हालसालै मात्र एकजना विशिष्ट तहका कर्मचारीसँग उनकै अफिसमा भेट्ने मौका मिलेको थियो।
कुराकानी औपचारिक र सान्दर्भिक चलिरहेकै थियो।
त्यसैबखत ती हाकिम साबको मोबाइलमा घण्टी बज्यो। हामीतिर हेर्दै नाक खुम्च्याउँदै तिनले फोन उठाए।
फोन उठाएर केही वार्तालाप गरेर छिटो-छिटो फोन राखे।
अनि हामीतिर फर्कंदै नसोधिएको स्पष्टीकरण दिए।
'गृहमन्त्री ज्यूको फोन थियो' भन्दै फिस्स हाँसे।
हामी अक्कमकियौं।
यिनलाई त गृहमन्त्रीले नै फोन गर्दा रैछन् भनेर छक्क पनि पर्यौं।
'तरकारी, साबुन, मसला आदि आदि घरका सामान ल्याउनुस् है! घर आउँदा भनेर श्रीमतीले अह्राएकी।' उनले थप बेलिविस्तार लाए।
सबै जना चुपचाप सुनिरहेकै थियौं।
मलाई भने एउटा प्रश्न सोधिहाल्न मन लाग्यो,अनि सोधेँ- अनि उहाँ चाहिँ घरमै बस्नुहुन्छ कि कतै कार्यरत हुनुहुन्छ?
उनले अलि अलि जवाफ दिन नचाहेको लवजमा भने- उनी पनि मजस्तै कर्मचारी हुन्।
त्यो दिन हामी त्यहाँबाट निस्कियौं।
पछि बुझ्दै जाँदा थाहा भयो उनी पनि श्रीमानसरह कुनै प्रतिष्ठित कार्यालयको हाकिम रैछिन्। तर श्रीमानले आफ्नी श्रीमतीप्रति सार्वजनिक रूपमा देखाएको व्यवहारले म त्यसदिन चकित भएको थिएँ।
मानिसहरू कसरी यस्तो बोल्न सक्छन् होला हँ?
श्रीमतीहरूले साझेदारीमा घरधन्दा चलाउन अह्राएको सामान्य कुरालाई पनि नसुहाउँदो आदेशजस्तै मानेर 'गृहमन्त्रीको आदेश' भनेर पनि भनेको धेरै ठाउँमा सुनेको छु।
अपवादबाहेक अभिमानको टाउको बोकेर हिँड्ने पुरूषहरूले किन नारीहरूको सहअस्तित्व र साझा व्यवहारलाई स्वीकार गर्न नसकेका होलान्?
आफ्नै श्रीमती उही वा उपल्लो तहको कर्मचारी भएर आफूलाई पनि सल्लाह, सुझाव दिँदा त गर्व हुनुपर्ने होइन र?
म कार्यरत अस्पतालमा एक जना अनमी पदमा रहनुभएकी सिस्टरको कथा सुनाउँछु।
उहाँ स्थायी सरकारी जागिरे हुनुहुन्छ। सँगै आफ्नो सानी नानी हुर्काउने पढाउने अभिभारा पनि छ।
सानी नानीको स्याहारसुसार त छँदैछ,आफ्नो अध्ययनलाई पनि उहाँले निरन्तरता दिइराख्नु भएको छ।
स्टाफ नर्स पनि पढिसक्नुभो। यो पटकको छात्रवृत्तिमा नै बि एन् मा समेत नाम निकाल्नु भो। त्यसमाथि कहिलेकाहीँ बिदा हुँदा गएर घर सम्हालिएन भने त सासूको वचन पनि सुन्नपर्छ रे।
‘श्रीमानको माया भनेको देखाउनलाई मात्र त हो काममा सघाउनलाई हुँदैन’, भन्नुहुन्छ उहाँ।
केटा मान्छेहरू वा म आफैं भइदिएको भए पनि यति धेरै कार्यहरू एकैचोटि गरेर सफल हुन सक्थिनँ होला।
आखिर जता पनि राम्ररी व्यवस्थापन गर्न सक्ने नारीको क्षमतामाथि गर्व गरेर सघाउनुको साट्टो अवमूल्यन चाहिँ किन हुन्छ?
म अचम्म पर्छु।
पढ्न नि पढेकै छन्, जागिर खाएर घरको आर्थिक अवस्था नि सुधारे कै छन्, छोराछोरी स्याहारेकै छन्, घरधन्दा आइपर्दा अरूलाई हात लाउन दिँदैनन्। यति हुँदाहुँदै पनि 'गृहमन्त्री' भन्दै व्यंग्य गरेर नारीको गरिमालाई तल झार्न अभ्यस्त हुनुपर्छ र?
अब एक जना प्यारी दिदीको कुरा गर्छु।
दिदी अहिले १० औं तह विशेषज्ञ चिकित्सक।
स्वास्थ्य कार्यक्षेत्र भनेपछि बिहानदेखि बेलुकीसम्म आँखा झिम्काउने फुर्सद हुँदैन। त्यसमाथि सरकारी अस्पताल, बिरामीको गन्थन मन्थन सुनेर आवश्यक सल्लाह सुझाव दिँदादिँदै त्यसै थकित भइन्छ।
दिदी राम्रो लेखहरू पनि लेख्नुहुन्छ र युट्युबमा जानकारीमूलक 'टक शो' पनि चलाउनुहुन्छ। योभन्दा पनि सबभन्दा ठूलो कुरा त उहाँको अहिले सानी नानी छिन्,नानीकै हेरविचार गर्दैमा फुर्सदै मिल्दैन। तर पनि कसरी यत्तिका कार्यहरू सजिलै पार लाउन सक्नुभाछ भनेर सोधेँ भने-उहाँ मुसुक्क हाँस्नुहुन्छ र गर्नुपर्यो नि भाइ भनेर भन्नुहुन्छ।
केही अगाडिको कुरा हो, चिकित्सक संघको अधिवेशन हुँदा दिउँसोदेखि रातभर मतदान हुँदासम्म उहाँ घरबाट ओहोरदोहोर गरिराख्नु भाथ्यो।
सानी नानीको हेरविचारमा उहाँको तत्परता देखेर म आफैं चकित परेको थिएँ।
अधिवेशनमा पनि उत्तिकै क्रियाशील अनि आफ्नो मातृत्वको जिम्मेवारीमा पनि उत्तिकै जवाफदेही।
मैले दिदीको त्यो एकदिनको तत्परता देखेर त्यहीँ दिल खोलेर प्रशंसा गरेको थिएँ।
उसो त दिदी मतदान सकिएपछि नानी सुताउनपर्छ भनेर हतार हतार घर फर्किनु भो।
चुनावको परिणाम सुन्ने मन त दिदीलाई पनि थियो होला नि। दिदी कतै घुम्न जाम् न? भनेर प्रस्ताव राख्दा पनि नानी सानै छे, छोडेर जानै मिल्दैन भनेर उत्तर दिनुहुन्छ।
दिदीको लेख पनि आजकल थोरैमात्र आउँछ। कहाँ कहाँ पो भ्याउनुहुन्छ होला र दिदीले पनि?
नानीले डिस्टर्भ गरेर लेख्नै दिन्न भन्नुहुन्छ। अरू त अरू ओपिडीमा बिरामीको लामो लाइन सिध्याएर अरूलाई सपिङ जान, घुम्न वा मुभि हेर्न, साथीभाइसँग गफगाफ गर्न फुर्सद होला दिदीलाई चाहिँ घर नै दौडिन हतार हुन्छ।
यो दिदीको व्यस्तता र तत्परतालाई 'गृहमन्त्रीको व्यस्तता' भनेर व्यंग्य गर्न मिल्छ त?
हामी पुरूषहरू कति धेरै भावनाशून्य भइदिन्छौं है अनि भावना गर्न सक्ने हृदय नै लिलामी गर्दै हिँड्छौं।
हामी पुरूषहरू कति धेरै विचारशून्य हुन्छौं है अनि विचार गर्ने मगज नै कवाडीको भाउमा बेचिदिन्छौं।
बुझ्नु र नबुझ्नु फरक कुरा हुन् तर हामी बुझीबुझी पनि नारीको मेहनत र प्रतिष्ठालाई सहन गर्नै नसक्ने पुरूष प्रवृत्ति बनाउँछौं र दहीजस्तै मनमा जमाएर राख्छौं।
भन्नलाई त भनिदिन्छौ नि हामी नारीबिना घर संसार चल्दैन भनेर तर जब तिनै नारीहरू सहजतापूर्वक घर संसार चलाउन खोज्छन् तब 'कति बाठी भएकी?' भनेर वचन लगाउँछौं।
नारीमाथि हेला गरिएको अँध्यारो युग त्यहीँबाट सुरू हुन्छ, जब नारीको उपस्थितिले नौनी घ्यूझैं पग्लिएको र मुहानको पानीझैं संग्लिएको घरको व्यवहार हामी छुट्याउनै सक्दैनौं।
छुट्याउन नसक्नु हाम्रो पाप हो। पशुतुल्य आचरण हो। तै पनि अनेकौं नामहरू राखेर नारीको बेइज्जत गर्न हामीलाई मज्जा लाग्छ। श्रीमतीको मान बढ्दा आफ्नो पनि मान बढ्ने कुराको ज्ञान कहिले हुने होला कुन्नी हामीलाई?
घरको पनि मुटु हुन्छ। त्यही मुटुको धड्कन छाम्दा छाम्दै नारीहरू त विशेषज्ञ नै भइसकेका हुन्छन्। छोरी हुँदै श्रीमती अनि बुहारीका रूपमा पुस्तान्तरण हुँदा घरका सम्पूर्ण कामकाज यिनै नारीलाई सुम्पिने चलन छ।
घरमा के अभाव छ, के भरिपूर्ण छ अनि कुन चिजको सदुपयोग कसरी गर्नुपर्छ भन्ने कुराको विज्ञहरू नारी नै हुन्। अपवादमा पुरूषहरू पनि होलान् तर घर चलाउने विज्ञ आफू हुन नसकेको खण्डमा पुरूषहरूले आफूलाई अपूर्ण मान्दा नै हुन्छ।
सायद कुनै दिन घरबाट नारीले छुट्टी लिएर घुम्न गइन् भने घरको अनि भान्छाको व्याकरण नै बिग्रन्छ। हिसाब पनि गडबड हुन्छ अनि नतिजा पनि प्रतिकूल आउँछ। अनि छुट्टी सकेर फिर्ता आएकी नारीले बाढी बसेर बित्यास पारेको खेतलाई जस्तै फेरि सम्याउन पर्छ।
फेरि दुई चारदिन घरलाई पुरानै स्वरूपमा फर्काउन खटिएरै लाग्न पर्छ।
यो नारीमा भएको गुण हो, अवगुण होइन। नारीको बास भएको घरमा आफैंमा देवता वास बस्न योग्य चोखो, सफा र चिरिच्याट्ट हुन्छ भन्दा फरक पर्दैन।
एउटा घरलाई मन्दिरजस्तै सजाउन मेहनत गर्ने नारीरूपी श्रीमतीलाई 'गृहमन्त्री' भन्दा कत्तिको शोभनीय होला। अनि यी तुच्छ भाषा रूपी अभियोगहरू लगाउँदै गर्दा, श्रीमती चार दिन महिनावारी हुँदा खल्लो तरकारी खान परेको दृष्टान्त चाहिँ सजिलै भुल्न मिल्छ?
टुक्का र उखानका भाषामा घरकी श्रीमतीलाई खाल्टोमा पारेर घरको चित्र बदल्न मुस्किल हुन्छ। बरू सघाउनुपर्ने ठाउँमा सघाएर अनि सिकाएर वा सिकेर घरको श्रीमान श्रीमतीको गठबन्धन बलियो बनाउन सके राजदरबार जस्तै सभ्य हुन्छ घर। बाहिराकाले देख्दा पनि राजा-रानीजस्तै हुन्छन् श्रीमान श्रीमती। मुनामदनको जस्तै मजबुत हुन्छ पिरती। तर श्रीमतीका मीठा आह्वानलाई पनि आदेश मान्ने, अनि त्यसले भनेको कुरा मैले किन मान्ने भनेर सोच्ने हो भने श्रीमतीको गहकिलो मानलाई दूरदूर फ्याँकिरहन मन लाग्छ।
अनि घरलाई गृह मन्त्रालय अनि श्रीमतीलाई गृहमन्त्री भनेर व्यंग्य कसिराख्न मन लाग्छ। जुन व्यंग्यको वाण श्रीमतीलाई लाग्ला नलाग्ला तर श्रीमान आफैंलाई उल्टो लागेर समाजका अघि घायल हुने परिस्थिति जन्मन्छ।
त्यसैले श्रीमतीप्रति गरिने व्यवहार र शब्द चयनमा ध्यान पुर्याउने गरौं।