एकैचोटि पो भयो, म कोठाबाट बाहिर निस्कनु र पूर्वी क्षितिजबाट बालसूर्यले मुहार देखाउनु।
क्षितिज सौन्दर्यको त्यो लालिमा देखिँदा घडीले बिहानको सवा छ बजाएको थियो। हिजो राप्तीको पुलबाट हेर्दा हेर्दै पश्चिम क्षितिजमा बिलाएको उही घाम आज नयाँ उत्साह र उमंगका साथ टुप्लुकिएको छ। आकाशमै अस्ताउने र आकाशमै उदाउने प्रकृतिको नित्य नियम अर्थात् गमन र प्रत्यागमनको सिलसिला न हो योज्ञ
पृथ्वीले सूर्यलाई निरन्तर परिक्रमा गर्ने हरेक दिन र रातको यही उपक्रमसँगै चलिरहेको छ प्राणीजगतको जीवन यात्रा।
पातलो सर्टमाथि आङमा विन्डप्रुफ ज्याकेट उनेको थिएँ। शिशिर नसकिएकाले होला, चिसै लाग्यो मलाई माडीको बिहान। फेरि ख्याल नमिठो हुँदैन तराईको चिसो! यही भएर त होला, गोरु बेचेर चैतमा राडी किन्थे रे उहिलेका बुढा। उखानमात्र त कहाँ होला र!
ज्यान तताउन यताउति गर्छु।
पातलो बस्ती देखिन्छ माडीको लक्ष्मीनिवासमा। तुलसीरामका जस्तै होमस्टे छन् वरिपरि। फराकिला आँगन। पिँढी र बार्दली निकालिएका तुलसीरामकै जस्ता दुईतले घर। होम–स्टेको लागि भने सबैले आधुनिक घर बनाएका रहेछन्। 'माडी भ्यू सामुदायिक होम–स्टे' अन्तर्गत चलिरहेका छन् यहाँका होम–स्टेहरू। अतिथिको आगमनमा यहाँका सबै होम–स्टेले पालैपालो स्वागत र सत्कार गर्ने अवसर पाउँछन्।
पहिलेपहिले चितवन आउँदा सौराहास्थित 'इडेन गेस्ट हाउस' मा बसिन्थ्यो। खडाईले बारेको छप्पडमा सुतिन्थ्यो। माटोको लिउन र खरको छानोले गर्मीमा शीतल र जाडोमा न्यायो महसुस हुन्थ्यो। पंखाको चलन नै थिएन उति बेला।
घरसँगै उभ्याइएका परालका सुरिला सुलीले गाउँको झल्को दिएका छन्। होम–स्टेका संरचना पुरानै शैलीमा बनाइएका भए ठाउँअनुसारको अनुपमता झल्कने कि थियो भत्रे लागिरहेछ मलाई।
चारपाटे रुमालजस्तै चिटिक्क परेका खेतका गरा। सुत्ला च्यापेका मकैका बोट। तोरीको पहेँलो रङ। वसन्ते गहुँका बाला। हरिया सागसब्जीले भरिएका छन् करेसाबारी। हरितक्रान्तिको सूक्ष्म दृष्टान्त हो यो। श्रम गर्न सके के फल्दैन र चितवनको माटोमा! धान यहीँको। मकै यहीँको। तरकारी यहीँको। भुटुन यहीँको। सबैथोक तरोताजा खान पाउँछन् लक्ष्मीनिवासको होम–स्टेका पाहुनाले।
कुनै चित्रशिल्पीका रङहरूले सजिएको क्यानभास झैं लाग्छन्, माडीका यी दृश्यहरू। निःशब्द हुन पुग्छु म। यो सौन्दर्य वर्णन कसरी गरूँ भन्ने भइरहेछ मलाई। भन्न त 'जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि' भन्छन् क्यारे।
साँच्चै, म आशुकवि भइदिएको भए त सायद एउटा सुन्दर कविता कोरिदिन्थेँ होला। म त एउटा यायावर न परेँ। केवल पौडिन विवश छु स्वैर कल्पनामा।
कति व्यावहारिक रहेछन् तुलसीरामका छोराछोरी! छोरी दैलोकसेर गर्दै। छोरो चुलो सल्काउँदै। उनी आफैं चाहिँ भैंसी दुहुँदै। सबै आआफ्नै काममा व्यस्त। आमा घरमा नभएको बेला छोराछोरीले नै घर धानिदिने भएपछि के चाहियो र तुलसीरामलाई! आदर्श परिवारको एउटा नमूना!
तुलसीरामले दुध चिया बनाए। लाहुरी भैंसीको ताजा दूध। त्यसमाथि कुँडे डढेको वासना। आहा, क्या मिठो! कराईको पिँधमा कुराउनीको खात लाग्दै गएपछि डढेको वासना आउँछ। खुब मनपर्छ मलाई यो रसना। एक कपले धित मरेन मलाई। भनिहाल्न त नमिल्ने तर होम–स्टेको कप चाहिँ साह्रै सानो। त्यसैले पनि तीन कप त मैले मात्र पिएँ।
उनले बनाएको चिया पिउँदै गर्दा काकीआमालाई सम्झेथेँ मैले। उति बेला उनको सानो पसल थियो नुवाकोटमा। यस्तै चिया बनाउँथिन्। उनको हातले बनाएको चिया पिउन मान्छेहरू सखारै लाम लाग्थे। चिया बनाउँदा बनाउँदै जीवन बितिगयो मेरी काकीआमाको। उनकोे देहावसानपछि यस्तो चिया पिउन पाएको थिइनँ।
आजै घुमीभ्याउनु छ बैकुण्ठ ताल र राम मन्दिर। योभन्दाअघि सर्सर्ती सोमेश्वर गढी घुम्ने योजना बनाएका छन् यदुनाथ भट्टराईले। निमन्त्रणा उनको, प्रस्ताव उनको। उनले जहाँजहाँ लान्छन् हाम्रो काम चाहिँ लुरुलुरु जाने मात्र।
चितवन आउने निश्चित भएपछि मलेखुका मित्र केबी बाराकोटीलाई भनेको थिएँ। कालिज र कडकनाथ लगायत थरीथरीका कुखुरा पालेका छन् उनले। चार महिनाअघिदेखि कडकनाथको झोल र ढिँडो खाने योजना बनाएका थिए। परिस्थिति प्रतिकूलता भईदिँदा तीन पटकको योजना तुहिएको थियो। यो पालि म 'आउँदै छु' भनेपछि बिछट्टै खुसी भएका थिए केबीजी।
फोनमा कुरा गर्दा उनले भनेका थिए, 'यो पटक चाहिँ नढाँट्नुस् है!'
सकेसम्म ढिँडो लन्च गर्न पाए हुन्थ्यो भन्नेमा छु म। तर आफूले मात्र चाहेर के गर्नू!
'लन्च गर्न मलेखु पुगिन्छ त?' माधवजीलाई सोध्छु म।
'लन्च होइन, डिनर गर्न चाहिँ पुगिन्छ।' उनको जवाफ।
'आज मलेखु बसेर भोलि बिहान सबेरै गए हुन्न?'
'मलाई त हुन्छ। रमेश सर र धन सरलाई सोध्नुपर्छ।'
धन सरलाई भोलि बिहानै खोटाङको बस समाउनुपर्ने जानकारी पाइयो। लौ बर्बाद!
आज मलेखु बस्दा भोलि बिहानै धन सरलाई खोटाङको बस भ्याउन असम्भव हुने भएपछि केबीजीकोमा खाजामात्र खाने निर्णयमा पुग्छौं हामी। फेरि यता घुम्दा घुम्दै ढिलो भएर केबीजीकोमा पस्न नभ्याइने हो त होइन? चिन्ता चुलिन्छ मनमा।
माडी भ्यू होम–स्टे छाड्दा सात बजिसकेको थियो। चालक अर्जुन सुवालले हुइँक्याए जीप। गुड्दै गर्दा हिजोका जस्तै खडाईले बारेका र खरले छाएका बस्तीहरू नजरमा ठोक्किन आउँछन्। मिलनचोकका महिलाहरू ट्युबवेल थिचिरहेका देखिन्छन्। भूमिगत जलभण्डारमा बस्नुको फाइदा यही हो।
उनीहरूले ट्युबवेल थिचेर ह्वालह्वाल्ती पानी निकालिरहेको देख्दा ख्याल लोभ लाग्दैन मलाई। छ न त आफ्नो पनि काठमाडौंमा इनार छ नि! भएर के गर्नू! पानी आए पो! तीन हप्तामा एक चोटि पानी आउँछ धारामा। हिउँदभरि ट्यांकरको पानी किन्दैको सास्ती। पानी नआए पनि महसुल असुल्न छोड्दैन सरकारले। कडा पो छ त नियम!
माडी नगरपालिका, वडा नम्बर पाँचको भूगोलभित्रै गुडिरहेका छौं हामी। बस्ती छाडेर अगाडि बढेपछि आइपुग्छ छरछरे खोलाको किनारमा अवस्थित सशस्त्र प्रहरी बलको क्याम्प। यो सँगसँगै सुरु हुन्छ घनाजंगल।
अगाडि बढ्दै जाँदा छरछरे खोलासित प्राण सम्बन्ध गाँस्दै गरेको देखिन्छ एउटा मृग। मृगकै रूप धारण गरेर शिवजी वागमती किनारमा विहार गरेको किंवदन्ती छ। 'कतै भगवान् शिव त होइन ? उता वागमती प्रदूषित भएर पानी खान छरछरे खोला आएको हो कि क्या हो?' एक्लो मृग देख्दा मनले भन्छ।
जीपको आवाजले दच्किन्छ र बुर्कुसी मार्छ मृग। बिचरा, नदच्किऊन् पनि किन! मृगलाई चिन्न बीज छर्ने पार्वती कहाँ पाउनु र अहिलेको जमानामा! प्राण जोगाउन प्राणकै बाजी थाप्नुपर्छ यिनले। निरीह भएर बाँच्नुको पीडा छ यिनमा। बाघको भय त छँदै छ, पाएसम्म मान्छेले पनि पासो थाप्न कहाँ छोड्छन् र!
छरछरे खोला तरेपछि उकालो लाग्छ जीप।
जंगलभित्र जीपमा गुड्दै गर्दा सन् २००१ मा जीप सफारी गर्दाको झझल्को आउँछ मलाई। सौराहाबाट सुरू गरेर चितवन राष्ट्रिय निकुञ्ज हुँदै कसराको जंगलसम्म जीप सफारी गरेको थिएँ। फरक यतिमात्र हो उति बेलाको जीप सफारी बाघ हेर्ने प्रयोजन, अहिले गन्तव्य छिचोल्न।
के सारो केराका बोट हो गाँठे! सडकका दायाँबायाँ भर्खरै पसाउन सुरु गरेका वनकेराका घारी देख्दा लोभिन्छु म। बग्रेल्ती केरा पाक्ने याममा आएको भए त चाख्न पाइन्थ्यो होला। काठमाडौंमा कैयौं दिनको बासी केरा दर्जनको एक सय असी तिर्नुपर्छ। यता यस्तो फालाफाल छ। अझ केराभन्दा पनि बुंगाको अचार पो मनपर्छ मलाई त!
'लौ आइपुग्यो गढी प्रवेशद्वार,' चालक बोले।
भर्खरै रमाइलो डाँडा पार गरेजस्तै लाग्थ्यो। कति छिट्टै सोमेश्वर पहाडको काँधमा पुर्याइसकेछ जीपले।
स्वागतद्वारकै छेउमा सिमेन्टको मेच बनाइएको छ। मेचमा बनाइएका छन् एक जोडी गैंडाका सुन्दर आकृति। अलि पर बनाइएको छ आगन्तुकहरूका लागि घाम र पानी छेक्ने ठाँटीसरि संरचना।
जीपबाट ओर्लनेबित्तिकै सोमेश्वर गढी प्रवेशद्वारमा कुँदिएको एकजोडी मानव आकृतिले स्वागत गर्छ हामीलाई। द्वारको दायाँबायाँ निर्मित पूर्णकदका ती सुन्दर आकृतिले पहिचान दिएका छन् थारू जातिको। धोती–कछाडको पहिरनमा सजाइएको छ पुरुषलाई र छत्री ओढाइएको छ टाउकोमा। महिलाकोमा कालो ब्लाउज र घुँडासम्म आउने सेतो धोती लगाएको छ। दाहिने काँधमा सेतो पछ्यौरा (एघरमा) राखिएको छ भने टाउकोको पृष्ठभागमा मयुरको प्वाँख सिउरिइएको छ।
शिरमा शिरबन्दी, निधारमा टीका, गलामा चाँदीको माला (हसुली) र खुट्टामा कल्ली (गुडहुला) लगाइएको छ। नमस्ते गरिरहेका छन् दुवैले। भूमिपुत्र हुन् थारू जाति। नमस्ते गरिरहेका थारू महिला र पुरुषको आकृतिले न्यानो अभिवादनको अनुभूत गर्छु म।
नमस्ते, हाम्रो संस्कार। नमस्ते, अभिवादनको काइदा अर्थात् स्वागत र सम्मानको प्रतीक। नमस्ते, नम्रताको मनोवृत्ति। संस्कृतमा 'नमः' को अर्थ 'झुक्नु' र 'अस्ते' को अर्थ 'अहंकार वा अभिमानले भरिएको'। 'नमस्ते' को गर्नुको अर्थ 'मेरो अहंकारले भरिएको शिर कसैको सामुत्रे झुकाएको छु' भन्ने हो। 'नमः' को अर्थ 'मेरो होइन, सबै तपाइँकै' भन्ने पनि हो। भनिन्छ, यसले अहंकारबाट मुक्त गराउँछ स्वयंलाई।
नमस्ते गरिरहेका आकृतिलाई मोबाइलको मेमोरीमा नसँगालिरहन सकेनौं हामीले।
'पहिले त वसन्तपुरबाटै हिँडेर आउनुपर्थ्यो। अहिले यहाँसम्म सडक बनेको छ। गढीसम्मको दूरी डेढ किलोमिटर हो यहाँबाट। आधा घन्टा लाग्छ। बाटो उकालो छ। सुस्तरी गएर आउनू होला!' चालक अर्जुन भन्छन्।
प्रवेशद्वारबाट छिरेर खुट्किलामा पाइला राख्छौं हामी।
हिँड्न पाउँदा हर्षित भएको छु। गुड्दा दृश्यहरू देखिन्छन् तर अनुभूति गर्नै नपाइने। आफूलाई भने प्रत्येक दृश्य अवलोकन गर्नुमा कम मज्जा नआउने। त्यसैले त हिँड्नै रुचाउँछु म।
खुट्किलाका दायाँबायाँका झाडी सुम्सुम्याउँछु। बेसारजस्तो लाग्छ। अलैंचीजस्तो पनि लाग्छ। वनस्पति पनि केके हो केके। ठम्याउँन सक्दिनँ।
'के हो त यो?' सहयात्रीहरूलाई सोध्छु।
रमेश सर अगाडि सरेर मैले जस्तै गरी पात वल्टाई पल्टाई पार्दै भन्छन्, 'यो त पानीसरो होइन र!'
पहिलोचोटि देख्दै थिएँ। थाहा थिएन मलाई के हो पानीसरो भनेको।
फूलहरूमा फक्रिएको छ वसन्त। सौरभमा लट्ठिइरहेको छ, सोमेश्वर जंगलको सुकिलो पर्यावरण। एक बटालियन पुतली फुरफुर गरिरहेछन् हाम्रै अघिल्तिर।
पुतली प्रकृतिको विचित्र छटा। पुतली प्राकृतिक सौन्दर्य लालीमा! पुतली बेजोड सौन्दर्यको जीवन्त आकृति। फूलको सुमधुर वासना बोकेर रमाइरहेका पुतली देख्दा त्यसरी नै फुरफुरिएको छु स्वयं।
आकाश छेकेका छन् परीकथाका नायकझैं लाग्ने लतिकाहरूले। र त शीतल अनुभूत भइरहेको छ यति बेला। तिनै रूखका हाँगाबाट आइरहेको छ चराचुरुंगीको कलरव। त्यसैको प्रतिध्वनि गुञ्जिरहेछ पहराबाट। ध्वनि र प्रतिध्वनिको मझधारमा छौं हामी।
अघि छरछरे खोला तरेर उकालिँदै गर्दा चालक अर्जुनको मुखबाट 'ढुंगा कुँदेर मूर्ति बनाइएको' भन्नेसम्म चाहिँ सुनेथेँ। गाडीको आवाजले विस्तारमा बुझेको थिइनँ उनका कुरा। सोचेको थिएँ कसैले एक-दुईटा ढुंगा कोपे होलान् तर त्यसो होइन रहेछ ।
जाँदा जाँदै देब्रेपट्टिको ठूलो चट्टानमा शिव र पार्वतीको स्वरुप बनाएका रहेछन् कलाकार लालकाजी लामाले। छेवैमा छ, इन्दिरा श्रेष्ठले आकार दिएको घुँगी। घुँगी पानीमा पाइने जीव र थारू संस्कृतिको अभिन्न अंग। झट्ट हेर्दा चिप्लेकिराझैं लाग्छ किन्तु थारू समुदायको मौलिक परिकार हो घुँगी।
यति मात्र कहाँ हो र! बाघ, साँढे, सिंह, शिवलिंग, चक्र, देवीदेवता, दन्त्यकथाका परी र ऋषिमुनिका रूपमा पोखिएका छन् कलाकारका सुन्दर शिल्प।
क्या बेजोडको प्रस्तरकला! गमील्याउँदा मानवजाति आफैंमा प्रकृतिको कलात्मक कृति न हो! र भावना अभिव्यक्त गर्ने अत्यन्तै सुन्दर माध्यम हो मान्छेको कला।
किञ्चित माथि छ ढुंगाले बारेको नागदेवताको सानो देवल। जलले परिपूर्ण छ देवल सामुन्नेको खोबिल्टो र त्यसैको अघिल्तिर छ गजराजको टाउको। यसैमा टंकित छ बुटवलका कलाकार जामबहादुर थापाको नाम। निर्जीव शिलामा कोपिएको उनको यो नामले अमरता पाइरहने छ आकाश–धर्ती रहेसम्म।
प्रस्तरमा झल्किएका छन् पौराणिक, धार्मिक, ऐतिहासिक र सामाजिकता। तिनले बोलेका छन् प्रेम र सद्भाव। अचम्भित भएँ म नेपाली कलाकारका अद्भूत कला देखेर।
वाह! हिंस्रक जनावरहरूको त्रासमा पनि शान्तिको आभास! यस्तै सन्देश दिएझैं लाग्छ अनमरी तामाङद्वारा निर्मित सुतिरहेको फ्याउरोको मूर्तिले।
दिनेश्वर महतोले कुँदेको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डासँगै मुठ्ठी कसेको हात भएको ठाउँमा पुगेपछि टुंगिन्छ, कलाउद्यान। नेपालको राष्ट्रियता बोलेको छ यसले। यी सबैसबै अवलोकन गरेपछि मेरो मन बोल्यो– अमरताका लागि मान्छेमा कुनै न कुनै कला चाहिँ हुनुपर्दो रहेछ।
अलिमाथि छ शिवलिंग। एकपछि अर्को दृश्य पढ्दै हिँड्दा सहयात्रीभन्दा म निकै पछि परिसकेको रहेछु पदयात्रामा। सोचेँ, अब त अलि तन्कनुपर्छ। सोमेश्वर गढी पुग्नै लाग्दा उनीहरूलाई भेट्न पुगेँ। थोरै तेर्पे उकालो चढेपछि पुगियो गढी। अघि सिँढी चढ्दै गर्दा सुस्ताएका रमेश सर पनि जोसिएको देखेँ।
उचाइ हो ८३६ मिटर। दक्षिणी सीमानाको सबैभन्दा अग्लो पर्वत। बराहपुराण र शिवपुराणमा उल्लिखित क्षेत्र। सामरिक दृष्टिले महत्वपूर्ण भूःबिन्दु। इतिहास भन्छ– पाल्पाका राजा मुकुन्दसेनले बेलायती साम्राज्यबाट जोगाउन निर्माण गरेको गढी हो यो गढी।
घना जंगलको माझमा अवस्थित छ गढी। गढीको एक छेउमा थुपारिएका ढुंगाहरू ऊ बेला लडाइँ गर्दाका हुन् भन्ने सुनेथेँ। विभिन्न आकृतिमा कुँदिएका सुन्दर शिलाहरूमा एक क्षण आँखा बिछ्याउँछु म।
यत्रतत्र छरपस्ट छन् पुराना इँटाका टुक्राटाक्री। एक छेउमा सोमेश्वरी कालिका मन्दिर छ। सामुन्ने एकेक थान त्रिशूल र घन्ट झुन्ड्याइएका छन्। अर्को छेउमा भग्न इनार छ। अचम्मको कुरा चाहिँ के भने गढीको भग्न अवस्था नसुधारीकनै सरकारले सय पर्यटकीय गन्तव्यको सूचीमा समाविष्ट गरेको छ यसलाई। जीर्णोद्धार नै नभएको ठाउँमा आइपुग्ने पर्यटकले कस्तो सन्देश लग्लान्? भग्न गढीजस्तै विक्षिप्त मेरो मनमा उब्जिँदै थिए अनेकन् सवालहरू।
गढीबाट फर्कनै लाग्दा मित्र केबी बाराकोटीको कल आउँछ मेरो मोबाइलमा।
'कहाँ के गर्दै हुनुहुन्छ तपाईंहरू?'
'सोमेश्वर गढीबाट ओरालिँदै।'
'कति बेला प्रस्थान हो चितवनबाट?'
'यहाँबाट सिधै बैकुण्ठ ताल र राम मन्दिर जाने योजना छ। भरतपुरबाट हिँड्दा दुई बज्ला कि!'
'ल, त्यसो भए तपाईंहरू बिस्तारै आउनुस्! म यता व्यवस्था गर्दै गर्छु। रमाइलो बनाउनुपर्छ आजको साँझ।'
हामी मलेखुमै बस्दैछौं भन्ठानेर होला मज्जाले हौसिएका छन् मित्र। यथार्थ कुरा उतै पुगेपछि बताऊँला भनेर केही भनिनँ मैले। कतै रिसाउने पो हो कि भन्ने लागिरहेछ मनमा।
अघि उकालो लाग्दा बाटैमा लमतन्न परेर सुतेको ढुंगा त देखेको थिएँ तर त्यसमा बनाएको डुँड चाहिँ याद गरेको थिइनँ। ओरालो झर्दा पो देखेँ। सानोतिनो डुंगाजस्तै लाग्छ यसको लम्बाइ हेर्दा। पूरै झ्याउले ढाकेको छ यो। निर्माणकर्ताको नाम हेरेँ। कतै देखिनँ। ढुंगा कपेर पानी ट्यांकी बनाउनु पनि चानचुने कला होइन।
सोमेश्वर पर्वतमा कलाको बीजारोपण त उहिले नै भएको रहेछ नि! अहिले पो सडकले सहज गरायो त! नत्र माडीको वसन्तपुरबाट आउँदा चालीस किलोमिटर हिँड्नुपर्थ्यो। उहिलेउहिले सोमेश्वर कालीका मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि यसरी पानी खुवाएर धर्म कमाउँथे पुर्खाहरूले। अचेलका यात्रीका हातहातमै पानीका बोतल हुन्छन्। जे भए पनि पुर्खाको चिनो हो। सफा गरेर पानी भरिदिए त कम्तीमा यहाँका पन्छीहरू छरछरेखोला धाउनु त पर्थेन। शिल्पकारको आत्माले शान्ति पाउँथ्यो होला । पुर्खाको सम्मान पनि त हुन्थ्यो नि! ओरालिँदै गर्दा मनोलाप गर्छु।
आफूसँग भएको पानीको बोतल गाडीमै छोडिएछ। बिर्सने बानीले आफैंलाई दिक्क बनाउँछ कहिलेकाहीँ। त्यसो त कसैले बोकेका थिएनन् पानीको बोतल! बिहान पिएको तीन कप चिया पसिना बनेर गइसकेको थियो। तिर्खाले टपक्कै सुकिसकेको थियो घाँटी। त्यही बेला हातमा 'ड्यू' को जम्बो बोतलभरि पानी बोकेर उकालो लाग्दै गरेका एक अधबैंसेसँग जम्काभेट हुन्छ हाम्रो। त्यत्तिकै पानी माग्न पनि अप्ठ्यारो!
'नमस्ते हजुर! कहाँबाट आउनुभएको होला?' फगत् बोल्ने बहाना मेरो।
'म यहीँ माडीकै हुँ।'
'यहाँको शुभनाम?'
'शोभाकर चापागाईं।'
अग्लो र छरितो ज्यान। शिरमा ढाका टोपी। झोला भिरेका। रातो सर्ट, कालो पाइन्ट र कालै ज्वारीकोटको पहिरनमा थिए उनी।
'तपाइँ यहाँको पुजारी?'
'हजुर, हो।'
'यहाँको पुर्ख्यौली घर?'
'पर्वत ।'
'सीमाना कहाँनिर छ?' रमेश सरको सोधनी।
'नाकनचुलीको ४५ नम्बर स्तम्भ। नजिकै छ। ऊ त्यो देउरालीबाट जानुपर्छ। पहिलेको सीमाना तीन किलोमिटर पर थियो। अहिले हामी उभिएको बिन्दु दशगजा तर पानीढलो भनेर भारतले दाबी गरिरहेछ। उहिले राणाले शिकार खेल्ने प्रयोजनले बनाएको तबेलासमेतको व्यवस्थित मचानमा अहिले उनीहरूले क्याम्प राखेका छन्,' बेलीविस्तार लाए पुजारीले।
पुर्खाले बेलायती साम्राज्यबाट जोगाएको भूमि पो हो त! दाबी गर्दैमा पाउने कुरा हो र! मनमा असह्य पीडा हुन्छ मलाई।
भारतले मिचेको नेपालको भूमिको क्षेत्रफल जोड्ने हो भने एउटा सानोतिनो देश बराबरकै होलाझैं लाग्छ। निःसन्देह उनीहरूसित हाम्रो धर्म, संस्कार र संस्कृति मिल्छ। भाषा र रहनसहन पनि धेरथोर मिल्छ। मुखले चाहिँ 'हामी बीचको जस्तो अद्वितीय सम्बन्ध कुनै देशसित छैन' भन्छन् त्यहाँका शासकहरू। र पनि विभिन्न बहानामा सीमाना मिचेको मिच्यै छन्।
कूटनीति कमजोर भएपछि गर्ने यस्तै त हो नि! 'भारतीय विस्तारवाद– मुर्दावाद' भनेर नारा लगाउँथे अहिलेका नेताहरू। कुनै बेला त्यस्तैको पछिपछि पनि लागियो । अचेल त पश्चात्ताप पो लाग्छ। तिनै पुगेका छन् सत्तामा तर 'चुँ' बोल्न सक्दैनन्। छिमेकी अगतिलो भएपछि सास्ती पाइँदोरहेछ। सम्झेर ल्याउँदा पनि दिक्क लाग्छ।
तिर्खाले मुख सुकिसकेको छ। पुजारीले ल्याएको चोखो पानी खान मिल्ने हो कि नाइँ। मागूँ कि नमागूँ भइरहेछ।
'यो पानी खान मिल्दैन होला है?' दोमन भएरै सोध्छु म।
'मिल्छ। खानुस् न!' विनाहिच्किचाहट पानी दिँदै भन्छन् उनी।
'मन्दिरमा अर्पिने पानी के खानु?' रोक्न खोज्छन् माधवजी।
प्रत्युत्तरमा पुजारी भन्छन्, 'हुन्छ, किनकि ह्वाँ भगवान सम्झेर आउनुभएको छ नि त! हृदयदेखि हामीलाई सम्झ! गलत चिज नखाऊ भनेका छन् भगवानले।'
मनमनै लाग्यो आवश्यकताको सिद्धान्त बुझेका रहेछन् पुजारीले।
'अघिल्लो दिन गलत चिज खाएको रहेछ भने पनि यो पानी खान हुन्छ?' व्यंग्य हाने माधवजीले।
अघिल्लो साँझ तुलसीरामको होम–स्टेमा हाँसको सेकुवासित तीन गिलास कोदोको झोल लगाएका थियौं। नपिउनेमा उनी मात्रै थिए।
मज्जाले पानीको घुट्की लगाएँ मैले। त्यसपछि त ठाडो घाँटी लगाए बाँकीले पनि।
पुजारीसँग छुट्टिनै लाग्दा आइपुगे चार भाइ भारतीयहरू।
'आप लोग कहाँसे आया हे?' सोधेँ ।
'बेतिया से।'
'कभ आया था?
'वहाँ से तो कल आया था। आज वसन्तपुर से अटोमे आया है।'
'क्या काम कर्ते हैँ आप लोग?'
'टिचिङ।'
रसिक थिएँ भाइसा'पहरू। कुरैकुरामा हामीसँग तस्बिर पनि खिचाए उनीहरूले।
'चैते दसैंमा ठूलो मेला लाग्छ यहाँ। माताको दर्शन गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास छ। महाराष्ट्रदेखिकै भक्तजनहरू आउँछन् यहाँ,' अवगत गराए पुजारीले।
पौने दश बजिसकेको छ। निकै बेर पो अलमलिएछौं। अबेर भइसकेको थियो हामीलाई। वसन्तपुरको माडी भ्यू रिसोर्टमा खानाको बन्दोवस्त मिलाएका छन् यदुनाथले।
सोमेश्वरका पुजारी र बेतियालीहरूलाई बिदाइको हात हल्लाउनासाथ हतारिँदै फेदीतिर खुरमुरिएथ्यौं हामी।