जर्ज अरवेलको १९८४ किताब पढ्दै थिएँ।
एउटा ‘डिस्टोपियन’ समाज जहाँ जीवनका हरेक कुरा निगरानीमा छ। हरेक क्षण, हरेक निमेष सिसिटिभीको नजरमा भए जसरी सतर्क भएर बाँच्नुपर्ने! न सोच्ने स्वतन्त्रता छ, न बाँच्ने।
एउटा त्यस्तो भविष्यको कल्पना गर्दै लेखिएको त्यो किताबमा एउटा विचित्रको सत्य छ। त्यो समाजमा शब्दकोष सानो भएको छ।
मान्छेले शब्दलाई छोट्याएर, अपभ्रंश गरेर, जोडेर होस् या शब्द नै हराएर शब्दकोषलाई निकै सानो बनाएका हुन्छन्। अरवेलले त त्यो एउटा दर्दनाक भविष्यको चित्रण गरेका थिए, तर के साँच्चै आजको समाज यस्तै भइरहेको छैन र? आफ्ना मनमा लागेका भावना व्यक्त गर्न हामीसँग उपयुक्त शब्दको खडेरी हुँदै गइरहेको छ।
मज्जाले हाँस्नको साटो, ‘लोल’, मा हाम्रा सारा मुस्कान खुम्चिएर अटाएका छन्। सम्बन्धहरूमा मनका कुरा व्यक्त गर्न नसकी मौनतामा बलिन्द्र धारा आँसु खस्दैछन्। कुराकानीलाई निर्जीव बन्न नदिन हामीलाई ‘इमोजी’ फ्याँक्नुपर्छ।
कथमकदाचित परीक्षामा २०० शब्द बढीको निबन्ध लेख्नुपरे चिटचिट पसिना आउन थाल्छ। खै कहाँबाट ल्याउनु शब्द? पेटमा छ, मुखसम्म आउँदैन। घाँटीमा अड्किएर बस्छन् निस्कनु पर्ने शब्दहरू।
मेरी सानी बहिनीलाई कहिलेकाहीँ आफूसँगै क्याफे र रेस्टुरेन्टमा लिएर जान्छु। स्कुलले अरू दिन लखतरान परेकी हुन्छे। घर र स्कुलबाहेक बाहिरी समाजसँग खासै अन्तर्क्रिया गरेकी हुँदिन। कतै यसले मान्छेसँग डिल गर्न नजान्ने पो हो कि भनेर म सधैं उसलाई बोल्न अघि सार्छु।
‘जा, त वाइफाइको पासवर्ड सोधेर आइज।’
‘बिल तिरेर आइज जा।’
सधै् नाक खुम्च्याउँदै भन्छे, ‘के भन्नू ? मलाई बोल्नै आउँदैन।’
सामान्य शब्दहरूको भण्डारबाट थुपुक्क शब्द टिप्दै म बहिनीलाई सौगात दिन्छु - यो भन!
ऊ हिच्किचाउँदै गएर बोल्छे। फर्किंदा अनुहारमा अचम्मको भाव हुन्छ; उफ्, अब बोल्नु परेन।
नेपाली कक्षामा यसै विषयमा खेम सरले घतलाग्दो कुरा गर्नुभयो। कसरी भाषा लोप हुँदैछ। कसरी मानिसलाई जोड्न बनाइएको यो भाषा नै मानिसको कमजोरी भइरहेको छ। म सोच्न बाध्य भएँ। म आफैं भाषाको विद्यार्थी हुँ र त लेख्नलाई कसरत गर्नुपर्छ।
भावविभोर भएको अवस्थामा बल्लतल्ल मन संयमित पार्न म बोल्न सक्छु, लेख्न सक्छु। म भाषाकै सेरोफेरोमा छताछुल्ल भएको जिन्दगीलाई समेट्न खोज्दैछु। त्यही पनि मसँग शब्दको कमी अनवरत रूपमा भइराख्छ।
म शब्द नपाएर आतिन्छु, अन्य भाषाबाट सापटी माग्छु, कहिलेकाहीँ त आफैं बनाइदिन्छु। मेरो यस्तो अवस्था छ। अरूलाई झन् कस्तो होला!
बोलीचालीले हाम्रो जीवनलाई सजाएको छ। सही समयमा सही शब्दको छनोटले त्यो क्षणलाई अर्को दिशा दिन्छ। कुनै शब्द यस्ता मर्मस्पर्शी हुन्छन् कि कठ्याङ्ग्रिदो जाडोमा थरथर काँप्दै गर्दा कोही आफ्नोले आएर न्यानो अङ्कमाल गरेझैं तातो दिन्छन्।
कुनै शब्द हृदयविदारक, प्राणघाती, विस्फोटक हुन्छन्। जागिरको अन्तर्वार्तामा सटिक शब्द सोचेर बोले निश्चिन्त जागिर पाइन सकिन्छ।
राम्रा शब्द छानेर प्रेमपत्र लेखे ‘लभ अफ माई लाइफ’ पाइन सकिन्छ। भाषाको शक्ति कति प्रगाढ छ, कति विराट छ तर पनि हामी यसलाई कुशलतापूर्वक प्रयोग गर्न सकिरहेका छैनौं।
समस्या घरबाट सुरू हुन्छ। कति जना बाबुआमाले आफ्ना बच्चाहरूलाई समय दिएर भलाकुसारी/ वार्तालाप गर्नुहुन्छ?
‘ए! खाना खान आइज!’
‘तँ काम नलाग्ने नालायक भइस्!’
‘पढ्न जा!’
‘बिहे गर्ने बेला भो!’
यस्ता गफको कुरा गरेको होइन। साँचो गफगाफ। समाज, संस्कृति र सम्बन्धका बारे।
के हामी भाषाद्वारा एक-अर्कालाई सिकाइरहेका छौं? पाँच मिनेट धर्यतापूर्वक कुरा सुन्न कसैलाई फुर्सद हुँदैन। हातहातमा मोबाइल लिएर हामी अर्को अद्भूत भाषाको पर्खाइमा हुन्छौं।
सामाजिक सञ्जालको भाषा। जुन पर्दापछाडि कट्पुतली नचाउने हात जसरी हामीलाई नृत्यका नयाँ नयाँ भाषा सिकाउँदै छ। त्यसैले हामीलाई साङ्केतिक रूपमा नचाइरहन्छ। हामी त्यही भाषा बुझी नाचिरहन्छौं।
हाम्रा सन्तानलाई धेरै कुरा बोलेरै सिकाउनु पर्छ।
कसरी नम्र हुनुपर्छ, कसरी हार्दिकता जताउनु पर्छ, कसरी माफी माग्ने, कसरी हात माग्ने। सबै बोल्न सिकाउनु पर्छ।
देखेर सिकेर जानिहाल्छन् भनेर धेरै अभिभावकहरू जीवनरूपी ज्ञानलाई शब्दमा उतार्दैनन्।
नचाहिने किचकिचका लागि शब्द जहाँबाट पनि निस्किन्छन्। तर आवश्यक गफ! जस्तै, ‘यौन हिंसा के हो ? अरूको इज्जत् कसरी गर्ने, मर्यादा के हो?’ खै हामीले हाम्रा सन्तानलाई सिकाएको?
हामीलाई लाग्छ हाम्रा सन्तान निकै पारदर्शी छन्। तर शब्दद्वारा वार्तालाप नभएको खण्डमा हामी हाम्रा सन्तानबाट कति टाढिएका छौं, अत्तोपत्तो छैन।
‘ए मेरो छोरो त जाँड, रक्सी, चुरोट हातै लगाउँदैन। कति सभ्य छ।’ भनेर सन्तानको तारिफ गरेर नथाक्ने अभिभावकहरू अनभिज्ञ छन् छोरोले गाँजाको बुइँ चढी अन्तरिक्ष यात्रामा पौडी खेल्दै गरेको।
हाम्रो सम्बन्धहरू यसरी नै बोलीको अभावले जर्जर हुँदै छन्।
सद्भावना, सहानुभूति, सकारात्मकता; जस्ता शब्दले हरेक सम्बन्धमा प्राण भर्दछन्। स्वस्थ वार्तालापको कमी छ। समस्याहरू बसेर, बोलेर सजिलै सुल्झाउन सकिन्छ। बोलेरै समाधान भेटिने कुरालाई नजरअन्दाज गर्दै यथार्थबाट टाढा भाग्छौं हामी।
भाषाले हामीलाई तर्साउँछ, बोलीले हामीलाई त्रसित गराउँछ। किनकि भाषा एउटा ऎना हो जसले सत्यको बिम्ब देखाउँछ। भाषा गहिरो हुन्छ। त्यो गहिराइमा जलक्रिडा गर्न नसकी , डुब्ने त्रासले धेरैजना भाग्छन्। सत्यलाई झेल्न नसकी हावादारी तरिकाबाट हामी झूट बोल्छौं, शब्दले छ्क्याउँछौं ,ढाँट्छौं।
भाषालाई सहर्ष स्वीकार गर्न नसक्दा हामी छद्मभेषी भएका छौं। मनमा जे छ त्यो भन्न नसकी, हतारहतारमा मौनता छान्छौं अनि आफैं पिल्सिन्छौं। शंका, उपशंका र घृणाका खाडलमा आफैंलाई पुर्छौं। अनि हाम्रा सम्बन्धहरू टुट्दैछन्। किनकि हामी शब्द र भाषाको महत्त्व बिर्सिंदै छौं। आफूलाई व्यक्त गर्न बिर्सिंदै छौं।
‘आमा! मैले मनोवैज्ञानिक चिकित्सकको परामर्श गर्नु छ।’
‘किन?’
‘पीडाहरू बोल्न, अभिव्यक्त गर्न।’
‘के गर्छ चिकित्सकले?’
‘बोल्छ, सम्झाउँछ, मेरो कुरा सुन्छ।’
धेरै युवाको समस्या हो यो। मानसिक रूपमा विक्षिप्त छौं हामी।
जीवनका उतारचढाव, सुखदु:ख बोलीमा नउतारी धैरै वर्ष बाँच्छौं। त्यो गुम्सिएको भाषाले सुन्ने कान खोजिरहेको हुन्छ। आफ्ना साथी, घरपरिवार , इष्टमित्र कसैको अगाडि यो बोलीले प्राण पाउँदैन। किनकि बोल्न, व्यक्त गर्न हामीलाई कसैले सिकाएको छैन। केही गलत भइरहेको छ, चित्त बुझेको छैन्, विद्रोह गर्नुछ भने हाम्रो समाजको छात्ती पोल्छ। बोलीलाई दबाउने त अन्तरनिहित प्रवृत्ति नै छ यहाँ।
‘मुखमुखे नलाग’
‘ससुरालमा जे भने नि चुपचाप सहनू’
‘राजनीतिमा अलिअलि भ्रष्टाचार त भइहाल्छ नि, किन विरोध गर्नू’
‘दुर्व्यवहार त भइराख्छ नबोलेकै राम्रो’
‘कति किचकिच गरेको? चुप लाग!’
यस्ता कैयौं किसिमले कैयौं ठाउँमा, कैयौं प्रकारले हाम्रो बोली दबाइन्छ।
भाषाको खेती गर्नुपर्ने उर्वर जमिनलाई सुख्खा र बाझो बनाइन्छ। अनि हरेक क्षेत्रमा यो मौनताले हामीलाई भित्रभित्रै खाइरहेको हुन्छ।
आफूसँग भएको अत्याचारका बारे बोल्न नसकी हाम्रा चेलीबेटी दुर्व्यवहारको आगोमा झोसिएर जल्दै छन्। आफ्नो भावनालाई व्यक्त गर्न नसकी हाम्रा दाजुभाइ जबर्जस्ती ‘टक्सिक म्यास्कुलिनिटी’ का उपज भएका छन्।
जब मनमा सुनामी चल्छ, दिमागमा आँधिबेहरी आउँछ अनि हरेक सोचले शरीरलाई शिथिल बनाउँछ त्यो बेला शब्दले साहारा दिन्छन् ,बचाउँछन् र फेरि बाँच्न प्रेरित गर्छ।
हाम्रो मानव जीवन छोटो छ तर विचित्रको छ। हाम्रा सपनाले यथार्थलाई खोज्दाखोज्दै भौंतारिन्छन्, हराउँछन्। हामी सम्बन्ध बनाउन चाहन्छौं तर निभाउने ल्याकत राख्न सक्दैनौं।
जीवनमा चाहेको कुरा बोल्न, मन परेका कुराहरू व्यक्त गर्न हामीलाई ‘क्याटालिस्ट’ चाहिन्छ र क्याटालिस्ट पनि कस्ता! मदिरा, मेरूवाना, मेथ!
मज्जाले बोल्न र हाँस्न नशा चाहिन्छ। मज्जाले लेख्न ‘मेनिपुलेसन।’
यस्तो समाज अघि बढ्दै गरेको देख्दा, म परबाट दिक्क हुँदैछु। भाषा, शब्द, बोली त सास फेरेझैं सरल हुनुपर्ने। किन हामी यो प्राकृतिक क्षमतालाई गुमाउन खोज्दैछौं ?
यन्त्र, उपकरणको बढ्दो जमाना छ। मलाई डर छ, कुनै दिन हाम्रा शब्दकोष रित्तो त हुँदैनन्!
इभोलुसनले पनि प्रयोगमा नभएका अङ्गलाई लोप गराउँछ। हाम्रा शरीरमा कति धैरै त्यस्ता ‘भेस्टिजियल’ अङ्ग छन्। कतै हाम्रा भाषा पनि भेस्टिजियल त हुँदै छैनन्?
यति धेरै चिन्ता, डर भए पनि बेलाबेला शब्दको तागत महसुस हुन्छ। किताबहरू पढ्ने गर्छु, फिल्म हेर्छु, गीत सुन्छु। कथा, कविता, संगीतले शब्दहरूलाई बचाइराखेका छन्।
मान्छेहरू अझै भाषालाई जोगाउन लागिपरेका छन्। पूर्वीय भाषा संस्कृति यहीँ लोप हुन लागे पनि पाश्चात्य मुलुकहरू यसको संरक्षण गर्न लागिपरेका छन्। भाषाका विद्यार्थी बढ्दै छन्। हाम्रा भाषाका पारखीहरूले शब्दको मिठासलाई जोगाइराखेका छन्। साहित्यकारहरूले भाषा सुशोभित गर्न धेरै जोड लगाइरहेका छन्। गीत, र्याप, कविता, शब्दले धेरै आकृति लिँदै छन्।
इन्स्टाग्राममा थरीथरीका क्याप्सन लेख्न भए पनि हामी शब्द खोज्छौं। अटोकरेक्टले स्पेलिङ लेख्ने क्षमता ध्वस्त त पारेको नै छ तर अझ पनि रातको अन्धकारमा रूँदै डायरी लेख्ने कोहीकोही बाँकी छन्।
नारायण गोपालले गाएका गीतका शब्दमा रसाउने आँखा बाँकी छन्। बालेनको स्पीचका शब्दमा आसले भरिने कानहरू बाँकी छन्।
बलात्कारविरूद्धको आक्रोशले निस्किएका शब्द बाँकी छन्।
वातावरणको संरक्षणलाई गुन्जिएका गेट्रा थुन्बर्गजस्ता नयाँ सन्ततिका शब्द बाँकी छन्।
यान्त्रिक जीवन र घोकन्ते पढाइ भए पनि त्यो फाइनलको १० प्रतिशत अंक दिने प्रेजेन्टेसनका शब्द बाँकी छन्।
यसै सन्दर्भमा अर्को प्रसंग जोड्छु।
म सानो हुँदा घर नजिकैको स्कुलमा पढ्थें। त्यहाँ व्यक्तिगत डायरी भनेर हुन्थ्यो जहाँ हरेक महिना कक्षा शिक्षकले प्रतिक्रिया लेख्थें। गुनासो पोख्थें। टिप्पणी गर्थें। मेरो बारेमा धेरैजसो समस्या केही हुँदैन्थ्यो। तर हरेक टिप्पणीको अन्त्यमा च्वास्स घोच्ने लाइन हुन्थ्यो ‘सि इज भेरी टकेटिभ।’
म धेरै बोल्थें, विवाद गर्थें। पढाएको कुरा चित्त नबुझे बोली हाल्थें। सबैलाई मेरो बोली सुमधुर लाग्दैन थियो। कोही शिक्षक मेरो प्रशंसा गर्थे कोही ओभर स्मार्ट भन्थे तर। मैले बोल्न छोडिनँ।
मेरो जीवनका सबभन्दा दु:खद क्षणमा पनि शब्दले जिउँदो राखेको छ। शब्दको आड भरोसामा म सम्बन्ध गाँस्न फेरि सिक्दै छु। भाषाले मलाई शान्ति दिएको छ।
घरीघरी कोरियन ड्रामा हेर्छु, जापानिज एनिमे हेर्छु, हिन्दी सिनेमामा रमाउँछु, अङ्ग्रेजी पढ्छु, नेपालीमा लेख्छु, जर्मन सिक्छु र अन्य कति भाषाका गीत सुन्छु। भाषामा तान्त्रिक शक्ति छ। मान्छेलाई जोड्ने, मनलाई नजिक ल्याउने। समय, भूगोल र सत्य सबभन्दा माथि शब्द र बोलीले राज गर्छन्। म शब्दको पुजारी हुँ र शब्दको यो अथाह सागरमा तैरिन सिक्दैछु।
मेरी साथी पुष्पा बेलाबेला मलाई नयाँ गीत पठान भनेर गनगन। शब्द सुन्दै, रूँदै ‘जेन जि’ जसरी खिचेर भिडिओ हाल्छे। ऊ आफू पनि पठाउँछे। हामी एकअर्कालाई गीतद्वारा नयाँ शब्द सिकाउने कोसिस गर्छौं।
आरूज आफ्तावको एउटा उर्दू गीत छ।
‘मोहब्बत करनेवाले कम ना होंगे
तेरी महफील मे लेकिन हम ना होंगे’
यो गीतका शब्द सुनेर निकैबेर आँखाबाट आँसु खसे।
हैठ! यस्तै शब्द सुन्दै, सिक्दै म भने दंग पर्दै बाँच्छु।