जेठ महिनाभरि कार्यालयमा रात्रीकालीन सेवा गरेँ। अधिकांश दिन घर पुग्दा छोरा सुतिसकेको हुन्छ। कहिले कहिले मात्रै 'आज त मामु नआई सुत्दिनँ' भनेर कुर्छ। रातभर आमा ऊसँग टाँसिएर सुतेको थाहै पाउँदैन। हिजो घर आए नआएको बिहान सोध्छ। 'मामुबाबु च्याप्प सुतेको हो' भनेपछि बल्ल ऊ ढुक्क हुन्छ र खुसी बन्छ।
राष्ट्रिय समाचार समितिमा साँझ ड्युटी गर्दैगर्दा 'बाबाको आँखाबाट शिशुको सुनौला हजार दिन' लेखमा आँखा पुग्यो। पढ्दै थिएँ सहकर्मी जीवन भण्डारी आउनुभयो। 'घर जान हतार छ, आफू घर नगई छोरी खाना खाँदिन र सुत्दिन' भन्नुभयो। म, उहाँजस्तै धेरैको वास्तविकतासँग लेख मिल्दो लाग्यो।
हामी राससमा साना छोराछोरी (१० वर्ष मुनिका) सन्तानका आमाबाबा धेरैजना छौँ। सबैको कुरा उस्तै-उस्तै हुन्छ। पहिले-पहिले महिलाहरू भेट हुनासाथ सन्तान वा परिवारको कुरा गर्छ भन्ने आरोप लाग्ने सुनेको थिएँ। अहिले भने महिला पुरुष सबै जना सन्तानका विषयमा खुलेर बोल्ने गर्छन्। सन्तानको र घरको काम गर्छु भनेर खुलेर भन्ने पुरुष बढिरहेको मेरो अनुभव छ।
ड्युटी सकेर घर जानु पहिले मलाई घरमा फोन गर्न मन लाग्छ। छोराका बारेमा सोध्न मन लाग्छ। खायो खाएन, सुत्यो सुतेन। घरमा बाबासँग बसेको छोराको मलाई चिन्ता छैन। चासो त आमालाई लाग्ने नै भयो। केही कुरा भन्न पनि मन लाग्छ, यो खुवाउनु यति बेला, सुताउनु तर आफैलाई थाहा छ मैले त्यो भन्न कति पनि जरुरी छैन। श्रीमान आफै छोरालाई गर्नुपर्ने काम राम्ररी गर्नुहुन्छ। बानी परिसकेको छ।
श्रीमानका परिवारका सदस्य र कतिपय मेरा आफन्तले पनि भन्ने गर्छन् कि मैलेभन्दा मेरो श्रीमानले छोरालाई बढी माया गर्नुहुन्छ। अहिलेसम्म मनमा भएका कुरा नाप्ने यन्त्र नबनेकाले यसै भन्न सकिँदैन। तर हेरचाह दुवैले गछौँ। छोरालाई गर्नुपर्ने हेरचाहमा मेरोभन्दा श्रीमानको बढी ध्यान जान्छ। श्रीमानलाई उसको नङ र कपाल बढेको, नुहाउनुपर्ने समय भएको बढी थाहा हुन्छ। म उसलाई नयाँ-नयाँ लुगा र मिठा खानेकुरा किन्न बढी ध्यान दिन्छु।
झण्डै दुई वर्षको छोरा हुँदासम्म म माइतीमा मेरो आमा र घरमा श्रीमानको काकीले हेरचाह गर्दा हामी दुवैले उसका बारेमा कम चासो दिए पुगेको थियो। दुई वर्षको छोरा लिएर जब हामी छुट्टै बस्न थाल्यौँ तब छोराका सबै कुरा हामीले हेर्नुपर्ने भयो। खाना कम खाँदा सञ्चो नभएको हो कि अथवा अरु क्रियाकलापमा सक्रिय कम हुँदा कतै घुमाउन लैजाने हामीले उसको शरीर र मन बुझेर गर्नुपर्ने भयो। छोरालाई बुझ्ने कुरामा श्रीमान अघि हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ।
श्रीमानले बढी समय दिएर हुनसक्छ छोरा बाबासँग नजिक छ। त्यसो भनेको मसँग टाढा होइन। हाम्रो समयमा हामी बाबा घर आउँदा सतर्क भएर बस्नुपर्छ र बाबा हिँडेपछि आमालाई सताउनुपर्छ भन्ने थियो। अहिले त्यो कुरा उसमा छैन। दुवैलाई सताउँछ। अझै बाबालाई बढी माग गर्छ।
आफ्नो छोरा र आफू वरपरका आफन्त र साथीभाइका सन्तान हेर्दा लाग्छ पहिले पहिलेजस्तो अहिलेका सन्तान बाबासँग टाढा छैनन्। बाबाले पनि सन्तानसँग घुलमिल गर्ने, खेलाउने र खुवाउने, होमवर्क गराउने हुँदा उनीहरूको आत्मियता बढेको छ। जति नजिक रहेर बाबाले सन्तानको हेरचाह गर्यो उति धेरै निकटता बढेको पाइन्छ।
काठमाडौँ लगायतका सहरी क्षेत्रमा आमा र बाबा दुवै कामकाजी हुँदा सन्तानले आमाको पूरै समय पाएका छैनन्। बिहान स्कुल पठाउने र दिउँसो आफै लिन जाने आमाको सङ्ख्या क्रमिक रुपमा घट्दो छ। कतिले आलोपालो गरेर सन्तान हेर्ने त कतिले आफन्तलाई हेर्न लगाउने, अरुलाई निश्चित रकम दिएर हेर्न लगाउने गर्छन्।
विद्यालय जाने उमेर नभएका सन्तानका आमाबाबा आलोपालो काम गरेर हुर्काउने धेरै छन्। पहिलेपहिले कतिपयले सन्तान हेर्नका लागि सहयोगी राखे पनि कोभिड सङ्क्रमणका कारण पनि पछिल्लो वर्ष धेरैले सन्तान आफै हुर्काउन लागेको पाइन्छ।
काठमाडौँलगायत सहरी क्षेत्रमा एकल परिवारको सङ्ख्या बढ्दो छ। अध्ययन वा रोजगारीका लागि सहर पुगेकाहरू विवाहपछि दम्पत्ति मात्रै बस्ने गर्छन्। सन्तान नहुँदासम्म आ-आफ्नो हिसाबले चलेको दैनिकीमा सन्तान जन्मिएपछि समय व्यवस्थापनको चुनौती थपिन्छ।
पहिले पहिले विवाहअघि पुरुष मात्रै अपरिपक्व हुने मानिन्थ्यो भने अहिले अधिकांश युवा (महिला र पुरुष) दुवै अपरिपक्व हुन्छन्। विवाह र त्यसपछि सन्तानको आगमनले परिपक्वता थपिन्छ। सहकर्मीहरू र आफन्तमा पनि त्यो देखिरहेको छु।
पहिले आमालाई धर्ती र बाबालाई आकाशसँग दाँज्ने गरिन्थ्यो। आमाले माया गर्ने, हेरचाह गर्ने र सन्तानको पीडा नभने पनि महसुस गर्ने मानिन्थ्यो। हाम्रो पुस्ताका अधिकांशका आमा त्यस्तै छन्। बाबाले आकाशजस्तै बनेर खुल्ला आकाशमुनि सुत्न नदिन छाना, लगाउन नाना र खान खाना जुटाउनुपर्थ्यो।
आर्थिक गतिविधिमा पुरुषको तुलनामा महिलाको संलग्नता बढी थियो। महिलाको संलग्नता कहिल्यै पारिश्रमिक नपाउने, परिवारका अरु सदस्यले हेर्दा कामजस्तो नदेखिने तर कुनै समय गरी नसकिने घरधन्दा र सन्तान हुर्काउनमा थियो। महिला शिक्षा र सशक्तिकरण बढ्दै जाँदा महिला पनि घर बाहिर काम गर्न जाने बढ्दा घर भित्रका काममा पनि पुरुषको संलग्नता बढेको छ।
एकल परिवार र श्रीमानश्रीमती दुवै कामकाजी हुँदा घर भित्रको काम र सन्तान हुर्काउन मिलेर लाग्ने बढेको छ। कुन काम कसले गर्नुपर्छ भनेर परम्परागत रुपमा गरिएको परिभाषा बदलिँदैछ। कसको कति फुर्सद छ वा मिलाउन सक्छ उसले गर्ने भन्ने बढ्दैछ।
संयुक्त परिवारमा हुर्किँदै गरेका सन्तानले संस्कार सिक्छन् भने एकल परिवारमा हुर्किएका सन्तानले काम भनेको महिला वा पुरुषका लागि तोकिएको हुँदैन भन्ने सिक्छन्। छोरीले म ठूली भएर आमाजस्तै र छोराले म बाबाजस्तै काम गर्नुपर्छ भन्ने सोच एकल परिवारमा हुर्किएका सन्तानमा नहुन सक्छ। लैङ्गिक समानताका विषय अबको पुस्ताले किताबमा पढ्ने होइन घरमा सिक्ने हुनसक्छ।
अहिलेका हाम्रा सन्तान हुर्कने समयमा जस्तो सधैँ आमाले पकाएको खाएर मात्रै होइन कहिले बाबा र कहिले आमाले पकाएको खाएर हुर्कँदैछन्। आमाले पकाएको यो मिठो र बाबाले पकाएको त्यो मिठो सन्तान छान्दै हुर्कंदै छन्। होमवर्क एकजनासँग गर्ने र अर्को किताबको गाता हाल्ने वा ड्रेसमा आइरन गर्ने। एकल सन्तान हुँदा त अझै अरुसँगै सन्तानसँग खेल्न पनि आमाबाबाले समय छुट्टाउनु पर्छ।
आमा एक्लैले हुर्काउँदा जस्तो अचेल सन्तान आमासँग टाँसिने र बाबासँग टाढिने छैन। अहिलेका सन्तान बाबासँग समय बिताउँछन्, यो चाहियो र त्यो चाहियो माग गर्छन्, घुर्काउँछन्। आफ्ना काम बाबाले पनि गरेको देख्छन्। आमा र बाबा दुवै आकाश र धर्ती दुवै हुन् भन्ने अबको पुस्ताले बुझ्नेछ।
मलाई हुर्काउन, पढाउन र बढाउन दुवैको योगदान रहेको अबको पुस्ताले देखेरै बुझ्छन्। यो पुस्ता हुर्किएर बाबाप्रति सम्मान मात्रै होइन, आमालाई जस्तै माया गर्नेछन्।
यी सन्तान आमाबाट टाढिँदा मात्रै होइन, बाबासँग टाढिँदा पनि मन दुख्नेछ। बाबा भनेको पैसा कमाउने र चाहिँदा खर्च गर्ने मात्रै होइन, माया गर्ने मान्छे हो भन्ने सन्तानले बुझ्नेछन्। आगामी दिनमा बाबालाई कडा मन र महिलालाई नरम मन होइन, मानिस जो कोही पनि कडा र नरम मनको हुनसक्छ भन्ने बुझ्नुपर्छ।