बिहानको आठ बजेको आलार्मसँगै उठेँ।
अनि नित्यकर्म सकेर काममा जानलाई कपडा आइरन गर्न लागेँ। त्यसै नि खासै कपडा प्रेस गर्न जान्ने र इच्छा हुने चाहिँ हैन मलाई तर पनि मलाई मन लाग्या दिन र जाँगर चल्या दिन चाहिँ नगरी मनले सन्तुष्टि मान्दैन।
कपडा लगाईवरि झोलामा अघिल्ला दिनमा रहेका पेन्डिङ कामहरूलाई पोको पारेर हालेँ। अनि लम्किएँ कामतिर।
यसै नि हरेक दिन अफिसमा काम गर्दा कामतिर मन भने पटक्कै जान्न अनि राति फेरि भोलिपल्ट गर्नुपर्ने काम सम्झँदा निन्द्रा पटक्कै लाग्दैन। अनि त्यो शरीरलाई आलार्मको सहाराले उठाएर अफिससम्म डोहोर्याउन पर्छ।
करिब आधा घण्टा मेट्रो रेलको यात्रा गरिसकेपछि अफिस पुगेँ।
हरेक दिन अफिसबाट फर्कंदा होस् या जाँदा सोच्छु- हरेक देशमा एउटा यातायातको उचित व्यवस्थापन त हुनुपर्छ। हाम्रो देशमा कहिले हुने हो?
अफिस पुगेर झोला राखेँ अनि कुर्सीमा बसेर आज गर्नुपर्ने कामहरू एकपटक नियालेँ।
काम गर्ने जाँगर भने पटक्कै थिएन। नगरम् भने आफ्नै काम लम्बिने पीर!
यतिकैमा एक कप कफीको सिप लिँदै काम गर्ने क्रममा थिएँ अचानक पूर्व नेपालका एउटा चिनजान भाको दाइको कल आयो- ल कृष्ण भाइ, म त नेपाल जाँदैछु बिहे गर्न, नकमाउँदासम्म भन्न डर थियो अब त कमाइयो बिहे त गर्नुपर्यो, तिम्रोतिर केही सामान पुर्याइदिन छ भने भन म काठमाडौंसम्म लगिदिम्ला। दाइले जाँदाखेरि खबर नि गरेनन् भनेर चाहिँ भन्न पाउदैनौ नि!
यति भन्दै दाइले फोन काटे।
मलाई झल्यास्स घरको याद आयो।
बाबाले त पैसामात्र कमा न अनि बिहे गर्नु पर्छ, ममीले भनेका कुराहरू पनि याद आए। कमाएर टन्न पैसा लिएर आइजा बिहे गरिहाल्ने हो अर्को साल।
म सधैं सोच्थें- साँच्चि म बिहे गर्नलाई भनेरै विदेशमा पैसा कमाउन आको हो त!
यत्रो वर्ष आफूलाई खर्चिएर, आफ्नाबाट टाढा बसेर, आफ्ना खुसीहरूलाई मारेर वर्षौं लाएर कमाएको पैसा एकझटमा बिहे गर्नै भनेर कसरी खर्चिन सक्छु?के म यसैको लागि आएको हो त?
वर्षौं गरेर कमाएर बचाएको पैसा त आवश्यकता पूरा गर्न र भवितब्यमा आइपर्न सक्ने समस्याको समाधानका लागि हैन र? मेरो विचारमा बिहे कहिल्यै पनि दायित्व हुनु हुँदैन, केटी पक्षलाई त झन् बिल्कुलै।
एउटा छोरीको आमाबुवाले कुनै आशाबिना छोरीका हरेक इच्छा, आकाङ्क्षा पूर्ण गरिदिएका हुन्छन् अनि कसरी सकून् ती बाबुले छोरीको बिहे धुमधामले गर्न!
जोसँग धेरै छ उसले गरोस् केही भएन। त्यसमा मेरो पनि कुनै आपत्ति छैन।
तर मजस्तो मान्छे जसले आफैंले केही गरम् भनेर घर छोडेर निस्कियो त्यस्ताका लागि आफ्नो वर्षौं मेहनत गरेर कमाएर बचाएको पैसा या कमाउने भए भन्दैमा कसैको अगाडि झूटो शान राख्नलाई बैंकबाट ऋण गरेर वर्षौं बिहे गर्दाको ऋण तिर्दै बस्नु चाहिँ उचित लाग्दैन मलाई।
समाजले मलाई स्वीकार्ला/नस्वीकार्ला, कसैसँग विचारधारा मिल्ला/नमिल्ला, ती फरक विषय हुन्।
तर प्रश्न भने मनमा सधैं यही छ, कम खर्चिलो बिहे गर्दा हुन्न? जहाँ मैले आधाभन्दा बढी आफन्तलाई त चिन्दा पनि चिन्दिनँ अनि ती आफन्ती कहिल्यै देखिने पनि हैनन् पर्दा।
आमाबुवा भन्नुहुन्छ- समाजले के भन्छ? आफन्तीले के भन्छन्?
बिहे साँच्चै देखाउनलाई गर्ने हो त? आधाभन्दा बढी त बिहेमा यो कमी थियो, त्यो अलि मिलेन, के दिए के लिए त्यसैको भाउतोल गर्न नै आउँछन्।
आफन्ती, दाजुभाइ, इष्टमित्रहरूले कमाएर आइज अनि बिहे गर्नुपर्छ भनेको सुन्दा मनमा हरेक दिन यही सवाल उठ्छ- के बिहे गर्नै भनेर मैले घर छोड्या हो त? वर्षौं मेहनत गरेर कमाएको पैसा बिहेलाई भनेर खर्च कसरी गर्नू!
बिहे कम खर्चमा गरे हुँदैन? १५/२० लाख खर्चिएर बिहे गर्नलाई नै हो त यतिका वर्ष मैले कमाएको?? बिहे सानो सरल गर्दा हुँदैन?