कोही कसैको पनि पूर्ण परिचय दिन सायद सम्भव हुँदैन। जतिसुकै नजिकको भए पनि र जतिसुकै चिनेको छु भने पनि। किनकि मानिस हो, उसमा अरुले थाहा नपाएको रहस्य थाहा पाएको भन्दा बढी हुन सक्छ। साधारण परिचय दिँदा हामी उसको नाम, जन्मस्थान, पेसाजस्ता चिजबाट दिने गर्छौं। तर यस्तो परिचयले व्यक्तित्व र स्वाभावबारे भने खासै भन्दैन।
कहिलेकाहीँ उसका कृतिहरूको उल्लेख गर्न सक्छौँ जसले एक हदसम्म व्यक्ति परिचयको न्याय गर्न सक्छ। फेरि मानिस-मानिस बीचको सम्बन्धबाट पनि कुनै व्यक्तिको स्वाभाव र क्षमता अनुमान हुन्छ। हामी भन्छौँ ऊ एक मिलनसार मान्छे हो, सहयोगको भावना भएको, कोमल मन तर दृढ चरित्रको एक व्यक्तित्व आदि-आदि। त्यसैले यहाँ आज 'सुबास को थिए? र के भए?' भन्ने प्रश्न राखेर मैले यहाँ त्यसको उत्तर दिने भन्दा पनि त्यो प्रश्न यहाँहरू समक्ष राख्ने प्रयास गरेको हुँ।
तनहुँ जिल्ला चोक गाउँको कालिमाटीमा बसोबास गर्ने लोहनी परिवारमा जन्म लिएका सुबास यो लेखका काल्पनिक पात्र होइनन्। हिजोसम्म उनी हाम्रो वरिपरि नै थिए तर आज हामी माझ छैनन्। नाम, ठेगाना र हुलियाले मान्छे चिनाउँदैन, न त नजिकको नाता भएरनै कसैलाई राम्रोसँग चिन्न सकिन्छ भन्ने कुरा सुबासको घटनाले मलाई राम्रैसँग सम्झायो।
त्यसैले मैले उनलाई चिनेको छु भन्दा पनि चिनेको छैन भन्दा बढी सत्यको नजिक हुन्छ जस्तो लाग्छ। खालि यति मात्र हो, म सुबाससँग केही नजिकको सम्बन्धमा थिएँ भने अधिकांश पाठकवर्गले न त उनको नाम सुन्नु भएको छ न त उनको काम बारे नै थाहा पाउनु भएको छ।
पेसामा सुबास एउटा डाक्टर थिए, स्नायु शल्यचिकित्सक अर्थात् विशेषज्ञ न्युरो सर्जन। नेपालको पहिलो स्नायु-चिकित्सा अस्पतालबाट आफ्नो पेसा सुरु गरी नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान अध्ययन संस्थानबाट विशेषज्ञ शल्यचिकित्सक बनेका।
त्यसपश्चात काठमाडौं विश्वविद्यालयबाट स्नायु शल्यचिकित्सामा थप विशेषज्ञता हासिल गरी स्नायु चिकित्सासँग सम्बन्धित उपचार र अनुसन्धान कार्यमा १० वर्ष बिताइसकेका। यति सबै गर्दा उनी ३७ वर्ष पुगेका थिए।
किसानको कठोर परिश्रम र पर्खाइपछि बाली भित्र्याउने मंसिर महिना आएजस्तो उनले यो देशलाई अरु विशिष्ट सेवा दिने समय ठिक्क भएको थियो। तर यी डाक्टरले ३८ वर्षको उमेरमा नै यो संसार छोडे। अनयासै। जानेर छोडे या अरु कुनै कारण थियो? उनलाई नजिकबाट चिन्ने मन मस्तिष्कहरूमा यो प्रश्न अल्झिरहेको छ।
सानै उमेरदेखि पहिलो-दोस्रो नम्बरमा आउने, असाध्य जिम्मेवारी बोध भएको मान्छे थिए सुबास। सिधा चरित्र, छलछाम नजान्ने मान्छे। उनका कक्षाका केही साथी उनीसँग इर्ष्या गर्ने त थिए होलान् तर झगडा गर्नुपर्ने स्थिति कहिल्यै आउँदैन थियो।
कक्षा ९ पढ्दै गर्दा स्कुलको सांस्कृतिक कार्यक्रममा त्यति बेलै उनले डाक्टरको भूमिकामा मूल पात्रको अभिनय गरेको नाटक मैले हेरेको थिएँ। सलक्क परेको उनको त्यो जीउमा डाक्टरको सेतो पहिरन र स्टेथोस्कोप घाँटीमा झुन्डिएको सुहाएकै थियो। त्यतिबेला कसरी थाहा हुनु उनको पछिल्लो जीवनको चिनारी त्यसैबाट हुन्छ भनेर।
सुबासभित्र आकांक्षी थियो। गाह्रो कुरा गर्न अघि सर्ने र त्यसलाई पार लगाउने आकांक्षी। पदलोलुपता र प्रतिष्ठाको पटक्कै होइन। यसै सिलसिलामा उनको चिकित्साशास्त्र अध्ययन गर्ने मन भयो। निजी कलेजमा पढ्न घरको सरदर आर्थिक अवस्थाले दिने कुरा थिएन। त्यसैले कम खर्चले हुने त्रिविवि महाराजगंजमा प्रवेश पाउन धौँ-धौँको कुरा हो भन्ने बुझेर उनले लट्टी कसेर तयारी गरे।
मेहनतको फल थियो भर्ना पाए, र अध्ययन क्रमको सुरुबाटै स्नायु शल्यचिकित्सामा अघि बढ्छु भनेर उनी आमाबुबासँग भन्ने गर्दथे। एमबिबिएस गरे, उत्कृष्टता त सुबासको परिचय नै बनेको थियो। त्यसपछि उनको चाहना आउँदा दिनमा अलि साधन सम्पन्न प्रतिष्ठित विश्वविद्यालयमा गएर राम्रो सीप र ज्ञान हासिल गरु भन्ने रह्यो।
इन्टर्नशीप सकेर एक वर्ष काम गरेपछि उनी पुगे हार्वर्ड। तर तीन वर्ष त्यता काम गरेपछि स्नायु चिकित्सामा थप डिग्री अध्ययन गर्न सुबासलाई त्यहाँ सिफारिस गर्नेले सोधेको थियो- पछि यतै बस्ने कि नेपाल फर्कने विचार छ? भनेर। उनले भने- 'नेपालनै फर्कन्छु।' सुबासको यो सिधा उत्तरले उनलाई त्यहाँ अरु अध्ययन गर्न सहयोग गरेन।
अमेरिकामा गएर यस प्रकारले अमेरिकी राष्ट्रवादसँग नेपाली राष्ट्रवादको पहिलो टकरार परेको सुबासले आफ्नो पिँधको गहिराइसम्म महसुस गरे। त्यति मात्र होइन, उनको त्यो उमेरमा जीवनसाथी बन्न भनि तयार एक नेपाली मूलकी युवतीसँग 'म त नेपाल नै फर्कने हो' भन्दै अड्डी लिएपछि सटक्क तर्किएको पनि उनलाई साह्रो लागेको थियो- 'अहो! नेपाल फर्कन्छु के भनेको थिएँ, यस्तो पो भयो!' र त्यहीं उनले देखे- नेपालीले जीवनमा आफ्नो एउटा चिनारी धान्न पनि कति गाह्रो भैसकेछ भनेर।
साधारण युवा जोशलाई खलबल्याउने यी घटना र पीडाको महसुस सुबासको सरल आत्माको लागि एक झोक्का थियो। आफ्नो इतिहास र संस्कृतिको जरोले मान्छेलाई कति धेरै तान्छ भन्ने भित्री मनको अनुभव एकातिर, अनि सांसारिक लालसाले कसरी एउटा मान्छेलाई उसको जरामुरा छेदन गर्दै हावामा उडाइरहेछ भन्ने तितो यथार्थ अर्कोतिर।
यो खिचातानीबाट उनमा मानसिक द्वन्दले घर बनायो र यी घटनापछि उनी केवल बिरामीको शारीरिक रोगको निदान र उपचार गर्ने डाक्टर मात्र रहेनन्। आफ्नो त्यो आकांक्षी मन कुण्ठित बनेको देखेर उनले आफैलाई बारम्बार प्रश्न गरे- के मानव जीवन आफूले चाहेजस्तो गर्न सक्ने त्यस्तो स्वतन्त्र छ?
यही प्रश्नको भारी बोकेर सुबास नेपाल फर्केका थिए। उत्कट आकांक्षा नहुँदो हो उनी फर्केपछि सरदरको बाटो हिँड्थे। त्यस्ता मान्छे आफैलाई हराएर भए पनि सांसारिक चाहिँ हुन्थे- हेर्दा सबै ठिकठाक। तर सुबास बेग्लै थिए- सधैँ सोध्थे आफूलाई 'म को हुँ?' भनेर। यो प्रश्नको जवाफमा उनले कविता कोर्दै भने- 'म यात्री हुँ, पथ प्रदर्शक पनि हुँ, अनि फेरि पदयात्रीले टेकेर हिँड्ने बाटो पनि हुँ म।'
आफूले आफैलाई गम्भीर रुपमा उत्तर खोज्ने हिसाबले 'म को हुँ?' भनि प्रश्न गर्ने मान्छे यो संसारमा कति होलान्? सोध्नेले केही उत्तर त अवश्य पाउलान्, तर त्यस खालका उत्तर सबैले त्यति सजिलोसँग धान्न सक्दैनन्। किनकि त्यो उत्तरमा त्याग र सायद बलिदानको संकल्प लुकेको छ!
त्याग, बलिदान र संकल्प, यी मनका अत्यन्त गह्रौं भारी थिए, तर यिनै कुराहरू सुबासको मनमा खेल्थे र ती चिन्तनका भाव गहिरिँदै जाँदा कहिलेकाहीँ उनको अनुहार बदलिएको हामीलाई पनि थाहा हुन्थ्यो। तर उनको चेतनाका तरंग कुन क्षितिज र कुन गहिराइमा छ, हामीलाई कहिल्यै अत्तोपत्तो भएन। हुनु पनि कसरी? हामी थियौँ त आफ्नो सानो घेरामा लटपटिएर चेतनाको मापदण्डमा हराएका मान्छे!
अमेरिका गमनदेखि नै सुबास डाक्टर मात्र रहेनछन् भन्ने कुरा उनले हामीबाट सदाका लागि बिदा लिएपछि मात्र थाहा भयो। एक स्नायु शल्यचिकित्सकले मानव शरीरमा चेतनाको संचार गर्ने स्नायु प्रणालीमा कुनै अवरोध आएमा त्यसको उपचार गर्छ, तर त्यसमा दौडने चेतना कस्तो छ त्यो उसलाई सरोकारको विषय हुँदैन।
सुबास भने त्यस स्नायु प्रणालीमा कस्तो चेतना संचार भैरहेछ, त्यसको अभिलेख पनि गर्दै रहेछन्। यसपछि उनका बिरामीहरू स्नायु प्रणालीमा अबरोध भएका मान्छेभन्दा पनि तिनको उपचारमा खटिने डाक्टर परे। त्यस्तै यो समाजलाई खटनपटनमा राख्ने व्यक्ति परे, संस्था परे।
यस प्रकार आफ्नो पेसागत धर्म अगाडि बढाउने क्रममा विशेषज्ञ अध्ययन-तालिम सकिँदा नसकिँदै सुबासभित्र एक किसिमको विद्रोह दन्किन थालिसकेको थियो। उनले निगरानी राख्न थाले त्यस्ता व्यक्ति, संस्था र देशको जसले साधारण मान्छेको जिउने नियम बाँध्दै आफू चोर बाटो हिँड्छ।
गर्न उनले के सक्थे त अब? हजार/दुई हजार शब्दका लेखमा उनको कलम चल्न थाल्यो। तीन वर्षको समय अवधिमा पेसागत व्यस्तता भित्र २०/२२ वटा त्यस्ता लेख हाम्रोअगाडि राखेका छन्। ती प्रत्येक लेखमा आफ्नै अनुभवमा आधारित सम्बन्धित कथावस्तुको यथार्थ चित्रण छ, परिस्थितिको सटिक चिरफार छ। थाहा छैन, सुबासले कहाँ र कहिले आफ्नो कलम त्यसरी तिखार्न सिके।
अस्पतालको व्यापार, चिकित्साशास्त्र पढाउने संस्थाको मनोमानी, संविधानमा समाजवाद त लेख्ने तर नेता र दलहरूको लाचारी र दलालीदेखि विश्व रंगमंचमा आफूखुसी नाच्ने अमेरिकी पुँजीवादी साँढेसम्मका चरित्रमाथि हमला गरिएको छ। लेखमा देखिने बिम्ब प्रयोग, धारिला शब्द र स्पष्ट वाक्य विन्यासले त्यसै भन्छन्। उनका लेखमा डर छैन, दोधार छैन, तारो-निशाना छर्लंग छ। 'मेडिसिटीदेखि मेदान्तासम्म', 'होलबडी चेकअप', 'शिक्षा कि व्यापार' जस्ता लेखले त्यसै गर्छन्।
एक चिकित्सकको नाताले सुबास लेख्छन- ८०% बिरामीलाई लक्षणबाट उपचार गर्न सकिन्छ, अनावश्यक यो-त्यो महंगा उपकरण सुरुमानै जरुरी हुँदैन, साधारण साधन स्रोतको प्रयोगले हुन्छ। तर व्यापारमा रमाउने अस्पाताल र त्यसको इसारामा जीवन गुजारा गर्ने चिकित्सकलाई यस्तो सोच त तगारो हुन्छ।
आखिर सुबास तगारो नै साबित भए र उनलाई त्यही अस्पतालबाट पन्छ्याउने तिकडम रचियो। आफैले शल्यक्रिया गरेको बिरामीलाई त्यसपछिको उपचार क्रममा आफूलाई अलग गर्ने र व्यवहारमा कसरी एकलकाटे बनाउने भन्ने काम गरेर।
त्यस्तै 'पीजी किन निःशुल्क हुनपर्छ?' उनले त्यसै लेखेका होइनन्। एउटा पीजी अर्थात् एमबिबिएस सकेपश्चात माथिल्लो विशेषज्ञ अध्ययनमा लाग्ने 'रेजिडेन्ट डाक्टर'लाई १८% वार्षिक चक्रेब्याज लाग्ने गरेर अस्पतालले ऋण बन्धन गर्छ र ८-१० वर्षका लागि अस्पतालको बंधुवा बनाउँछ। हजारमा आम्दानी गर्ने त्यो रेजिडेन्ट डाक्टरले उल्टो लाखौँलाख तिर्न पर्छ। के डाक्टरी पढ्ने भनेको जग्गा दलालको जस्तो व्यापार व्यवसाय गर्ने लगानी हो? कि धनाढ्यका छोराछोरीले गर्ने रहर हो? १८% ब्याज जुन चारै वर्षमा दोबर भएर जान्छ, आखिर त्यो कसले तिर्छ?
यसरी सामन्ती चक्रे ब्याजको ऋणमा बाँधिँदा बाँधिँदै पनि जुन पायो त्यही पीजीले आफूले काम गर्ने अस्पतालको विरोध गरेर आफ्नो अध्ययन, डिग्री, लोकाचार र भविष्यको आफ्नो व्यवसायलाई दाउमा राख्ने आँट गर्न सक्दैन। सुबासले त गरे त्यही, दाउमा राखे आफ्नो भविष्यलाई।
किन त्यसो गरे? सायद सिधा मात्र हिँड्ने उनको चरित्रले त्यसो गर्यो। सुबास आफूलाई गलत लागे सिधा प्रश्न गरिहाल्थे जोकोही होस्। घुमाउरो काम गरेर विनयशील बन्न नजानेको होइन उनले, त्यसो गर्दा नैतिक धरातल कमजोर हुने देखेर हो। आफ्नो बाटोमा हिँड्दा कतै ठोकिनु पर्छ त त्यसको उनलाई चिन्ता छैन।
यसरी उनको सिधा निसानामा परेपछि त्यही अस्पतालमा कार्यरत नजिकका मित्र जसलाई उभिन कुनै समय उनले काँध दिएका थिए, र ती मान्यवर जसलाई उनले आफ्नो भविष्यको आधार मानेका थिए तिनैले उनलाई छिर्की लगाए। कसैले यसलाई अनौठो कुरा नमान्न सक्छ, किनकि सरदरको हाम्रो संसारमा यस्तो छिर्की लगाउँनु त युग-युगदेखि चल्दै आएको परम्परा हो। तर आफ्नो संकल्पको नियति यो सम्झौताको संसारमा सुबासले देखे- उनको आफ्नै भूमिमा।
सुबास जुन बाटो लिएर अगाडि बढ्न खोज्दै थिए, त्यो बाटोमा सायद उनी एक्लो जस्तो भए। परिबन्द हो, यस्ता मान्छेहरू जानी नजानी परिवारबाट पनि टाढा भएको महसुस गर्लान् किनकि अन्तरमनका सबै भावना कसैले पनि अरुलाई त्यसै भन्न सक्दैन र भने पनि बुझिदिने कमै हुन्छन्। त्यसैले बितेका वर्षमा सुबासलाई कति गाह्रो साह्रो भयो हामी अनुमान गर्न सक्दैनौँ।
तर उनले विगत १० वर्षमा जे-जति सिर्जना गरे त्यो सरदरको भन्दा धेरै माथि छ। आफ्नो चिकित्सा विधामा १० भन्दा बढी अनुसन्धानात्मक लेख, सहलेखनमा अरु २० जति। सामाजिक संजालमा सक्रिय। सम्बन्धित लेख, रचना, दृश्यचित्र कसैबाट आए तुरुन्त शेयर गर्ने।
संगीतको अभ्यास र संस्कृत भाषाको स्वाध्यायनमा पनि लागेका थिए सुबास। उनको कोठामा मादल, तबेला, पियानो, गितार, सारंगीजस्ता बाजा थिए। बजाउन कति जानेका थिए थाहा छैन, सुन्ने मौका नै कसले बनाउँथ्यो र? उनको कोठामा संस्कृतका शिशु कक्षादेखिकै माथिल्लो कक्षासम्मका पुस्तक रहेछन्।
आफ्नो घर-परिवार, पेसा र रुचीको परिचय गर्दै संस्कृतमा वाक्य रचनाको अभ्यास गरेको टिपोट पनि रहेछ। सधैँ अंग्रेजीमा रमाउने यो देशको 'कल्चर'मा उनको संस्कृतमा चाख! 'शून्यको आविष्कार गर्ने यो भूमिमा समय त टाइम भएछ', 'अंग्रेजले राज नगरेको देशमा ईश्वर नै गड भएछ' भन्दै आफ्नै पुस्तामाथि व्यंग्य गर्ने सुबासले आफ्नो बाटो भने निरन्तर खार्दै गरेको थाहा हुन्छ।
कहिलेदेखि हो र कुन कारणले हो सुबास प्राच्य संस्कृतिप्रति विशेष झुकाव राख्ने भैसकेका थिए। झुकावभन्दा पनि यो युगको विकासले जुन रुप लिएको छ, त्यसलाई नसोझ्याई हुँदैन र सोझ्याउन हाम्रो सनातन संस्कृतिबाट नै सम्भव छ भन्ने उनको ठम्याई थियो।
उनले पुराण पढे, उपनिषद् पढे र आफ्ना लेखमा पुराणका स्थापित पात्रहरूलाई आफ्ना विचारको सशक्त सम्प्रेषण गर्ने बिम्ब बनाए। यसको उदाहरण 'रावण, कंश र पोटस' र 'शिवको भोले' जस्ता लेख हुन्। ती लेखमा उनले हाम्रा ओठमा सधैँ आइराख्ने मिथकका पात्रहरूलाई उचालेर पहलवानले झैँ ठेलो हानेका छन् र उनले ताकेको कुनै निशानामाथि बजारेका छन्।
सुबासले जति समस्या देखे र आफूले पनि भोगे, त्यो यो युगकै हैरानी थियो। यसको उपचार उनका दृष्टिमा चैतन्यले भरिएको स्वतन्त्र आत्माको उर्जा थियो। उनको आध्यात्मिक गहिराइबाट हेर्दा आत्मा त्यतिबेला स्वतन्त्र हुन्छ जुनबेला हाम्रो चेतनाले बाह्य चैतन्यलोकसँग समागम गर्दछ।
यस प्रसंगमा सुबासले आफ्नो वेबसाइटमा अगाडिनै लेखेका पनि छन्- 'म शरीरमा आश्रित चैतन्य प्रणाली र बाह्य चैतन्यलोकको प्रत्यक्ष मिलनबाट भविष्यमा चैतन्य-जगतमा हुने ठूलो क्रान्तिमा विश्वास गर्दछु...। '
घरमा एउटा मात्र छोरो, जहिले पनि आमालाई राम्ररी खाएको त छ यसले? भन्ने चिन्ता। बेलाबखत घर फर्केर आउँदा बाहिर खाएर आएकै भए पनि आमालाई केही त छोराले खाइदिए हुन्थ्यो भन्ने हुँदो रहेछ। अनि सुबास पनि भान्सातिर लागेर खाइहाल्ने।
बाबुआमाको लागि छोराछोरी भनेको सधैँ सानाको सानै। उता छोरो भने थाहा नपाइकन एउटा सामाजिक व्यक्तित्व बन्दै थियो। एकातिर स्नायु शल्यचिकित्सकको व्यक्तित्व लिएर अर्को तिर आध्यात्मिक चिन्तन र विवेचनामा संलग्न भएर नेपाल टेलिभिजन, विश्व हिन्दु महासंघका भिडिओ अन्तर्वार्ता र अन्तरक्रियामा सहभागी भएर।
सायद स्नायु शल्यचिकित्साको ज्ञान विज्ञानको खोजीमा लागेकोले होला सुबासको लागि योग र ध्यान साधना स्नायु प्रणालीको रहस्य खोल्ने एउटा प्राकृतिक द्वार बन्यो। हामीलाई त्यति थाहा छैन उनी कहिले, कसरी र कति ध्यान साधनाको अभ्यासमा लिन रहन्थे। तर उनले यो संसारबाट बिदा लिनुभन्दा अघि नासोको रुपमा प्रकासोन्मुख गरी छोडेको उपन्यास 'सोमहोम' (जुन हाल प्रकाशित छ) पढेपछि उनका मन मस्तिष्कमा आध्यात्मिक रस कति भरिएको थियो र कसरी लहरिएको थियो सजिलै अनुभव गर्न सक्छौँ।
उपन्यासमा प्रस्तुत पात्र, पात्र-पात्रका सम्बन्ध, तिनका क्रिडाभूमि र प्रकृति परिवेशको वर्णनमा सामान्य औपन्यासिक साहित्यविधामा पाइने सम्वाद प्रसंग, भावभूमि र श्रृंगारको संयोजनभन्दा संयोगको सौन्दर्य हुन्छ र त्यहाँ झंकृत हुने संवेदनाका तरंग अत्यन्त स्वाभाविक र भावातीत रहेको पाउँछौँ।
घटनाको प्रारम्भ, त्यसको दौडान र पटाक्षेप, अनि सम्वादका हरेक पंक्ति मर्म र रसले भरिएका छन्। पढ्दा शब्दहरू गुन्जिन्छ्न, प्रकृतिले रंगमंच बनाउँछ र दृश्यहरू कहिले साक्षी बस्छन् त कहिले संदेशबाहक हुन्छन्। पात्र-पात्रबीच हुने सम्वादमा कहीँ पाठकलाई सम्झाउने, कहीँ झस्काउने र बिउँझाउने आवाज छन्, त कहीँ निशाना ताक्दै सैतान डगाउने नाद कम्पन हुन्छ। शब्द-शब्दजस्ता भन्दा पनि प्रकाश र तरंगजस्ता लाग्दछन्।
सुबासलाई चिनाउन अरु के छ हामीलाई थाहा छैन। यिनै घटनाक्रमप्रति पनि हामी कहाँ सचेत थियौँ र? यी त पछि खोज्दै जाँदा भेटिएका उनका पाइलाका छाप हुन्, र हुन् उनको चेतनाले उछालेका स्मृतिका तरङ्ग। तर केही अनुभूति भएको छ- युवा उमेरमा नै उनले हामीसमक्ष संकल्पको वेदीमा माया कस्तो हुन्छ दिग्दर्शन गराए र चैतन्यका झिल्का छरे।
उनको चेतनाबाट आएका ज्ञानरश्मी देख्दा उनी एक ध्यानस्थ तपस्वीझैँ देखिन्छन्। अध्यात्मको संसारमा यस्ता तपस्वीका संकल्प देखेर देवलोक त्रसित भएका कथा छन्, चेतनाको पहिलो सिँढीमा नै अल्झेका मनुष्यको त कुरै भएन। सायद उनको त्यो चेतनालाई यो भौतिक संसारको घेरा नाघ्नु पर्ने नियति थियो र उनले हामीबाट बिदा लिए। मायावी संसारका हामीलाई भने यस्तो लाग्छ मात्र एउटा दृश्यको पर्दा खसेको हो, र उनी नदेखिएका मात्र हुन्। 'म फेरि अर्को दृश्यमा आउनेछु' त उनले भनेकै पनि छन्।
(परम्परागत शहरबस्ती परम्पराको खोजीमा विद्यावारिधि गरेका लेखक ख्वप इन्जिनियरिङ कलेज भक्तपुरको नगरी डिजाइन तथा सम्पदा संरक्षण विभागमा प्राध्यापनरत छन्।)