सधैंजसो घडीमा साढे आठ बजिसकेको थियो। म घरबाट हतार-हतार गर्दै अफिस जाँदै थिएँ। मेरो कानमा एउटा आवाज ठोक्कियो, 'समितिको बैठकमा उपस्थित हुन नसक्ने पनि के सामाजिक मान्छे!'
गाउँमा उपभोक्ता समितिको बैठक चलिरहेको रहेछ। मलाई कुरा सुनौँ कि समयमै अफिस पुगौँ भयो। त्यही पनि टाढैबाट भए नि एकछिन के रैछ भनेर बुझ्न मन लाग्यो। त्यहाँ एकदम जान्ने बुझ्ने महिला चिच्याउँदै माने दाइलाई गाली गर्दै रहिछन्। माने दाइ त्यो बैठकमा उपस्थित हुन नसकेको हुँदा सरापिँदै थियो। मैले कुरा बुझेँ र सरासर हिँडेँ।
माने दाइको बारेमा सोच्दै-सोच्दै हिँडिरहेँ। माने दाइ एकदम सालिन र सरल व्यक्तित्व। नाताले दाइ परे पनि मेरो बाबाको उमेरका थिए। उनी पेशाले प्राथमिक तहको शिक्षक। बिहान बेलुकाको खाली समयमा कृषिमा धेरै ध्यान लगाउँथे। आफ्नो जग्गा नभए पनि अरूको जग्गा अधियाँमा लिएर सक्दो मेहनत गर्थे।
गाउँमा कुनै काम पर्यो भने समयमै पुग्ने गर्थे, कसैलाई सहयोग गर्नुपर्ने भए एक्लै भए नि आँट गर्थे। कोही बिरामी पर्यो, कसैलाई रातभरि कुर्नुपर्ने भयो, कतै भोजभतेरमा काम गर्नुपर्यो या कुनै सामाजिक काम होस माने दाइ जस्तो प्रतिबद्ध भएर काम गर्ने मान्छे गाउँमा अरु कोही थिएन।
कुनै पनि कामलाई सानो अथवा ठूलो भन्दैनथे। समाजमा पछाडि परेका वर्गको उत्थानको लागि सधैं आवाज उठाइरहेका हुन्थे। म जहिले पनि अफिस जाँदा आउँदा दाइलाई खेतमै देख्थे। अनि सोध्थेँ, 'दाइ, स्कुल जाने बेला भएन?'
दाइ भन्नुहुन्थ्यो, 'अब ५ मिनेट काम गर्छु अनि जाने बेला हुन्छ।'
अनावश्यक भेला, अरूको कुरा काट्ने, देखावटी पन दाइलाई पटक्कै मन पर्दैनथ्यो। मैले चिनेको त्यस्तो माने दाइलाई आज कसरी असामाजिक भन्न सके, मलाई अचम्म लागिरह्यो। के सामाजिक बन्न प्रत्येक बैठकमा उपस्थित हुनै पर्ने हो? के उपभोक्ता समितिमा बस्दैमा मात्र समाजसेवा हुन्छ?
एउटा साथीको कुरा। एकदिन उसलाई फोन आएछ, 'यहाँ एउटा मन्दिर बनाउन पर्ने छ, तपाईं कति दान दिनुहुन्छ?' अनि ऊ एकछिन अक्क न बक्क परेछ। बुझ्न खोजेछ र सोधेछ, 'त्यहाँ त पहिले नै एउटा मन्दिर छ होइन र?' उताबाट आएछ, 'अलिकति बजेट परेको छ, बाँकी चाहिँ चन्दा उठाएर पहिलेको भन्दा एकदम ठूलो मन्दिर बनाउने भनेको।'
'लौ! मन्दिर त सानो-ठूलो जस्तो भए नि एउटा आस्था त हो नि। किन एउटा हुँदाहुँदै फेरि अनावश्यक खर्च?' उसको मनले सोचेछ तर त्यसको केही प्रत्युत्तर दिन उचित नठानेर भनेछ, 'म सोचौँला नि।'
फोन कटिसकेपछि सोचेछ- के साँच्चै मैले चन्दा दिनु उचित होला त? यदि दिन्न भन्यो भने मलाई पनि असामाजिक सोच्ने होलान्। फेरि आफूले दुःख गरी गरी कमाएको अनावश्यक खर्च गर्न मन कटक्क खाने। 'केही सुझाव देऊ न, के गरौँ?' भनेर मलाई भन्दै थियो।
के पैसा दान नगरी, अरूको तुलनामा देखावटी काम नगर्दा स्वार्थी बनिने हो?
अर्को यस्तै घटना। एकदिन एउटा गाउँमा झोलुङ्गे पुल बनाउने सम्बन्धी भेलामा जाने मौका मिलेको थियो। जसमा जग्गा दिने कुरामा विवाद परेको रहेछ। पुलको लागि त्यो जग्गा मात्र उपयुक्त हुने भन्दै जग्गादान गर्नको लागि जग्गा धनीलाई सबैले जोडले दबाब दिँदै थिए। तर जग्गावाला सहमत थिएनन्।
विचरा! उनको जग्गाको नाममा त्यही एउटा खेत, त्यही पनि पुल बनाउने भन्छन्। केही बोल्न सकिरहेका थिएनन् उनी। दिउँ त आफूले के गरी खानु, नदिउँ त सामाजिक नभइने डर। त्यही सामाजिक कामको नाममा अरूले चाँहि आफ्नै स्वार्थ सोचिरहेका रहेछन्। समाजसेवाको नामलाई कमाई खाने भाँडो बनाउनेको कमी थिएन त्यहाँ।
त्यही बीचमा एउटा आवाज सुनियो, 'सुन, तिमीले यो जग्गा दान दियौ भने पुलमा तिम्रो नाम फलामको पातामा लेख्नेछौं, तिमी समाजसेवी कहलिने छौ।'
कस्तो अचम्म लाग्यो मलाई। नाम लेखाउनुभन्दा त पहिले आफू बाँच्नु पर्यो, परिवारलाई पाल्नु पर्यो होइन र? कि त उनलाई अर्कै ठाउँमा जग्गा किनिदिए हुन्थ्यो कि त अलि हुने खाने भनाउँदाको जग्गामा बनाउँदा हुन्थ्यो। सामाजिक कार्य भनेर नै कति सोझालाई अन्यायमा पारिन्छ र जो टाठोबाठो हुन्छ ऊ चाँहि अनेक बहानामा तर्किहाल्छ। समाजसेवा भनेको त मन भित्रबाटै गर्ने कुरा होइन र?
अर्को यस्तै प्रसंग नजोडी मन नै थाम्न सकिनँ। कोरोनाको कहर छ्यापछ्यप्ती थियो। सहयोगी हातका खबर फेसबुकमा हेर्ने मौका मिलिरहेको थियो। कैयौँ समाचार मध्ये एउटा पोष्टले मेरो ध्यान तान्यो। फोटो थियो एउटा प्लास्टिकमा एक पोका नुन, तेल, एक किलो दाल र दुई किलो चामल, त्यो प्लास्टिक एउटा गरिब मजदुरलाई पाँच जनाको हातले दिँदै फोटो खिचिएको।
र स्टाटस लेखिएको थियो, 'हामी अरूको दुःख देख्न सक्दैनौँ, हाम्रा समाजसेवी फलानो ज्यूले गरिबलाई सहयोग गर्नुभएको छ।'
दुई छाक खाना सहयोग गरेर मात्र हुने सस्तो लोकप्रियतामा समाजसेवा हुने रहेछ भन्ने लाग्यो। मैले चिनेको त्यही समाजसेवी थिए जसको बारेमा समाचार पढेको थिएँ। ऊ नै केही वर्ष अगाडि आफ्नो आमालाई वृद्धाश्रममा राखेर सहर गएको थियो। समाजसेवाजस्तो पवित्र कुरालाई भौतिक कुरासँग तुलना गर्न मिल्छ र?
अहिले पत्रकारिताको नाममा गरिने समाजसेवा, जुन युट्युबमार्फत एउटा कुरा अगाडि ल्याउने, देश विदेशमा रहेका नेपालीबाट सहयोग चन्दा उठाउने र आफू समाजसेवी हुँ भन्ने चलन अत्यधिक मात्रामा भेटिन्छ। उनै पत्रकार साँच्चीकै दाताभन्दा बढी समाजसेवी बन्छन्।
प्रत्येक चोकचोकमा भेटिन्छन् समाजसेवी, प्रत्येक गाउँमा भेटिन्छन् सामाजिक अभियन्ता, जसले यही पवित्र समाजसेवाको खोल ओडी आफ्नो छुट्टै धन्दा चलाइरहेका छन्। यो भन्दैमा साँच्चै नै समाजसेवामा लाग्नेहरू हुँदै नभएको चाहिँ पक्कै होइन।
आफ्ना पितृको सम्मान र स्मृतिमा मन्दिर, पाटीपौवा, सामुदायिक भवन, विद्यालय, चौतारी र विश्रामगृह बनाउने हाम्रो पुरानै नेपाली संस्कृति हो। हाम्रो समाजमा पनि मन्दिर निर्माणदेखि अशक्त, असहायहरूलाई सहयोग गर्ने, गरिब विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने संघ-संस्था तथा व्यक्तिहरूको संख्या हरेक दिन बढिरहेको छ।
मनदेखि नै समाजसेवा गर्नेहरूले कुनै अवसर कुर्नु पर्दैन, कुनै फोटो खिच्नु पर्दैन, कतै प्रचार पनि गर्नुपर्दैन र कसैलाई देखाउनु पनि पर्दैन। वास्तविक समाजसेवा उसको व्यवहारमा झल्किरहेको हुन्छ।
हामी बच्चा बेलादेखि नै पढेको र बुझेको कुरा मानिस एक सामाजिक प्राणी हो। समाजबिना मानिस कुनै हालतमा बाँच्न सक्दैन। ढुङ्गे युगदेखि हाल आधुनिक युगसम्मको इतिहासलाई केलाउँदा सामाजिक भन्नुको अर्थ समाजमा मिलेर बस्नु, एकलाई पर्दा अर्कोले सहयोग पुर्याउनु, आफ्नो स्वार्थभन्दा पनि सबैको हितको लागि काम गर्नु र समाजसेवा भनेकै आत्मसन्तुष्टी र खुसीको लागि गरिने मानवसेवा हो भन्ने कुरा पढ्दै र बुझ्दै आयौँ।
हाम्रो मानसपटलमा पनि त्यही कुराको छाप बस्यो। तर विडम्बना नै भन्नुपर्छ, अहिलेको स्थिति हेर्ने हो भने जो अलि चलाख हुन्छ, विषयवस्तुको ज्ञान नभई आफूलाई जान्ने बुझ्ने सम्झन्छ, जान्ने बुझ्ने भएको आफूलाई प्रमाणित गर्न खोज्छ, शक्ति र सत्ताको आडमा आफूलाई सर्वेसर्वा ठान्छ, ठूलाबडा नेतासँग फोटो खिचेर फेसबुकमा पोष्टाउँछ, विकास निर्माणका हरेक गतिविधिमा आफू नै उपभोक्ता समितिमा बस्छ, जो आफै ठेकेदार पनि बन्छ, र आफ्नै स्वार्थमा काम गरी सामाजिक कामको नाममा व्यापार गरिरहेको हुन्छ र उल्टै आफै नै समाजसेवी हुँ भन्दै हिँड्छ नि, त्यसैलाई नै पूजिन्छ र समाजसेवीको संज्ञा दिइन्छ।
समाजसेवाको आडमा राजनीतिक अभिष्ट पूरा गर्नेहरू पनि प्रशस्त भेटिन्छ। समाजसेवालाई अहिले धेरैले नाम र दाम कमाउने दरिलो पेशाका रुपमा प्रयोग गरेका छन्। अपराधी छविलाई धोइपखाल्न पनि समाजसेवाको दोसल्ला ओढ्नेको संख्या पनि कम छैन। तर्क बदलेर उही पुरानै तरिकाबाट समाजसेवी बन्न खोज्नेहरूको भिड छ यहाँ।
यो भिडलाई नियन्त्रण गर्न न राज्य नै लागेको छ न त समाज नै लागेको छ। यो भिडमा मनैदेखि पवित्र उद्देश्य राखेर जीवनभर दिलो ज्यान दिनेहरू छायामा परेका छन्। कुहिरोमा काग हराएजस्तै सँच्चा समाजसेवीहरू समाज सेवारुपी नामको कुहिरोमा गुमनाम भएका छन् भने सस्तो लोकप्रियताका लागि समाजसेवाको नाम दिएर व्यापार गर्नेहरू मानसम्मान पाएका छन्।
यो विषय सभ्य र परिष्कृत समाज निर्माणको यात्रा विषवमन हुनसक्छ। त्यसैले सस्तो लोकप्रियताको लागि गरिने यस्ता धन्दाहरू निरुत्साहित गरी समुन्नत, सभ्य, मर्यादित र परिष्कृत समाज निर्माण लागि आ-आफ्नो ठाउँबाट जुट्नु आजको आवश्यकता हो। सामाजिक बन्नको लागि धन होइन कि मन आवश्यक हुन्छ। निःस्वार्थ मनले सेवा गर्ने समाजसेवा भनेको आफूले जे गर्न सकिन्छ, त्यही आफ्नो ठाउँबाट इमान्दार भएर गर्ने हो।