केही दिनअघि काठमाडौँबाट फोहोर उठाउन नसक्दा सडक वरिपरि फोहोर थुप्रियो। फोहोरले सहर नै दुर्गन्धित बनायो।
अस्ति मात्रै कालिमाटी पुग्दा नगरपालिकाको गाडीले किटनाशक विषादी खुलेआम छरिरहेको थियो। तरकारी फलफूलका पसल खुल्ला मात्र होइन, मानिसहरू पनि निस्फिक्री हिँडिरहेका थिए।
जनस्वाथ्यलाई असर गर्ने यस्ता विषयमा सामान्य सम्वेदनशीलता पनि नदेख्दा नरमाइलो लागे पनि मैले गर्न सक्ने केही थिएन। निरीह बनेर हेरेँ र केही तरकारी किनेर फर्किएँ।
हाम्रो घरमा निस्किने फोहोरमा जैविक फोहोरको अंश ८० प्रतिशत हुन्छ। प्लास्टिक र अन्य २० प्रतिशत। त्यही जैविक फोहोरलाई माटोमा व्यवस्थापन गर्दा मल बन्छ तर प्लास्टिकमा पोको पारेपछि त्यो दुर्गन्धको मुख्य कारण बन्छ।
काठमाडौँबाट निस्किने फोहोरमा अधिकांश भाग त्यही जैविक फोहोर जस्तै- तरकारी फलफूलका बोक्रा, फालिएको खाना आदि हुन्छ। त्यस्तो फोहोरलाई मल बनाएर बेच्न सके मोहर कमाउन सकिन्छ।
पछिल्लो समय सिसडोल र बन्चरेडाँडामा काठमाडौँको फोहोर व्यवस्थापन गर्ने विषय निकै पेचिलो बनिरहेको छ। पहिला-पहिला पनि फोहोर व्यवस्थापनमा खटिएका कर्मचारीको हड्ताल र अन्य कारणले फोहोर व्यवस्थापनमा समस्या नभएको होइन तर यसपालि निकै लामो समयसम्म काठमाडौँका सडकबाट फोहोर उठ्न सकेन।
सन् २०१८ मा १० दिनको सिङ्गापुर भ्रमणको अवसर जुटेको थियो। त्यसबेला सिङ्गापुरमा देखेको फोहोर व्यवस्थापनको सामान्य क्रम देखेर नै म प्रभावित भएकी थिएँ। तीन वटा फरक रङका ठूला-ठूला बाल्टी हुन्थे। कुहिने खालका फोहोर एक रङको बाल्टीमा, बोटल जुस क्यानजस्ता फोहोर अर्को रङको बाल्टीमा, प्लास्टिक फुड प्याकेजिङका प्लास्टिक अर्को रङको बाल्टीमा फाल्नु पर्दथ्यो।
त्यसो गर्दा फोहोरको स्रोतमा नै सामान्य व्यवस्थापन भैहाल्यो। पछि फोहोर लिन आउने ट्यान्कर पनि सोही अनुरुप लिन आउथ्यो होला। १० दिने बसाइमा सडकमा कहीँ फोहोर देखिएन। पार्कमा जाँदा रुखबाट खसेका पात सोहोर्न पनि मानिस आइहाल्थे। ती पात सोहोर्ने मानिस पात खसिनसक्दै टिपेर पार्कलाई दुरुस्त बनाउथे। कहीँकतै प्लास्टिकको टुक्रा समेत खसेको देख्न पाइएन।
विदेशबाट नेपाल आउने आफन्तहरूले सुनाउने कथा पनि मेरै सिङ्गापुरे अनुभवजस्ता छन्। व्यक्तिले नै घरमा फोहोरका स्रोत छुट्टाउछन्। नगरपालिका पनि हप्ताको एकदिन कुहिने प्रकृतिका फोहोर लिन, अर्को बार अरु प्रकृतिका फोहोर लिन आउँछ। मानिसहरू यसैमा अभ्यस्त भैसकेका छन्। अज्ञानता बस पनि गल्ती भएमा जरिवाना तिरिहाल्नु पर्छ। सोही डरले पनि मान्छे गल्ती गर्दैनन्। गरिहाले सजाय पनि भोग्न तयार हुन्छन्। सजाय सानाठूला सबैलाई छ। देशको प्रमुख भए पनि गल्ती गरे सजाय भोग्नु नै पर्छ। कसैलाई भेदभाव छैन्, कसैलाई छुट छैन।
उही नेपाली हो विदेशमा हुँदा चक्लेट खाएर गार्बेज बिन खोज्दा नभेटेमा गोजीमा चक्लेटको खोल राखेर घर आउँछ, उही नेपाली हो जो नेपालमा पानी खाएर खाली भएको बोटल पनि बसको झ्यालबाट जथाभावी हुत्ताइदिन्छ। कहिलेकाहीँ त्यही बोटल र प्लास्टिक दुर्घटनाको कारण पनि बन्छ। बसबाट जथाभावी फोहोर फाल्न हुन्न भन्ने थाहा हुँदाहुँदै किन यस्तो गर्छ मान्छे? चेतना नभएर त होइन।
फितलो कानुन, दण्ड जरिवाना र सजायमा हुने असमानत, सत्तासिनलाई जे गरे पनि हुने सर्वसाधारणलाई मात्र कानुन लाद्ने प्रवृतिको अन्त्य नभएसम्म कानुनको कार्यान्वन यस्तै फितलो रहिरन्छ। कानुनको कार्यान्वन 'छु मन्तर कि' भनेर जादुको छडीले काम गर्ने विषय पक्कै होइन। भेदभावको अन्त्य आवश्यक छ।
घरमा जम्मा भएको फोहोर झमक्क साझ परेपछि कसैले नदेख्ने गरी बागमतीमा मिल्काउने, वा सडक पेटीमा राख्ने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ। घर जति नै सुन्दर भए पनि आँगनमा थुप्रिएको फोहोरले घरको शोभा पक्कै बढाउँदैन।
फोहोरको स्रोतमा नै फोहोरलाई छुट्टाएर फोहोर मैलालाई मोहरमा परिणत गर्न सकिन्छ। घरमा राम्रोसँग फोहोर छुट्टाएर राख्ने, उपभोक्तालाई फोहोर उठाउने शूल्क मिनाहा गरेर पुरस्कृत गर्ने। जनचेतनाका लागि स्कुलका पाठ्यक्रममा यस सम्बन्धी पाठ्यसामाग्री राख्न सकिन्छ। कलिलो मानसपटलले सिकेको कुरा चिरस्थायी हुन्छ।
हामी पूर्वप्राथमिक स्कुल पढ्दा स्कुलको सरसफाइको जिम्मा हामीहरूलाई नै दिइएको हुन्थ्यो। हामीहरूले नै पालो लगाएर कक्षामा कुचो लगाउथ्यौँ। यसले सरसफाइ सम्बन्धी सीप पनि हामीले सिकेका रहेछौँजस्तो लाग्छ। तर अहिले अवस्था भिन्न छ। कक्षा ५ मा पढ्ने हाम्री छोरी अहिलेसम्म कुचो समाउन पनि जान्दिन। आफ्नो परिवेश सफा राख्ने कला त सिकियो, सफाइ सम्बन्धी कला सिक्ने उक्त काइदा मलाई फाइदाजनक लाग्यो।
हामी सबै महानगरबासीले फोहोरको स्रोतबाट नै फोहोरलाई छुट्टाएर सामान्य व्यवस्थापन गरी फोहोरलाई मोहर बनाउन मिल्दैन?