माइतीघरको ढुंगाको छानो सम्झे मन हुँदैन ओभानो
ढुंगे घर ढुंगाकै छानो माइती घर त भैहाल्यो बिरानो
मन त ठूलो छ, बाबाजीको घर पो सानो छ
खरको धुरी ढुंगाको छानो छ
आमाहरूले प्रायः तीजमा माइती घर सम्झिँदा मन गह्रुंगो पारेर यस्तै-यस्तै गीतहरू गाउने गर्थे। आफू जन्मी हुर्के, खेलेका घरहरूको बिछोडको सम्झनामा भदौताका आमाहरूले गीतमा सम्झने पुराना संरचनाका धुरी भएका घरहरू हिजोआज निर्माण हुन लगभग छाडिसकेको छ।
टिकटकमा एकजना इन्जिनियर साथीले परम्परागत डिजाइनमा तयार गरेको एउटा पाँचधुरे घर भाइरल भयो। केही समयअघि रामकुमारी झाँक्रीले एउटा घरको फोटो साझा गर्दै ट्वीटरमा लेखिन्- 'यस्ता घरहरू आर्किटेक फ्याकल्टीमा पढाइ हुँदैनन्। यी घरहरू वातानुकूलित इकोफ्रेन्डली छन्। हामी मध्ये धेरै मान्छेहरू यस्तै घरमा जन्मे हुर्केका हौँ।'
यसले के जनाउँछ भने हामीमा ढुंगेघर प्रतिको मोह कायम नै छ। पछिल्लो समय वैदेशिक रोजगारीले हाम्रो आर्थिक हैसियत पहिलेभन्दा अलिक सुधारिएको छ। यातायातको सहजता, तुलनात्मक रुपमा सानो ठाउँमा साँघुरा कोठा र केही कमजोर हुने हुँदा आँचल ढुंगे घरहरूको निर्माण उस्तो गरी हुँदैन।
स्थानीय स्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि, सीप र शिल्पीको प्रयोग गरेर निर्माण हुने यस्ता घरहरू जाडोमा न्यानो र गर्मीमा शीतल दिने खालका हुन्छन्। नजिकको खोलाको बगर वा ढुंगे खानीबाट ढुंगा जम्मा गर्यो, आवश्यकता अनुसारको आकार टुकटुकेले कुँदेर निकाल्यो, माटो मुछेर ढुंगाको जडान गर्यो, स्थानीय स्तरमै उपलब्ध अलिक बलिया काठहरू (साल, चिलाउने, तिजु, कटुस) को प्रयोग गरेर झ्याल ढोका बनाउने, पसेट र दलिन (रल) राख्यो अनि पातला सिलिक्क परेका ढुंगाका छपनीहरूले छायो, घर तयार।
ढुंगाको असहजता हुने ठाउँमा खरको प्रयोग गरेर धुरी मार्यो। खरले छाएका घरहरूलाई सुख्खा याममा अलिकति आगलागीको डरबाहेक यस्ता घरहरूमा अरु कुनै साइड इफेक्ट हुँदैन थियो। जस्तो ठूलो झरी परे पनि बलेसी र आँगनमा भल बग्थ्यो तर जस्ताको जस्तो कर्कश आवाज सुतेको र बसेको ठाउँसम्म कहिल्यै पुग्दैन थियो। जीवन पनि वातावरणजस्तै शान्त र सौम्य हुन्थ्यो। तर अचेल वस्तीहरू पुरै सिमेन्टको जंगलजस्तै बन्न पुगेका छन।
घान्द्रुक, घलेगाउँ, बारपाकजस्ता ठाउँहरूमा आज पनि तपाईं हामीलाई पुग्ने लालसा हृदयमा छ। त्यो किन हो भने त्यहाँको हावापानी र त्यहाँबाट देखिने प्राकृतिक दृश्यहरू वास्तवमै सुन्दर छन्। त्यसो किन भयो भने ती मानव निर्मित वस्तीहरूमा विशुद्ध प्राकृतिक शैली र परम्परा छ।
भूकम्पपछि बारपाकमा बनेका जस्तावाला घरहरूले भने त्यो सुन्दरता कायम गर्न सकेका छैनन्। खासमा जीवनको सबैखाले दौडधुप र व्यस्तताको अन्तिम सांगो बस्ने घर र खाने गाँसको त रैछ। त्यसैले हामीमा पनि सानो चुटुक्कको घरको सपना छँदै छ। अहिले विभिन्न विश्वविद्यालयहरूले भवन निर्माणका विभिन्न कोर्सहरू पढाइरहेका छन्।
इन्टेरियर डिजाइनको आवश्यकता दिनानुदिन बढिरहेको छ। सहरमा त निर्माण सामाग्रीको सहजताको हिसाबले उति उपयुक्त नहोला तर ग्रामीण र अर्धसहरीया वस्तीहरूमा राज्य संयन्त्रबाटै यस्ता वातानुकूलित र पर्यावरणमैत्री घरहरू निर्माण गर्ने कानुन निर्माण गर्ने मेरो राय हो। यस्ता घरहरूले पर्यावरण संरक्षणमा ठूलो सहयोग गर्नेछन्।
स्थानीय वातावरण प्रदुषण भएको, धुलो र धुवाँले वस्ती नै जोखिममा परेको भनेर चोभारबासीको विरोधपछि हिमाल सिमेन्ट उद्योग बन्द भएको थियो। अत्यावश्यक र मजबुद संरचनाको निर्विकल्प निर्माण सामाग्री सिमेन्ट उत्पादन नै बन्द गनुपर्छ भन्ने मेरो धारणा होइन। सिमेन्टको प्रयोग राजमार्ग, पुल, कुलो तथा सार्वजनिक प्रयोगका मानवीय आवश्यकता पूरा गर्ने व्यवसायिक संरचनामा मात्रै गर्न पाए हुन्थ्यो भन्ने मात्र हो। चार जनाको परिवार अटाउनको लागि ठूला र भद्दा आवासीय सिमेन्ट संरचना निर्माण गर्न रोक लगाउन सके त्यसबाट हुने फाइदाको म उल्लेख गर्न चाहन्छु।
पछिल्लो समय गाउँघरमा पनि युपीभीसीका झ्यालढोका तथा सिमेन्टका इँटाहरूको प्रयोग गरेर घरहरू निर्माण हुन थालेका छन। प्रायः गाउँको जग्गा बाँझो छ जुन केही वर्षभित्रै जंगलमा रुपान्तरण हुनेवाला छ। यसरी अस्वभाविक रुपमा बढेको जंगलको कारण बाँदरजस्ता जीवहरूको आंतक अचेल पहाडमा व्यापक छ।
मिचाहा जीव र वनस्पतीको वृद्धिसँगै समग्र कृषि प्रणली असन्तुतिल हुँदैछ। यसरी एकातर्फ यस्तो असर छ भने अर्कोतर्फ विदेशबाट आयात गर्नुपर्ने धातुजन्य वस्तुहरू रड, जस्तापाता, सियोजस्ता वस्तुहरू एवं काठजन्य आयातको दोहोरो मारमा सम्रग अर्थतन्त्र छ। देशमा संचित विदेशी मुद्राको यस्तो प्रयोग प्रयोगशील देखिए पनि वास्तवमा फजुल बनेको छ।
काठ उपलब्धतालाई सहज नीति-नियम तर्जुमा गरेर स्थानीय स्तरका काठको प्रयोग गरी आयात प्रतिस्थापन गर्न सकिन्छ। यसरी धातुजन्य निर्माण सामाग्रीलाई स्थान तोकेर आवास निर्माण प्रयोजनका लागि रोक लगाउँदा कसैलाई नोक्सान हुन्छ जस्तो मलाई लाग्दैन।
काठमाडौं तथा देशका मुख्य सहर खुला ठाउँ र पार्कको आवश्यकता महसुस गर्दैछन्। सिमेन्टका संरचनाबाट आजित बनेका छन् भने ठिक्क उल्टो गाउँघर अचेल सिमेन्टमैत्री संरचना निर्माणमा व्यस्त छन्। चट्ट मिलेका छपनी छापेर निर्माण गरिएका चौतारा भत्क्याएर सिमेन्टको ढलान गर्न उत्साहित र मस्त छन्।
म स्पष्ट त छैन तर हाम्रा इन्जिनियरिङ कलेजहरूले सायद परम्परावादी गृह निर्माणका संरचना, शिल्प र नक्साहरू पढाउँदैनन् होला। केही आवश्यकता बदलिएता पनि जीवन उही त छ- पहिला बिस्कुन सुकाउन घरअगाडि अलिकति खाली ठाउँ राखिन्थ्यो, अहिले पार्कीङको लागि आवश्यक छ। घरको कोछेटे पारेर जुठेल्नो बनाइन्थ्यो, अहिले पनि फोहोर व्यवस्थापनको लागि हरेक घरमा एउटा सानो खाल्टो मात्रै भैदिए फोहोर व्यवस्थापनको लागि राज्यलाई आवश्यक लागत आधाले फरक पर्दो हो।
घरको दायाँ पर्ने गरी तुलसीको मोठ र फूलबारी पहिलेबाटकै अभ्यास हो जुन हिजोआज तपाईंहामी गमलामा फूल रोपेर पूरा गर्दैछौँ। खासमा १२-१५ हाते मोहडावाला घडेरी मा ५-७ कोठे घर बनाएर सहरीया बन्ने रहर नहुने हो र राज्यले आधारभूत आवश्यकता मात्रै पनि देशका कुना-कुनामा पुर्याइदिने हो भने आज पनि समाज त्यस्तै घरमा रमाउन चाहन्छ। वीपीले परिकल्पना गरेको नेपाली मोडलको समाजवाद पनि ४ कोठे घर, एउटा दुहुनो गाई र अलिकति कमाइखाने जग्गा नै त हो।
पछिल्लो समयको डरलाग्दो आकडा के छ भने तमाम पृथ्वीमा भएका जीव, वनस्पती र वस्तुहरूको तौलभन्दा मानव निर्मित वस्तुहरूको तौल बढी हुँदैछ। के थाहा पृथ्वी पनि आफ्नो सन्तुलन सन्तुलित राख्ने उपायको खोजीमा कुनै दिन भूकम्पजस्तो पीडादायी प्रकोपको तयारीमा पो छ कि।
भूकम्पको कुरा गर्दा हाम्रा परम्परागत शैलीका आवास संरचनाको मजबुती पनि सम्झन आवश्यक छ। ७२ को विनाशकारी भूकम्पमा पनि भोटाहिटी, असनजस्ता साँघुरा गल्ली भएका अग्ला घरहरू सुरक्षित रहनुले हाम्रो परम्परावादी आवास संरचना, सीप, शिल्प र प्रविधि कमजोर नै हो भन्न सकिँदैन।
देशले ज्वलनशील पदार्थपछि सबैभन्दा बढी निर्माण सामाग्री नै आयात गरिरहेको बेला सहज र पर्यावरणमैत्री हुने गरी ढुंगेखानी तथा वन पैदावारको विवेकपूर्ण प्रयोग गर्न सके हामीले पर्यावरण संरक्षण र देशको मुद्रा संचितिमा कति ठूलो सहयोग गर्न सक्छौँ होला एक पटक तथ्यांक र तथ्यहरूमा विचार गरौँ।
बालुवाको अनुचित उत्खननले पछिल्लो समयमा जुन खालका नदीजन्य प्रकोप निम्त्याएको छ, त्यो कति कहालीलाग्दो गरी बढ्दै छ, हामी विदितै छौँ। निर्माणको हिसाबले केही छिटो हुने बाहेक अरु कुनै पनि हिसाबले हाम्रा आवास निर्माणको परम्परागत शैलीलाई किन प्रयोग नगर्ने? पटक-पटक स्वाभिमानको कुरा गर्ने तपाईंहामी बास र गाँसको परनिर्भरताको चपेटामा छौँ तर आफ्नै आँखा अगाडिका यस्ता अनन्त संभावनाको कुनै खोजी नै किन गर्दैनौँ?
भोलि कुनै राजनीतिक वा प्राकृतिक कारणले जस्तापाता, रड तथा सिमेन्ट निर्माणका कच्चापदार्थको आयात संकटमा पर्यो भने हामी कुन खालको आत्मनिर्भरताले जीवित रहन सक्छौँ? त्यसैले पर्यावरणमैत्री ढुंगे घरको निर्माणका लागि देशका सबै स्थानीय तहहरूलाई अनुकूलता र वास्तविक आवश्यकता हेरी अविलम्ब नीति तर्जुमा गरी कम्तीमा धातुजन्य वस्तुहरूको प्रयोग र आयातमा पूर्ण या आंशिक प्रतिबन्ध गर्नको लागि आह्वान गर्न चाहन्छु।
यस्तै स्वास्थ्य जीवनशैली र पर्यावरणको कुरा झन् आवश्यक छ। सिमेन्ट धसेर चिल्ला पारिएका घरहरू जाडोमा चिसा र गर्मीमा ताता हुन्छन् जसका कारण घरहरूले जसरी स्वास्थ्य सुरक्षा दिनुपर्ने हो, त्यसरी दिन सकिरहेका छैनन्।
स्वयम्भु र बाघभैरव पुगेर आँखाले देख्न मिल्ने काठमाडौं हेर्नुस् र घान्द्रुकको डाँडाबाट तल फर्केर उभिएका घरहरू हेर्नुस्, कुन वस्तीले तपाईंको आँखालाई शीतलता दिन्छ? कुन चाहिँ वस्तीले तपाईंको मनमा रोमाञ्चकता पैदा गर्छ?
मानवीय वैभवता भन्ने कुरा सोचमा हुन्छ, मानव सभ्यताको विकासमा ठूलो महल या सानो झुपडी खासै महत्वपूर्ण कुरा होइन। दुवैले मानिसलाई ओतबाहेक अरु कुरा दिने होइनन्। खासमा ठूला र भद्दा आवास निर्माणलाई मानवीय वैभव, आर्जित आर्थिक सफलता र सामाजिक प्रतिष्ठा वा सामाजिक सफलतासँग जोडेर हेर्न छोडौँ।
कामबाट फुर्सद मिलाएर ढुंगा छापेका बाटोमा पैदल यात्रा गर्नुस्, कमेरो र रातो माटोले लिपेका भित्ताहरूमा सिरानी राखेर सुत्नुस्। त्यतिबेलाको तपाईंको मन र भावनामा पक्कै सकारात्मकता आउँछ, आउँछ।
त्यसैले राज्य तथा नागरिक दुवैले भोलिका सन्ततिको पनि पृथ्वीभोग अधिकारको विषय हो भन्ने सोचौँ। हाम्रा साना प्रयासले समग्र जीव जगत र पारिस्थितिक पद्धतिलाई योगदान पुग्छ भने हामीले दुःखजीलो गरेर जोडेको धन, पैसा, भूत बंगला बनाउनको लागि किन खर्च गर्ने? उसै पनि बाबुआमा र छोराछोरीबाहेक परिवार नबस्ने हाम्रो परिपाटीले हामीलाई ठूलो संरचना आवश्यक नै छैन।