'बाबा खै खै! अर्को गालमा पनि' भन्दै दुवै गालामा चुप्पा खाइसकेपछि जोडले छातीमा टाँसिरहँदा होस।
बाबासँगै सुत्ने भन्दै छातीमा सुतेर निदाउँदा होस।
अरुले खुवाएको नखाने बाबाले खुवाए खाने भन्दै घुर्की लगाइरहँदा होस।
एक-दुई दिन मात्र पनि टाढा हुँदा 'बाबा, मलाई कस्तो गम्मी भाछ काठमाडौँ लैजानु' भन्दै गर्दा होस।
यी शब्द-शब्द र परिस्थितिमा हरपल सोचमग्न, भावुक अनि कृतज्ञ हुन्छु। जसले मलाई यो सम्पूर्ण सौभाग्य प्राप्त गरायो। अनि शीर निहुँराएर आमाप्रतिको सम्मान दर्शाउनु र मनै मनले देखेको भोगेको एक जीवित भगवान मान्छु।
जीवन गतिशील छ, कदम-कदममा फरक-फरक अनुभूति जिन्दगीले चखाइरहेकै हुन्छ। यहाँ चर्चा गर्दै गरेको त्यो अनुभूतिको पाटो, जो शिशुको सुनौलो एक हजार दिन भित्रमा एक बाबाको हो।
यो पाटो यति मात्र होइन, त्यो अनुभूतिको संगालो हो। जहाँ दुवैजना जागिरे जीवनमा हुँदा सहरको एक कुनामा परिवारभन्दा पर रहेर संघर्ष गर्दै अर्को सानो परिवार बनाउँदै छन्। व्यस्तताभन्दा पनि अस्तव्यस्तताबीच सुनौलो भविष्यको खोजीमा छन्।
दैनिक १५ देखि २० पटक सोधिने 'विवाह कहिले गर्ने?' भन्ने प्रश्नलाई बिट मारेको दुई वर्ष नबित्दै अर्को प्रश्न सुरु भइसकेको थियो। यो प्रश्न त्यति व्यापक हुन नपाउँदै हामी बाबाआमा बन्ने अवस्थामा थियौँ।
दुवै जनाको जागिर फरक-फरक ठाउँमा हुँदाहुँदै पनि अध्ययन बिदाले सो अवसर जुराएको थियो। तीन वर्षलाई सँगै हुने मेसो मिलेको थियो। अब परिस्थिति जति नै सहज सोचिनै रहेता पनि श्रीमान-श्रीमतीकै सिफ्टको जागिर र पढाइ हाम्रा लागि अवसरसँगै पछि-पछि बाजा बजाउँदै आएको चुनौति थियो यो।
सुरुआती नौ महिनामा निरन्तरको भोमिटिङ, खाना नरुच्ने, कलेजमै बिरामी भई ढल्दा त खाली पेट बेडमा पल्टी रहँदा, रातमा निद्रा बिनै छट्पटाइ रहँदा कहिले आफ्नो ड्युटी छाडी दौडिएँ त कहिले फाइनल जाँच दिन हल बाहिरैबाट फर्किएर साथमा आए पनि छेवैमा बस्नु, हात सुम्सुम्याउनु अनि विकल्प विहीन भएर टुलुटुलु हेर्नु बाहेक केही गर्न सकिएन।
न त त्यो सात/आठ घण्टाको आँसु, रगत, पसिना र चिच्चाहट सहितको प्रसव पीडामा पीडा साझेदारी गर्न सकियो। ह्विलचियरमा काखमा नानी च्यापेर आँसुसहित बाहिरिँदा खुट्टा ढोगेर तिमी महान् छौ प्रिय भन्न मन लाग्यो। आमा र सम्पूर्ण आमाहरूप्रति श्रद्धा झनै बढेर आयो।
यसरी ल्याइएको खुसीमा अब भने थोरै-थोरै गर्दै साझेदारी गर्न मिल्ने ठाउँ त विकास हुँदै गएको थियो। साझेदारीता फरक पाटो होला तर पनि यो एक अनुपम उपहारका लागि एक श्रीमान सधैँभरि ती नारीप्रति सधैँ-सधैँ ऋणी भई नै रहन्छ। जसको न कुनै भरपाई सम्भव छ।
सरकार पीडामा साथै होऊ है भन्दै १५ औँ दिनसम्म सोच्छ, १६ औँ दिनको दिन सोच्ने जिम्मा आफैलाई सुम्पन्छ। हामीजस्तै यो सहरलाई आफ्नो बनाउन गाउँ-परिवार, समाजलाई उतै राखेर छिरेकाहरूका लागि सहज छैन। बाबालाई १६ औँ दिनमा जस्तै ९१ औँ दिनमा आमालाई पनि विकल्पका लागि आग्रह गर्दछ सरकार।
अपसोच त्यो ९१ औँ दिनका बीचमा पनि छुट थिएन उनलाई, यसैबीच अनलाइन क्लासमा जोडिनु थियो। त्यस्तै बीचमा छुटेका प्रयोगात्मक परीक्षाहरू थाहा छैन यो सुनौलो हजार दिनपछि पनि कहिले पूरा हुने हुन्।
अब विस्तारै सहर भित्रको भागदौड, कोलाहाल, तनाव बिर्साउने एक कोपिला फक्रँदै मन्द मुस्कान पस्कँदै थियो। मुस्कानले सम्पूर्ण कुरा बिर्साइदियो तर जिम्मेवारी भने झनै नबिर्सने गरी बताउँदै गयो। प्रत्येक आधा-आधा घण्टामा सुसु गरिन् कि आका गरिन् कि, प्रत्येक दुई घण्टामा भोक पो लाग्यो कि, सुसु अनि आका गरेका भोटा सुरुवाल धुनु पर्नेछ कि, भएका कपडा सुके सुकेनन्!
जाडो भयो कि? गर्मीले पसिना त आएन? गर्मी छ, तेल लगाउने? लगाउँदा घमौरा आउँछन् कि? पाउडर लगाउने कि? आची गिलो आए पखाला लाग्यो कि? साह्रो आयो कि कन्स्टिपिसन भो कि?
अब यी सबैकुरा आमाका मात्र भएनन्, साझा भए। हाम्रा दुई जनाका चार हात थिए। एक-एक हात जागिर अनि पढाइमा थिए भने बाँकी दुई हात ती सबै सम्हाल्नमा। यहाँ कुन कसले भन्ने विकल्प धेरै थिएन। मेरो ७/८ घण्टा ड्युटी हुँदा उनको सबै काम हुन्थ्यो भने उनको ड्युटी हुँदा मेरो सम्पूर्ण काममा ध्यान हुनुपर्थ्यो।
हामी आज पनि सबै बच्चाको जिम्मा आमाको हो भन्ने समाजको बीचमा रहेर बच्चा, बाबुआमाको माया अनि जिम्मेवारी पनि बराबर भन्ने अनुभूति साटासाट गर्दै थियौँ। खाना खुवाउने, डाइपर कपडा बदल्ने, तेल मसाज गर्ने, रातमा हो नानु हो-हो गराउँदै सुताउने। सम्पूर्ण काम आपसमा बाँड्दै गर्दा जुन अपनत्व र माया विकास भैराखेको हुन्थ्यो, सायद त्यो अरुले गराउन सक्दैन।
आमाको राति ड्युटी हुँदा बच्चा मज्जाले खाएर खेल्दै-खेल्दै जब आफ्नो छातीमा टाँसिएर निदाउँछ नि, त्यो निदाउँदाको खुसी बाबाको लागि कति प्यारो लाग्छ।
तेलले पूरै शरीर मसाज गर्दै सकाएर हात खुट्टा जोडी ढ्याप्प पार्दै खित्का छाडेर हाँस्दाको खुसी कति सुन्दर लाग्छ।
यति सहज ढङ्गबाट खुसी बाँड्दै गर्दा अफिसमा एक हात सरह मात्र काम गर्दा अर्को हातको हातेमालो गर्ने साथी पढाइमा एक हातमा मात्रै हुँदा सहयोग गर्ने साथी अनि सम्पूर्ण क्याम्पसको टिम र हरपल छायाजस्तै साथ रहेको परिवार अत्यन्तै प्रिय लाग्छ।
अशान्त च्या-च्या, चु-चुभित्र पनि शान्त लाग्ने। थकानभित्र पनि सुकुन मिल्ने। दौडधुप, असिन पसिनभित्र पनि खुसीको छहारी मिल्ने समय हो यो।
आज छोरी भोक लागे 'बाबा भोक लाग्यो' भन्छिन्। 'बाबाआमा नै बाहिर जाने ल, यही बुवासँग बस है' भन्दा 'हवस्' भन्छिन्।
उनलाई हामी मात्र कहाँ हो र, घरमा सँगै बस्ने बुवाआमा अझ प्यारा लाग्छ। दौडिन्छन्, रमाउँछिन्, मजाले चकित पार्ने गरी गीत गाइदिन्छिन्, नाची दिन्छिन्, टिकटक बनाउन भन्छिन्। 'लाऽऽ आज त क-क गरेकै छैन, क-क गर्ने हवस् बाबा' भन्छिन्। लेख्न खोज्छिन् पनि।
हो, आज धेरै ज्ञानी भइसकिन्। ठूली भइसकिन्। साँच्ची यी सुनौला हजार दिन काट्न लागिन्।
यो लेखिरहँदा म यति भन्न चाहन्छु, बच्चा अनि तपाईंका लागि सुनौलो हजार दिन हो। तर आमाको लागि जीवनको सबैभन्दा कठिन हजार दिनु हुन्। यो समय अन्य सम्पूर्ण कुरा थाँती राखेर साथ दिनुहोस।
एक कोषबाट सुरु भएको आज तपाईंको पाइला पछ्याउने भैसकेको छ। हेर्नोस् त विकास, त्यसैगरी सम्बन्ध विश्वास र मायामा सहयोग बढाउनुहोस्। जिन्दगी सुन्दर छ, अझै कत्ति सुन्दर हुन्छ।