झमझम परिरहेको ठूलो वर्षातलाई छाताले रोक्न त पक्कै सक्दैन तर त्यो वर्षातमा उभिने आत्मविश्वास र आँट भने पक्कै त्यही छाताले दिन्छ। हो, मेरो जीवनको आँट र विश्वासको छाता मेरो हजुरबुबा!
जीवनको पहिला साना-साना पाइलाहरू सार्न सिक्ने क्रममा पहिलो पाइला टेक्न सिकाउने मेरो हजुरबुबाको तारिफले वा भनौं वर्णनले उहाँ प्रतिको माया र सद्भाव सोचे र चाहे जति हुन्छ या हुँदैन यो त म शब्दमार्फत कापीमा उतार्न सायद सक्दिनँ।
म बामे सर्दादेखि आजको दिनसम्म हिँड्न सिकाउनु भएको मेरो हजुरबुबाप्रति माया र सद्भाव यो सानो लेखाइले मात्र पुग्छ र उहाँप्रति न्याय गर्छ जस्तो लाग्दैन तर पनि उहाँलाई सम्झेर २/४ हरफहरू लेख्ने प्रयास गरेकी छु।
विसं २०४४ साल कार्तिक महिनाको ७ गते भाइटीकाको दिन तिमल्सिना परिवारमा पहिलो सन्तानको रुपमा जन्मिएकी म। म जन्मनेबित्तिकै हजुरआमाले 'छोरी जन्मिइन्' भन्दाबित्तिकै 'ल घरमा लक्ष्मीको आगमन भयो' भनेर बच्चा जसरी उफ्रनु भएको थियो रे हजुबुबा।
म परिवारको नै पहिलो सन्तानको रुपमा जन्म लिएको कारण सबैको प्यारी र मायाको पोको थिएँ। न्वारन सकिएको दिनदेखि नै हजुरबुबाले मलाई काखमा बोकेर पर बारीको पाटासम्म पुर्याउने, भइँमा त सुताउन नै नदिने, खालि काखमा नै बोकिराख्नु हुन्थ्यो रे।
काम गर्दा पनि मलाई पिठिउँमा नै बोकेर काम गर्नु हुन्थ्यो रे अनि बेलाबेलामा बुबाले भन्नुहुन्थ्यो रे हजुरबुबा-हजुरआमालाई 'सधैंभरि यसरी बोकेर काम गर्न सकिन्छ?' भनेर। उत्तरमा हजुरबुबाले 'हेर्दै जा न सक्छौँ कि सक्दैनौँ' भन्नुहुन्थ्यो रे।
नभन्दै मलाई काखमा नै हुर्काउनु भयो मेरो हजुरबुबाले। म रोएको त पटक्कै सुन्न सक्नुहुन्न थियो रे। रोयो कि बोकेर जति नै काम बितेको भए पनि डुलाउन हिँडिहाल्नु हुन्थ्यो रे। यी सबै कुरा अहिले पनि हजुरआमा सुनाइरहनु हुन्छ।
म बाल्यकालदेखि नै हजुरबुबा-हजुरआमाको छत्रछायामा हुर्किएकी। मेरो बाल्यकाल काभ्रे जिल्ला ढुंर्खक गाविस वडा नम्बर ६ (हाल बेथाञ्चोक गाउँपालिका- २) मा बित्यो। मैले माध्यामिक तहसम्मको शिक्षा पार्वती माविबाट नै सम्पन्न गरेकी हुँ।
म सानै हुँदादेखि नै मेरो बुबा पढाइ र जागिरको सिलसिलाले घर बाहिर अर्थात् काठमाडौँमा नै बस्नुहुन्थ्यो। मलगायत मेरा दुई भाइहरू गाउँमा नै हजुरबुबासँगै बस्दै आएका थियौँ। पछि काठमाडौँमा बुबाले घर बनाउनु भएपछि भाइहरू काठमाडौँ आए तर म भने गाउँमा नै हजुरबुबा हजुरआमासँग बस्दै गाउँमा नै पढाइलाई नियमितता दिएँ र एसएलसी पास गरेँ।
बच्चा बेलामा म काली र पातली थिएँ कि के हो, मलाई स्कुल भर्ना गरिएपछि बेलाबेलामा स्कुलमा दिउँस हजुरबुवा मेरो बारेमा बुझ्न जानु हुँदोरहेछ। स्कुलमा मेरो उमेरका साथीभाइहरू मध्ये काली-काली, सबैभन्दा सानी फुच्ची देख्नु हुँदो रहेछ। साँझ घरमा आएर हजुरआमालाई सुनाउनु हुन्थ्यो रे 'हाम्री छोरी कहिले ठूली हुन्छे होला है!' भनेर।
हाम्रो घरबाट स्कुल लगभग बालबालिकाको हिँडाइमा एक घण्टाभन्दा बढी नै लाग्ने गर्दथ्यो।
म जान्ने भएदेखि नै मलाई हजुरबुवाले नातिनी भन्नु भएन। 'तिमी त मेरो कान्छी छोरी हौ' भन्नु हुन्थ्यो। मलाई बोलाउँदा सधैँ कान्छी वा छोरी भनेर बोलाउनु हुन्थ्यो। बुबाले काठमाडौँमा घर बनाइसकेपछि धेरै पटक अब काठमाडौँ गएर पढौँ भन्नुभएको थियो तर म हजुरबुबा-हजुरआमा बेगर बस्न नसक्ने भएकाले गाउँमा नै पढ्छु, गाउँबाट नै एसएलसी दिन्छु भनेर काठमाडौँ आउन मानिनँ।
काठमाडौँमा घर बनाएपछि भाइहरूको साथमा ममी पनि काठमाडौँमा नै बसोबास गर्न थाल्नु भयो। मलाई हजुरबुबाले भनेको आज नि याद छ, 'छोरी, तिम्री आमा पनि काठमाडौँ गई भनेर चिन्ता नगर। तिमीले एसएलसी पास गरेपछि क्याम्पस पढ्ने बेलामा हामी सबै काठमाडौँ जाने हो नि चिन्ता नलिई राम्रोसँग पढ है।'
दिनहरू त्यसरी नै बित्दै गए। मैले २०५९ सालमा एसएलसी पास गरेँ र २०६० सालमा गाउँबाट हजुरबुबालगायत हामी सपरिवार काठमाडौँमा स्थायी बसोबासका लागि आयौँ।
हजुरबुबा धार्मिक, सांस्कृतिक र आधुनिक विचारधारा भएको व्यक्तित्व हुनुहुन्थ्यो। काठमाडौँमा बसोबास गर्न थालेपछि प्रायजसो शनिबार पशुपतिनाथ लगायत विभिन्न मन्दिरहरू दर्शन गर्न मलाई र भाइहरूलाई लिएर जानुहुन्थ्यो। त्यसै सिलसिलमा बाटोमा हिँड्दा कोही छोरी मान्छे चिटिक्क परेको कुर्था सुरुवाल वा पेन्ट लगाएर हिँडेको देख्नुभयो भने 'छोरी तिमीलाई पनि म यस्तै कपडा किनिदिन्छु, लगाएर हिँड ल' भन्नुहुन्थ्यो।
जब म आइए भर्ना भएँ, बिहानको क्लास हुन्थ्यो। एक दिनको कुरा हो, म क्याम्पसबाट घर आएको मात्र थिएँ 'ल छोरी खाना खाऊ, आज हामी कोटेश्वर बजार जाने' भन्नुभयो। म पनि फुरुङ्ग भएर 'हस्' भनेर छिटो छिटो खाएर हजुरबुबासँग कोटेश्वर बजार गएँ। तर मलाई केको लागि, किन लिएर जानुभयो भन्ने थाहा थिएन।
कोटेश्वर पुगेपछि कपडा पसलमा छिर्नुभयो र भन्नुभयो कपडा पसलेलाई, 'हिजो मैले हेरेरे गएको कोट र पाइन्ट देखाइदिनुस् त।'
म भने छक्क परेँ। उहाँले त अघिल्लो दिनमा नै गएर कालो कोट र आकाशे रङको जिन्स पाइन्ट अनि पिंक कलरको सर्ट हेरेर राख्नुभएको रहेछ। मलाई नाप्न लगाई किनिदिनु भयो। सायद त्यो बेलाको खुसी म अहिले व्यक्त गर्न सक्दिनँ।
उहाँ एकदम आधुनिक विचारधाराको व्यक्तित्व हुनुहुन्थ्यो। 'तिमीले धेरै पढ्नुपर्छ, राम्रो जागिर खानुपर्छ' भन्ने गर्नुहुन्थ्यो। उहाँसँग बाटोमा हिँड्दा कोही छोरी मान्छेले स्कुटर वा गाडी चलाएको देखियो भने 'ऊ हेर त छोरी, भोलिपर्सी तिमीले पनि यसरी नै चलाउनु पर्छ र मलाई घुमाउन लैजानु पर्छ है' भन्नुहुन्थ्यो।
म जिस्की-जिस्की भन्ने गर्दथेँ, 'यदि मैले सिकेँ भने मलाई कसले किनिदिन्छ नि?'
मुसुक्क हाँस्दै भन्नुहुन्थ्यो, 'म छु नि, म किनिदिन्छु नि।'
उहाँकै त्यो हौसला र म प्रतिको विश्वासले मैले उहाँ निधन हुनुभन्दा अगाडि नै स्कुटर सिकेँ। हजुरले नै किनिदिएको स्कुटर चढेँ र हजुरलाई पनि चढाएँ। तर विडम्बना, गाडी भने हजुरको निधनपछि मात्र सिकेँ र हाल किनेका पनि छौँ। तर मैले चलाएको गाडीमा राखेर हजुरलाई घुमाउने त्यो मेरो ठूलो इच्छा दैवले अधुरो नै राखिदियो।
हजुरबुबा सफा सुग्घरमा एकदमै ध्यान दिनुहुन्थ्यो। घर बस्दा लगाएको कपडा कहिल्यै पनि घरबाट बाहिर निस्किँदा लगाउनु हुँदैनथ्यो। उहाँ चिटिक्क परेका दौरा-सुरुवाल कोट, ढाका टोपी वा भादगाउँले कालो टोपी र टिलिक्क टल्काएका छालाका जुत्ता लगाई, दैनिक दारी काटेर चिल्लो गाला बनाएर हिँड्नुहुन्थ्यो।
कतै बाहिरबाट घरभित्र आएपछि बाहिर जाँदा लगाएको कपडा फेरेर, हात गोडा धोएर मात्र बस्नुहुन्थ्यो। उहाँ कपडा धोएपछि इस्त्री नलगाई कहिल्यै पनि लगाउनु हुन्नथ्यो। यदि धोएको कपडामा इस्त्री गरेको छैन भने त्यो कपडामा इस्त्री नगर्दासम्म कहिल्यै लगाउनु हुन्नथ्यो।
फेरि अर्को कुरा, मबाहेक उहाँको कपडा अरुले इस्त्री गरेको मन नै पर्दैनथ्यो। त्यसैले उहाँको कपडामा इस्त्री लगाउने मेरो ठेक्कासरह नै थियो भने म पनि हजुरबाको कपडामा इस्त्री लगाउन पाउँदा मख्ख पर्थेँ।
उहाँको अर्को स्वभाव कस्तो थियो भने बच्चासँग बच्चा, वयस्कसँग वयस्क र वृद्धसँग वृद्ध जस्तै बनेर कुराकानी गर्नुहुन्थ्यो। बेलाबेलामा मेरा स्कुलका, क्याम्पसका साथीहरू घरमा आउँथे। उनीहरू मसँग भन्दा पनि उहाँसँग बढी घुलमिल भएर बस्दथे। उहाँ स्वभावैले चन्चले, रमाइलो गर्नुपर्ने, हाँसखेल, ठट्टा गनुपर्ने हुनुहुन्थ्यो। सबै आफन्तहरू बोलाएर चाडबाड मनाउनु पर्ने।
आजभोलि पनि मलाई मेरा क्याम्पसका साथीहरू भेट हुँदा कुरा गर्छन्, 'तेरो हजुरबुबाले हाम्रो घर-परिवार बिर्साइदिनु भएको थियो, कुनै दिन पनि हामी आमाबुबा वा परिवार बेगर काठमाडौँमा भाडामा बसेको छौँ भन्ने महसुस गराउनु भएन। हर चाडबाड, तिथि, श्राद्धमा बोलाउनु हुन्थ्यो' भनेर।
मैले स्नातक पास गरेपछि जागिर खान सुरु गरेँ। मैले जागिर गर्न सुरु गरेको सायद एक महिना नपुग्दै होला मेरो अफिस हेर्न आउनुभएको थियो। मेरो अफिस कस्तो छ, कस्ता व्यक्तिहरूसँग काम गर्छे भनेर बुझ्न आउनुभएको रे। उहाँलाई मेरो भविष्यको साथसाथै सुरक्षाको पनि एकदमै चिन्ता थियो।
उहाँको अर्को ठूलो इच्छा मेरो विवाह कुल घरानामा धुमधामका साथ बाजागाजा बजाएर गरिदिने र गोडाको पानी खाई अन्माउने। सधैँ मेरो बुबालाई भन्ने गर्नुहुन्थ्यो, 'हाम्रो छोरीलाई विवाह गरेर टाढा दिने हैन, नजिकै आँखाअगाडि काठमाडौँमा घर भएको केटालाई दिनपर्छ।'
हामी कृष्ण प्रमाणी, सकेसम्म शाकाहारी घर भएकालाई दिनुपर्छ भन्नुहुन्थ्यो र बुबाले भन्नुहुथ्यो, 'हामीले सोचेजस्तै हुन्छ होला र? सब मिलेको पाइन्छ होला र?' मेरो भाग्य भनौँ वा हजुरबुबाको आर्शीवाद र उहाँको भगवान प्रतिको आस्थाले होला सायद उहाँहरूले सोचेजस्तै नजिकैको घर, हाम्रो घरबाट हिँडेर मात्र १० मिनेट लाग्ने घर भएको थापा परिवारबाट कुरा आएछ।
थापा परिवारका छोरा इन्जिनियर उत्तमकुमार थापासँग मेरो विवाह निधो भयो। मनमा सधैँभरि यतिमात्र खेलिरहन्थ्यो कि, मेरो सानो गल्तीले मेरो हजुरबुबाले मनमा सजाउनु भएको र मप्रतिको विश्वास अनि आँखामा देख्नु भएको सपना चकनाचुर गर्नुहुँदैन मैले भनेर।
मेरो यत्तिको शिक्षित परिवार र मलाई असाध्यै माया गर्ने बुबाले हेर्नुभएको केटा नै मेरो लागि सर्वश्रेष्ठ हुन्छ भन्ने पनि मलाई दृढ विश्वास थियो। त्यसैले मेरो घर परिवारले रोज्नु भएको र हाम्रो भेट भएपछि मेरो मनले पनि खाएको उनै थापासँग मेरो विवाह भयो।
जुन दिन बुबाले मलाई मेरो विवाहको प्रस्ताव राख्नु भयो, मैले प्रतिउत्तर नगरी हजुरहरूले रोज्नु भएको केटा म नाईं भन्दिनँ भनेपछि उहाँहरूले आफ्नो तरिकाले मेरो विवाहको तयारी सुरु गर्नुभयो। २०६९ साल असार १० गते विवाहको दिन निधो गरियो। २०६९ साल जेठ १८ गते मेरो टीकाटालो सम्पन्न भयो।
यसरी विवाहको दिन नजिकिँदै थियो, बुबाहरू विवाहको तयारीमा केही कमिकजोरी हुन्छ कि भनी दिनरात लाग्नुभएको थियो। म भने बिहान स्नातकोत्तर पढ्न क्याम्पस र दिउँस अफिस जान्थेँ। बिहान दिउँस त केही महसुस हुँदैन थियो, साँझ घर आएपछि भने कसैको आँखामा आँखा जुधाएर कुरा गर्ने हिम्मत हुँदैन थियो।
हजुरबुवाको कोठा छतमा थियो, मेरो बाटो हेरेर बस्नुभएको हुन्थ्यो। घर आउनेबित्तिकै उहाँहरूको कोठामा जान्थेँ। केही नभनी उहाँहरू दिउँस घुम्न जाँदा केही न केही किनेर ल्याइदिनु भएको हुन्थ्यो, मलाई खाऊ भनि दिनुहुन्थ्यो। आफ्नो भने मुटु भारी हुन्थ्यो र केही नभनी खान्थेँ।
मलाई धेरै कुरा सम्झाउनु हुन्थ्यो। 'भोलि विवाह भएर घर गएपछि यसो गर्नू, सासू-ससुरालई यस्तो व्यवहार गर्नू, कहिल्यै पनि घरमा अँध्यारो अनुहार नलगाउनू, घरमा कसैले केही भनिहाल्नु भयो भने पनि जवाफ नफर्काउनू, आफै ठिक हुन्छ' भन्नुहुन्थ्यो। 'बिहान अरुभन्दा एकछिन छिटो उठेर घरको काम गर्नू, जागिर चाहिँ कहिल्यै पनि नछोड्नू है छोरी' भन्नुहुन्थ्यो।
'मेरो मन मुटुले तिमीलाई कहिल्यै पनि नातिनी मानेको छैन, सधैँ मनमा तिमी मेरो छोरा हो भन्ने लाग्थ्यो तर पनि मनले मात्र मानेर नहुने रहेछ छोरी, विवाह गरेर जानै पर्दो रहेछ' भनेर मुख छोपेर रोएको आज पनि आँखा वरिपरि झलझली आउँछ।
उहाँको अर्को इच्छा ठूलो थियो पनाति/पनातिनी खेलाउने। मेरो विवाह भएको केही महिनापछि हजुरबुबा बिरामी पर्नुभयो। 'गाह्रो भयो हजुरबुबा?' भनेर सोध्दा मलाई जिस्काएर भन्नुहुन्थ्यो- 'पिर नगर छोरी, पनाति/पनातिनी मेरो काखमा नखेलाई मलाई केही हुँदैन।'
हजुरबुवा, तर हजुरको त्यो ठूलो इच्छा मैले पूरा गर्न सकिनँ हजुर जीवित हुँदा। सक्नु पनि कसरी, मेरो विवाह भएको करिब १० महिना पुग्दा नपुग्दै हजुबुबाको निधन भयो।
बिरामी परेपछि जति-जति दिन बित्दै गए, हजुरबुबा झन्-झन् गल्दै जानुभयो। कमजोर हुनुभयो। हजुरबुबालाई मोबाइल किनदिएका थियौँ। बिहान दैनिक ७ बजेभित्र फोन गरिसक्नु पर्थ्यो। एकछिन ढिला भयो भने रुनु हुन्थ्यो, छोरी किन ढिला फोन गरेको भनेर।
एकदिन भेट्न नआए पनि रुनु हुन्थ्यो। सायद भित्री मन, मुटु कमजोर हुँदै गएर होला। विस्तारै खान छोड्नुभयो अनि ममीहरूलाई भन्नुहुन्थ्यो रे 'छोरीले आएर खुवाए मात्र खान्छु।'
ममीले 'छोरी छिटो आऊ, हजुरबुबा यसो भन्नु हुन्छ' भनेर फोन गर्नु हुन्थ्यो। खाना त के खानुहुन्थ्यो, मनको सन्तोष। एक गाँस खाएपछि पुग्यो भन्नुहुन्थ्यो। देख्नेवित्तिकै काखमा बस आऊ भन्नुहुन्थ्यो। काखमै बस्थेँ। धान्न सक्ने त हैन, हजुरबुबाको काखमा छोएर मात्र बस्थेँ। के सोच्नु हुन्थ्यो कुन्नी, केही नभनी बरबर आँशु झार्नुहुन्थ्यो बेलाबेला।
यसरी रोगले उहाँलाई गाँज्दै गएपछि मलाई घरमा ससुरा बुबाले भन्नुभएको आज पनि याद छ- 'नानी, तिमीले हजुरबुबाको सातो लिएर आयौ कि के हो? विवाह हुँदासम्म त्यस्तो हट्टाकट्टा हुनुहुन्थ्यो। विवाह भएको एक महिनापछि देखि त्यसरी बिरामी हुनुभयो, के गर्ने होला नानी?'
हुन पनि त्यस्तै भएको थियो, २०६९ असारमा विवाह भयो। त्यही सालको साउन अन्तिम देखि हजुरबुबालाई कडा रोग लाग्यो। २०७० साल जेठ २५ गते विधिको विडम्बना, हामी सबैलाई छोडेर उहाँ स्वर्गबास हुनुभयो।
मानवीय चोला आज कि भोलि जानैपर्छ, सब थाहा छ तर पनि आफैलाई परेपछि मन सम्हाल्न साह्रै गाह्रो हुँदो रहेछ। मनमा जति नै पीडा, चोट भए पनि मनलाई सम्हालेर खुसी भएर हिँड्नै पर्दो रहेछ।
२०७१ माघमा मेरी छोरी जन्मिइन् र विस्तारै ठूली हुँदै गएकी छिन्, हजुरबुबा। हजुरको काखमा राखिदिन पाइनँ तर छोरीले हजुरको धेरै कुरा गर्छिन्, हजुरको बारेमा धेरै जान्न बुझ्न खोज्छिन् नि।
'मेरो बुढो बुबा कस्तो हुनुहुन्थ्यो? के भन्नु हुन्थ्यो हजुरलाई? आमा, हजुरलाई के भनेर बोलाउनु हुन्थ्यो?' भनेर सोधिरहन्छिन्। अनि थाहा छ हजुरबुबा छोरीले के भन्छिन्? 'मलाई बुबाले (मेरो बुवा) जे भन्यो त्यही पापा किनदिएजस्तै हजुरलाई नि किनिदिनु हुन्थ्यो हो?'
बुबाले छोरीलाई गरेको माया, स्नेह, स्याहार, सुसार बुझ्ने भएर होला राति सुत्ने बेलामा धेरै पटक सोध्छिन् 'हजुरलाई नि बुढो बुबाले यस्तै गरिसिन्थ्यो होला है?' भनेर।
हजुरबुबा हजुरले मलाई हुर्काउन बढाउन, पढाउन, सभ्य, शालीन, सौम्य र सुशिक्षित बनाउन जे जति गर्नुभयो र सिकाउनुभयो त्यो त म कसरी तिर्न सक्छु र? हजुरसँग यति मात्र निवेदन छ कि, अर्को जुनीमा पनि मलाई हजुरकै नातिनी बनाउनुहोस् ल। हार्दिक श्रद्धासुमन हजुरबा।