खै कहाँबाट सुरू गरूँ आज मेरा मनका बेदना, कपीका पानामा लेख्न पनि यी हातहरू थरथरी कामिरहेका छन्। जिन्दगी पनि
खै कस्तो जिन्दगी ? विरक्त लागिरहेको छ अचेल। न मनको बह पोख्ने ठाउँ भटिन्छ, न जिन्दगीमा मेरो कुरा सुनिदिने बुझिदिने नै।
करिब आजभन्दा १ वर्ष पहिलेको कुरा हो।
मेरै गाउँभन्दा पल्लो गाउँको एक जना दाइ मसँग फेसबुकमा कुरा गर्नु हुन्थ्यो।
दाजु-बहिनी भनेर सम्बोधन गर्थ्यौ हामी। दाजुबैनी एक पवित्र नाता सम्झन्थें म।
बेला-बेला मलाई फेसबुकमा म्यासेज गरिरहनुहुन्थ्यो।
अनि भन्नुहुन्थ्यो- के छ खबर ? खाना खायौ? कोठामा को को?
म दाइ सम्झिएर सहजै ती म्योसेजका रिप्लाइ दिने गर्थें।
कहिलेकाहीँ कल गर्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो।
‘तिमी धेरै मोटायौ के खान्छौ यसरी मोटाउने गरी?’ म हाँसी हाँसी जवाफ दिने गर्थें।
‘वंशाणुगत गुण हो म मोटाउनु अरू केही छैन’ भन्थें।
फोनमा दु:ख सुखका कयौ कुराहरू सेयर गर्थ्यौ हामी दाजुबैनी सम्झिएर।
तर एकदिनको कुरा हो।
रातिको त्यस्तै ११ बजेको थियो होला। मत मस्त निन्द्रामा रहेछु। दुईचोटि कल आइसकेको रहेछ थाहै पाइनँ। तेस्रोचोटि कल आउँदा म ब्युँझिएँ।
हतार हतार मोबाइल हेरें। दाजुको कल आएको रहेछ। यति राति के भयो किन कल आयो भनेर म त एकछिन डराएँ। न कतै केही पो भयो कि! भनेर। मनमा चिसो पस्यो।
कल उठाएँ। जसै फोन उठाएँ दाइको व्यवहारले म त छाँगाबाट खसेजस्तै भएँ।
उहाँ सामान्य स्थितिमा हुनुहुन्नथ्यो। उहाँले मादक पदार्थ सेवन गरेर मलाई फोन गर्नु भएको रहेछ।
उहाँले मसँग यस्तो निच कुरा गर्नु भयो कि त्यो म शब्दमा पनि वर्णन गर्न सक्दिनँ। उहाँको कुरा सुनेर एकाएक भाउन्न भएर आयो। दाइ सोचेर मनमा सम्मान राखेर फोन उठाएको थिएँ। तर उहाँको निकृष्ट हर्कतले गर्दा ‘दाइ’ नाम कलंकित पार्नु भयो। उहाँले मलाई फोनबाटै यौन दुर्व्यहार गर्नु भयो।
मैले उहाँलाई साँचो रूपमा दाइ सम्झिएको थिएँ। के गर्ने गर्ने भयो, डरले थरथर कामिरहेको थिए।
के गर्ने, गर्ने केही सोच्नै आएन। अनि हत्तपत्त फोन काटेँ र नम्बर ब्लक लिस्टमा राखें। धेरैचोटि फोन गरेको म्यासेज आइरहेको थियो।
करिब ३० मिनेटपछि होला सायद। फेरि अर्को नयाँ नम्बरबाट मलाइ कल आयो। फेरि उही तनाव। मलाई पटक पटक मानसिक रूपमा यातना दिनुभयो। बैनी भन्ने अनि सेक्सको प्रस्ताव राख्ने? मलाई त दानव होजस्तो लाग्यो।
मैले मोबाइल नै अफ गरेर बसेँ।
त्यो घरको तल्लो फ्ल्याटमा म एक्लै बस्ने। कोही थिएनन् त्यो दिन। गेटमा आएर ‘अनिता, अनिता’ भनेर कराइरहेको आवाज आइरहेको थियो।
केही गर्न सकिनँ। डरले कामिरहेको थिएँ। कतिबेला निदाएछु थाहै भएन।
भोलिपल्ट बिहानै उठेँ। यो कुरा कसलाई सुनाउने होला एकदमै बेचैन भइरहेको थियो। एकचोटि त्यही दाइलाई कल गर्ने निधो गरेँ। कल उठेन।
मैले घरमा आमालाई यो कुरा सुनाउने निधो गरेँ। कल गरेर सुनाएँ।
आमाले सहनुहुन्न भनेर मलाई साथ दिनुभयो। आमाले बुवालाई सुनाउनुभएछ।
आफ्ना छोराछोरीको आत्मसम्मानमा आँच आउँदा कुन आमाबुवा चुप लागेर बस्नुहुन्छ र!
हो, बुवाले जब घटनाबारे थाहा पाउनु भयो। तुरून्तै त्यो दाइ फोन गरेर बेस्सरी झपार्नु भयो। उजुरी दिने चेतावनी दिनुभयो।
पछि मलाई कल गरेर माफी मागे। ‘अबदेखि यस्तो कहिल्यै गर्दिनँ बैनी’ भन्दै।
मैले सिधै म प्रहरीकोमा जान्छु अरू कुरा सुन्दिनँ भनेँ तर बारम्बार कल गरेर मेरो इज्जत बचाइदेऊ बैनी अबदेखि यस्तो कहिले गर्दिनँ भनेर अति गर्यो।
मैले एकचोटिको लागि माफी दिने निर्णय गरेँ।
अब आइदा फेरि यस्तो घिनलाग्दो काम ममाथि भयो भने मैले तपाईंलाई प्रहरीको जिम्मा लगाउने छु बाँकी प्रहरीले गर्छ भनेर माफी दिएँ। त्यही दिन दाजु र बैनी सम्बन्ध पनि सकियो।
कुनै पनि सम्बन्ध हामीमा छैन र हामी एकअर्कालाइ अब चिन्दैनौं भनेर फोन काटेँ।
त्यो दिनदेखि हत्तपत्त कसैलाई ‘दाइ’ भनेर सम्बोधन गर्न मन लाग्दैन।