सायद यो कथा मैले भनिनँ भने अरू कसैले भन्ने छैन वा अरू कसैले भने पनि यही रूपमा भन्ने छैन।
मैले अहिलेसम्म मेरो आफ्नै कथा आफ्नै हो भनेर भन्ने आँट गरेकी छैन।
यो साहस मभित्र वर्षौसम्म मलाई बिथोलेका तमाम विरोधाभासको उपज हो वा ती तमाम दुर्घटनाहरू जसका कारण आज पनि म बथोलिन्छु।
यो मेरो नितान्त व्यक्तिगत कथा हो तर म यसलाई व्यक्तिगत मात्र भनेर लघुताभाषमा अन्त्य गर्न चाहन्नँ। यो कथा जति व्यक्तिगत छ, त्यति नै राजनीतिक पनि।
मेरा तमाम आफन्त र परिवारलाई नभनेको भए हुन्थ्यो भन्ने लाग्न सक्छ वा यो पढेपछि दुखी पनि हुन सक्नुहुन्छ। मलाई अहिले पनि लाग्छ मेरो परिवारले यो नपढोस्।
यो कागजझैं कच्याकुचुक भएर डल्लो परेर मभित्र वर्षौ बाँचिरहेको एक अँध्यारो कथा हो।
यो एक विष्मृतिको संगालो हो, जो आज पनि मसँगै छ। म यसलाई एक सग्लो पाना बनाएर प्रस्तुत गर्न सक्दिनँ। लेख्दाखेरी यो लयमा नलेखिन पनि सक्छ।
यो भन्दै गर्दा तपाईंलाई म अल्लि बढी संकुचित, कुण्ठित र निराश लाग्न पनि सक्छ। तर यसलाई समुच्चतामा नबुझिदिनु होला। यो मसँगै बाचेका तमाम म मध्येकोे एउटा म हो। सायद सबभन्दा बिथोलिएको म।
यो कथाको सुरूआत म जन्मेसँगै हुन्छ। छोरी जन्मँदै गर्दा थाहा छैन आजका बाआमाले कस्ती छोरी चाहन्छन्। मैले मेरा बाआमालाई पनि अहिलेसम्म सोधेकी छैन उहाँहरूले कस्तो म चाहनुहुन्थ्यो।
मेरी आमाको अनुसार म महिना नपुगी जन्मेकी हुँ रे अहिलेको भाषामा भन्दा म एक ‘प्रि-मेच्युअर बेबी’ रहेछु।
सबैले भन्छन्- म जन्मदै सानी थिएँ। एक हातमा बोकेर नुहाउन सकिने। सानी र मेरो छालाको रंग धेरैले छोरीको नहोस् भन्ने चाहने अल्लि बढी धुमिल छ। छोरी जन्मँदैगर्दा धेरैले भन्छन्- छोरी उन्याली होस् म उज्याली थिइनँ।
मेरा बाआमाका लागि त्यो उज्यालो जस्तो लागे पनि अरूको लागि त्यो पक्कै थिएन।
‘तिमी किन यस्तो, छोरीलाई अल्लि खुवाउने गर्नुस्, यो त कस्ती भै, कसकी छोरी हो यस्ती’ मेरो हाँस्ने खेल्ने उमेर यी यस्तै प्रश्नहरू बेगरको कहिल्यै रहेन। जसले मलाई आज पनि म अरूजस्तै संग्लो मानिस हुँ भन्न कठिन लाग्छ।
केटाकेटी उमेर अल्लि सजिलो भियो कसैले मलाई ‘तँ किन यस्ती’ भनिहाल्दा पनि लाग्थ्यो म पछि ठूली हुनेछ। त्यो समयमा ठूलीको मतलब थियो मोटी र अग्लि। मलाई लाग्थ्यो म पछि त्यस्तै बन्नेछु त्यसपछि कसैले भने भने पनि काली मात्र भन्नेछन्। तर मैले सोचेझैं म अग्लि पनि भइनँ, मोटी पनि भइनँ।
म सदाझैं फुच्ची नै भइराखेँ। जब तपाईं समाजले कल्पना गर्ने छोरीझैं एक सग्लो र राम्री देखिने छोरी मान्छे रहनुहुन्न तब मानिसहरूले तपाईंलाई सबै भएर पनि एक अपूर्ण मानिसझैं सोच्ने बनाउँछन्।
थाहा छैन रंगको कथा नेपाली समाजमा कसरी आयो। तर यसरी आएको छ तपाईंको रंग अल्लि कालो हुनेबित्तिकै यदि तपाईं छोरी हुनुहुन्छ भने सबैले तपाईंलाई समस्याग्रस्त देख्न थाल्छन्। धेरैले एउटा खाले मात्र विभेद कि रंगको कि शारीरिक बनावटको भोग्ने गर्छन् तर मेरो केसमा ती सबै विभेदहरू मेरा लागि बनिदिए। आजको भाषामा भन्दा म एकभन्दा धेरै विभेदको सिकार बनेँ।
मलाई आज पनि आफन्तको ठूलो जमघटमा नजानु नै बेस लाग्छ। जानै परेमा नजाऊँझैं लाग्छ। गइहालेमा पनि म गएका बिहे, ब्रतबन्ध र चाडबाड कुनै त्यस्ता छैनन् जसमा मेरो छालाको रंग र मेरो शारीरिक बनावटबारे प्रश्न नगरिएको।
प्रश्न गर्नु एउटा कुरा तर उत्तरबिनाका प्रश्नहरू मानिसहरू किन सोध्छन् म आज पनि बुझ्दिनँ। थाहा छैन किन एक छोरी बढ्दै गर्दा आफ्नो शरीर र रंगले मात्र त्यति धेरै जाँचिन्छे। किन शरीर नै ऊ बिक्ने पहिलो आधार बन्छ? वा ऊ हुर्कंदै गर्दा ऊसँग किन समाज यति धेरै कठोर बनिदिन्छ।
सरसर्ती हेर्दा यस्ता कथाहरू सामान्य झैं लाग्छन्। तर भोग्दा यी सामान्य कहिल्यै बन्दैनन्। यात्रामा बटुलेका तीता अनुभवहरू सायद मसँगै सिध्दिने छन् वा यो केही होइन भनेर एक अघु आवाज बन्नेछन्। सपना देख्ने उमेरमा कसैले तपाईंलाई हेरेरै ‘केही हुँदिनस्’ भन्दिन्छ भने त्यो भन्दा कुरूप केही बन्दैन।
कसैलाई प्रेम गर्दैगर्दा ‘तँ उसको प्रेमको लायक छैनस्’ भन्ने आवाज जब आफैं भित्रबाट आउँछ त्योभन्दा कठोर केही नहुन सक्छ वा वर्षौं कसैलाई प्रेम गरेर पनि उसले गर्दिनँ भन्दा म अरूझैं नभएर हो कि भन्ने आवाज आफैं भित्रबाट आउँछ त्यो सबभन्दा विद्रोही आवाज बन्दो रहेछ। मेरो लागि त्यो त्यस्तै आवाज बन्यो।
सायद कसैले कसैलाई मन नपराउनु, प्रेम नगर्न सक्नु उसको स्वतन्त्रता थियो, वा उसको भागको जीवन। तर वर्षौंसम्म मलाई सधैं लाग्यो म जस्तो देखिन्छु त्यसको कारण मान्छेले मलाई सजिलै प्रेम गर्न सक्दैन मन पराउन सक्दैनन्। यी हेर्दा सामान्य लाग्ने विभेदको एक जटिल परिणाम हो।
जब एक छोरी मान्छे २४/२५ की हुन्छे तब उसको शरीर र रंगलाई अझ बढी गम्भीरताका साथ लिइन्छ। बिहे त्यस्तो संस्था हो जसले यी यस्ता समस्याको खुलेर वकालत गर्छ।
छोरीका बाआमालाई सबभन्दा ठूलो चिन्ता आज पनि उसको बिहेकै लाग्दो रहेछ। जब तपाईं समाजले सोचेको बिहेको उमेरको पुग्नुहुन्छ र तपाईं समाजले हेर्न खोज्ने टाइपको छोरी मान्छे हुनुहुन्न भने त्यही तपाईंलाई रिजेक्ट गर्ने कारण बन्न सक्छ। वा धेरैले तपाईंलाई ‘तँ यस्ती छस् त्यसैले जस्तोले हुन्छ भन्छ त्यसैेलाई हस् भन’ भन्न सक्छन् वा अरू छोरीहरूलाई झैं तपाईंलाई आफ्नो जीवनसाथी आफ्नो ढङ्गले छान्ने स्वतन्त्रता छैन भनेर समाजले सजिलै भनिदिन्छ वा तैंले यस्तो भन्दा बढी कल्पना नगर भनेर समाजले एउटा दायरा तोकिदिन्छ जो तपाईंभन्दा उज्याला र समाजले मानेका राम्रा देखिनेका लागि कहिल्यै नबन्न सक्छ।
यी सबै सबै तपाईं..... भनेर सम्बोधन गरे पनि मेरा कथाहरू हुन्। मसँगै बाँचेका र मजस्तै देखिने तमाम छोरीहरूका कथा हुन्।
महिलाको शरीर वर्षौंदेखि कि शारीरिक र यौन शोषणको शिकार बन्यो वा तँ अरूजस्तै छैनस् भनेर त्यही चिज विभेदको कारण बन्यो। आज पनि मजस्ता युवतीहरू कि राम्रीको उपमा पाएर शोषित भएका छन् वा कुरूपको उपमा पाएर विभेदको सिकार भएका छन्। कतिको केसमा भने दुबैखाले समस्यासँग ठोकिएका छन्।
अझै पनि महिलाको रंग र शरीरको कथा कसैले भन्छ भने सामान्य नमान्नु होला त्यो समाजले वर्षौंदेखि सम्बोधन गर्न नसकेको राजनीतिक कथा हो।
अब पनि हामी यसलाई स–साना अनुभवका कथा ठानेर सुन्न छोड्यौं भने तपाईं हाम्रा वरिपरिका महिला शरीरहरू शरीरभन्दा माथि कहिल्यै उठ्न सक्ने छैनन् यो मैले भनेको मेरो व्यक्तिगत तर पूर्ण राजनीतिक कथा हो।
सायद मैले नभनेको भए मेरो कथा कसैले भन्ने थिएन वा यही रूपमा भन्ने थिएन। हामीसँग यी यस्ता धेरै शरीरका कथाहरू छन्। आशा छ अब हामीले सदाझैं शरीरका कथालाई झिना ठानेर सुन्न छोड्ने छैनौं।