मारलिन हेलेना गेवरगी, मेरी जर्मन हजुरआमाको नाम हो। झट्ट हेर्दा हलिउड अभिनेत्री मेरिल स्ट्रीप जस्ती देखिन्छिन्। हँसिलो अनुहार चिटिक्कको आवरण, मेरी हजुरआमा कुनै युरोपियन रोयल्टी भन्दा कम देख्दिनन्।
अहिले मेरी जर्मन हजुरआमा ८९ वर्षकी भइन्। तर वास्तवमा भन्नुपर्दा सायद उनीजस्तो तन्नेरी मैले आजसम्म भेटेको पनि छैन।
मेरी जर्मन हजुरआमा गम्भीर र अघोर भलादमी छिन् तर उनीजस्तो बिन्दास मस्त मौला अरू कोही भेटेको छैन।
जीवन कसरी बाँच्नुपर्छ भन्ने ज्ञान मैले १९ वर्षको कलिलो उमेरमा सात समुन्द्र पारी एउटी वयोवृद्ध महिलाको सामिप्यमा भेटें। सायद यसैलाई भाग्यको खेल भनिन्छ।
नेपालमा त्यतिखेर म होस्ट फेमिली प्रोग्रामको लागि फारम भर्दै थिएँ। ‘होस्ट फेमली’ अर्थात् जर्मनीका सम्भ्रान्त वर्गहरूले परिवारबाट छुट्टिएर आएका नितान्त एक्लो भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आत्मीय पारिवारिक वातावरणमा घुलमिल गराउने घर।
यो कार्यक्रमलाई आवेदन दिँदा २, ३ वटा विकल्प थिए त्यस्तो परिवार छान्ने। प्रश्नावलीमा सोधिएको थियो- ‘के तपाईं ८० वर्ष माथिका मानिस रूचाउनु हुन्छ या सन्तान भएका दम्पती या अन्य? त्यतिखेर मैले सबैमा चिन्ह लगाएको थिएँ।
विस्तारै मेरो सबै साथीहरू होस्ट फेमिली पाउँदै थिए। कोहीले भर्खरका युवा दम्पती पाए, कोहीले छोराछोरी भएको परिवार, कोही अवकाशप्राप्त दम्पती थिए। मैले धेरै पर्खिनु पर्यो आफ्नो होस्ट फेमिली पाउन।
आवेदन दिएको १-२ हप्तापछि अचानक एक साँझ इमेल आयो।
‘नमस्ते मिमांशा, म एउटी ८७ वर्षकी विधुवा महिला हुँ। म तिम्रो होस्ट फेमिली बन्न इच्छुक छु। एउटी वृद्ध महिलासँग तिमीलाई कुनै समस्या छैन भने कृपया यो इमेल रिप्लाई गर।’
म तीन छक्क परें।
आफ्नो घर वरपरका वृद्ध हजुरबुबा, हजुरआमालाई सम्झिएँ। टिभीको च्यानल बदल्न पनि ‘गुहार! गुहार!’ गर्नुपर्थ्यो। यहाँ एउटी ८७ वर्षकी महिला मलाई टक्क इमेल गर्दै थिइन्।
मैले सोचें, ‘विदेश भनेको विदेश नै रहेछ, कस्ती स्मार्ट बूढी।’
त्यस दिन मेरी हजुरआमासँगको पहिलो परिचयमै प्रस्ट भइसकेको थियो कि उनी साधारण बूढी थिइनन्। स्मार्ट युगकी स्मार्ट फोन चलाउने स्मार्ट बूढी! जर्मनी जानुअघि यसरी २-३ पटक हामीहरूबीच इमेल आदानप्रदान भयो। म झनझन् उनलाई भेट्न आतुर भएँ।
म जर्मनी पुगेको दोस्रो दिन मैले उनलाई इमेल गरें।
‘म जर्मनी आइपुगें, अब हामी भेट्नु पर्छ। कृपया आफ्नो ठेगाना दिनुहोस्, म भेट्न स्वयम् आउँछु।’
उनले तुरून्तै जवाफ फर्काइन् , ‘गेट नजिक १० बजे उभिराख्नु, म आउँछु।’
जर्मनहरू समयका पक्का हुन्छन् भन्ने थाहा थियो। समयको महत्त्वलाई जर्मनहरूले निकै राम्रोसँग बुझेका छन्। एक मिनेट पनि यताउता हुँदैन। १० बजे भनेपछि ठिक १० बजे नै हुन्छ। हामी नेपालीहरू अलि सजिला छौं। आरामले आउने जाने गर्छौं। कुनै पनि ठाउँमा १० मिनेट त ढिला गर्नैपर्छ, आधा घन्टा त साधारण हो। एक घन्टा अपवाद होला तर असम्भव छैन।
जर्मनी त्यस्तो छैन। ट्रेन पनि एक सेकेन्ड पनि कुर्दैन। जताततै मानिसहरू हातमा कफी लिएर दगुर्छन्। कतै ट्रेन समाउन, त कतै बस समाउन। ‘समयनिष्ठता’ जर्मनहरूको पहिचान हो।
मेरी हजुरआमासँग पहिलो भेटमै ढिला हुन म चाहन्नथें। नेपालमा कलेज पढ्दा नै समयको महत्त्व मज्जाले बुझेको थिएँ।
बिहान ९:३० भित्र कलेज गेट पसिसक्नु पर्थ्यो। एक मिनेट ढिला भए आइडी कार्ड थुतिन्थ्यो। थापाथलीदेखि गुटुटुटु कुदेको त्यस्ता कति स्मृति ताजै छन्।
१०:०० बजे भेट्नलाई म ९:४५ देखि नै तयार भएर गेटमा उभिएको थिएँ।
बूढी नजिकै बस्दी रै’छिन्। हिँड्दै आउलिन् भनेर पदयात्रीको रोडमा मेरो आँखा थियो। तर ९:५९ मा सररर एउटा मरसिडिज गाडी छिर्यो। मेरो अगाडि रोकिएर टक्क उनले ढोका खोलिन्, ‘हलो मिमांशा! म मारलिन’।
सुन्दर पोशाक लगाएकी, सर्लक्क परेको सेतो कपाल, रातो लिपिस्टिक लगाएकी एउटी वृद्ध महिला मलाई कारभित्र निम्तो दिन थालिन्।
म फेरि छ्क्क परें। हैन यी बूढी यो उमेरमा आफै| गाडी हाँकेर हिँड्छिन्?
‘बूढो मान्छेले चलाएको कारमा असुरक्षित त महसुस भएको छैन नि? चिन्ता गर्नुपर्दैन, मैले गाडी चलाएको पचासौं दशक बितिसक्यो। आरामले बस!’ उनले भनेकी थिइन्।
धेरै चालकले गाडी हाँक्दा म साइडमा बसेको छु। नेपालमा पनि, जर्मनीमा पनि। तर हजुरआमाले जस्तो सुरक्षित ड्राइभिङ कसैले गरेन। उनी परिपक्व थिइन्। कहिल्यै मनमा त्रास भएन।
त्यसदिन पछि म नियमित मारलिनलाई भेट्न थालें। उनी त्यसैगरी सधैं मलाई आफ्नो गाडीमा लिन आउँथिन्। म उनीसँग धेरैजसो विकेन्ड मनाउँथें। मलाई टुटेफुटेको जर्मन बोल्न आउँथ्यो, उनी ठिकैठिकै अङ्ग्रेजी बोल्थिन्। भाषाको अवरोध बेलाबेलामा आउँथ्यो तर हामी बोल्न कहिल्यै रोकिएनौं।
पहिलोपटक उनको घर छिर्दा म झन्डै लडेको थिइनँ। दरबारजस्तै थियो घर। युरोपियन आर्किटेक्चर, भित्तामा रिनेसा कालका जस्ता भिन्टेज पेन्टिङ, ल्याम्प, पुस्तकालय।
उनको घरको भव्यता देखेर ‘टाइम ट्राभल’ गरेर भिक्टोरियन समाजमा गएको जस्तो अनुभव हुन्थ्यो।
ठूलो बगैंचा, जातजातका फूल, फलहरूका वृक्षहरू हराभरा थियो।
कुनै भव्य राजाको दरबारभन्दा कम थिएन। मेरा आँखा कैयौं दिनसम्म पनि त्यहाँ जाँदा चकित हुन्थे।
हरेक शनिबार म उनलाई भेट्न, त्यो महलमा जान्थें। उनी रिमिक्क परेर सधैंं केक, कुकिज, चियाका साथ प्रतीक्षारत हुन्थिन्।
हामी उनको बैठक कोठामा बसेर घन्टौं बोल्थ्यौं। कला, संस्कृति, पुस्तक सबै कुरोको ज्ञाता थिइन्।
उनको दिनचर्यामा दिनको एक पटक किताब पढ्ने नियम थियो। आफैं खाना पकाउँथिन्।
हरेक मंगलबार साथी जम्मा पार्थिन्, फ्रेन्च पढ्न। म विद्यार्थी मान्छे पढाइबाट वाक्कदिक्क हुन्थें, उनी पढ्न कहिले छोड्थिनन्।
घरमा जोसुकै आउनु आफ्नो नियम यताउता हुँदैन थियो। म नतमस्तक हुन्थें उनको बानी देखेर।
उनलाई नेपालको बारेमा खुब चासो थियो। बगैंचामा लालिगुराँस पनि रोपेको थियो। मेरो परिवारको निकै चासो राख्थिन्। राजनीति, क्लासिकल संगीत, धर्म इत्यादिको बारेमा जान्न खुब मनपर्थ्यो।
‘एन्जेला मार्केल कस्तो लाग्छ तिमीलाई?’ आफ्नो मनपर्ने राजनीतिज्ञको बारेमा सोध्दा अनुहारमा सधैं कान्ति छाउँथ्यो।
समय बित्दै जाँदा हामी जर्मनमा बोल्न थाल्यौं। उनीसँग बसेर मेरो भाषाको पकड दह्रो हुँदै गयो। उनी मलाई जर्मन लेखक गोथेको बारेमा सुनाउँथिन्। उनका मनपर्ने संगीत सुनाउँथिन्। म लठ्ठ पर्थें।
मार्लिनका सन्तान थिएनन्। उनको दुईपटक विवाह भएको रहेछ। पहिलो श्रीमानको देहावसानपछि ५० वर्षको उमेरमा दोस्रो विवाह गरेकी।
दुबै विवाहबाट सन्तानविहीन थिइन् तर उनमा प्रगाढ मातृत्व ओतप्रोत थियो। मभन्दा अगाडि तीन जना होस्ट विद्यार्थीको हजुरआमा भैसकेकी थिइन्: केन्या, भारत र चीनका तीन जना विद्यार्थी थिए। म उनको अन्तिम विद्यार्थी थिएँ।
‘मिमांशा तिमी मलाई हजुरआमा भन है’ उनले मलाई भनिन्।
आफ्ना मान्छेले पनि नगर्ने अथाह प्रेम, स्नेह र ममता मैले मेरी जर्मन हजुरआमाबाट पाएँ।
म नितान्त विद्यार्थी थिएँ, पैसा धेरै हुँदैन थियो। हरेक चोटि भेट्दा हिँड्ने बेलामा हातमा ५०-६० युरो थमाउँथिन्। म लिन मान्थिनँ। एक घन्टा काम गरेपछि बल्ल १२ युरो आउँथ्यो। त्यो रकम धेरै थियो। म नाइँ भन्थें। उनी सधैं मलाई थुपथुप्याउँदै भन्थिन्- ‘म हजुरआमा होइन? हजुर आमाले नातिनातिनीलाई पुल्पुल्याउँछन् क्या।’
कहिलेकाहीँ म राति पनि बस्थें। घरमा उनी एक्लै बस्थिन्। कस्तो नियम थियो उनको जीवनमा सैनिकजस्तो अनुशासन। साँझ छ बज्ने बित्तिकै जुरूक्क उठ्थिन्।
‘मेरो एक्सर्साइज गर्ने बेला भयो।’ घरमै सानो जिम थियो। उमेरले फरक पर्दैन आफ्नो स्वास्थ्य र आफ्नो खुसीको सधैं ख्याल आफैंले राख्नुपर्छ भन्ने दिव्य ज्ञान मलाई सिकाइन्।
एक दिन म, उनी र उनको श्रीमानपट्टिका छोरा बेनेडिक्टसँग डिनर खान साततारे होटलमा गएको थिएँ।
‘के पिउँछौ?’ उनले सोधिन्।
‘तपाईंहरू जे पिउनु हुन्छ त्यही’, मैले हाँस्दै भनेँ।
‘हामी त वाइन पिउँछौं। तिमी पनि खाने?’
हुन्छ भन्दै मैले जिन्दगीमा पहिलोपल्ट वाइन मेरी जर्मन हजुरआमासँग खाएँ। त्यो दिन घन्टौंसम्म हाँसेको हाँसै थिएँ रे। मलाई अझै जिस्काउँछिन्।
मैले मेरी जर्मन हजुरआमाबाट नयाँ जीवन बाँच्ने ढंग सिकें। जर्मन आनीबानी, बोलचाल, खानपिन। त्यहाँको जीवनशैलीमा घुलमिल हुन मलाई धेरै समय लागेन।
बाहिर हेर्दा जर्मनहरू कडा, छुच्चाजस्ता देखिन्छन्। हतपत साथी बनाइहाल्दैनन्। तर खुलेपछि साँच्चै नै अलौकिक मित्रता कायम हुन्छ। म हजुर आमासँग चर्च, संग्रहालय जान्थे। हिँड्दै प्रकृतिको समीपमा जान्थ्यौं।
मेरा साथीहरू सधैं भन्थे, ‘त्यस्ती बूढी मान्छेसँग के कुरा गर्छेस् हँ, अल्छी लाग्दैन?’
मलाई भने मेरा उमेरका साथीहरू भन्दा पनि हजुरआमासँग समय बिताउन मन पर्थ्यो। उनी जीवनको बारेमा भन्थिन्। खुसी हुने कला सिकाउँथिन्। म भौंतारिएको यात्रीझैं उनको ढोका ढ्कढ्क गर्थें, उनी मलाई जीवनरूपी गुगल म्याप्स चलाउन सिकाउँथिन्।
हप्ताको ६ दिन जर्मनीमा १०-१० मिनेटमा बस ट्रेन आउँथ्यो। आइतबार एक दिन १-१ घन्टामा आउँथ्यो। एक दिन १२ बजे हजुरआमालाई भेट्नु पर्ने थियो, मेरो बस छुट्यो।
आत्तिँदै फोन गरें, ‘मेरो बस छुट्यो, म एक घन्टा ढिलो हुन्छु।’
यति सानो कुराले उनी निकै संवेदनशील भइन्। अर्को पालि भेट्दा हातमा ५०० युरो थमाइन्।
‘मलाई भेट्न आउँदा बस नकुर्नू, एउटा साइकल किन्नू, अनि साइकलमा आउनू।’
७ गियर भएको निलो साइकल चढ्दै म सधैं हजुरआमालाई भेट्न जान्थें।
कोरोनाको समयमा म एकपटक अस्पतालमा भर्ना हुनु पर्यो। संक्रमण नफैलियोस् भनेर थोरै आफ्नालाई मात्र भेट्न दिन्थ्यो। त्यस्तो जटिल अवस्थामा आफ्ना ठानेका मान्छेलाई आँखाले खोज्दो रहेछ।
चिनेका नेपालीहरूले केही करूणा पनि देखएनन्। मान्छे कति स्वार्थी हुँदोरहेछ अस्पताल बस्दा थाहा पाएँ।
उमेरको हदले हजुरआमालाई प्रवेश निषेध थियो तर पर बसेको छोरोलाई खबर गरेर अस्पताल भेट्न पठाइन्।
मेरी हजुरआमाले पठाएको झोलाभरि चकलेट, खाने कुराहरू र पत्रसहित बेनेडिक्ट आए। मलाई त सिंगो संसार भेटेकोजस्तो भयो।
मेरी आमा मसँगै भएको अनुभूति भयो। आँखाबाट त्यसैत्यसै समुन्द्र उर्लियो। दु: खले आफ्नो र पराई छुट्याइदिँदो रहेछ। सुखका सम्बन्ध त झूट रहेछन् दु:खका सम्बन्ध पो सत्य रहेछ। हस्पिटलबाट फर्केपछि अझ संसार बुझ्न सक्ने भएँ।
मेरी हजुरआमालाई केहीको कमी छैन। एकपटक एउटा चित्र बनाएर फ्रेम हालेर दिएँ। उनी भावुक हुँदै मलाई अँगालो मारेर रोएकी थिइन्।
मानिसलाई रूपैयाँ पैसाले होइन, आत्मीयता, सामीप्यता, मानवताले आनन्द दिन्छ भनेर उनले मलाई सिकाइन्। म घर परिवारबाट टाढा एक्लो व्यक्तिलाई उनले आफ्नै सन्तान जसरी सहर्ष स्वीकारिन्।
भूगोल, समाज, जात, धर्म सबै फरक थिए, तर उनको निश्चल र नि:स्वार्थ प्रेम सम्झँदा अझै पनि आँखा टिलपिल गर्छ।
हरेक आइतबार फोन गर्दा उनी भन्छिन्, ‘मिमांशा, इख बिन अलाइन, आबेर निस्ट आइनजाम (आई एम अलोन बट नट लोन्ली)।’ सायद जीवन बाँच्ने नै यसैगरी हो।
मैले चिनेको सबभन्दा धनी व्यक्ति मेरी जर्मन हजुरआमा हो। मनको धनी! परिस्थिति, परिवेश फरक होलान् तर उनको जस्तो विराट मन दैवले सबैलाई दिऊन्। म पनि ८९ वर्ष हुँदा मेरी जर्मन हजुरआमाजस्तै बन्न पाऊँ।