केही वर्षअघि एकजना दिदीको मार्कशीट निकाल्ने कामले बल्खुतिर गएको थिएँ। लाइन लाग्दा लाग्दा वाक्क दिक्क! बल्लतल्ल अफिस बन्द हुनुअघि भौचर र फर्म बुझाउन भ्याइयो। चिया पिउन खाजा पसलमा छिरेँ।
'आन्टी चिया बनाइदिनु न!'
'चिया मात्र भाइ?'
'हजुर, अरू के छ र?'
'चुरोट त होइन नि?'
म खिस्स हाँस्दै भनेँ, ' होइन आन्टी, चिया मात्र।'
चिया नआउँदासम्म मलाई किन आन्टीले चुरोट सजेस्ट गर्नु भो भनेर सोच्न बाध्य भएँ। आन्टीको बिजनेस आइडिया होला भन्ने लाग्यो।
चिया लिएर आउनु भयो। मलाई अघि उहाँले भनेक कुरा चित्त बुझेको थिएन, 'म चुरोट खानेजस्तो देख्छु आन्टी' भनेर सोध्न पुगेछु।
'दुब्लो-दुब्लो रैछौ, हेर्दा त्यस्तै लाग्यो,' उहाँले हाँस्दै भन्नुभयो।
झुस्स दारी, कानमा टप, राता आँखा सायद हुलिया त्यस्तै भएर होला! त्यसमाथि पातलो ज्यान।
सबैसँग आ-आफ्नै समस्या, आफ्नै गुनासो! कोही धेरै राम्रो भएर समस्या, कोही धेरै नराम्रो भएर समस्या, कोही धेरै मोटो भएर समस्या, अनि म चाहिँ धेरै पातलो भएर समस्या। नराम्रो त भन्नै परेन!
समस्यै समस्या धेरै भएर होला कतादेखि सुरु गर्ने मेलोमेसो पाइएन। घरदेखि नै सुरु गरौँ न!
'जे कुरा पनि तँलाई दाइभन्दा यत्ति धेरै चाहिन्थ्यो, दाइको भाग चोरी-चोरी खाइदिने तँ, ज्यान हेर त!' भन्दै आमा जिस्काउनु हुन्छ।
'त्यही चोरी-चोरी खाएको भएर चाहिँ पाप लागेछ क्यार' भन्दै जवाफ फर्काइदिन्छु।
कोही चिनेको मान्छे भेट भएर मलाई देख्ने बित्तिकै निस्किने वाक्य हो, 'कस्तो दुब्लाएछस्!'
'वास्तवमा म दुब्लो होइन, मोटाउन मात्र नसकेको' भनेर जवाफ दिन्छु।
खाना मिठो हुँदा अलि धेरै खाइयो भने 'यत्रो धेरै खाँदा पनि यो मोटाउँदैन' भन्छन् अनि थोरै खाँदा 'यत्ति खान्छ अनि के मोटाउँछ!' भन्छन्।
काठमाडौँदेखि घर गयो, 'ओहो! कस्तो दुब्लाएर आएछ' भन्छन्। हालखबर सोध्नु, के-कस्तो छ सोध्नु! केही छैन, सुरुमै ज्यानमा आँखा!
कोही त नजिक आएर नाडी समातेर 'हेर त कस्तो दुब्लो!' भनेर जिस्काउँछन्। 'म पातलो भएर पृथ्वीलाई भार त कम परेको छ' भनेर टार्छु।
सायद पातलो भएकै कारण मैले जिन्दगीमा एकदम प्रिय उपनाम पाएको छु- 'लुरे!' कसैले मायाले 'लुरू' पनि भन्छन्। खुसी लाग्छ। तर कोही साथी 'ओए हड्डी, सुकुटे, बास' भन्दै बोलाउँछन्।
वास्तवमा समस्या अनेकौँ छ। एकपटक घडी लगाउने रहरले पसलतिर छिरेँ, ६/८ वटा घडी चेक गरेँ, हातमै फिट भएन। अन्तिममा चेन काट्न लगाएर ल्याउनु पर्यो।
यति मात्रै कहाँ हो र, टिसर्ट किन्न गयो एक हप्तापछि लुज भैदिन्छ। अनि छुट्टाउन सकिँदैन, म पातलो भएको कि टिसर्ट लुज!
कुरो अझै सकिएकै छैन। बेल्ट किन्न गयो, घर ल्याएर अथवा पसलेलाई नयाँ प्वाल बनाइदिन लगाउनु पर्छ।
मामाघर गयो, मामाले च्याप्पै समातेर 'कठै मेरो भान्जालाई केही खान दिँदैनन् कि क्या हो' भन्दै जिस्काउनु हुन्छ।
सानिमाकोमा गयो, 'तँ फेरि पनि दुब्लाइस्?' भन्नुहुन्छ। 'म कहिले चाहिँ मोटाको छु र' भन्दै टार्दिन्छु। साथीभाइ 'कसको यादले दुब्लाइस् केटा?' भन्छन्।
मेरा कानले 'ए, तँ त मोटाएछस् भनेको आजसम्म सुन्न पाएको होइन! यो त बल्ल मोटाएछ भनेको सुन्दा यी कान पनि पवित्र हुन्थे कि?
कहिलेकाहीँ लाग्छ, तँ त दुब्लाएछस् भनेको सुन्दा-सुन्दा तनावले झन् धेरै दुब्लाएछु।
एक पटक आफन्तको बिहेमा गएको, दुलाहाले दुलहीलाई मन्डपमा उचालेर ठाउँ साट्नु पर्दो रहेछ! त्याहाँ गएपछि मात्र थाहा भयो। सबैको अघि उचाल्न सकेन भने त बेइज्जतै हुँदो रैछ! मेरा क्या होगा?
ठिक छ! बुढी पातलो परिन् भने त जुरुक्कै उचालिएला तर मोटो परिन् भने? सकभर पण्डितजीलाई भनेर त्यो उचाल्ने स्टेप स्कीप गर्ने हो।
मानेनन् भने?
त्यो पनि ठिक छ, त्यही दिन देख्नेछन् लुरे ज्यानको पावर। नभए डियर फ्युचर वाइफ, कहीँ कतैबाट यो मेरो गुनासो पढिराछौ भने कुरो बुझेर आफै उठेर ठाउँ सर्दिनू ल।
लुरे छु त के भो? सबै काम गर्न सक्छु जस्तो लाग्छ एक कामबाहेक। त्यो हो ब्लड डोनेट। साथीहरूलाई यस्तै-यस्तै बहाना चाहिराख्या हुन्छ। ब्लड डोनेट गर्दै रहेछ, 'जाने होइन त लिन' रे! कुन लेभलको डिस हनाई हो यो?
रुक्नुस्, अझै बाँकी नै छ नि। चैत/वैशाख महिना त सुरु हुनै हुँदैन सुरु भैहाल्छन्, 'भाइ ब्यागमा यसो ढुंगासुंगा राखेर हिँड्ने गर है, हावाहुरी चलिराछ उडाउला' रे!
त्यसैले मलाई गर्मी महिना शत्रुजस्तो लाग्छ। न ज्याकेट लगाउन पाइयो, हाफ सर्टमा बस्दा नसै नसा मात्र। देखेर मान्छे बेहोस होला भन्ने डर। त्यसैले गर्मी महिनासँग मेरो खासै राम्रो सम्बन्ध छैन। हरेक साल घुमेर आउँछ, बेइज्जत गर्देर जान्छ। बरू जाडो महिना नै ठिक। ज्याकेट लगायो, अलिअलि भए नि सुहाउँदो त देखिन्छ।
एकथरी हुन्छन् फेरि अरूबेला बाच्यो, मर्यो मतलब नराख्ने, ठुलो हावा चल्यो कि फोन मेसेज गरिहाल्ने! 'जिउँदै छस् नि, हावाले उडाको त छैन' भन्ने वाला। यो कस्तो खालको माया हो?
अर्को समस्या सुनाउँछु तपाईंलाई, केटी पातलो भए चाहिँ स्लिम, माइनस जेरो के-के फिगर रे अनि केटा पातलो भए गजडी रे!
'भाइ गाँजा खान्छौ कि क्या हो?' सायद यो प्रश्न मलाई दर्जनौँले सोधिसके। पातलो भएपछि हेर्ने दृष्टिकोण नै फरक!
तर लुरे हुनुको फाइदा पनि छन्। बिहान-बिहान निन्द्रा बिगारेर शरीरको बोसो पगाल्नलाई ३/४ किलोमिटर दौडिरहनु परिरहेको छैन। कसैको बाइकमा लिफ्न माग्न पनि सजिलो फेरि। लडाइँ झगडा भो सबभन्दा चाँडो कुद्ने को? लुरे मान्छे। कुकुरले खेदायो, फुस्केर भाग्ने को? १००% लुरे!
खैर, यो कुरा छोडुम्। हल्का त सुहाउँदो ज्यान बनाम् भनेर सुझाव माग्यो! टन्न खा, मस्त सुत भन्छन्। त्यसरी मोटाउने भए लकडाउनको अवधिमा केही परिवर्तन देखिँदो हो।
तँलाई भिटामिन 'शी'को कमि भको हो, बिहे गर् बुढीले मिठो-मिठो पकाएर खुवाएपछि मोटाउछस्' भन्छन्। बस् अब त्यही मात्र अन्तिम आश बाँकी छ। फेरि सोच्छु, न तनावले झन् दुब्लाइने पो हो कि?
ठिक छ, जसले जे भने पनि यो लुरे ज्यानमा घरपरिवार, साथीभाइ प्रतिको जिम्मेवारी थाम्ने सक्ने हिम्मत छ। आँट छ। जाँगर छ। फूर्तिलोपन छ। लुरे शब्द उपनाम मात्र होइन, मेरो पहिचान पनि भैसकेको छ! झुक्केर म मोटाएँ भने मलाई 'लुरे' नै भनेर बोलाउलान् त?