नयाँ शैक्षिक सत्र सुरु भएको पनि एक महिना पुग्न लागेछ। कोर्स अगाडि लैजाने त कुरै नगरौँ, नयाँ किताब कस्तो छ भनी देख्न समेत पाएको छैन।
हुन त यो पहिलो पटक घटिरहेको घटना पनि त होइन। प्रत्येक वर्ष यही एउटा समस्या दोहोरिएको हुन्छ। विद्यार्थीलाई किताब छिटो हात परे हुन्थ्यो भन्ने हतार अनि अभिभावकलाई छापिँदै नछापिएको किताब कसरी नानीहरूलाई ल्याइदिउँ भन्ने पिरलो।
तर बडो अचम्म लाग्छ, परिवेश सबैतिर उस्तै छैन। यही देशमा यस्ता विद्यार्थी छन् जसले भर्ना खुल्नुभन्दा महिना अगाडिबाट तिनै किताबसँग खेल्न पाउँछन् अनि विद्यार्थी त्यस्ता पनि छन् जसले कुर्दाकुर्दै केही सीप नलागेपछि दाइदिदीको वर्षौं पुरानो मुसाले खाएको किताबमा चित्त बुझाउँछन्।
पहिलो त्रैमासिक आउनै लाग्दा टुप्लुक्क आइपुगेको किताबको अर्थ चाहिँ के हो नि? किताब नै सर्वश्व हो भनेर सानैबाट गलत धारणा धेरै कलिलो मस्तिष्कमा जन्मिसके। आफ्नै वरिपरि रहेको यो खुल्ला किताब अर्थात् प्रकृतिलाई कसैले पढ्न खोज्दैनन् न त त्यसो गर भनेर सिकाइएको छ।
किताब नआउन्जेल वैकल्पिक विधिबाट शैक्षिक क्रियाकलाप अगाडि बढाउनुस् भन्नुहुन्छ तपाईं। एकपटक उसको ठाउँ अवलोकन गर्नुहोस्। त्यहाँ विद्यालयमा इन्टरनेट र बिजुलीको गतिलो सुविधा छैन, पढाउने माडसाबलाई नै पिडीएफको ज्ञान छैन। अनि के कुराको प्रयोग गर्न भन्नुहुन्छ तपाईं?
कहिले कुन विषयलाई बाहना बनाएर त कहिले कुन कारण देखाएर ६ महिना पनि राम्ररी अध्ययन गर्न पाउँदैनन् विद्यार्थी तर अन्त्यमा परीक्षा देशव्यापी रुपमा सँगै लिइन्छ र अर्थविहीन प्रतिस्पर्धा रचाइन्छ। महिनौँको प्रतीक्षापश्चात परीक्षाफल प्रकाशित हुन्छ। त्यसबखत सुरु हुन्छ कुनै समानता नै नभएका बीचको मूल्यांकन।
वर्षभरि विद्यालय गएर, हुँदा-हुँदा बिदाका दिन समेत हुने अतिरिक्त कक्षा साथै शिक्षक घरमै आएर पढाइदिने अहिलेको लोकप्रिय व्यापारबाट उत्पादन भएका र पहिलो त्रैमासिकसम्म किताब नै नदेखेका, छ महिना पनि विद्यालय जान नपाई गाईवस्तु चराउँदै मुस्किलले गृहकार्य गर्नेहरू बीचको मूल्यांकन गरिन्छ।
विद्यार्थीको शैक्षिक गुणस्तर भएन भनिन्छ। उनीहरू नै कमजोर छन्, केही गर्न सक्दैनन् भनिन्छ। तर कुन वातावरणबाट कसरी आए कहिल्यै हेरिँदैन। 'ए प्लस' र 'बी प्लस' बीचको अन्तर देखिन्छ तर ती विद्यार्थी हुर्केको वातावरणको कल्पना समेत गर्न नसकिने खाडल कहिलै देखिँदैन।
गाउँघरमै पनि अहिले एकाध राम्रा भनिने र उत्कृष्टमा गनिने विद्यालयहरू त छन् तर समस्या त्यहाँ पनि जस्ताको त्यस्तै छ। अंग्रेजी माध्यमलाई बढी देवत्वकरण गर्न थालिएको छ। निजी विद्यालयसँगको प्रतिस्पर्धामा उत्रिन तिनै राम्रा भनिने सामुदायिक विद्यालयलाई भ्याई-नभ्याई हुन थालेको देखिन्छ।
विद्यार्थी आफै आकर्षित भएर आउनु पर्नेमा विद्यालयहरू आफ्ना भए नभएका सबै स्किम बोकेर प्रचारप्रसारमा जुटेका छन्। फेरि यहाँ अर्को किसिमको प्रतिस्पर्धा गराइन्छ, उनै मुस्किलले ६ महिना पढेर राम्रो विद्यालय पढ्ने आशमा आउने विद्यार्थी र सिंगो किताब खाएर आएकाहरूबीच।
राम्रा जति हाम्रा भन्ने मनस्थितिले प्रवेश परीक्षा लिइन्छ। तिनै जो राम्ररी पढ्न समेत पाएका हुँदैनन् उनलाई असफल देखाइन्छ। भर्ना लिन नसकिने जानकारी गराइन्छ। राम्रा अंक ल्याएर खरर अंग्रेजी बोलेकै भरमा भर्ना लिइएका विद्यार्थी पाउँदा मख्ख परिन्छ। यति हुँदाहुँदै केही गरी भर्ना हुन पाएका तिनै ६ महिने विद्यार्थीलाई पटक-पटक स-साना कुरामा मानसिक यातना दिइराखिन्छ।
बिहान खानाको ठेगान नभएर खाली पेट घर बस्दा होस् या विद्यालय जाँदा होस्, लगाउने त्यही एउटा पाइन्टमाथि खुम्चिएको शर्ट भिरेर जान्छ। गेट प्रवेश गर्न नपाउँदै परैबाट उसका बाबाआमालाई समेत जोडेर गरिने गाली वाचन गर्दै माडसाब आइपुग्छन्। भोकले कुक्रुक परेको पेटसँगै अब डरले सारा शरीर नै कुक्रुक्क पर्छ।
बिहान बेलुकाको छाक जुटाउन समेत मुस्किल पर्ने अभिभावकलाई तपाईंहरूले नानी घरमा हेर्दै हेर्नुहुन्न भनेर आफ्नो कर्तव्यबाट पर सरिन्छ। उसैको अगाडि सबै कुराले सम्पन्न खाना मात्र हैन, दिवा खाजा र थप मन लागेको खाजा खान भनी अतिरिक्त रकम समेत ल्याउने विद्यार्थीलाई आफ्नो गौरव ठानिन्छ।
उसको खुम्चिएको शर्ट र च्यातिएको चप्पललाई लज्जाको विषय भन्दै धम्काइन्छ भने अर्कोको चट्ट आइरन गरेको शर्ट, त्यसमाथि झुन्डिएको टाई र टलक्क टल्किएको जुत्तालाई प्रतिष्ठाको विषय बनाइन्छ। प्राथमिक समस्याको खोजी गर्नु साटो गल्ती विद्यार्थीमाथि मात्रै तेर्साइन्छ।
विस्तारै उसभित्र आफैले वैमनश्यता जगाइन्छ, सबै कुरामा आफूलाई असफल देख्न थाल्छ ऊ। आफ्नो अभाव नै आफ्नो कमजोरी हो भनेर आफूभित्र लुकेको क्षमता नै देख्न खोज्दैन ऊ। तेरो कुनै काम छैन, तैँले कहिलै केही गर्न सक्दैनस् भन्दै सबैका सामु उसको मानहानी गरिन्छ। अन्त्यमा नतिजा पनि त्यस्तै निस्कन्छ।
न त उसले आफ्नो कथा कसैलाई भन्न सक्छ, न कोही उसको कथा पढ्न वा सुन्न खोज्छन्। ऊ त्यही विद्यार्थी बन्छ जुन माडसाबले भनेका थिए, ऊ चाहँदा चाहँदै केही गर्न सक्दैन। अभावै अभावबीच सुन्दर भविष्यको कल्पना गरिरहेको ऊ, त्यसलाई केवल कल्पनामै सीमित राख्न बाध्य हुन्छ।
प्रत्येक वर्ष शिक्षाका नाममा जतिसुकै बजेट विनियोजन गरिएको भए पनि, जतिसुकै कार्यक्रम अनुमोदन गरिए पनि ऊजस्ता धेरै विद्यार्थीको अवस्था १९ को २० भएको छैन। केवल घृणा र बेवास्ता मात्र खेपेको ऊ न त सैद्धान्तिक शिक्षा हासिल गरी उत्तीर्ण हुनसक्छ न त रमाएर जीवनोपयोगी शिक्षा नै लिनसक्छ।
सामान्य पुस्तक समेत समयमा नपाएर जे जति बुझेको छ, जति जानेको छ पढेको उसलाई, त्यसैको भरमा ऊ कति सक्षम कति असक्षम भनेर मापन गर्न हतार नगर्नुहोस्। पहिलो आवश्यकता जे हो प्राथमिकता सोही कुरालाई दिनुहोस्। अहिले विद्यालयमा पढाइ नै भएको छैन भनेर किताबको अभावमा दिनभरि बाबाआमासँगै दैनिक कार्य गर्न बाध्य विद्यार्थीको हातमा सुकिला किताब समयमै थमाउन तिर लाग्नुहोस्।
ऊ एकैचोटि भविष्यको बलियो खम्बा बन्ने हैन, उसलाई तपाईंले आकार दिनुहोस्। जन्मिँदै कुनै विद्यार्थी यस्तो उस्तो भन्न मिल्ने बनेर जन्मेको थिएन। ऊ कस्तो समाज? कुन स्थितिबाट गुज्रिँदै आएको छ? त्यो कोट्याउन खोज्नुहोस्। ऊभित्रको त्यो केही गर्छु भन्ने भावलाई आफू निर्णायक बनेर अर्थविहीन प्रतिस्पर्धामा भिडाइ उसको जोशलाई नमार्नुहोस्।
उसको फोहोर शर्टमा औँला तेर्साउँदै गाली बर्साउनु साटो कारण केलाउनुहोस्। ऊजस्ता तमाम विद्यार्थी छन् जो आमा र बाबा दुवैको मायाबाट वञ्चित छन्, उनीहरूको अभावमा आफ्नो त गुजारा गरेकै हुन्छ। सँगै स-साना भाइबहिनीको समेत अभिभावकको भूमिका खेलेको हुन्छ।
सानै उमेरमा यति सब गर्न सक्नेलाई फेरि पनि उसको आवरण र पढाइको स्तरकै आधारमा अर्को सबै कुरा बाबाआमाले टुप्लुक्क तयार पारेर राखिदिने, ढलेको सिन्का समेत नभाँच्नेसँग तुलना गरिन्छ।
माडसाब, उनीहरूको कथा बिल्कुलै भिन्न छ। तुलना गर्नका निम्ति पहिले दुईबीच समानता ल्याउन पहल गर्नुहोस्। अहिले हतार नगर्नुहोस्, प्रतिस्पर्धा बराबरीको होस्। पहिले उसले हातमा किताब, शरीर राम्ररी छोप्ने कपडा अनि भरपेट खाना खान पाओस्। त्यसपछि उसको मूल्यांकन होस्, स्तर मापनका नयाँ आधार तयार पारियोस्। माडसाब! समानता नभएसम्म उसलाई कसैसँग नदाँजियोस्।