता लाखौँ अपाङ्गता भएका व्यक्तिहरूले यस्तै किसिमका अनेकन समस्या र चुनौतिहरू भोग्न विवश छन्।
हो, परिवर्तन भन्ने कुरा आजको भोलि आउँदैन तर यदि हामीले हाम्रो सोच र व्यवहारमा थोरै मात्र भए पनि परिवर्तन ल्याउने हो भने अपाङ्गता भएका व्यक्तिहरूले थोरै भए पनि समानता र सहअस्तित्वको महसुस गर्न पाउने थिए कि?